अशक्तलाई घरमै नागरिकता « Khabarhub

अशक्तलाई घरमै नागरिकता


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– शारीरिकरुपमा अशक्त एक महिला र उनका श्रीमानलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले आज घरमै गएर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि हस्तान्तरण गरेको छ ।

सप्तरीको रुपनी गाउँपालिका–५ बसविट्टीकी ७० वर्षीया श्रीमती दसनीदेवी खत्वे र उहाँका श्रीमान् ७४ वर्षीय मुसहरु खत्वेलाई प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बिदाकै दिन घरमा पुगेर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि दिएका थिए । प्रजिअ गौतमको टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी नाथु साह र प्रशासकीय अधिकृत कल्पना मानन्धर गएका थिए ।

दम र पक्षघातबाट पीडित दसनी हिँडडुल गर्न नसक्ने भएकाले आफूले घरमै पुगेर नागरिकताको प्रतिलिपि प्रदान गरेको प्रजिअ गौतमले बताए । अपाङ्गता भएकी र बिरामी ज्येष्ठ नागरिकलाई घरमै सिडिओ आएर नागरिकता प्रदान गर्नुभएकोमा खुसी लागेको उनकी बुहारी तारादेबीले बताए ।

दसनी २० वर्षदेखि पक्षघात भई हिँडडुल गर्न असमर्थ रहेको र राजविराज पुगेर प्रतिलिपि निकाल्न नसक्ने भन्दै तारादेवीले जिल्ला प्रशासन कार्यालयमा आग्रह गर्दै आएकी थिइन् । तारादेवीले श्रीमान् उत्तिम खंगको १० वर्ष अघि मलेसियामा मृत्यु भएपछि सासूससुरालाई स्याहार गरेर बसेकी छन् । तारादेवीका दुई छोरा एक छोरीमध्ये जेठा छोरा पढाइ छाडेर काठमाडौँमा सिलाइकटाइको काम गरिरहेका छन् । अर्का छोरा कक्षा ८ मा र छोरी कक्षा ९ मा गाउँकै विद्यालयमा अध्ययनरत छन् ।

आर्थिकरुपमा गरिब र विपन्न खत्वे दम्पतीका अन्य तीन छोरा घर छाडेर बाहिर ज्यालामजदुरी गरिरहेको स्थानीयवासी मुसहरुले जानकारी दिए । पक्षघात भएपछि दसनीको उपचारको लागि धेरै खर्च गरे पनि निको नभएको मुसहरुले बताए ।

मुसहरुले २०३९ माघ २१ गते ३५ वर्षको हुँदा नागरिकता लिएका थिए । उनकी श्रीमती दसनीले २०३९ माघ २५ गते ३१ वर्षको हुँदा नागरिकता लिएकी थिइन् । तत्कालीन जिल्ला प्रशासन कार्यालयका कर्मचारीको लापर्बाहीले दुवैजनाको नागरिकता नम्बर एउटै भएकाले राष्ट्रिय वाणिज्य बैंकले कारोबार गर्न असमर्थता जनाएपछि उनीहरुलाई समस्या परेको थियो ।

सामाजिक सुरक्षा भत्ताबाट घर चलिरहेको बताएकी तारादेवीले बैंकले पैसा दिन अस्वीकार गरेपछि रुदै कराउँदै जिल्ला प्रशासन कार्यालय धाइरहेको उल्लेख गरिन्। नागरिकता नम्बरका कारण बैंकको खाता नम्बरमा समेत समस्या आएपछि मलेसियाबाट आउने पैसासमेत रोकिएको उनीहरुको भनाइ छ ।

अहिले नागरिकताको प्रतिलिपिमा नम्बर फरक पारेपछि मलेसियामा मृत्यु भएका छोरा कार्यरत कम्पनीबाट बीमाबापत पाउने रु सात लाख आउने बाटो खुलेको तारादेवीले बताइन् । जिल्ला प्रशासन कार्यालयले मुसहरुको नागरिकता नम्बर ७९०३३१७५ र दसनीको ७९०३३१७६ बनाएर प्रतिलिपि हस्तान्तरण गरेको छ । रासस

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ३ : ०० बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना