‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’ « Khabarhub

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’



काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको फैसला कुरेर बसेको छ । विशेष महाधिवेशनबाट चुनिएको नयाँ नेतृत्वलाई अवैधानिक भन्दै सर्वोच्च अदालत पुगेको इतर समूहको रिटमा आगामी वैशाख ३ गते सुनुवाई हुने तय भएको छ ।

यो समूहले चैत १७ गतेबाट ३ दिनसम्म नवनिर्वाचित सांसदलाई शुभकामना दिँदै जिल्ला सभापतिसँग छलफल समेत गरेको थियो । यता विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापा नेतृत्वको संस्थापन समूह भने यतिबेला संसदीय दलको नेता चुन्न कम्मर कसेर लागेको छ । नियमित महाधिवेशन तयारीमा रहेको यो समूहले पार्टी बलियो बनाउन भन्दै ‘जरा अभियान’ पनि थालेको छ ।

पार्टीमा समानान्तर गतिविधि बढ्दै जाँदा पार्टीलाई एक ढिक्का बनाउने प्रयास पनि थालिएको छ । संस्थापनले इतरसँग सहमतिको बाटो खोज्न उपसभापति पुष्पा भुसाललाई छलफलको जिम्मा दिने गोप्य निर्णय गरेको बुझिएको छ । पार्टीको पछिल्लो अवस्था, अबको रणनीति र मुलुकको समसामयिक राजनीतिक घटनाक्रमबारे खबरहबले इतर समूहका मीनबहादुर विश्वकर्मासँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश-

१४ औँ महाधिवेशनबाट चुनिएको समितिले विशेष महाधिवेशनबाट चुनिएको नेतृत्वलाई स्वीकार नगर्दा उत्पन्न विवाद समाधान गर्न पार्टीभित्र कुनै पहल भएको छ ?

हामीले निर्वाचनअगाडि पार्टीभित्र विभाजन नहुनेगरी साझा रुपमा पार्टीको महाधिवेशन सम्भव हुँदैन, त्यसैले निर्वाचनमा संगठित भएर सहभागी हो‍औँ, निर्वाचनपछि नियमित पन्ध्रौँ महाधिवेशन गरौँ भनेर तयारी गरेका थियौँ । त्यसको बीचमा विशेष महाधिवेशनको निवेदनकर्ता साथीहरुलाई महामन्त्रीद्वयले साथ दिनु भयो र पार्टीको निर्णय विपरीत विशेष महाधिवेशन आयोजना गर्नुभयो ।

विशेष महाधिवेशनबाट निर्वाचित भएर आएको समितिलाई १४ औँ महाधिवेशनको समितिले स्वीकार नगरेपछि व्यक्तिगत, सामूहिक, राजनीतिक, सांगठानिक सबै हिसाबले पार्टीभित्र मतान्तर बढ्यो । तत्कालै निर्वाचन आएको हुनाले हामी चुनावमा गयौँ । तत्कालीन समयमा कांग्रेसको वैधानिकताबारे मुद्दा पनि रहेको हुनाले अहिले विवाद र मतभेद कायमै छ ।

तर सर्वाेच्च अदालतमा यसबारे मुद्दा परेकाले त्यहाँबाट जे निर्णय आउँछ, त्यो सबैले स्वीकार गर्नुपर्छ । २२ गते त्यो टुङ्ग्याइदिएको भए सकिन्थ्यो । अब फेरि वैशाख ३ गतेलाई पेशी तोकिएको छ । त्यसबेला अदालतबाट फैसला हुन्छ होला । अदालतले पनि अलमल्याइराख्नु भएन । त्यहाँबाट एउटा निर्णय आइसकेपछि पार्टीको विवाद सकिन्छ ।

अदालतको निर्णयले मात्रै कांग्रेसभित्रको विवाद अन्त्य हुन्छ ?

अदालतको निर्णय नकुर्दा पनि हुने हो । विशेषबाट सभापति चुनिनुभएका गगन थापा र कार्यवहाक सभापति पूर्णबहादुर खड्का उपसभापति र महामन्त्रीको रुपमा काम गरिराखेका साथीहरु हुनुहुन्छ । उहाँहरु अहिले समानान्तर गतिविधिमा हुनुहुन्छ । उहाँहरुले संवादबाट तुरुन्त मिलाउनु भयो भने अदालतको आदेश पनि पर्खिराख्नु पर्दैन । तर, उहाँहरुबीच कुनै संवाद र छलफल भएको छैन । त्यसैले एक हुने कुनै लक्षण नदेखिएको हुनाले अब अदालतकै आदेश नै मेलमिलापको आधार बन्न सक्छ ।

यहाँले भनेअनुसार त हालसम्म दुई पक्षबीच कुनै संवाद नै पो भएकै छैन ?

विवाद नगरौँ, एक हुनुपर्छ भन्ने आशयले यतिबेला कुनै खालको संवाद भएको छैन । बाहिर व्यक्तिगत रुपले मैले पनि भनेको छु, अरु नेता लगायत जो कसैले भन्नुभएको छ । तर मिल्नुपर्छ भन्नेहरुका मुख्य व्यक्तिहरुले संवादको ढोका खोलेका छैनन् ।

चैत १७ देखि १९ गतेसम्म निर्वाचित सांसदलाई बधाईदेखि जिल्ला सभापतिहरुसँग छलफल चलाउनुभयो, अब यहाँहरुको तयारी के छ ?

अदालतबाट सुनुवाई नहुँदासम्मका लागि कुनै कार्यक्रम तय भएको छैन । पार्टी कमजोर भयो, मिल्नुपर्छ सबैले पहल गर्नुपर्‍यो भन्ने साथीहरुबीच भेटघाट र छलफल त चलिराखेकै छ । जिज्ञासा र कौतुहलता मेटाउन सानो सानो समूहमा भेटघाट चलिराखेको छ । तर औपचारिक कार्यक्रम अहिले तय भएको छैन ।

शेखर कोइरालाले पार्टी एकताका लागि चार जनाको दुई समूह घोषणा गर्नुभएको छ । यो तयारी १४ औँ महाधिवेशन पक्षबाट एकताका लागि गरिएको पहल हो ?

पूर्णबहादुर खड्का, शेखर कोइराला लगायत जो शीर्षस्थ नेताहरु हुनुहुन्छ, उहाँहरुमध्ये जो कसैले पनि जिम्मेवारी बोध गरेर पार्टीलाई अघि बढाउन र पार्टी विभाजनमा नजाओस भन्नाका लागि पार्टी एकताको पहल त जुनसुकै बेला जुनसुकै तहबाट गरेपनि हुन्छ । हामी पनि त्यसमा लाग्नेछौँ । तर हामीले लाग्नु र शीर्ष नेताहरु लाग्नु फरक हुन्छ । त्यसैले शेखर दाइले पहल थाल्नुभएको भन्ने बुझेको छु ।

फाइल फोटो

दुई पक्षमा सहमतिको मुख्य बुँदा के हो त ?

पहिले पार्टीभित्र व्यापक छलफल र सहमतिको प्रयास हुन्थ्यो । तर, यसरी विद्रोहको रुपमा बाहिर आएको थिएन । तर यस पटक जसरी जेन-जी विद्रोह भयो, त्यस्तै गरी पार्टीभित्र पनि जेन–जी मोडलकै विद्रोह भयो । छापामार शैलीमा विशेष महाधिवेशन भयो । यस कारण धेरै अग्रज नेताहरुले छलफल गर्न र सहमति जुटाउन पनि पाउनुभएन ।

परिणामस्वरुप एउटा विद्रोही कार्यसमिति बन्यो । त्यसपछि कसैले जित र कसैले हारको अनुभुति गर्नुपर्‍यो । त्यही बेला निर्वाचन आयो । निर्वाचनमा ऐतिहासिक रुपमा नराम्रो पराजय भोग्नुपर्‍यो । अहिले सबै तै चुप मै चुपको अवस्थामा रहनुभएको छ । विशेष महाधिवेशन गरेर आउनेले पनि केके न गर्छु भनेको, केही गर्न सक्नुभएन । झन् पार्टी कमजोर भयो ।

१४ औँ महाधिवेशनबाट आएका साथीहरुले पनि हामी केके न गछौँ भनेको थिए । निर्वाचन आयोगले विशेषलाई आधिकारिक बनाइदिएपछि किनारामा बस्नुको विकल्प भएन । त्यसैमाथि दलको झगडामा अदालतले स्टे अडर दिएन । त्यसैले अब यस्तो हुन्छ भन्न सकिने अवस्था छैन । तर सबैको मनमा पार्टी मिलेर जानुपर्छ भन्ने कुरा छ । यहीँ मिलेर जानुपर्छ भन्ने सानो सकारात्मक त्यान्द्रोका कारण केही सही हुन्छ कि भन्ने अपेक्षा छ ।

कोशिस सबै तिरबाट भइरहेको छ । तर संवादको ‘आइसब्रेक’ हुन सकेको छैन । यो भयो भने बल्ल किन, को, के, कसरी, कहिले भन्ने प्रश्नको उत्तर दिदै जाँदा पार्टी एकता हुँदै जान्छ । त्यो हुन नसक्दा अहिले समस्या भएको हो ।

दलको नेता चयनमा पार्टीले निर्णय नै गर्न सकेको छैन । दुई पक्षको शक्ति संघर्ष पनि देखिन्छ । दलको नेता चयनमा यहाँहरुको के तयारी छ ?

संसदीय दलको नेता सर्वसम्मत गराउन खोजेजस्तो देखिन्छ । त्यो सम्भव नभइसकेपछि निर्वाचनको कार्यतालिका अगाडि ल्याएर निर्वाचनमै जाँदा फरक पर्दैन । पहिले पनि सभापति शेरबहादुर देउवासँग महामन्त्री रहनुभएका गगन थापा स्वयं प्रतिस्पर्धा गर्नुभएको थियो । दलभित्र लोकतान्त्रिक प्रतिस्पर्धा गराउनमा लोकतान्त्रिक पार्टी डराउनु हुँदैन, गराइदिए हुन्छ । सर्वसम्मतिमा गराएको खण्डमा ज्येष्ठ सदस्यको हैसियतले अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे दाबेदार हुनु स्वभाविक हो । सहमति नजुटे प्रक्रियामा जाँदा हुन्छ, त्यसमा यसलाई नै बनाउनुपर्छ भन्ने छैन ।

शेरबहादुर देउवालाई सम्पत्ति शुद्धीकरणमा सरकारले इन्टरपोल नै लगाएर झिकाउने तयारी गरेको छ । यसबारे यहाँहरुको धारणा के छ ? उहाँ अहिले कहाँ हुनुहुन्छ ?

सभापतिजी सिङ्गापुर जानुभएको हो । सिङ्गापुरमा उहाँको औषधि उपचार भइरहेको छ । केही समयका लागि हङकङ जानुभएको कुरा पनि बाहिर आएकै हो । हङकङ, सिङ्गापुर उपचारसँगै व्यक्तिगत भेटघाट र उपचारका लागि आउजाउ गर्नुभएको हो । उहाँलाई बेड हस्पिटलाइज गरिएको भने होइन ।

हप्ता दश दिन पहिले फलोअप छ, केही दिनमा नेपाल आउनेछु भन्ने कुरा भएको थियो । अब उहाँ आउने समय पनि भएको छ । अब आउँदैहुनुहुन्छ भन्ने थाहा पाएपछि हामीले झिकायौँ भन्ने श्रेय लिनलाई अनेक हल्ला फैलाइएको छ । नेपालको राजनीति स्टन्टमै चलिराखेको छ । सम्बन्धित पक्षले विवरण पेश गरेअनुसार त उहाँ चााडै आउनुहुनेछ ।

पक्राउको विषयमा उहाँसम्म कुनै लिखित सूचना पुगेको छैन । अनुसन्धान नै गर्नुपर्ने छ भने पनि लोकतन्त्रकै लागि लडेको हुनाले उहाँले अदालत र अनुसन्धानलाई सम्मानार्थ सघाउनुहुनेछ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ३ : १७ बजे

राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति

काँक्रेविहार– राउटे संरक्षण नीति स्वीकृत भएसँगै कर्णालीका विभिन्न जिल्लामा बसोबास

मधेसले अब किसानलाई उत्पादनमा आधारित मात्रै अनुदान दिने

काठमाडौं– मधेस प्रदेश सरकारले अब किसानलाई उत्पादन आधारित मात्रै अनुदान

मधेश प्रदेश बजेट : एक करोड भन्दा कम आयोजनामा बजेट विनियोजन नगर्ने

काठमाडौं– मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दा एक

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत