शहरी बाढीको बढ्दो कहर अदूरदर्शी निर्माणको परिणाम | Khabarhub Khabarhub

शहरी बाढीको बढ्दो कहर अदूरदर्शी निर्माणको परिणाम



गत भदौ २० गते राति देशका विभिन्न भागलगायत काठमाडौँमा हाँडीघोप्टे पानी पर्‍यो । काठमाडौँमा तीन घण्टामा सरदर सय मिलिमिटर पानी पर्‍यो । यो परिमाण काठमाडौँमा यो वर्षकै सबैभन्दा ठूलो थियो । शहरबजार पानीमा डुब्यो । वागमती र यसका शाखा नदीहरू उर्लिंदा धेरै ठाउँमा किनाराका संरचनाहरू डुबानमा परे ।

बल्खुको तरकारी बजारमा वागमतीको पानी छिरेर हाम्रो भान्छामा पाक्ने एक करोड जतिकोे तरकारी नष्ट भयो । व्यवसायीहरूको नोक्सान भयो ।

नदीको पानी किनाराबाहिर आउँदा वा बाहिरको पानी नदीमा मिसिन नपाउँदा टेकु र मनहरा वरपरका सुकुम्बासी बस्तीको कन्तबिजोग भयो । काँडाघारी, परोपकार, सुन्दरीघाट, सानेपा र कालोपुलजस्ता ठाउँहरूको पनि यस्तै अवस्था भयो । कयौँ परिवारको धनमाल नोक्सानी भयो । काठमाडौँमा मात्र ३८५ घर डुबानमा परे ।

कोरोना संक्रमणले थला पारेका र बन्दाबन्दीको चपेटामा परेका काठमाडौँ शहरका बासिन्दालाई भदौको तेस्रोे हप्ता नेपाल सरकारले गरेको बन्दबन्दीको अन्त्यले केही राहत हुन थालेको थियो तर ठीक त्यही बेला शहरी बाढीले नोक्सान पुर्‍यायो ।

मौसमका जानिफकारहरूले भन्दै आएको जस्तै यसपालि साँच्चै अलि बढी नै पानी परेर हो कि मनसुन र भनसुनमा चलेको यो देशमा मनसुनले बढीले माया गरेको हो, बुझ्न कठिन भएको छ । भदौ निख्रिँदा पनि मनसुनको रुन्चे आँसु थामिएको छैन ।

गत महिना जलवायुमा विशेष चासो राख्ने र अध्ययन गर्ने राष्ट्र संघीय संस्था (आइपीसीसी) ले पनि आफ्नो छैठौँ मूल्यांकन प्रतिवेदनमा अहिले भइराखेका विपदका घटनाहरू मानिसहरूको कारणले भएको भन्ने ठोकुवा गरिदियो । त्यति ठूलो निकायको अध्ययन रिपोर्ट नै सार्वजनिक गरेपछि पत्याउनै पर्‍यो । आइपीसीसीले अबका दिनमा यस्ता घटनाहरू बढ्दै जान्छ भनेको छ । नेपालका लागि मुख्य चिन्ताको विषय यही हो ।

विपत्ति दिनदिनै आउने त होइन ! एक पटक टरेपछि अर्को विपत्ति नआउँदासम्म कसैको कानमा बतास लाग्ने होइन । पीडितको त अर्को उपाय हुने नै भएन ।

नेपाल एक जटिल र संवेदनशील भूभागमा भएको देश हो । यहाँ ठूला ठूला हिमशृङ्खला, नाजुक चुरे पहाड र मध्य पहाडहरू छन् । यी भूभागमा जलवायुको पनि विविधता छ । यो भूभाग सम्भावित भूकम्पको संवेदनशील क्षेत्र पनि हो ।

यी कारणले गर्दा नेपाल विभिन्न खालका विपत्तिको जोखिमयुक्त थलोका रूपमा रहेको छ । यस्तो क्षेत्रमा विपदका घटनाहरू अझ बढ्दै जानेछन् भन्ने निष्कर्ष हाम्रो चिन्ताको विषय हुनु स्वाभाविकै हो । जलवायु परिवर्तनले यो चिन्ता अझै बढाउँदै लेजाने देखिएको छ ।

विपदले धेरै जसो गरिब र निमुखाहरूलाई नै पिरोल्छ । यो वर्गमा मानिसहरू बस्ने ठाउँ नै त्यस्तो हो वा उनीहरूसँग विपदविरुद्ध लड्ने क्षमता नै नभएको हो भन्ने अर्को पाटो हो । त्यसो त उनीहरूसँग क्षमता भएको भए अलि बलियो र राम्रो ठाउँमा घर बनाउँथे होलान्, सुरक्षित ठाउँमा बस्ने थिए होलान् ! किन खोला किनार खोज्दै हिँड्ने थिए होला र ! उनीहरूको बाध्यता पनि होला ।

गतिलो र सुरक्षित ठाउँमा बस्न र बलियो घर बनाउन पैसा छैन । पैसा भएन भन्दैमा कालको मुखमा गएर बस्न पनि नहुने हो तर बाध्यता आफ्नो ठाउँमा छँदैछ । यस वर्गका नागरिकहरूको कुरा सुन्ने र सुरक्षित बसोबासको व्यवस्था मिलाउने जिम्मेवारी सरकारको हुन्छ । सरकार पनि झारा टार्ने जस्तो मात्रै गर्छ । रेडियो टेलिभिजनबाट राहत भनेर अलिअलि फुकिदियो, नियम कानून भन्यो, काम सकियो ।

विपत्ति दिनदिनै आउने त होइन ! एक पटक टरेपछि अर्को विपत्ति नआउँदासम्म कसैको कानमा बतास लाग्ने होइन । पीडितको त अर्को उपाय हुने नै भएन ।

अन्त टाढा किन जानु पर्‍यो र ! यही काठमाडौँ शहरकै मनोहरा र बागमती नदी किनारका सुकुम्बासी बस्तीमा गएर हेर्ने हो भने अस्तिमात्रै वाग्मतीले कति विध्वंश मच्चाएको थियो भन्ने थाहा हुन्छ । घरको भुइँतलामा रहेको सबै सामान पानीले डुबायो । माथिल्लो तलामा जान नसक्नेहरूले क्षति व्यहोर्नुको विकल्प नै भएन । कतिपय परिवार छिमेकीकोमा सहारा लिन बाध्य भए । डेरावालहरू एक तलामाथि बस्न पाउने घर खोज्नुपर्ने बाध्यतामा छन् ।

हालै बेलायतको योर्क विश्व विद्यालय र नेपालका केही संस्थाहरूको सहकार्यमा सीमान्तकृत वर्गको राजनीतिक उत्थानशिलता कार्यक्रमअन्तर्गत संयुक्त अध्ययन गरिएको थियो । यस क्रममा मनोहराको बस्तीमा वाग्मती नदीको शाखानदी मनोहराको पुरानो बाटोमा अवरोध आएको र भेलले बाटो खोज्दा बस्तीमा पसेको थाहा भयो ।

विकासका नाममा हामीले बनाएका यस्ता संरचना हेरौँ त ! बस्तीमा छिरेको पानी नदीमा जाने बाटो नै रहेनछ । पानीले बस्ती भरिन लागेपछि वडाअध्यक्षले डोजर बोलाएर ठाउँठाउँमा तटबन्ध भत्काउन लगाएछन् ।

भेल बस्तीमा छिरेपछि खुला ढल बाढीको पानीसँग मिसिएर घरभित्र पसेको थियो । यसले गर्दा विभिन्न किसिमका रोग लाग्ने सम्भावना पनि बढ्यो । यसो हेर्दा त्यति ठूलो तटबन्द बनाएको मनहराको सुकुम्बासी बस्ती त बाढीको चपेटामा नपर्नुपर्ने तर प्रकृतिको अगाडि कसको के लाग्छ र ! तटबन्धको मुखभन्दा माथिबाट नै पानी छिरेको रहेछ ।

विकासका नाममा हामीले बनाएका यस्ता संरचना हेरौँ त ! बस्तीमा छिरेको पानी नदीमा जाने बाटो नै रहेनछ । पानीले बस्ती भरिन लागेपछि वडाअध्यक्षले डोजर बोलाएर ठाउँठाउँमा तटबन्ध भत्काउन लगाएछन् । यसो नगरी बस्तीको पानी नदीमा नजाने भयो । अनुपयुक्त र अदूरदर्शी निर्माणको परिणाम थियो त्यो डुबान ।

यसरी अनुकूलन विपरीत गलत तरिकाले निर्माण गर्दा भविष्यमा दुःख पाइन्छ । मनोहराको सुकुम्बासी बस्तीमा यही परिणाम देखिएको थियो । पहिलेदेखि नै अनियन्त्रितरूपमा बालुवा र ढुङ्गा निकालिएका यस्ता नदीमा तटबन्धले पानीलाई प्राकृतिक नागबेली भएर बग्न नदिई बहाव सिधा बनाइदिन्छ । यसकारणले नदीभित्रको बालुवा र माटो बगाई अरू संरचना जस्तै पुल र बाटो भत्काउन सक्छ, भासिन सक्छ । वाग्मती नदीमा यस्ता संरचना भसिएका उदाहरण धेरै छन् ।

नदी किनारका गरिबगुरुवा र सुकुम्बासीका व्यथा कसले सुन्ने ! उनीहरूले आफ्नो आवाज उठाउन सङ्गठित टोल सुधार समिति बनाएका छन्, उनीहरूका लागि काम गर्ने थोरै संघसंस्था पनि छन् । यसो भए पनि उनीहरूको हितमा काम हुँदैन । उनीहरूप्रति सरकारको खास धारणा हुने गरेको छ । उनीहरूको सधैँ जोखिममा छन् । यो व्यथा स्थनीय सरकारले पनि बुझ्न सकेको छैन ।

जलवायु परिवर्तनले ल्याउन थालेका नकारात्मक परिणामका कारणले खोला किनारका यस्ता बस्तीहरू सधैँ सङ्कटासन्न अवस्थामा रहन्छन् । यस्तो जोखिम खोला किनारमा मात्रै नभई अव्यवस्थित बसोबास भएका बस्तीहरूमा पनि छ । यस्ता बस्तीहरूलाई मनसुनी दुर्घटनाबाट जोगाउन सरकार, नागरिक अगुवा र अव्यस्थित बसोबासीका लागि काम गर्ने निकायहरू समन्वयात्मक रूपमा अग्रसर हुन आवश्यक छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ८ : ०१ बजे

बेलायतबाट अनिश पाण्डेको ‘तिमी छौ र पो म छु’ सार्वजनिक

लण्डन– गायक अनिश पाण्डेको नयाँ म्युजिक भिडियो ‘तिमी छौ र पो

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज सुनचाँदी दुवैको मूल्य घटेको छ । शुक्रबार प्रतितोला

बेनी–रणवाङ–दरवाङ सडक स्तरोन्नति गरिँदै

म्याग्दी– बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न धमाधम

बागलुङको बुर्तिवाङमा ५० शय्याको अस्पताल सञ्चालनमा

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा शुक्रबारदेखि ५० शय्याको अस्पताल सञ्चालन

कालीकोटमा भूकम्पको धक्का

काठमाडौं– कालीकोटको ओडानकु केन्द्रविन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्प