चितवन– चितवन जिल्लालाई ‘मेडिकल सिटी’ का नामबाट पनि चिन्ने गरिन्छ । आम मानिसको बुझाइ यो शहरमा पुगेपछि उपचार नपाएर मर्नुपर्दैन भन्ने छ । यहाँका स्वास्थ्य संरचना एवं स्वास्थ्य संस्थाहरु र विशेषज्ञ चिकित्सकहरुको उपलब्धताका कारण यसो भनिएको हो । आम नागरिकको यो बुझाइलाई यतिखेर कोभिड सङ्क्रमणका विरुद्ध लडिरहेको चितवन जिल्लाले सत्य सावित गरेको छ ।
राजधानीलगायत ठूला शहरमा कोभिडको उपचार नपाएर धेरैले ज्यान गुमाउनु परेको गुनासो सुनिँदै गर्दा यहाँ भने हालसम्म यस्तो गुनासो सुन्नु परेको छैन । तथ्याङ्कमा अक्सिजन अभाव देखिए पनि यहाँका बिरामीले अक्सिजन नपाएर मर्नुपरेको छैन । श्ययाको अभावमा बिरामी भुईंमा राखेर उपचार गर्नुपर्ने अवस्था पनि अहिलेसम्म सिर्जना नभएको अस्पतालहरु बताउँछन् ।
ठाउँठाउँमा बिरामी श्ययाको अभावमा छट्पटाईरहँदा यहाँका सरोकारवालाहरुले शय्या र अक्सिजनको अभाव हुने भन्दै समयमै तयारी गरेका कारण समस्या जटिल बन्न पाएको छैन । कोभिडको उपचार गरिरहेका अस्पतालहरुले श्यया विस्तार र अक्सिजनका प्लान्ट थप गरिरहेका छन् । दाताहरुले गरेको सहयोग पनि उल्लेखनीय छ ।
जिल्लामा श्यया र अक्सिजन मात्रै होइन, गम्भीर अवस्थाका विरामीको उपचार (क्रिटिकल केयर) मा काम गर्ने जनशक्ति र उपकरणहरु पर्याप्त मात्रामा भएका कारण कोभिडसँग लड्न कठिनाई परेको छैन । अस्पताल भरिँदै गएपछि र अक्सिजनको अभाव हुने सङ्केत पाएपछि आफू चार रात नसुतेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने बताउँछन् । उनले भने, “अहिलेसम्म कोभिड बिरामीका लागि कुनै किसिमको अभाव हुन दिएका छैनौँ र अभाव हुन नपाओस् भनेर पनि हामीहरु निरन्तर जुटिरहेका छौँ ।”
जिल्लामा रहेको सरकारी भरतपुर अस्पताल, दुई वटा मेडिकल कलेज, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पुष्पाञ्जली अस्पतालले कोभिडका सङ्क्रमितहरुको उपचार गरिरहेका छन् । धेरै बिरामी थेग्दै आएको चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपाने राजधानी काठमाण्डौँभन्दा कोभिड उपचारमा जिल्ला उत्कृष्ट भएको दावी गर्छन् । उनले भने, “हामीसँग भएका श्यया, उपकरण, अक्सिजनको उपलब्धता, जनशक्ति सबै हेर्दा हामीले गरेको उपचार देशकै उत्कृष्ट छ ।”
जिल्लाले मेडिकल सिटीको झल्को दिएको उनी बताउँछन् । उनले भने, “हामीले अहिलेसम्म बिरामी अन्यत्र पठाउनु परेन । अन्यत्रबाट आएकालाई सेवा दिइरहेका छौँ ।”
सो मेडिकल कलेजमा मात्रै ‘क्रिटिकल केयर’मा काम गर्ने २० जना जनशक्ति छन् । एनेस्थेसिया १२ जना, डिएम क्रिटिकल केयर २ जना र फेलोसिप ६ जना रहेको उनले जानकारी दिए । अस्पतालमा १२ जना एमडि एमसिएच गरेका चिकित्सकसहित १६० जना विशेषज्ञ, ८० आवासीय र ५० जना मेडिकल अधिकृत कार्यरत रहेका छन् ।
सात सय ५० श्ययाका अस्पतालसँगै ९२ वटा भेन्टिलेटर रहेको न्यौपाने बताउँछन् । तीमध्ये ५५ वटा कोभिडका लागि छुट्याइएको छ । यस्तै १६२ वटा कोभिड आईसियू र ७० वटा कोभिड एचडियु रहेको उनी बताउँछन् ।
कलेज अफ मेडिकल साइन्सेज् शिक्षण अस्पतालका आवासीय निर्देशक डा. मनोहर प्रधान ५६५ श्यया भएको अस्पतालमा कोभिडका लागि २०० श्यया छुट्याएको बताउँछन् । उनका अनुसार ९० आइसियू, ३० एचडियू र ८० साधारण श्यया कोभिडका लागि छुट्याईएको छ । जहाँ २५ वटा भेन्टिलेटर मध्ये १२ वटा कोभिडका लागि छुट्याइएको छ । ती श्ययाहरु अधिकांश बिरामीले भरिने गरेका छन् । हाइफ्लो नोजल पनि १७ वटा कोभिडका लागि छुट्याइएको छ ।
अस्पतालको क्रिटिकल केयर अध्ययन गरेका नौ जनासहित विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, स्वास्थ्यकर्मी कोभिड उपचारमा जुटेका उनले जानकारी दिए । अस्पतालमा एक सय ४८ जना विशेषज्ञ चिकित्सकसहित एक हजार ३०० भन्दा बढी कार्यरत छन् । तीमध्ये एमसिएच र डिएम गरेका मात्रै सात जना छन् भने छ जना अध्ययनरत समेत ‘प्राक्टिस’मा छन् ।
प्रधानले भने “हामीले जिल्लाका भन्दा बाहिरका धेरै बिरामी हेरेका छौँ ।” भारतबाट समेत बिरामी आएको उहाँको भनाई छ । प्रधानको भनाईमा देशकै नमूना र व्यवस्थित कोभिडको उपचार यहाँ हुन सकेको छ । जिल्लामा रहेका अस्पतालको शय्या जनशक्ति र व्यवस्थानका कारण आजसम्म बिरामीले बाहिरको जस्तो दुःख पाउन नपरेको प्रधानको दावी छ । यहाँका स्वास्थ्य अधिकारीहरुको तथ्याङ्कअनुसार चितवनमा आएका विरामीमध्ये ६० प्रतिशत अरु जिल्लाका छन् ।
सङ्घीय अस्पताल भरतपुरमा ५५५ शय्यामध्ये २०० शय्या कोभिडको लागि छुट्याइएको छ । अस्पतालमा २६ श्यया कोभिड आइसियू सञ्चालनमा रहेको छ । जहाँ १० वटा भेन्टिलेटर कोभिडका लागि प्रयोग गरिएको छ । अस्पतालमा रहेका अन्य पाँच वटा भेन्टिलेटर कोभिड बाहेकका बिरामीका लागि प्रयोग गरिएको छ ।
अस्पतालका १२ जना विशेषज्ञ चिकित्सकको नेतृत्वमा कोभिडको उपचार भईरहेको छ । अस्पतालमा १४७ जना चिकित्सक कार्यरत रहेका छन् । अस्पतालमा रहेका १० वटा ‘हाइफ्लो अक्सिजन नोजल’ मार्फत् कोभिडको उपचार गरिएको छ । निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.जगन्नाथ तिवारीका अनुसार १९ भन्दा बढी जिल्लाबाट सङ्क्रमित यहाँ उपचारका लागि आएका छन् ।
कोभिड उपचारमा अस्पतालले नेतृत्व गरिरहेको उनको भनाई छ । अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी परिवार इष्टमित्रले समेत हेर्न नसकेको अवस्थामा चिकित्सक स्वास्थ्यकर्मीले सहज उपचार गरिरहेको बताउँछन् । उनले भने “जिल्लामा सडकमा सङ्क्रमित बस्नु परेको छैन । अक्सिजन नपाएर कसैको ज्यान गएको छैन ।” देशकै नमूना व्यवस्थापन यहाँहरुका अस्पतालहरुले गरेको अधिकारीको दावी छ ।
जिल्लामा आठ हजारभन्दा बढी स्वास्थ्यकर्मीले कोभिड विरुद्धको खोप लगाएको उदाहरण दिँदै उनले यहाँ विशेषज्ञ चिकित्सकदेखि अस्पतालका शय्याहरु व्यवस्थित र पर्याप्त भएकै कारण देशभरबाट बिरामी आउने गरेको बताए ।
क्यान्सरको उपचार गरिरहेको यहाँको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशमा क्यान्सरका उपचार गराउनेमध्ये ७५ प्रतिशतको उपचार गराउने गर्दछ । यस समयमा १४० श्यया कोभिडका लागि छु्ट्याएर अस्पतालले उपचार गरिरहेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम अस्पतालमा नौवटा भेन्टिलेटर रहेकोमा दुईवटा कोभिडका लागि छुट्याईएको बताउँछन् ।
जिल्लामा २० वटा निजी अस्पताल रहेका छन् । निजी अस्पताल समन्वय समितिका सचिव बिक्रम अधिकारीका अनुसार ८५० शय्या ती अस्पतालमा छन् । जसमा ३० शय्याको सघन उपचार कक्ष रहेको छ । ती कक्षहरुमा ६ वटा भेन्टिलेटर समेत रहेको उनले जानकारी दिए ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार जिल्लामा ७३० शय्या कोभिडका लागि छुट्याइएको छ । ती शय्या बढाएर एक हजारसम्म पुर्याउन सक्ने उनको भनाइ छ । आइसियू अभाव हुने गरेको भएपनि अन्य शय्या पर्याप्त रहेका छन् । अन्यत्र जस्तो बिरामीले उपचार नै नपाएको अवस्था यहाँ नरहेको उनको भनाइ छ । जिल्लाका दुई मेडिकल कलेज र सरकारी अस्पतालहरुमा आफ्नै अक्सिजन प्लान्ट भएकाले उपचारमा सहज भएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा अहिले ५५३ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । भरतपुर अस्पतालमा १६३ जना, चितवन मेडीकल कलेजमा १७६ जना, पुरानो मेडीकल कलेजमा १०२ जना, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ४१ जना, गुञ्जमान अस्पतालमा एक जना र अन्य अस्पतालहरुमा ३९ जनाकको उपचार भइरहेको छ । कार्यालयका अनुसार उपचारमा रहेकामध्ये २५३ जना आइसियूमा, ५२ जना एचएफएनसिमा, एचडियूमा ९६ जना र आइसोलेसनमा १८५ जना रहेका छन् ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल यहाँका अस्पतालले महानगर, जिल्ला मात्र नभएर देशका बिभिन्न क्षेत्रका बिरामीको पनि सहज रुपमा उपचार गरेको बताउँछिन् । यो सङ्क्रमणमा उपचारमा भरतपुरले एउटा पहिचान बनाएको भन्दै उनले भनिन्, “विभिन्न जिल्लाबाट नेता र जनप्रतिनिधिको दैनिक फोन आउँछ । उनीहरुले पनि बिरामी एम्बुलेन्स र हेलिकप्टरबाट यहाँ ल्याएर उपचार गराइरहेका छन् ।” भरतपुर गएपछि उपचार पाइन्छ भन्ने विश्वास सबैलाई दिएको दाहालको भनाइ छ ।
भरतपुर अस्पताल विकास समिति र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समिति सदस्य महानगरपालिका प्रमुख पदेन रहने प्रावधान छ । दाहालले दुबै सरकारी अस्पतालका अतिरिक्त यहाँका मेडिकल कलेजहरु कोभिड उपचारमा जुटेको बताइन । उनले भनिन्, “उपचारका लागि भरतपुर विश्वासको ठाउँ वन्यो ।” रासस
प्रतिक्रिया