समाचार

जिरी एयरपोर्टमा गाई चराउने ‘सोबत बा’

By सविना कार्की

November 20, 2021

काठमाडौँ– दोलखाको जिरी एयरपोर्टमा गाई चराइरहेका थिए सोबत कहादुर कार्की ।

कपाल सेतै भएर फुलेको छ । अनुहारको छाला पनि मुजा परिसकेको छ । गाईहरू एकआपसमा झगडा गर्दा हातमा लठ्ठी बोकेरे पिछा गर्छन् । छेउमा पुगेर गाईको शरीर थमथम्याउँछन् गाई शान्त भइदिन्छ ।

गाईहरू चउरमा चरिरहेका हुन्छन् । चउरको एक छेउमा प्लाष्टिक (पानी पर्दा ओड्ने) ओछ्याएर टुसुक्क बस्छन् ।

छेउमा प्लाष्टिकको झोलामा टिफिन छ । साथमा मिनिरल वाटरको बोतल । बिहान सबेरै घरबाट हिड्ने भएकाले उनी खाना टिफिनमै बोकेर हिड्ने बताउँछन् । बिहानको खाना उनी दिउँसोको ११ बजे खान्छन् । खाजा खाना भने घरमै पुग्छन् ।

धेरै टाढा छैन उनको घर । गाई चराउने चउरबाट हातले उनले देखाएको संकेत हेर्दा झण्डै १० मिनेट वरपर छ ।

सोबत बिहान सबेरै उठ्छन् । श्रीमतीले चिया बनाउँछिन । दुबैजना चिया पिउँछन् । श्रीमतीले उनलाई खाना तयार गर्दिन्छिन् र उनी ८ बजे घरबाट निस्कन्छन् ।

उनको घरबाट गाईफार्म प्रस्टै देखिन्छ । गाई फार्मको नाम हो ‘गाई अनुवांशिक स्रोत केन्द्र’ जुन नेपाल सरकारद्वार सञ्चालित छ ।

वि.स. २०१४ मा स्वीट्जरल्याण्ड सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा यो फार्म स्थापना भएको थियो । स्वीस सरकारले २०२० सालमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । केन्द्र नायब पशुसेवा प्राविधिक बालकुमार झाकाअनुसार फार्ममा दशैँअघि सम्म डेढसय गाई थिए ।

‘अहिले ७५ वटा गाई छन्’ झा भन्छन्, ‘फार्ममा धेरै क्रस जर्सी, होलस्टियन र पेयर जर्सि गाई छन् । स्वीस् सरकारले ब्राउन स्वीस गाई पनि दिएको थियो रे । तर धेरै पहिलेदेखि ती गाई यहाँ छैनन् ।’

दैनिक साढे चार सय लिटर दूध उत्पादन हुन्छ । फार्मले अस्थायी र स्थायी गरी २३ जनालाई रोजगारी दिदै आएको छ । रामेछापमा यो फार्मको शाखा समेत छ ।

अहिले गाई चरन क्षेत्र बनाइएको जिरी विमानस्थलको चउरको क्षेत्रफल १२४ रोपनीमा फैलिएको छ । यो कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको स्वामित्वमा छ । सरकारी स्वामित्वको गाई फार्म पहिलो हो ।

जिरी विमानस्थल चउरमा परिणत भएको लामो समय भइसकेको छ । विमानस्थल बन्द हुँदा गाई अनुवांशिक स्रोत केन्द्रले चउरमा गाई चराउने गरेको छ ।

सोबतले पनि विमानस्थल गौरण स्थल बनेपछि रोजगारी पाएका हुन् । उनीमात्र होइन फार्मले २३ जनालाई रोजगारी दिएको छ ।

सोबतको घरबाट फार्म जाने सिधा बाटो छ । १० मिनेटमा उनी घरबाट गाई लिन फार्म पुग्छन् ।

गाईहरू फुकाउँछन् र फार्मकै छेउमा रहेको चउरमा लैजान्छन् । बिहानको ८ बजेदेखि दिउँसो ३ बजेसम्म गाइ चराउँछन् उनी । त्यसपछि फार्म लगेर गाईलाई बाधेपछि उनको काम सकिन्छ । उनी साढे ३ बजे घर फर्कन्छन् । यही नै हो सोबतको दैनिकी हो ।

उनले दिनको ८ घण्टा गाई गोठालोको रुपमा काम गरेको १४ वर्ष बित्यो । उमेरले पनि ६७ वर्ष लागे ।

‘आजभन्दा १४ वर्षअघि गाई चराउने काम पाउँदा म जति खुसी थिएँ आज पनि त्यति नै खुसी छु गौमाताको सेवा गर्न पाएको छु’ उनले खुसी हुँदै भने ।

बुढेसकाल लागेपनि घरआँगनमा यसरी काम गर्दाको उनको जोश भने युवापुस्ताको जस्तै छ । गाईहरू बुढेसकालको सहारा बनेको महशुस गर्छन् उनी ।

दिनभरी गाई चराउने सोबतको तलव मासिक १७ हजार छ । उनले १४ वर्षअघि मासिक ६ हजार रुपैयाँमा काम शुरु गरेका थिए । गाई फार्ममा सोबतसँगै उनकै उमेरका साथीहरू पनि छन् । उनीहरू घास काट्ने, गोबर फाल्ने, बाच्छाबाच्छीको रेखदेख गर्ने लगायत काम गर्छन् ।

‘६ हजारबाट काम शुरु गर्दा तलब थोरै लाग्थ्यो’ उनले खबरहबसँगको कुराकानीमा भने, ‘अहिले त १७ हजार पुगिसक्यो बसेरै काम गरिरहेको छु । धेरै खुसी छु ।’

उनको मनको खुसी अनुहारमा पनि छलंगै देखिन्थ्यो । आफूसँगैका साथीहरू घरमा वृद्धाभत्ता खाएर बसिरहेका छन्, ‘मैले बसिबसि गाई चराएर राम्रै कमाउँछु’ खिस्स हास्दै सुनाउँछन् ।

उनको परिवारमा ७ जना सदस्य छन् । उनीहरू खेतीपातीको काम गर्छन् । सोबत पनि गाई चराएर बचेको समय खेतीपातीलाई पनि दिन्छन् ।

उनको बारीमा धान मकै र फापर उत्पादन हुन्छ । मेहनत र दुःख गरेर खेतीपाती गरेपनि वर्षभरि खाना मुस्किल पर्छ । तर उनको मासिक रुपमा आउने तलबले राम्रै घरखर्च चलिरहेको उनी बताउँछन् ।

चउरमा ७५ वटा गाई चरिरहेका थिए । गाई हेर्न उनको साथमा एक महिला थिइन् । उनीहरूलाई वर्षमा एक जोर बुट, कपडा र एउटा छाता दिन्छ सरकारले ।

बिरामी हुँदा बाहेक अरु कुनै दिन बिदा मिल्दैन उनको । तर पनि उनी दुखेसो गर्दैनन् ।

‘चाडपर्वमा परिवारका सदस्य सबै जम्मा हुन्छन् तर आफ्नो गोठाले जीवन सँधै यतै बित्छ’ सोबत गाईलाई सुम्सुमाउँदै भन्छन्, ‘फेरि बिदा बसेर नि के गर्नु यी गाईहरू भोकै हुन्छन् ।’

बिदा नपाउनुको दुःख भन्दा पनि गाई भोकै हुने चिन्ता छ उनको मनमा छ ।

यसरी गाई चराइरहेका सोबतको जन्म २०११ सालमा दोलखाको झुले गाउँमा भएको हो ।

उनको मावली घर जिरी हो । उनी परिवारसहित बसाईसरेर जिरी पुगेका हुन् । उनी जिरी बसेको अहिले १८ वर्ष भयो ।

जीवनको लामो कालखण्डमा देशका विभिन्न ठाउँमा रोजगारीको लागि भौतारिए । अन्ततः गाई फार्मले दिएको रोजगारीले गुजारा चलाएको झण्डै डेढ दशक पुग्नै लागेको छ ।

सकुञ्जेल र सरकारले काम दिउञ्जेल गौमाताको रेखदेखमा खटिने उनले बताए ।