भक्तपुरको इटा भट्टामा सुदीपले देखेको सपना « Khabarhub

भक्तपुरको इटा भट्टामा सुदीपले देखेको सपना



काठमाडौँ— गत माघको अन्तिम साताको एक बिहान भक्तपुरको जगातीस्थित ‘ओके’ नामको इटा भट्टमा भेटिए दाङका किशोर दाजुभाइ सुदीप बुढामगर र राजन बुढामगर । सुदीप १६ वर्षका र राजन १३ वर्षका भए । उनीहरू निकै हतारमा इटा एक ठाउँबाट अर्को ठाउँमा ओसारिरहेका थिए ।

त्यहाँ करिब पन्ध्र जना कामदारहरू इटा बोक्ने काममा व्यस्त थिए । टाउकोमा इट्टाको भारी बोक्न सजिलोका लागि सबैले बाक्लो फेटा बाँधेका थिए । झट्ट हेर्दा सबै कामदार किशोर उमेरका जस्ता देखिन्थे । इटा बोक्ने जाँगर सबैको बराबर जस्तो देखिन्थ्यो । उनीहरू धेरै इट्टा बोक्ने प्रतिस्पर्धा गरिरहेका थिए ।

यी दाजुभाइ रहरले दाङबाट यहाँ आएका होइनन् । रहर त पढ्नको थियो तर पढाइ छाडेर काम गर्नु उनीहरूको बाध्यता हो । दुवै जनाले चार कक्षासम्म पढेका छन् । आफूलाई चाहिने कुरा पढ्न सक्छन् । गरिबीले उनीहरूलाई बाल्यकालमै कठिन श्रममा धकेलेको हो ।

निकै हतारमा इटा बोकिरहेका मध्ये एक जना एक छिन रोकिएर कुरा गर्न तयार भए । यी रहेछन् सुदीप । एक छिन रोकिँदा पनि उनलाई घाटा हुन्छ । जति धेरै इँटा बोक्यो उति धेरै पैसा हात लाग्छ । आरिख उनी पैसा कमाउनै त आएका हुन् !

उनीहरूले बस्न र खान पैसा तिर्नुपर्दैन । बस्नलाई इटा भट्टा परिसरमै एउटा छाप्रो छ । खाना सबैलाई एकै ठाउँमा पाक्छ । गत वर्ष दुई दाजुभाइले तीन लाख रुपैँया कमाइ गरे । सुदीपका अनुसार काम ठिकै लागेको छ, कमाइ पनि भएकै छ तर यहाँ धेरै जाडो रहेछ ।

सुदीपलाई स्कुल गएर पढ्न मन छ तर घर चलाउन पैसा नकमाई भएको छैन । उनी भन्छन्, ‘पढ्न मन छ तर काम नगरी खान पाइँदैन । स्कूल जाने फुर्सद हुँदैन ।’ उनीहरू गत वर्षको कमाइले लोभिएर यसपालि पनि इटा भट्टामै आएका हुन् । माघको सुरुमा आएका उनीहरू चैत लागेपछि घर फर्किनेछन् ।

यता इटा बोक्ने त तीन महिनामात्रै हो । तीन महिनाको कमाइ बोकेर गाउँ फर्किनु छ । उनीहरू आमाबुबालाई काम सघाउँछन् । गाउँमा पनि ज्यालादारीमा काम गर्छन् तर यताको जति कमाइ हुँदैन । सुदीप भन्छन्, ‘गाउँमा काम गर्छौं, ढुङ्गा बोक्छौँ, घर बनाएको ठाउँमा काम गर्छौं तर सधैँ पाइँदैन, कमाइ पनि धेरै हुँदैन ।’

दुई दाजुभाइले तीन महिनामा कमाएको पैसाले वर्षभरिलाई घरखर्च पुग्छ । यसपालि त उनीहरूले कोरोना भाइरसका कारणले गाउँमा धेरै दिन काम गर्न पनि पाएनन् । गाउँमा हुने अलिअलि कमाइ पनि ठप्पै भयो । सुदीपले भने, ‘लकडाउन भएपछि धेरै गाह्रो भयो, दुई पटक राहत पनि लियौँ तर त्यसले कति दिन पुग्थ्यो र !’

इटाको भारी ट्रकसम्म पुर्‍याउनु उनीहरूको काम हो । बिहान ६ बजेदेखि १० बजेसम्म काम गर्छन् र खाना खाएर चार घण्टा आराम गर्छन् । त्यसपछि फेरि चार घण्टा काम गर्छन् । कामदारहरू बीच धेरै इटा बोक्ने होडबाजी चल्छ । यसमै कुदाकुद हुन्छ ।

उनीहरू आफ्नो पारिश्रमिक घर जाने बेलामा एकैमुष्ठ लिन्छन् । सुदीप भन्छन्, ‘तीन महिनामा एक जनाको डेढ लाखसम्म पाउँछौँ दुई जनाकै गर्दा तीन लाख हुन्छ । पैसा लगेर आमाबुबालाई बुझाउँछौँ ।’

सुदीप पैसा कमाउन विदेश जाने विचारमा छन् । भाइ पनि विदेश जाने उमेरको भएपछि दुवै जना एकै पटक जाने सुदीपको विचार छ । उनले पढ्ने आशा मारिसकेका छन् । बरु विदेशमा पैसा कमाएर फर्किने र स्वदेशमा व्यवसाय गर्ने उनको सपना छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ९ : २८ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष