शौचालयमा चिया पिउन निम्तो ! | Khabarhub Khabarhub

शौचालयमा चिया पिउन निम्तो !

सन्दर्भः विश्व शौचालय दिवस



काठमाडौँ– सार्वजनिक शौचालय पस्ने शौच गर्ने र खल्तीबाट पैसा तिर्ने यो पुरानै प्रचलन हो । राजधानीका अधिकांश स्थानमा भेटिने शौचालय यस्तै छन् । निःशुल्क शौच गर्न कि त कुनै सपिङ मल पुग्न पर्छ कि त कफी शप ।

स्वयम्भूको बुद्धपार्कमा रहेको शौचालय भने अलि फरक छ । जहाँ शौच गरेबापत् प्रयोगकर्ताले पैसा तिर्नुपर्दैन् । शौच गर्छन् खल्तीबाट १५ रुपैयाँ झिकेर दिन्छन् प्रयोगकर्ताहरु । त्यो रकम बराबरको कालो चिया पिउँछन् ।

प्रयोगकर्ताले त्यागेको दिशापिसाब संकलनबाट त्यहाँ बायोग्याँस उत्पादन हुन्छ । त्यसैबाट पार्कमा आउनेलाई खानेकुरा पकाइन्छ । चिया मात्र होइन बायोग्यासबाटै विभिन्न परिकारका खाजा पनि पाक्छन् ।

शौचालय व्यवस्थापनको यो दिगो तरिका हो । यसले स्वयम्भु क्षेत्रको पर्यटक व्यवस्थापनमा नयाँ आयाम थपेको छ ।

शौचालय भवनबाट आकाशे पानी संकलन गर्न १२ हजार लिटरको पानी संकलन ट्याङ्की समेत राखिएको छ । शौचालय महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक सबैका लागि प्रयोगमैत्री छ ।

यो अत्याधुनिक शौचालय एरोसान नेपालले ५५ लाख लागतमा निर्माण गरेको हो । एरोसानले स्वयम्भूमा मात्र होइन । बानेश्वर र ललितपुरको मंगलबजारमा पनि यस्तै सुविधा सम्पन्न शौचालय बनाएको छ । त्यहाँ पनि प्रयोगकर्तालाई उही सुविधा दिइने एरोसानले जनाएको छ ।

शौचालयका सुबिधा स्वचालित प्रबिधिमा आधारित छन् । शौचालयको बिशेषताका बारेमा जानकारी दिँदै एरोसान सस्टेनेवल स्यानिटेसनका कार्यकारी प्रमुख प्रकाश अमात्य भन्छन्, ‘शौचालयबाट उत्पादन भएको कुनै पनि फोहोर बाहिर जाँदैन । प्रबिधि र वातावरणमैत्री दुवै पक्ष जोडेर यसलाई नमूना बनाइएको हो ।’

शौचालयमा पर्यटक र अपाङ्गता भएका व्यक्तिलाई १/१ वटा छुट्टाछुट्टै कोठा छन् । स्वचालित भेन्टिलेसन, स्वचालित फ्लस प्यान, सुधारिएको दिसा गर्ने प्यान जडान गरिएका छन् ।

नुहाउन तातो र चिसो पानी आउने सावर, फोहरपानी प्रशोधन पुनः प्रयोग गर्ने प्रणाली, बायो ग्याँस प्रविधिबाट दिशाजन्य लेदो व्यवस्थापन यसका विशेषता हुन् । शौचालयबाट उत्पादन भएको कम्पोट मल त्यहीँको बगैंचामा प्रयोग हुन्छ ।

बायोग्याँसका लागि १० घन मिटरको प्लान्ट छ । यसबाट मासिक रुपमा १.५ सिलिण्डर बराबर ग्याँस उत्पादन भइरहेको छ । यही शौचालयबाट ३ जना महिलाले रोजगारी समेत पाएका छन् ।

शहरी सुन्दरता र आवश्यकताका आधारमा प्रविधियुक्त र सुविधाजनक नयाँ शौचालय निर्माण आजको आवश्यकता हो । यस्तै सुविधासम्पन्न स्मार्ट शौचालय बनाउने लक्ष्य महानगरको छ ।

हाल सञ्चालित अव्यवस्थित शौचालयका कारण सर्वसाधरणले आफ्ना घर आसपासमा शौचालय बनाउन नदिएपछि महानगरको योजना कार्यान्वयन हुन सकेको छैन ।

शौचालय बनाउन जग्गाको अभाव, योजना योजनामै सीमित

विश्वव्यापी दीगो विकासको लक्ष्य अन्तर्गत सन् २०३० सम्म हरेक व्यक्तिको शौचालयमा पहुँच पुग्ने लक्ष्य तय गरिएको छ । नेपाललाई २०७६ असोज १३ गते खुला दिसा मुक्त देश घोषणा गरिएको छ ।

यद्यपी व्यवहारमा भने लागू हुन सकेको छैन । देश खुला दिसामुक्त घोषणा गरिसक्दा पनि संघीय राजधानी काठमाडौँका सर्वसाधरणले यसको अनुभुति गर्न पाएका छैनन् ।

अझ भन्दा काठमाडौँ मै पर्याप्त मात्रामा शौचालय छैनन् ।

यसअघि काडमाडौँ महानगरपालिकाले गत साउनमा वीर अस्पताल र खुलामञ्चको दुईवटा सार्वजनिक शौचालय भत्कायो ।

स्मार्ट शौचालय बनाउने भन्दै सञ्चालन भइरहेका शौचालय भत्काए पनि हालसम्म शौचालय बनाउने कुनै तयारी छैन ।
काठमाडौँ महानगर, सार्वजनिक निजी साझेदारीका प्रमुख नुरनिधि न्यौपानेका अनुसार सार्वजनिक शौचालय निर्माण गर्ने भनेर महानगरभित्रका १० स्थान छनौट भएका छन् । तर निर्माणको तयारी थालिएको छैन ।

निर्माण गर्न गत वर्षको माघमा सूचना जारी गरेको थियो । तर कुनै कम्पनीले चासो नदेखाउँदा काम सुरु नभएको उनले खबरहबलाई बताए । ‘जहिलेसम्म निजी संस्थाले म गर्छु भनेर आउँदैनन् तबसम्म महानगरले केही गर्न सक्दैन’ उनले भने ।

अहिले मानिसको बढी भीडभाड हुने रत्नपार्क, भोटाहिटी, भृकुटीमण्डप, गौशाला लगायतका स्थानमा केही सार्वजनिक शौचालय छन् । तर शौचालयको व्यवस्थापन देखिदैँन । वरपर हिड्दासमेत नाक बन्द गर्नुपर्ने अवस्था छ ।

फोहोर शौचालयबाटै महानगरले गर्छ करोडको आम्दानी

काठमाडौँ महानगरपालिका एउटा शौचालयबाट वार्षिक १५ देखि ३० लाख रुपैयाँसम्म बहाल उठाउँछ ।

वडा नम्बर २८ स्थित खुलामञ्चको सार्वजनिक शौचालयबाट महानगरले वार्षिक ३५ लाख १५ हजार रुपैयाँ वार्षिक उठाउँछ । त्यस्तै भोटाहिटीबाट ६१ लाख ८७ हजार रुपैयाँ वार्षिक उठाउने गरेको तथ्याङ्कमा देखिन्छ ।

यसरी वार्षिक लाखौँ रुपैयाँ सार्वजनिक शौचालयबाट संकलन गरेपनि महानगरले ती शौचालयलाई न त व्यवस्थापन गर्न सकेको छ न विस्तार नै ।

महानगले सार्वजनिक शौचालयबाट वार्षिक करोडभन्दा माथि रकम उठाउँछ तर नयाँ शौचालय निर्माण गर्न निजी संघसंस्थाको मुख ताक्नुपर्ने किन ?

शौचालय ठेक्कामा लगाएर राज्यले लाखौं आम्दानी गर्ने ? अनि शौचालय सेवा विस्तारमा लगानी नै नगर्ने ? यस विषयमा काठमाडौँ महानगरका प्रवक्ता इश्वरमान डंगोल भन्छन्, ‘शौचालय निर्माणका बजेट र योजना दुबै छन् तर जग्गा नपाउँदा योजना अड्किएको छ ।’

महानगरले ल्याएको ‘एक वडा एक शौचालय’ कार्यक्रम अन्तर्गत केही शौचालय निर्माण भइरहेको बताउँछन् महानगर, शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत ।

‘शौचालय सबैलाई चाहिएको छ, तर घर वरपर बनाउन पनि दिदैँनन्’ बस्नेतले भने, ‘जग्गा जहाँ उपलब्ध हुन्छ त्यहाँ हामीले शौचालय बनाइरहेका छौँ ।’

कहाँ बन्दैछन् सार्वजनिक शौचालय

काठमाडौँ महानगरभित्र वडा नम्बर १ मा कमलपोखरीमा सार्वजनिक शौचालय निर्माणधीन अवस्थामा छ ।

त्यस्तै वडा नम्बर ४ मा बिन्दाबासिनी मन्दिर, टुसाल, धुम्बाराहीमा रहेको धनान्जय पार्कमा शौचालय बनाउने तयारीमा छ । कृष्णगल्ली पार्क सुकेधारामा शौचालय निर्माण भइरहेको छ ।

वडा नम्बर ६ मा शान्ति नमुना पार्क, बागमती नगर पार्क, वडा नम्बर ७ मा भण्डारखाल, वडा नम्बर ११ मा चेस पार्क त्रिपुरेश्वरमा शौचालय निर्माण गर्ने महानगरको योजना छ ।

त्रिपुरेश्वर बसस्टपमा भने शौचालय निर्माण सम्पन्न भइसकेको छ ।

वडा नम्बर १३ मा त्रिपुरेश्वर बिष्णुमती करिडोर, वडा नम्बर १५ मा बुद्ध पार्क स्वयम्भू, मञ्जुश्री पार्क स्वयम्भू, वडा नम्बर १६ मा सूचना केन्द्र बालाजु, वडा नम्बर १७ मा इन्द्रयाणी पार्क, वडा नम्बर २२ मा भूगोल पार्कमा सार्वजनिक शौचालय बनाउने योजना छ ।

वडा नम्बर २६ मा लैनचउर, वडा नम्बर ३० मा मैतीदेवी मन्दिर, वडा नम्बर ३१ मा जेष्ठ नागरिक पार्क र वडा नम्बर ३२ मा अमरवती पार्क र कोटेश्वर दोबन पार्कमा शौचालय निर्माण भइरहेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १ : २८ बजे

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी