आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै (पूजाविधि र व्रतकथासहित) | Khabarhub Khabarhub

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै (पूजाविधि र व्रतकथासहित)


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी अथवा देवशयनी एकादशी भनिन्छ । यस एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महीनासम्म गरिने विशेष पूजा शुरु गरिन्छ ।

एक महिनाअघि जेष्ठ शुक्ल एकादशीका दिन घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीक मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएका हो । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यस एकादशीमा नेपाल, भारत लगायतका मुलुकमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत राख्नुका साथै एक पर्वको रूपमा मनाउने गर्दछन् ।

पुराणहरूका मतानुशार भगवान विष्णु यस दिन देखि चार महिनासम्म (चतुर्मास) पातालमा राजा बलिको द्वारमा निवास गरेर कार्तिक शुक्ल एकादशीमा फर्कन्छन् । यही प्रयोजनले यस दिनलाई ’देवशयनी’ तथा कार्तिक शुक्ल एकादशीलाई ’प्रबोधिनी’ एकादशी भनिन्छ ।

देवशयनी एकादशी व्रतविधि
– एकादशीको दिन प्रातःकाल उठेर घरको सरसफाई तथा नित्य कर्मबाट निवृत्त हुने ।
– स्नान गरेर पवित्र जल घरमा छर्कने ।
– घरको पूजा स्थल वा पवित्र स्थलमा प्रभु श्रीहरि विष्णुको मूर्ति स्थापना गर्ने ।
– मूर्ती सुन, चाँदी, तामा अथवा पितलको हुनु पर्दछ । अन्यथा तस्बिर राख्ने ।
– तत्पश्चात षोड्शोपचार सहित पूजन गर्ने ।
– त्यसपछी भगवान विष्णुलाई पीताम्बर आदिले विभूषित गर्ने ।
– तत्पश्चात व्रत कथा सुन्ने ।
– त्यसपछी आरती गरेर प्रसाद वितरण गर्ने ।
– अन्तमा सेतो खोलले ढाकेको ओच्छ्यान बनाई श्रीविष्णुलाई शयन गराउने ।

पूजा गर्ने व्रतालुले चार महीनासम्म आफ्नो रुचि अथवा अभीष्टका अनुसार नित्य व्यवहारका पदार्थहरूको त्याग र ग्रहण गर्ने । देह शुद्धि या सुन्दरताकालागि पञ्चगव्यको, वंश वृद्धिको लागि नियमित दूधको, सर्वपापक्षय पूर्वक सकल पुण्य फल प्राप्त हुन एकमुक्त, नक्तव्रत, अयाचित भोजन अथवा सर्वथा उपवास गर्ने व्रत ग्रहण गर्ने ।

यो ४ महिनामा मधुर स्वरकालागि सख्खर, दीर्घायु अथवा पुत्र–पौत्रादि प्राप्तिकालागि तेल, शत्रुनाशादिकालागि तिलको तेल, सौभाग्यकालागि मिठो तेल, स्वर्ग प्राप्तिकालागि पुष्पादि भोग, प्रभु शयनका दिनहरूमा सबै प्रकारका मांगलिक कार्य जहाँसम्म हुनसक्छ नगर्ने । खाटमा सुत्ने, मैथुन गर्ने, झूठो बोल्ने, माछामासु, मह र अरुले दिएको दही–भात आदिको भोजन गर्नु, मूला, भण्टा आदिलाई पनि खानु हुदैँन । यसलाई त्याग्नु पर्दछ ।

हरिशयनी एकादशीको व्रतकथा
एक पटक देवऋषि नारदजीले ब्रह्माजीसँग यस एकादशीका विषयमा जान्ने उत्सुकता प्रकट गरे, ब्रह्माजीले उनलाई बताए – सत्य युगमा मान्धाता नामक एक चक्रवर्ती सम्राट राज्य गर्दथे । उनको राज्यमा प्रजा निकै सुखी थिए । भविष्यमा के हुन्छ, यो कसैलाई थाह थिएन । अतः उनी पनि यस कुराबाट अनभिज्ञ थिए कि उनको राज्यमा शीघ्र भयंकर अकाल पर्ने छ । उनको राज्यमा पूरै तीन वर्षसम्म वर्षा नभएका कारण भयंकर अकाल पर्यो ।

