कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि सर्वेक्षण « Khabarhub

कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि सर्वेक्षण


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– कालीगण्डकी नदीमा जलयान अर्थात् पानीजहाज सञ्चालनका लागि सर्वे गरिएको छ । पाल्पाको राम्दीदेखि देवघाटसम्म जलयान सञ्चालन गर्न छ वटा समूहले स्थलगत परीक्षण तथा सर्वे गरेको हो । पाल्पाको राम्दीदेखि देवघाटसम्म १३५ किलोमिटर जलयान सञ्चालनको योजना बनाइएको छ ।

सरकारले नेपालका विभिन्न नदीमा जस्तै कालीगण्डकीमा पनि पानीजहाज सञ्चालन गर्न बिहीबारदेखि सर्वे शुरु गरिएको नेपाल पानीजहाज कार्यालय काठमाडौँका निमित्त प्रमुख विपिनराज भण्डारीले जानकारी दिए । उनले अन्तरराष्ट्रियस्तरमा सञ्चालन हुने पानीजहाजमा नेपालको झण्डा राखेको पानीजहाज सञ्चालन गर्ने योजना रहेको र आन्तरिकरुपमा नेपालका नदीमा पानीको बहावअनुसारका साना खालका पानीजहाज सञ्चालन गरिने बताए ।

कोशी नदीमा तुम्लिङटारदेखि चतरासम्म, नारायणीमा देवघाटबाट तल गण्डकसम्म काली नदीमा राम्दीदेखि देवघाटसम्म तथा कर्णाली नदीमा जहाज सञ्चालनका निम्ति सर्वेको काम गरिएको नेपाल पानीजहाज कार्यालय काठमाडौँका निमित्त प्रमुख भण्डारीको भनाइ छ ।

जलस्रोतविद् अनुप खनालले नदीमा पानीको सतहलाई हेर्दा पानीजहाज सञ्चालनका निम्ति सम्भव रहेकामा जोड दिए । जलस्रोतविद् खनालले कालीगण्डकी नदीमा नेपालमै पहिलो पटक अत्याधुनिक मेसिनबाट पानीको गहिराइ नाप गरिएको, केही ठाउँमा गहिराइ नपुग्ने तथा छेउछाउका ढुङ्गा हटाउनुपर्ने ठाउँमा हटाउने र अन्तरराष्ट्रियस्तरमा भएका प्रयासलाई प्रयोग गरी तयार गरेको प्रतिवेदन सरकारलाई बुझाउने जानकारी दिए ।

६ वटा टोलीले कालीगण्डकी नदीमा परीक्षण गर्दैछ । विसं २०४०/४१ तिर पानीको अनुमानित आँकलनबाट पनि सञ्चालन भएको जलयान कालीगण्डकी नदीमा सफल भएकाले अहिले प्रविधिको प्रयोगबाट सुरक्षित हिसाबले नापजाँच परीक्षण गरिएको टोलीले जानकारी दिएको छ ।

आफ्नो क्षेत्रमा राष्ट्रिय गौरवको योजनाका रुपमा कालीगण्डकीमा पानीजहाजको अवधारणा अघि सारिएको सङ्घीय सांसद दलबहादुर रानाले बताए । काली नदीको किनारैकिनार करिडोर तथा कालीगण्डकीमा पानीजहाज सञ्चालन भयो भने छिमेकी देश भारतसम्म यहाँ उत्पादित सामानलाई बिक्रीवितरणलगायत सामान आयात निर्यातमा समेत सहज हुने सांसद रानाको भनाइ छ ।

पुल निर्माणले गति लिँदै

पुल निर्माण शुरु भएको १० वर्षसम्म कालीगण्डकी नदीमा रोकिएको पुल निर्माणले पुनः गति लिन थालेको छ । पाल्पाको रामपुर नगरपालिका–८ भुजातघाट तथा स्याङ्जाको चापाकोट नगरपालिका–९ निर्दिमघाट जोड्ने कालीगण्डकी नदीमा बन्ने मोटरेबल पुलको निर्माण कार्य थालिएको हो ।

प्राविधिक कारण देखाइ ठेकेदारको लापर्वाहीका कारण रोकिएको पुल पुनःनिर्माण कार्य थालिएको पुल निर्माण समितिका उपसंयोजक त्रिलोचन अधिकारीले जानकारी दिए ।

कन्काइ नेपाल प्रगति मिलिनियम जेभी कन्ट्रक्सन प्राली काठमाडौँले ठेक्काको जिम्मेवारी पाएको छ । पुल निर्माणस्थलमा माटो परीक्षण गरी यसअघिको सम्झौतालाई म्याद थप गरी निर्माण कार्य अगाडि बढाइएको छ ।

पहिले जमीनदेखि छ मिटर गहिराइ राखेर पर्खाल लगाउने भने पनि प्राविधिक कारण समस्या आएपछि १४ मिटर तलबाट पर्खाल लगाएर निर्माणको काम थालेको समितिले जनाएको छ ।

सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले डिजाइन स्वीकृत गरी निर्माण थालिएको र तीव्र गतिमा काम सम्पन्न गर्ने योजना रहेको जानकारी दिए । एक सय ५२ मिटर लामो मोटरेबल पक्की पुल को स्याङ्जा पाल्पातर्फ एक/एक वटा र बीचमा गरी तीन वटा पर्खाल निर्माण गरिएको छ ।

यसअघि २०६६/६७ मा निर्माण शुरु गरिएको पुल निर्माण रोकिएर पुनः थालनीका लागि २०७७ मङ्सिरमा निर्माणको सम्झौता भएको हो । यसअघि रु १७ करोड लागतमा निर्माण सम्पन्न गर्ने सम्झौता भएकामा २० प्रतिशत रकम थपेर निर्माण कार्य शुरु गरिएको समितिले जनाएको छ ।

समितिका उपसंयोजक अधिकारीका अनुसार अबको २०७८ असारसम्ममा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । पुल निर्माणपछि लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा उत्पादित विभिन्न कृषिउपजलाई अन्य क्षेत्रसम्म बिक्रीवितरणका निम्ति पुर्‍याउन सकिने बताए । उनका अनुसार, कालीगण्डकी करिडोर पनि तीव्र गतिमा निर्माण भइरहेकाले यस क्षेत्रलाई व्यापारिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्रका रुपमा विकास गर्न सकिने छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  १२ : ४१ बजे

सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै : इरान

एजेन्सी– युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक