उपल्लो मुस्ताङमा सञ्चार सहज, स्थानियको जीवनशैली परिवर्तन | Khabarhub Khabarhub

उपल्लो मुस्ताङमा सञ्चार सहज, स्थानियको जीवनशैली परिवर्तन


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – मोबाइल फोनमा कुराकानी गर्न टावर टिप्ने डाँडामा चढ्नुपर्ने र इन्टरनेट चलाउन सदरमुकाम जोमसोम झर्नुपर्ने उपल्लो मुस्ताङवासीको बाध्यता हटेको छ ।

घर, गोठ, मेलापात, कार्यालय जहाँ जाँदा पनि साथमा रहेको मोबाइलमा कुराकानी गर्न मात्र नभएर उच्च गतिको इन्टरनेट चलाउन पाएपछि बारागुङ, मुक्तिक्षेत्र, लोघेकर-दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दालाई सहज भएको छ । देश ,विदेश र वल्लोपल्लो गाउँमा अत्यावश्यक सूचना आदानप्रदान गर्नदेखि सहर बजारका कलेजमा भर्ना भएका विद्यार्थीले कोरोना महामारीमा घरमै बसेर अनलाइनबाट पढ्न पाएका चराङवासी घम्जुघुटी गुरुङले बताए।

“सञ्चार सुविधाको विस्तारसँगै भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रका बासिन्दाको जीवनशैलीमा परिवर्तन आएको छ”, उनले भने “कोठाभित्रै बसेर सूचना आदानप्रदान गर्न पाएका छौँ । सञ्चार नहुँदा धेरै सास्ती भएको थियो ।” विकास निर्माणमा सहजीकरण गर्न, सार्वजनिक सेवा प्रवाह, भेडाच्याङ्ग्रा, स्याउलगायत कृषिजन्य वस्तुको बजारीकरणमा समेत सहयोग पुगेको लोमान्थाङका टासी गुरुङले जानकारी दिए । “धार्मिक र पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको छ”, उनले भने, “मोबाइल सुविधा विस्तारसँगै जीवनशैलीमा नसोचेको परिवर्तन ल्याएको छ ।”

सरकारी स्वामित्वको नेपाल टेलिकमले थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा तारजडित टेलिफोन, फाइबरबाट इन्टरनेट विस्तार गरेको छ । मुक्तिनाथ, दामोदरकुण्डदेखि चीनको सिमाना कोरला नाकासम्म बिटिएस टावरमा थ्रीजी सञ्चालन गरेको टेलिकमको बागलुङ शाखाका वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताए।

“मुक्तिनाथमा फाइबर इन्टरनेट विस्तार भएको छ”, उनले भने, “चार हजार ६०० मिटर उचाइको कोरला नाकाको बिटिएस टावरमा पनि थ्रीजी चलाएका छौँ ।” छरिएका र पातलो बस्ती भएको मुस्ताङका ठाउँमा मोबाइल र थ्रीजी इन्टरनेट विस्तार गर्न २० बिटिएस टावर राखेको टेलिकमका मुस्ताङ शाखा प्रमुख सुमनराज श्रेष्ठले जानकारी दिए ।

धार्मिकस्थल दामोदरकुण्डमा जाने दर्शनार्थी र स्थानीयवासीलाई लक्षित गरेर पछिल्लो पटक लोघेकर दामोदरकुण्ड गाउँपालिकाको घिलिङ लोदा र नाङ्लियाको ‘बिटिएस टावर’को स्तरोन्नति गरिएको छ । तीव्र गतिमा चल्ने हावाहुरी, हिमपात र चिसोका कारण सञ्चार सेवालाई प्रभावित हुन नदिन स्थानीय तहले सामग्री राख्ने घर निर्माण र टावरसम्म केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले बताए।

पोखरा-बागलुङ, बेनी-जोमसोम-कोरला सडक निर्माणका क्रममा फाइबरमा क्षति हुने र विद्युत् आपूर्तिमा हुने अनियमितता मुस्ताङको सञ्चार सुविधालाई नियमित र गुणस्तरीय बनाउन चुनौती देखिएको छ । विसं २०७४-०७५ सम्म मुस्ताङमा सीमित कल सुविधा मात्र थियो । हाल अधिकांश भू-भागमा माइक्रोवेभ रेडियो लिङ्कमार्फत अत्याधुनिक प्रविधिको सेवा प्रवाह गरिरहेको छ ।

 

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १० : १४ बजे

‘जेन-जी’ पुस्तालाई प्रगतिशील रूपमा सङ्गठित गर्न आवश्यक : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले) स्थायी कमिटी सदस्य

सङ्खुवासभामा खसीबोकाको किनबेच सुरु

किमाथांका– जिल्ला सदरमुकाम खाँदबारीमा दसैँ नजिकिएसँगै दैनिक उपभोग्य वस्तुका साथै

सिरहामा करेन्ट लागेर शिक्षकको मृत्यु

सिरहा– यहाँको लहान नगरपालिका–२३ स्थित गाढा गाउँमा सिँचाइका लागि प्रयोग

चमन सीमाबाट अफगान शरणार्थी फेरि फर्किन थाले

एजेन्सी– यसअघि भएको घातक बम विस्फोटपछि स्थगित भएको चमन सीमा

ट्रम्पद्वारा सञ्चारमाध्यमको आलोचना, किमेलको कार्यक्रम निलम्बनपछि बहस चर्कियो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सञ्चारमाध्यमहरूले आफूमाथि अत्यधिक नकारात्मक समाचार