यस दुर्भिक्ष अकालले चारैतर्फ हा–हाकार मच्चियो । धर्म पक्षको यज्ञ, हवन, पिण्डदान, कथा–व्रत आदिमा कमी भयो । समस्या परेको समयमा धार्मिक कार्यमा प्राणीको रुचि कहाँ रहन्छ ? प्रजाले राजासँग गएर आफ्ना वेदनाहरू भने । राजा त यस स्थितिलाई लिएर पहिले देखि नै दुःखी थिए । उनी सोच्न लागे कि आखिर मैले यस्तो कुन पाप कर्म गरेँ छु, जसको दण्ड मलाई यस रूपमा मिलीरहेको छ ? फेरी यस कष्टबाट मुक्ति पाउने कुनै साधना गर्ने उद्देश्यले राजा सेनालाई लिएर जंगल तर्फ गए ।

त्यहाँ विचरण गर्दा–गर्दै एक दिन उनी ब्रह्माजीका पुत्र अंगिरा ऋषिको आश्रममा पुगे । उनलाई साष्टांग प्रणाम गरे र ऋषिवरले आशीर्वचनोपरांत कुशल गाथ सोधे । फेरी जंगलमा विचरण र आफ्नो आश्रममा आउनाको प्रयोजन जान्न चाहे ।

तब राजाले हात जोडेर भने– ’महात्मन् ! सबै प्रकारले धर्मको पालन गर्दा गर्दै पनि म आफ्नो राज्यमा दुर्भिक्षको दृश्य देखिरहेको छु । आखिर कुन कारणले यस्तो भइरहेको छ, कृपया यसको समाधान गर्नुस् ।’ यो सुनेर महर्षि अंगिराले भने– ’हे राजन ! सब युगहरू भन्दा उत्तम यही सत्य युग हो । यसमा सानो पापको पनि निकै भयंकर दण्ड मिल्दछ । यसमा धर्म आफ्ना चार चरणहरूमा व्याप्त रहन्छ ब्राह्मणका अतिरिक्त कुनै अन्य जातिलाई तप गर्ने अधिकार छैन । तपाईंको राज्यमा एक शूद्र तपस्या गरिरहेको छ । यही कारण भएर तपाईँको राज्यमा वर्षा भइरहेको छैन । जबसम्म त्यो काललाई प्राप्त हुन्न, तबसम्म यो दुर्भिक्ष शान्त हुनेछैन । दुर्भिक्षको शान्ति उसलाई मारेर नै सम्भव छ ।’

किन्तु यति वचन सुनी राजाको हृदय एक नरपराध शूद्र तपस्वीको शमन गर्नलाई तयार भएन । उनले भने– ’हे देव म उस निरपराधलाई मारी दिउँ, यो कुरा मेरो मन स्वीकार गरिरहेको छैन । कृपा गरेर तपाईँ कुनै अरु उपाय बताउनुहोस् ।’ महर्षि अंगिराले भने– ’आषाढ महिनाको शुक्ल पक्षको एकादशीको व्रत गर्नु । यस व्रतका प्रभावले अवश्य नै वर्षा हुनेछ ।’ त्यसपछि राजा आफ्नो राज्यको राजधानी फर्कि आए र चारै वर्णहरू सहित हरिशयनी एकादशीको विधिपूर्वक व्रत गरे व्रतका प्रभावले उनको राज्यमा मूसलधार वर्षा भयो र पूरा राज्य धन–धान्यले परिपूर्ण भयो ।

एक वर्षमा २४ एकादशी पर्दछन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत बस्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १० : ५८ बजे

कीर्तिपुरमा बालेन्द्र, रवि र प्रचण्डको परीक्षा

काठमाडौं– संघीय राजधानीस्थित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबारे जबर्जस्त केही

बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने

काठमाडौं – पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा

विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदानः पर्यटनमन्त्री पाण्डे

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विश्वमा

नेपाल सेरामिक इण्डष्ट्री जनकपुर बोल्ट्सको ‘डेकोर पार्टनर’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को टोली जनकपुर बोल्ट्सले नेपाल

एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को टोली चितवन राइनोजले आफ्नो