वैदेशिक रोजगारीमा मृत्युदर बढ्दै | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा मृत्युदर बढ्दै

१२ वर्षमा ९ हजार २ सयको मृत्यु



काठमाडौँ— गत चैत २२ गते नेपाल एयरलाइन्सको जहाजले वैदेशिक रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका १२ नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओराल्यो ।

उनीहरू घरपरिवार छाडेर पैसा कमाउन मलेशिया पुगेका थिए ।

विमानस्थलमा शव बुझ्न आएका २२ परिवारका सदस्य र आफन्तहरूको भावविह्ल अवस्था निकै कारुणिक थियो । यस्तो दृश्य विमानस्थलका लागि नौलो भने होइन ।

निम्न तथा निम्न मध्यम वर्गीय परिवारका लागि वैदेशिक रोजगारको लोकप्रिय गन्तव्य हो मलेसिया ।

नेपाली कामदारहरूका मुख्य गन्तव्यका रूपमा मलेसिया, कतार, साउदी अरेयिबा र संयुक्त अरब इमिरेट्स (युएई) हुन् । सामान्य लेखपढ गरेका र लेखपढ नै नगरेकाहरू पनि रोजगारीका लागि यी मुलुकमा पुग्ने गर्छन् ।

पछिल्लो समय विदेशी भूमिमा ज्यान गुमाउने नेपालीको संख्या बढ्दै गएको छ । कामका गन्तव्य मुलुकमध्ये सबैभन्दा धेरै नेपालीले ज्यान गुमाउने मुलुक हो मलेसिया छ ।

आर्थिक वर्ष ०६५/६६ देखि चालु आर्थिक वर्षको चैतसम्ममा मलेसियामा ३ हजार ८२१ जना नेपालीको ज्यान गएको वैदेशिक रोजगार बोर्डको अभिलेख छ ।

बोर्डको अनुसार चालु आर्थिक वर्षको ९ महिनामा वैदेशिक रोजगारीमा गएका ९६९ जनाको विभिन्न कारणले ज्यान गएको छ । यीमध्ये मलेसियामा मात्रै २३८ जना बिते ।

गत आर्थिक वर्षमा विदेशमा ज्यान गुमाएका ६३० जनामध्ये १७७ जना नेपाली मलेसियामा थिए ।

आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारी ९ हजार २३७ जनाको ज्यान गएको छ ।

बोर्डका निर्देशक राजन श्रेष्ठका अनुसार हृदयघात, प्राकृतिक कारण, आत्महत्या, कार्यस्थल हुने दुर्घटना र सवारी दुर्घटनाका कारण वैदेशिक नेपालीको श्रमिकले ज्यान जाने गरेको छ ।

वैदेशिक रोजगारीमा रहँदा परिवारसँगको विछोडले हुने एक्लोपन, मानसिक तनाव, कार्यस्थलको तनावका जस्ता कारणले श्रमिकहरू आत्महत्याको अवस्थामा पुग्ने गरेको मनोविद्हरू बताउँछन् ।

न्यूनीकरणका उपाय

रोजगारीको अवसर खोज्दै हरेक वर्ष ५ लाखसम्म नेपाली युवा विश्वको श्रम बजारमा बाहिरिन्छन् ।

रोजागरीका क्रममा मलेसियामा मात्र प्रतिदिन सरदर एक व्यक्तिको ज्यान जाने गरेको छ । वैदेशिक रोजगारीका क्रममा हुने मृत्युदर घटाउन के गर्नुपर्ला ?

बोर्ड सचिवालयका कार्यकारी निर्देशक श्रेष्ठ भन्छन्, ‘मृत्युदर घटाउन पूर्वप्रस्थान अभिमुखीकरण तालिम अनिवार्य लिनुपर्छ ।’ यस्तो तालिममा श्रमिकले गन्तव्य मुलकको भाषा, रहनसहन, धर्मसस्कृति, कानूनी व्यवस्था लगायतका विषयमा जानकारी पाउँछन् ।

दुर्घटना कम गर्न मनोसामाजिक परामर्श पनि अनिवार्य हुने श्रेष्ठको भनाइ छ ।

दुई वर्षअघि कोरिया रोजगारीमा आत्महत्या गर्नेको संख्या अचानक बढ्यो । त्यतिबेला बोर्डले नेपाली कलाकारसँग सहाकार्य ग¥यो ।

श्रेष्ठले भने, ‘कोरिया जाने कलाकारहरूसँग सहकार्य गरेर मनोरञ्जनसँगै मनोसामाजिक परामर्श गरायौँ, यसले सकारात्मक प्रभाव पारेको पाइयो ।’

विदेश जानेका लागि सीप तथा अभिमुखीकरण तालिम अनिवार्य गर्न सकेमा मृत्युदरमा कमी आउने उनको भनाइ छ ।

मलेसियामा सामाजिक सुरक्षाको ग्यारेन्टी भएका कम्पनीमा मात्रै नेपाली श्रमिक पठाउने तयारी गरेको उनले बताए ।

श्रेष्ठका अनुसार नेपालस्थित वैदेशिक रोजगार बोर्ड र मलेसियाको सोसल सेक्युरिटी अर्गनाइजेसन (सोक्सो) बीच नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षाको दायराभित्र समेट्ने गरी सम्झौता भएको र कार्यान्वयनको चरणमा रहेको छ ।

बोर्डकाअनुसार सोक्सोमा आबद्ध भएपछि प्रत्येक महिना श्रमिकको आधारभूत पारिश्रमिकको १ दशमलव २५ प्रतिशत बराबर रकम रोजगारदाताले आफ्नो तर्फबाट सोक्सो कोषमा जम्मा गरिदिने व्यवस्था छ ।

श्रमिक सूचीकृत भएपछि करार अवधिभित्र कार्यस्थलमा दुर्घटनामा परेमा र बिरामी भएमा उपचारको व्यवस्था सोक्सोले गरिदिन्छ ।

१२ वर्षमा ९ हजारले लिए आर्थिक सहायता

वैदेशिक रोजगारीको सिलसिलामा कामदारको मृत्यु भएमा निजको परिवारलाई नेपाल सरकारले ७ लाख रुपैयाँ आर्थिक सहायता दिने गरेको छ । हालसम्म ९ हजार ३३ जनाले यो रकम बुझेका छन् ।

 

 

 

 

 

 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ८ : ५६ बजे

कोशीमा टीएएन र केनेक्ट किसानबीच छलफल : चियाको अन्तर्राष्ट्रिय प्रवर्धनमा जोड

काठमाडौं– कोशी प्रदेशको उद्योग, कृषि र सहकारी मन्त्रालयमा टी एलायन्स

महिला राजनीतिमा आउन अझै समस्या रहेको सांसदहरूको गुनासो

सुर्खेत– कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका महिला सांसदहरूले आमसञ्चार माध्यममा

परराष्ट्रमन्त्रीले युक्रेनका समकक्षीसँग भनिन्– तपाईंको सेनाले बन्धक बनाएका नेपाली मुक्त गरिदिनुस्

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहासँग

निर्वाचन सुनिश्चितताको माग गर्दै स्वतन्त्र उम्मेदवार पदमा भुसाल धर्नामा

काठमाडौं– त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका

कुसाङको ट्रकबाट बरामद सबै रकम अमेरिकी डलर र युरो मात्रै

काठमाडौं- काठमाडौंको टोखा नगरपालिका-२ झोरस्थित सडकमा गुडिरहेको ना. ७ ख