प्रहरीको प्रशंसाले भारतमा बढाउँदैछ ‘इन्काउन्टर’ | Khabarhub Khabarhub

प्रहरीको प्रशंसाले भारतमा बढाउँदैछ ‘इन्काउन्टर’


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हत्या र बलात्कारको घटना भारतमा एउटा ठूलो समस्याको रूपमा छ । बलात्कार सम्बन्धी मुद्दा अदालतमा धेरै वर्षपछि मात्र टुङ्गो लाग्ने भएपछि यसले प्रशासन, प्रहरी, पीडित र पीडितका आफन्तलाई आक्रोशित गराउने गरेको छ । यी समस्याका माझ आरोपितलाई ‘इन्काउन्टर’ भन्दै मार्ने क्रम बढ्दै गएको छ ।

भारतको हैदरावादमा हालै यस्तै अर्को एउटा घटना भएको छ । हैदरावादमा बलात्कारका एक जना आरोपितको लास रेलको लिकमुनि भेटिएपछि प्रहरीले आत्महत्या भएको जनाएको छ । मानव अधिकारवादीहरूले भने प्रहरीले मारेर फ्याँकेको आरोप लगाएका छन् ।

गत साता ६ वर्षीया एक बालिका घरबाट हराएकी थिइन् । केही घण्टापछि उनको लास आरोपितको घरमा फेलापरेको थियो । आरोपित र ती बालिकाका घर नजिकमा छन् । बालिकाको शवको पोस्टमार्टमबले बलात्कारपछि हत्या भएको प्रमाणित गरेको थियो ।

यो घटनापछि हैदरावादमा ठूलो विरोध भयो । स्थानीयवासी, मानव अधिकारवादी र तलेगु चलचित्रका कलाकारहरूले लगातार विरोध गरे । दोषीलाई मृत्युदण्डको माग गर्दै सामाजिक सञ्जालमा आवाज उठ्न थालेको थियो । आरोपित ३० वर्षीय युवा भने फरार थिए ।

भारतमा बर्सेनी हजारौँ बलात्कारका घटना हुने गरेका छन् । यी मुद्दाको छिनोफानो हुन पनि वर्षौं लाग्ने गरेका कारण संलग्नलाई इन्काउन्टरमा प्रहरीले मार्न सके मानिसहरू खुसी हुने गरेका छन् ।

हैदरावादको घटनामा पनि प्रहरीले आरोपितको तस्बिर सार्वजनिक गर्दै यसबारे खबर गर्नेलाई १० लाख भारतीय रुपैयाँ दिने घोषणा गरेको थियो ।

प्रहरीले बिहीबार राजु पालाकोन्डा नामका ती युवकको शव रेलको लिकमा भेटिएको कुरा सार्वजनिक गर्दै आत्महत्या भएको जनाएको थियो । प्रहरीले मृत शरीरको पाखुरामा भएको ट्याटुका कारण शव पहिचान भएको जनाएको छ । प्रहरीको दाबीअनुसार अनुसार राजु रेल आउनुअघि लिकमा हिँडिरहेको एक जना वृद्धले देखेका थिए ।

स्थानीयबासी भने प्रहरीको यो दाबीमा सहमत छैनन् । प्रहरीले कस्टडीमा मारेर लिकमुनि फ्याँकेको धेरैको अनुमान छ । बिहीबार बिहान प्रहरीले फोन गरेर श्रीमान् भेट्न थानामा आउन भनेको कुरा राजुको श्रीमती बताउँछिन् । बिहीबार नै राजुको शव फेला परेको हो ।

आइतबार मन्त्री केजी कमारोले केही समयमा बलात्कारीलाई पक्रने भन्दै ट्वीट गरेका थिए । पछि उनले यसलाई सच्याउँदै प्रहरीले अझै सहयोग खोजिरहेको जनाए । राजुको शव भेटिनु दुई दिनअघि प्रान्तीय श्रममन्त्री माला रेड्डीले उनलाई समातेर मार्ने कुरा सार्वजनिक रूपमै बताएका थिए ।

हैदरावादमा रहेकी समाजशास्त्र तथा कानुन व्यवसायी प्राध्यापक कल्पना कानारविन यसरी इन्काउन्टर गर्नु गलत भएको बताउँछिन् । प्रहरीले तथ्य पत्ता लगाउन अनिवार्य रहेको उनको जोड छ । हैदरावाद प्रहरीले अदालती कानुन नपर्खेर इन्काउन्टर गरेको यो आरोप पहिलो होइन ।

२०१९ को डिसेम्बरमा २७ वर्षीय भेटेरिनरी चिकित्सकलाई बलात्कार र हत्या गरेको आरोप लागेका चार जनालाई प्रहरीले गोली प्रहार गरेको थियो । सो घटनामा पनि प्रहरीले आफूहरूमाथि नै गोली चलाएर भाग्न खोजेको कारण गोली चलाउन बाध्य भएको जनाएको थियो । उक्त घटनाको छानबिन गर्न सर्वोच्च न्यायालयले कमिटी गठन गरेको थियो ।

इन्काउन्टरको उक्त घटनापछि सार्वजनिक रूपमा खुसीयाली मनाइएको थियो । आरोपित चार जनालाई प्रहरीले गोली हानेर मारेपछि चोकचोकमा मिठाइ बाँडिएको थियो । इन्काउन्टर गर्ने प्रहरीलाई आमसमुदायले नायकको रूपमा व्याख्या गर्दै प्रशंसा गरेका थिए ।

प्राध्यापक कानारविन यसरी सडकमै मान्छे मारेर बलात्कारको घटना कम नहुने बताउँछिन् । उनले उक्त घटनापछि पनि लगातार बलात्कारका घटना भइरहेकाले इन्काउन्टर नै सबैभन्दा सही उपाय हो भन्ने आमसमुदाय र प्रहरीको धारणामा परिवर्तन आउनु पर्ने उनको भनाइ छ ।

कानारविनको विचारमा यसरी आरोपित व्यक्तिको हत्या गरेपछि कानुनको बाटो बन्द हुन्छ । संलग्न अन्य व्यक्तिले छुटकारा पाउने सम्भावना हुन्छ र कानुन अझ फितलो हुँदै जान्छ ।

हैदरावादमा २०१९ मा भएको एउटा घटनाको त यसरी खुसीयाली मनाइएको थियो कि प्रहरीले इन्काउन्टर गरेको एक घण्टापछि नै पीडित महिलाको लास फेला परेको स्थानमा दुई हजार जना जम्मा भएका थिए । ती सबैले एक आपसमा मिठाइ बाँडेका थिए, बत्ती बालेर मृतकको सम्झना गरेका थिए । यसपछि उनीहरूले ‘पुलिस जिन्दावाद’ भन्दै नारा लगाएका थिए । यसपछि फेसबुक र ट्वीटर लगायत सामाजिक सञ्जालमा खुसीयाली मनाइएको थियो ।

तीन हजार जनाले ट्वीटरमार्फत प्रहरीको कदमको प्रशंसा गरेका थिए । बलात्कारको मुद्दा फैसला हुन कहिलेकाहीँ दशक पनि लाग्ने गरेको छ । सन् २०१९ को हैदरावादको उक्त घटना भएको समयकै समाचार अनुसार एक लाख ५० हजारभन्दा बढी बलात्कारका मुद्दाहरू अदालतमा विचाराधीन थिए ।

सन् २०१२ मा दिल्लीको बसमा भएको ग्याङ रेप र हत्याको मुद्दाको फैसला सात वर्षसम्म भएको थिएन । मुद्दा अदालतमा थाती रहेकै समयमा हैदरावादमा २०१९ मा अर्को सोही प्रकृतिको घटना भएपछि कानुनी बाटोप्रति नै मानिसको वितृष्णा जागेको थियो ।

दिल्ली बसको त्यो घटना अधिक चर्चामा थियो । यसको समाचारले अखबारमा पाना भरिए, बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने आवाज उठ्यो ।

मृत्यु दण्डको व्यवस्था त भयो तर आरोपित पक्षले साना छिद्र पाउने बित्तिकै मुद्दा लम्ब्याउन थाल्यो । यसकारण भारतमा बलात्कार सम्बन्धी घटनामा छोटो समयमा फैसला हुँदैन । दिल्ली बास काण्डमा मारिएकी ती २३ वर्षीया युवतीकी आमा आशादेवीको दुई ट्वीट भारतमा चर्चामा रहेको थियो । पहिलो ट्वीटमा उनले दोषीलाई मृत्युदण्ड मागेकी थिइन् । दोस्रो ट्वीटमा हैदरावादमा प्रहरीले महान काम गरेको भन्दै यसले आफूलाई धेरै खुसी लागेको जनाएकी थिइन् ।

आशादेवीको यो आक्रोशको सीमा २०२० मा सकियो जब २०१२ को घटनामा संलग्न चार जनालाई मृत्युदण्ड भयो । सन् २०२० को मार्चमा मुकेश सिंह, विनय शर्मा, अक्षय ठाकुर र पवन गुप्ता तिसार जेलमा झुन्ड्याइएका थिए ।

दिल्ली बस काण्डको विरोध यसरी भएको थियो कि घटना भएको एक साता नबित्दै बङ्गलोर र कलकत्तासम्म विरोध प्रदर्शन भएको थियो । बाबु रामदेव, पूर्वसेनाप्रमुख विजयकुमार सिंह लगायत सडकमै आएका थिए ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यममा पनि यो घटना चर्चाको विषय बनेको थियो । रइसिना हिलमा भएको विरोध प्रदर्शनका कारण रेल यात्रा अवरुद्ध भएको थियो, केही अधिकारकर्मीले भोक हडताल पनि गरेका थिए ।

अदालतले आठ वर्षपछि दिल्ली बस घटनाको टुङ्गो लगायो । लामो समय पर्खिने धैर्य कमैमा छ । यसकारण इन्काउन्टरको पक्षमा मत बढी छ । बलात्कारीका आरोपितलाई इन्काउन्टरमा मार्ने प्रहरी समाजका नायकको रूपमा चित्रित हुने गरेका छन् । कतिपय समाजशास्त्रीहरू प्रहरीको यस्तो कदमको व्यापक समर्थन हुनु र इन्काउन्टरमा मारिँदा खुसीयाली मनाउनुलाई चलचित्रको प्रभाव पनि मान्छन् ।

हैदरावादको २०१९ उक्त घटनालाई २०१० को तामिल चलचित्र सिंघमको रूपमा व्याख्या गर्दै धेरैले ट्वीट गरेका थिए । एक वर्षपछि बलिउडमा पनि सिंघम चलचित्र तयार भएको थियो । आममानिसको आशय थियो कि सिंघमका नायक र इन्काउन्टर गर्ने प्रहरी उस्तै हुन् ।

पूर्वप्रहरी अधिकृत प्रकाश सिंहले यसरी प्रहरीको इन्काउन्टरमा मारिनु गलत भएको टिप्पणी गर्दै अदालतले फैसला कुर्नुपर्ने जनाएका थिए । धेरै मानिसहरू इन्काउन्टरको पक्षमा भने त्यो समयमा पनि थिएनन् । शंकाको भरमा निर्दोष मान्छे मासिन सक्ने सम्भावनाको कारण इन्काउन्टर गलत हुने उनीहरूको तर्क थियो ।

भारतमा जघन्य अपराधमा मृत्यु दण्ड दिने कानून छ । अदालती फैसलाभन्दा पहिले हुने इन्काउन्टरले सामान्य मान्छेलाई खुसी त बनाउँछ तर कानूनप्रति मान्छेको विश्वास घटाइरहेको छ ।

चलचित्रको प्रभाव, अदालतमा फैसलामा हुने ढिलाइ र बढ्दो आपराधिक घटनासँगै इन्काउन्टर गर्ने प्रहरीलाई भने समाजका बहुसंख्यकले नायक ठान्ने गरेका छन् ।

 

 

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १० : ०१ बजे

मुस्ताङ यात्राको थकान मेटाउने ‘भुरुङ्ग तातोपानी’ 

म्याग्दी– उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार

दशैँमा कसरी हुँदैछ बिजुली व्यवस्थापन ?

काठमाडौं – सरकारले दशैँको अवधिभर गुणस्तरीय र भरपर्दो विद्युत सेवा

स्वादे जिब्रोको परिणाम : दुई महिनामै १९ करोडको मसला खपत

काठमाडौं – खाना खाँदा तरकारी मसालेदार भएन भने नेपालीलाई स्वाद

ओलम्पिकमा पदक खोसिएकी पोगात जम्मु काश्मिरकी सांसद

काश्मीर – जुलाई महिनामा पेरिसमा भएको ओलम्पिक खेलकुदमा वजन विवादका

आज विश्व हुलाक दिवस मनाइँदै

काठमाडौं– आज विश्व हुलाक दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना