अमेरिकाको शान बढाउने यी आप्रवासी छोरी | Khabarhub Khabarhub

अमेरिकाको शान बढाउने यी आप्रवासी छोरी


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियो ओलम्पिक सकिएको दुई साता भएको छ । हरेक ओलम्पिकमा झैँ यस पटक पनि सम्झनलायक थुप्रै घटना भए ।

सहभागी हरेक व्यक्तिका लागि यो महोत्सव स्मरणीय हुनेछ, उनीहरू जुनसुकै भूमिकामा सहभागी भएका किन नहोउन्, केहीका लागि अझ विशेष बनेको छ । थुप्रै रोमाञ्चक घटनाका सम्झनलायक हुनेछन् ।

कुन घटना लामो समयसम्म धेरैको सम्झनामा रहन्छ भन्ने लेखाजोखा हुँदैछ । खेलका धेरै समीक्षक र पण्डितहरूले यस बारेमा आफ्नो धारणा राखेका छन् ।

धेरै समीक्षकको नजरमा टोकियो ओलम्पिकको सबैभन्दा स्मरणीय घटना सिमोन वाइल्सले बीचमै प्रतिस्पर्धा त्याग्नु नै थियो । उनले खेल त्यागिनन् मात्र, भावुक हुँदै टिम जोगाउन त्यस्तो निर्णय गरेको बताइन् । ओलम्पिकमा पाँच स्वर्ण पदक जित्ने अनुमान गरिएकी खेलाडीको त्यस्तो घोषणाले धरैलाई स्तब्ध तुल्यायो ।

सम्भवतः ओलम्पिक खेलकुदमा भएको दुर्लभ घटनाका रूपमा इतिहासले यसलाई सम्झने छ । अन्तिम दिन आफू कमजोर रहेको ब्यालेन्स बिममा सहभागी हुँदै कास्य पदक जितेपछि उनले आफूहरू मनोरञ्जन दिने र मनोरञ्जन गर्नेमात्र नभएर अरू जस्तै मान्छे भएको प्रतिक्रिया दिइन् ।

अमेरिकाकै एलिसन फेलिक्सले इतिहासकै सबैभन्दा सफल महिला एथलेटिक्स खेलाडीको रूपमा आफूलाई स्थापित गरिन् । यी दुई घटनाका साथै अन्य थुप्रै घटनाका माझ यो ओलम्पिक धेरैका लागि सम्झनायोग्य रहनेछ ।

अस्ट्रेलियाका दिदीबहिनी अम्मा म्याककोन र केली म्याककोनले तहल्का नै मच्चाए । दिदी अम्माले चार स्वर्णसहित कुल सात पदक जितिन् । बहिनी केलीले दुई स्वर्ण जितिन् । बाबु गुमाएको वर्ष पनि प्रशिक्षणलाई निरन्तरता दिँदै यस्तो सफलता पाउनु चानचुने मानिएन ।

यो ओलम्पिकमा आप्रवासीको कथा पनि जोडिएको छ । अनुहारमा चिनियाँको झल्को दिने अमेरिकी किशोरीले जिम्न्यास्टिकको अलराउन्डमा स्वर्ण पदक जितिन् ।

अलराउन्डको स्वर्ण पदक अमेरिकीका लागि भिन्न प्रतिष्ठाको विषय बन्ने गरेको छ । सन् २००० यता अमेरिकाले ओलम्पिकको महिला अलराउन्डमा लगातार स्वर्ण पदक जितेको छ । प्रबल दाबेदार वाइल्सले अप्रत्याशित रूपमा खेल त्यागेपछि यसपटकको उपाधि ब्राजिलकी रेकेबा एन्ड्राडेले जित्ने अनुमान अमेरिकी वृत्तमा थियो तर स्वर्ण पदक हमोङ समुदायकी सुनी लीले जितिन् ।

हमोङ समुदाय कुनै समय भियतनाम विरुद्धको युद्धमा अमेरिकाले प्रयोग गरेको आदिवासी समुदाय हो । चिनियाँ मूलको यो समुदाय अठारौँ शताब्दीमा पूर्वी एसियामा रहेको अनुमान छ ।

पछि यो समुदाय लाओस पुगेको थियो । लाओसमा रहेकै समयमा भियतनाम र लाओसबीचको लडाइँमा यी आदिवासीलाई अमेरिकाले गोप्यरूपमा प्रशिक्षित गराएको थियो । भियतनामको प्रभाव बढ्दै जाँदा उनीहरूमाथि यातना शुरू भयो । यसकारण उनीहरुमध्ये धेरै जना आप्रवासीका रूपमा अमेरिका पुगेका थिए ।

भियतनाम युद्धको समयमा यसै समुदायका जोन ली र यीभ अमेरिकामा पुगेका थिए । एकल आमाको रूपमा रहेकी यीभ जोनसँग प्रेममा परिन् । यीभ र छोरी सुनीलाई जोनले स्वीकार गरे । यीभले छोरी सुनीले पनि यीभकै थर राखून् भन्ने चाहेका थिए तर सुनीले ली राख्न चाहिन् । जोन र यीभको भेट हुँदा सुनी दुई वर्षकी थिइन् ।

यीभसँग प्रेम हुँदा जोनका दुई सन्तान पूर्वश्रीमती तर्फका थिए । यीभसँगको प्रेमपछि जोन सुनीका पनि बाबु बने ।

२०१९ को एक दिन यो परिवारका लागि सबैभन्दा खराब भयो । जोन छिमेकीले रूख काटेको ठाउँमा सघाउन पुगेका थिए । सोही स्थानमा लडेर घाइते भए, उनलाई पक्षघात भयो । त्यसको दुई दिनपछि सुनी राष्ट्रिय जिम्न्यास्टिक च्याम्पियनसिपमा सहभागी हुने कार्यक्रम थियो ।

जोनले ओछ्यानबाटै छोरीको सफलताको कामना गरे । उक्त राष्ट्रिय च्याम्पियनसिपमा सुनी अन इभन बारमा स्वर्ण पदक जित्न सफल भइन्, अलराउन्डमा वाइल्सभन्दा पछि रहँदै रजत पदक जितिन् ।

जोन्स अझै ह्वील चियरमै छन् । आफू ठिक हुँदै जाने र लट्ठीको सहायताले हिँडडुल गर्न सक्ने उनको आशा छ ।

सुनीलाई घरबाट पूर्ण समर्थन र सहयोग थियो । उनी सात वर्षकी हुँदा जोनले सिरक र डस्नाको सहायताले ब्यालेन्स बिम बनाएका थिए । ओछ्यानमै गुल्टीङबाजी खेल्न पनि जोनले सिकाएका थिए ।

चोटभन्दा अघि जोन सुनीका लागि घरमै सबै वातावरण तयार गर्न तल्लीन रहन्थे । अहिले केही गर्न नसके पनि छोरीको सफलताले बाँच्न प्रेरित गरेको उनी बताउँछन् । सुनीका अनुसार अहिले पनि बाबुले सधैँ उत्कृष्ट नतिजाका लागि प्रेरणा दिने गरेका छन् जसले उनलाई झकझक्याइरहन्छ ।

सुनीका प्रतियोगितामा उनका आमाबाबु सुनीसँगै जान्थे । रिङ प्रवेशअघि आमाबाबुले दिने प्रेरणाले उनमा अतुलनीय साहस प्राप्त हुन्थ्यो । टोकियो ओलम्पिक त्यस्तो भएन । कोरोनाका कारण यसपटक दर्शकविनाको खेल हुने भएपछि सुनीका आमाबाबु टोकियो जान पाएनन् ।

वर्षौंदेखिको सपना पूरा हुने समयमा आमाबाबु साथमा नहुँदा धेरै खल्लो लागेको सुनीले बताएकी थिइन् । उनकी आमाले घरमा बसेर सबै हेरेको र छोरीको जितपछि सिङ्गो समुदायलाई गौरवको महसुस गराएको बताएकी छन् ।

अमेरिकाका कलेजमा एनसीएए कार्यक्रम लोकप्रिय रहेको छ । एनसीएए अमेरिकी खेलकुदको एउटा हिस्सा बनेको छ । कलेजले दिने छात्रवृत्ति र खेल प्रशिक्षणका कारण यो परियोजनाको लोकप्रियता बढेको हो । अठार वर्षीय सुनी लीका लागि पनि कलेज टुङ्गो लागेको छ । अबुरन विश्वविद्यालयमा उनी पाइला टेक्दै छिन् ।

यी सबै सफलतापछि जोनको कथन छ, ‘सुनीकै कारण समुदायको इज्जत बढेको छ, यो समुदायको जीवनस्तर नै परिवर्तन पनि हुनसक्छ ।’

यो सफलतासम्म आइपुग्ने क्रममा सुनीले थुप्रै व्यवधान पार गर्नुपर्‍यो । कोरोना भाइरसका कारण कारण लामो समय सबै जिम सेन्टर बन्द भए । राम्रो प्रशिक्षण भएन । जिम खुल्ने बित्तिकै प्रशिक्षणका लागि गए पनि गोडामा गम्भीर चोट लाग्यो ।

त्यसको केही दिनअघि कोभिडका कारण उनले काका र काकी गुमाएकी थिइन् । एक पछि अर्को चोट सहनु पर्दा उनको प्रशिक्षणमा बाधा त पर्ने नै भयो, ओलम्पिक सहभागितामै धेरैलाई शंका लागेको थियो ।

सन् २०२१ को ओलम्पिक ट्रायलअघिका तीन प्रतियोगितामा सुनी अलराउन्डमा सहभागी भएकी थिइनन् । गोडाको चोटले उनलाई समस्या भएको थियो । सबैको अनुमार्न गलत साबित गर्दै उनी ओलम्पिक ट्रायलमा अलराउन्डमा पनि सहभागी भइन् । वाइल्सभन्दा पछि रहँदै उनी ओलम्पिकका लागि छनोट भइन् ।

उनको परिवारले कतिसम्म संघर्ष गरेको थियो भने सुनीले ट्रायलमा अलराउन्डमा सहभागी हुने भनेपछि जोन उत्साहित र आश्चर्य चकित भए । गोडामा चोट लागेकी छोरी सबै स्पर्धामा सहभागी हुनेमा विश्वास गर्न कठिन भयो । यो परिवार १६ घण्टा कारको यात्रा गर्दै मिनोस्टाबाट टेक्सस पुगेको थियो ।

जब टेक्ससमा छनोट खेल शुरू भयो, हरेक रुटिनअघि सुनी दर्शकदीर्घामा आमाबाबुको खोजी गर्थिन् । उनीहरूलाई देख्ने बित्तिकै सबै रुटिन ठिक हुन्छ भन्ने उनको आत्मविश्वास थियो ।

तिनै सुनीका लागि ओलम्पिक यात्रा पृथक हुन पुग्यो । महिला टिम स्पर्धामा अमेरिका स्वाभाविक दाबेदार मानिएको थियो तर छनोट चरणमा कमजोर प्रदर्शनपछि फाइनल चरणमा पनि शंका थियो । पहिलो रुटिनको क्रममा वाइल्सले प्रतियोगिता त्यागिन् । अमेरिका रजत पदकमा सीमित भयो ।

अलराउन्ड स्पर्धामा ब्राजिलकी रेबेका एन्ड्राडेले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । अन्तिम रुटिन सुनी कमजोर रहेको फ्लोरमा थियो । संयोग, एन्ड्राडे पनि त्यहाँ गल्ती गर्न पुगेपछि अमेरिकाले एउटा स्वर्ण पदकमात्र जितेन, हमोङ समुदायका लागि स्मरणीय दिनसमेत बन्यो ।

बाल्यकालमै परिवारसँग लाओस छाडेर अमेरिका गएदेखि अनेकौँ संघर्ष गरेका सुनीका बाबु जोन लीको सपना आखिर सार्थक भएरै छाडेयो । –एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ९ : ३४ बजे

इजराइलद्वारा पूर्वी रफाहबाट एक लाख मानिसको सुरक्षित स्थानान्तरण

जेरुसेलम– इजराइली सेनाले सोमबार दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि

केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित

चितवन– जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने

समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न एमाले तयार : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेले समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न आफूहरू