काठमाडौँ– टोकियो ओलम्पिक सकिएको दुई साता भएको छ । हरेक ओलम्पिकमा झैँ यस पटक पनि सम्झनलायक थुप्रै घटना भए ।
सहभागी हरेक व्यक्तिका लागि यो महोत्सव स्मरणीय हुनेछ, उनीहरू जुनसुकै भूमिकामा सहभागी भएका किन नहोउन्, केहीका लागि अझ विशेष बनेको छ । थुप्रै रोमाञ्चक घटनाका सम्झनलायक हुनेछन् ।
कुन घटना लामो समयसम्म धेरैको सम्झनामा रहन्छ भन्ने लेखाजोखा हुँदैछ । खेलका धेरै समीक्षक र पण्डितहरूले यस बारेमा आफ्नो धारणा राखेका छन् ।
धेरै समीक्षकको नजरमा टोकियो ओलम्पिकको सबैभन्दा स्मरणीय घटना सिमोन वाइल्सले बीचमै प्रतिस्पर्धा त्याग्नु नै थियो । उनले खेल त्यागिनन् मात्र, भावुक हुँदै टिम जोगाउन त्यस्तो निर्णय गरेको बताइन् । ओलम्पिकमा पाँच स्वर्ण पदक जित्ने अनुमान गरिएकी खेलाडीको त्यस्तो घोषणाले धरैलाई स्तब्ध तुल्यायो ।
सम्भवतः ओलम्पिक खेलकुदमा भएको दुर्लभ घटनाका रूपमा इतिहासले यसलाई सम्झने छ । अन्तिम दिन आफू कमजोर रहेको ब्यालेन्स बिममा सहभागी हुँदै कास्य पदक जितेपछि उनले आफूहरू मनोरञ्जन दिने र मनोरञ्जन गर्नेमात्र नभएर अरू जस्तै मान्छे भएको प्रतिक्रिया दिइन् ।
अमेरिकाकै एलिसन फेलिक्सले इतिहासकै सबैभन्दा सफल महिला एथलेटिक्स खेलाडीको रूपमा आफूलाई स्थापित गरिन् । यी दुई घटनाका साथै अन्य थुप्रै घटनाका माझ यो ओलम्पिक धेरैका लागि सम्झनायोग्य रहनेछ ।
अस्ट्रेलियाका दिदीबहिनी अम्मा म्याककोन र केली म्याककोनले तहल्का नै मच्चाए । दिदी अम्माले चार स्वर्णसहित कुल सात पदक जितिन् । बहिनी केलीले दुई स्वर्ण जितिन् । बाबु गुमाएको वर्ष पनि प्रशिक्षणलाई निरन्तरता दिँदै यस्तो सफलता पाउनु चानचुने मानिएन ।
यो ओलम्पिकमा आप्रवासीको कथा पनि जोडिएको छ । अनुहारमा चिनियाँको झल्को दिने अमेरिकी किशोरीले जिम्न्यास्टिकको अलराउन्डमा स्वर्ण पदक जितिन् ।
अलराउन्डको स्वर्ण पदक अमेरिकीका लागि भिन्न प्रतिष्ठाको विषय बन्ने गरेको छ । सन् २००० यता अमेरिकाले ओलम्पिकको महिला अलराउन्डमा लगातार स्वर्ण पदक जितेको छ । प्रबल दाबेदार वाइल्सले अप्रत्याशित रूपमा खेल त्यागेपछि यसपटकको उपाधि ब्राजिलकी रेकेबा एन्ड्राडेले जित्ने अनुमान अमेरिकी वृत्तमा थियो तर स्वर्ण पदक हमोङ समुदायकी सुनी लीले जितिन् ।
हमोङ समुदाय कुनै समय भियतनाम विरुद्धको युद्धमा अमेरिकाले प्रयोग गरेको आदिवासी समुदाय हो । चिनियाँ मूलको यो समुदाय अठारौँ शताब्दीमा पूर्वी एसियामा रहेको अनुमान छ ।
पछि यो समुदाय लाओस पुगेको थियो । लाओसमा रहेकै समयमा भियतनाम र लाओसबीचको लडाइँमा यी आदिवासीलाई अमेरिकाले गोप्यरूपमा प्रशिक्षित गराएको थियो । भियतनामको प्रभाव बढ्दै जाँदा उनीहरूमाथि यातना शुरू भयो । यसकारण उनीहरुमध्ये धेरै जना आप्रवासीका रूपमा अमेरिका पुगेका थिए ।
भियतनाम युद्धको समयमा यसै समुदायका जोन ली र यीभ अमेरिकामा पुगेका थिए । एकल आमाको रूपमा रहेकी यीभ जोनसँग प्रेममा परिन् । यीभ र छोरी सुनीलाई जोनले स्वीकार गरे । यीभले छोरी सुनीले पनि यीभकै थर राखून् भन्ने चाहेका थिए तर सुनीले ली राख्न चाहिन् । जोन र यीभको भेट हुँदा सुनी दुई वर्षकी थिइन् ।
यीभसँग प्रेम हुँदा जोनका दुई सन्तान पूर्वश्रीमती तर्फका थिए । यीभसँगको प्रेमपछि जोन सुनीका पनि बाबु बने ।
२०१९ को एक दिन यो परिवारका लागि सबैभन्दा खराब भयो । जोन छिमेकीले रूख काटेको ठाउँमा सघाउन पुगेका थिए । सोही स्थानमा लडेर घाइते भए, उनलाई पक्षघात भयो । त्यसको दुई दिनपछि सुनी राष्ट्रिय जिम्न्यास्टिक च्याम्पियनसिपमा सहभागी हुने कार्यक्रम थियो ।
जोनले ओछ्यानबाटै छोरीको सफलताको कामना गरे । उक्त राष्ट्रिय च्याम्पियनसिपमा सुनी अन इभन बारमा स्वर्ण पदक जित्न सफल भइन्, अलराउन्डमा वाइल्सभन्दा पछि रहँदै रजत पदक जितिन् ।
जोन्स अझै ह्वील चियरमै छन् । आफू ठिक हुँदै जाने र लट्ठीको सहायताले हिँडडुल गर्न सक्ने उनको आशा छ ।
सुनीलाई घरबाट पूर्ण समर्थन र सहयोग थियो । उनी सात वर्षकी हुँदा जोनले सिरक र डस्नाको सहायताले ब्यालेन्स बिम बनाएका थिए । ओछ्यानमै गुल्टीङबाजी खेल्न पनि जोनले सिकाएका थिए ।
चोटभन्दा अघि जोन सुनीका लागि घरमै सबै वातावरण तयार गर्न तल्लीन रहन्थे । अहिले केही गर्न नसके पनि छोरीको सफलताले बाँच्न प्रेरित गरेको उनी बताउँछन् । सुनीका अनुसार अहिले पनि बाबुले सधैँ उत्कृष्ट नतिजाका लागि प्रेरणा दिने गरेका छन् जसले उनलाई झकझक्याइरहन्छ ।
सुनीका प्रतियोगितामा उनका आमाबाबु सुनीसँगै जान्थे । रिङ प्रवेशअघि आमाबाबुले दिने प्रेरणाले उनमा अतुलनीय साहस प्राप्त हुन्थ्यो । टोकियो ओलम्पिक त्यस्तो भएन । कोरोनाका कारण यसपटक दर्शकविनाको खेल हुने भएपछि सुनीका आमाबाबु टोकियो जान पाएनन् ।
वर्षौंदेखिको सपना पूरा हुने समयमा आमाबाबु साथमा नहुँदा धेरै खल्लो लागेको सुनीले बताएकी थिइन् । उनकी आमाले घरमा बसेर सबै हेरेको र छोरीको जितपछि सिङ्गो समुदायलाई गौरवको महसुस गराएको बताएकी छन् ।
अमेरिकाका कलेजमा एनसीएए कार्यक्रम लोकप्रिय रहेको छ । एनसीएए अमेरिकी खेलकुदको एउटा हिस्सा बनेको छ । कलेजले दिने छात्रवृत्ति र खेल प्रशिक्षणका कारण यो परियोजनाको लोकप्रियता बढेको हो । अठार वर्षीय सुनी लीका लागि पनि कलेज टुङ्गो लागेको छ । अबुरन विश्वविद्यालयमा उनी पाइला टेक्दै छिन् ।
यी सबै सफलतापछि जोनको कथन छ, ‘सुनीकै कारण समुदायको इज्जत बढेको छ, यो समुदायको जीवनस्तर नै परिवर्तन पनि हुनसक्छ ।’
यो सफलतासम्म आइपुग्ने क्रममा सुनीले थुप्रै व्यवधान पार गर्नुपर्यो । कोरोना भाइरसका कारण कारण लामो समय सबै जिम सेन्टर बन्द भए । राम्रो प्रशिक्षण भएन । जिम खुल्ने बित्तिकै प्रशिक्षणका लागि गए पनि गोडामा गम्भीर चोट लाग्यो ।
त्यसको केही दिनअघि कोभिडका कारण उनले काका र काकी गुमाएकी थिइन् । एक पछि अर्को चोट सहनु पर्दा उनको प्रशिक्षणमा बाधा त पर्ने नै भयो, ओलम्पिक सहभागितामै धेरैलाई शंका लागेको थियो ।
सन् २०२१ को ओलम्पिक ट्रायलअघिका तीन प्रतियोगितामा सुनी अलराउन्डमा सहभागी भएकी थिइनन् । गोडाको चोटले उनलाई समस्या भएको थियो । सबैको अनुमार्न गलत साबित गर्दै उनी ओलम्पिक ट्रायलमा अलराउन्डमा पनि सहभागी भइन् । वाइल्सभन्दा पछि रहँदै उनी ओलम्पिकका लागि छनोट भइन् ।
उनको परिवारले कतिसम्म संघर्ष गरेको थियो भने सुनीले ट्रायलमा अलराउन्डमा सहभागी हुने भनेपछि जोन उत्साहित र आश्चर्य चकित भए । गोडामा चोट लागेकी छोरी सबै स्पर्धामा सहभागी हुनेमा विश्वास गर्न कठिन भयो । यो परिवार १६ घण्टा कारको यात्रा गर्दै मिनोस्टाबाट टेक्सस पुगेको थियो ।
जब टेक्ससमा छनोट खेल शुरू भयो, हरेक रुटिनअघि सुनी दर्शकदीर्घामा आमाबाबुको खोजी गर्थिन् । उनीहरूलाई देख्ने बित्तिकै सबै रुटिन ठिक हुन्छ भन्ने उनको आत्मविश्वास थियो ।
तिनै सुनीका लागि ओलम्पिक यात्रा पृथक हुन पुग्यो । महिला टिम स्पर्धामा अमेरिका स्वाभाविक दाबेदार मानिएको थियो तर छनोट चरणमा कमजोर प्रदर्शनपछि फाइनल चरणमा पनि शंका थियो । पहिलो रुटिनको क्रममा वाइल्सले प्रतियोगिता त्यागिन् । अमेरिका रजत पदकमा सीमित भयो ।
अलराउन्ड स्पर्धामा ब्राजिलकी रेबेका एन्ड्राडेले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । अन्तिम रुटिन सुनी कमजोर रहेको फ्लोरमा थियो । संयोग, एन्ड्राडे पनि त्यहाँ गल्ती गर्न पुगेपछि अमेरिकाले एउटा स्वर्ण पदकमात्र जितेन, हमोङ समुदायका लागि स्मरणीय दिनसमेत बन्यो ।
बाल्यकालमै परिवारसँग लाओस छाडेर अमेरिका गएदेखि अनेकौँ संघर्ष गरेका सुनीका बाबु जोन लीको सपना आखिर सार्थक भएरै छाडेयो । –एजेन्सीहरूको सहयोगमा
प्रतिक्रिया