सीमाबाट ३०१ महिला तथा बालबालिकाको उद्धार « Khabarhub

सीमाबाट ३०१ महिला तथा बालबालिकाको उद्धार


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्युठान– प्युठानको एक छात्रावासमा कार्यरत एक महिला फेसबुकमा एक युवकसँग नजिक भइन । करिब एक वर्षसम्म फेसबुकमा जोडिएको मित्रतापछि उनीहरुले विवाह गर्ने निधो गरे ।

युवकले घर कैलाली भएको बताउँदै कैलालीमा गएर विवाह गर्ने आश्वासन दिएपछि दुई बच्चाकी आमा ती महिला युवकसँग कैलाली गइन । कैलाली आएपछि युवक कैलालीमा घर नभएको, भारतमा गएर विवाह गरौँ भनेर भारततर्फ लागे । युवकले ढाँटेको थाहा पाएपछि महिला चिन्तित त भइन तर युवकसँग नजानुको विकल्प थिएन । घर छाडेर हिँडिसकेकी महिलालाई अब डर लाग्न थाल्यो ।

कैलालीको सीमा नाका खक्रौलामा बेचबिखन न्यूनीकरणका लागि निगरानीमा बसेको साना हातहरु नेपालले उनीहरुमाथि शङ्का गर्यो । युवकले भारतमा रोजगारीका लागि जान थालेको, आफूहरु दम्पती भएको बताए ।

साना हातहरु नेपालका प्रतिनिधिले निकै सोधपुछ गरेपछि युवकलाई नियन्त्रणमा लिइयो । “मैले साना हातहरुका दिदीहरु देखेपछि अब बाँचिन्छ कि जस्तो लाग्यो, अनि सबै कुरा खोलेँ, दिदीहरुले प्रहरी बोलाउनुभयो”, उद्धार गरिएकी महिलाले भनिन्, “हाल म साना हातको संरक्षणमा बसेकी छु । मलाई झुक्याउने युवक बेचबिखन मुद्दापछि सजाय भोगिरहेका छन् । म सिलाइकटाइको काम सिकिरहेकी छु । मैले नयाँ जीवन पाएँ, अब जीवन सुन्दर बनाउँछु ।”

रोजगारीका सिलसिलामा नेपाल–भारत सीमा हुँदै भारत जाने महिला तथा बालबालिका बेखबिखनको जोखिममा पर्न सक्छन् । यी महिलाको समयमै उद्धार नभएको भए जोखिम थप बढ्ने साना हातहरु नेपालका स्टेशन संयोजक तुलसी विक बताउँछन् ।

“हामीले सीमामा बसेर धेरै शङ्का गर्नुपर्ने हुन्छ । हामीले गत वर्ष ३०१ महिला तथा बालबालिकालाई उद्धार गरेका छौँ”, उनले भने, “दुई वर्षको अवधिमा चारवटा बेचबिखनसम्बन्धी मुद्दा चलाएका छौँ । रोजगारीका लागि भारत जानेहरु बेचिने जोखिम बढी छ ।”

स्टेशन संयोजक विक नेपाली महिलाहरु घाँस, दाउराका लागि भारतीय जङ्गल जाने, किनमेलका लागि पनि भारत जाने भएकाले थप जोखिममा रहेको बताउँछन् । “हामीसँग घाँस काट्न जान थालेको भन्नुहुन्छ, कसरी रोक्नु ? त्यसरी गएकाहरु नफर्कने डर हुन्छ”, उनले भने, “गत वर्ष यसैगरी घाँस काट्न गएकी किशोरी नफर्केपछि बेचिएकी थिइन् । हामीले भारतीय प्रहरीको सहयोगमा एक महिनापछि किशोरीको उद्धार गरेर नेपाल ल्यायौँ ।”

साना हातहरु नेपालले सीमाबाट भारत जानेहरुमा शङ्का लागेकालाई सोधपुछ गर्ने, उद्धार गर्ने र बेचबिखनमा पर्न थालेको भए मुद्दा चलाउनेसम्मको काम गर्छ । “साना हातहरु नेपालले सीमामा बसेर प्रहरीलाई सघाएको छ”, इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बम भन्छन्, “हामी एकापसमा सहकार्य गरेर सीमामा निगरानी गरिरहेका छौँ । सोधपुछका क्रममा शङ्का लागेकालाई उद्धारमा उहाँहरु सहयोगी बनिरहनुभएको छ ।”

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ९ : २७ बजे

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा– गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा

रविको ड्राइभर सिटमा बालेन : कसरी हुँदैछ सहकार्य ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले