स्थानीय सरकारको भर : भूमिहीनलाई नमूना घर | Khabarhub Khabarhub

स्थानीय सरकारको भर : भूमिहीनलाई नमूना घर



झापा— दमक नगरपालिकाले गत वर्ष नगरका भूमिहीनहरूका लागि २३ ओटा समान प्रकृतिका घर भएको एकीकृत नमूना बस्ती निर्माण गर्‍यो ।

ती सबै घरमा यसअघि आफ्नो घर नभएका नगरका भूमिहीनहरूको बसोबास छ । दमक–१ मा नमुना एकीकृत बस्तीको रूपमा एकै प्रकारका घर निर्माण गरिएपछि फोटा खिच्नकै लागि पनि कतिपय व्यक्तिहरू यहाँ पुग्ने गरेका छन् ।

यस वर्ष फेरि सोही नमूना बस्तीनजिकै वडा नं. ७ मा सोही प्रकृतिका १५ ओटा घर बनाइएका छन् । ती घर पनि यसै वर्ष नगरका भूमिहीन विपन्नहरूलाई हस्तान्तरण गरिने वडाध्यक्ष भीम पौडेलले बताएका छन् ।

यस्ता छन् घर

सिमेन्टको पक्की एक तले सबै घरको छोनोमा निलो रङको जस्तापात लगाइएको छ । प्रत्येक घरमा विद्युत र खानेपानीको व्यवस्था छ । घर वरिपरि सानो फूलबारी समेत रहने प्रबन्ध छ । प्रत्येक घरमा आधुनिक तरिकाले बनाइएका दुईवटा कोठा छन् । यसैसँग जोडिएको एउटा भान्छा कोठा छ । प्रत्येक घरमा मार्वल हालेर बनाइएको शौचालय—स्नानकक्ष छ ।

नगरका सबै भूमिहीन तथा विपन्न परिवारलाई क्रमिकरूपमा बसोबासको व्यवस्था मिलाउने लक्ष्यअनुसार पहिलो चरणमा २३ परिवारका लागि नमुना बस्ती निर्माण गरिएको नगरप्रमुख रोमथान ओलीको भनाइ छ । नगरपालिकाको स्वामित्वमा रहेको जमिन व्यवस्थापन गरी घर निर्माण गरिएको हो ।

घर पाएपछि दङ्ग

जीवनभरि आफ्नो घर बनाउन नपाएकी मनमायाँ भुजेल अहिले आफ्नै घरमा बस्न पाउँदा दङ्ग छिन् । मजदुरी गरेर जीविकोपार्न गर्दै आएका टेकबहादुर थापा पनि नमूना बस्तीमा बस्न पाएर ढुक्क छन् ।

उनीहरू जस्तै कतै पनि आफ्नो जमिन र घर नभएकाहरू पहिलो नमूना बस्तीमा छन् । दोस्रो नमूना बस्तीमा पनि यस्तै विपन्न नागरिकहरूलाई बसाउने स्थानीय सरकारको योजना छ ।

नगरपालिकाले निर्माण गरेका घर पाउन नगरपालिकाले केही मापदण्ड बनाएको छ । नगरप्रमुख ओलीका अनुसार सो स्थानमा बसोबासका लागि नगरपालिकाभित्र कम्तीमा १० वर्षदेखि बसोबास गरेको र कहीँ पनि जमिन नभएको परिवार छनौट गरिएको हो । यस्तै, दमक–७ को सुनचाँदी लाइनमा रहेको नगरपालिकाको जमिनमा बसोबास गरेका परिवारलाई पहिलो हकदार बनाइएको थियो ।

स्रोत व्यवस्थापन

कुल ३ करोड ७० लाख रुपैयाँमा बस्ती निर्माण भएको हो । यसमा गरिएको बस्त तीनै तहका सरकारहरूको लागत सहभागिता छ । बस्ती निर्माणमा संघीय सरकारको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको १ करोड ४० लाख, प्रदेश सरकारको १ करोड ३० लाख र स्थानीय सरकार दमक नगरपालिकाको १ करोड रुपैयाँ खर्च भएको नगर उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले जानकारी दिइन् ।

बस्तीको संरक्षण, सुरक्षा तथा सरसफाइका लागि घर हस्तान्तरणपछि सोही ठाउँमा बसोबास गर्नेहरूको समिति बनाई जिम्मेवारी दिने नगरपालिकाको तयारी रहेको छ ।

दोस्रो बस्ती पूरा

२३ ओटा घर भएको पहिलो नमूना बस्तीको सामुन्ने १५ ओटा घर भएको अर्को बस्तीका लागि पनि घर निर्माण भइसकेका छन् । कुल १ करोड २५ लाख रुपैयाँको लागतमा ती घर निर्माण गरिएको हो । पहिलो चरणमा घर पाउन नसकेका र प्रतिक्षा सूचीमा रहेका विपन्न–भूमिहीनहरूलाई घर प्रदान गरिने वडा नं. ७ का वडाध्यक्ष भिम पौडेलले बताए ।

नगरमा रहेका सार्वजनिक जमिनको अतिक्रमण हटाई क्रमिकरूपमा यस प्रकारका बस्तीहरू निर्माण गर्ने उनको भनाइ छ । केही वर्षअघि दमकको पूर्वतर्फ रहेको रतुवा खोलाको बाढी र कटानको समस्या भए पनि अब सो समस्या समेत नरहेको उनले बताए । रतुवामा बलियो बाँध बनाएकाले बाढी र कटान दमकतर्फ प्रवेश गर्ने अवस्थान नरहेको र खोलो नजिकै भए पनि सुरक्षित जमिनहरूमा बस्ती विकास गर्ने उनको भनाइ छ ।

नमूना बस्ती घर संघीय निर्वाचन साझेदारी कार्यक्रम र दमक नगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएका हुन् । साझेदारी कार्याक्रम अन्तर्गत १५ वटा घर निर्माणका लागि कुल १ करोड ९२ लाख रुपैयाँ बिनियोजना गरिएको थियो । जस अनुसार प्रतिघर १२ लाख ८६ हजार रुपैयाँ लागत रहेको जनाइएको छ ।

संघको बजेटमा स्थानीयको थप

दमक–३ मा जनता आवाश कार्यक्रमका लागि संघीय सरकारले पठाएको २८ ओट घर बनाउने पैसामा स्थानीय सरकारले रकम थप गरी स्तरीय घर बनाइदिएको छ । वडाअध्यक्ष नवीन बरालका अनुसार सो कार्यक्रममार्फत प्रतिघर ३ लाख ३५ हजार रुपैयाँ प्राप्त भएको थियो । सो रकमले परिवारका सदस्य संख्याका आधारमा उपयुक्त घर बनाउन अपुग हुने भएकाले नगरपालिकाले प्रतिघर १ लाख ७० हजार रुपैयाँ थप गरेको थियो ।

यस्तै, प्रदेश सरकारमार्फत प्राप्त जनता आवाश कार्यक्रमका लागि समेत प्रतिघर ३ लाख ३५ हजार रुपैयाँ आएकोमा नगरले प्रतिघर १ लाख ७० हजार रुपैयाँ थपेर ५ ओटा घर निर्माण गरेको छ । फुसको छाना हटाउने कार्यक्रम अन्तर्गत गत वर्ष २०० र यस वर्ष ३५० घरमा जस्तापाता लगाउने योजना रहेको नगरपालिकाले जनाएको छ ।

जनप्रतिनिधिले बनाइदिए घर

दमककै वडा नं. ३ का जनप्रतिनिधिले निजी खर्चमा समेत एक विपन्न परिवारलाई घर बनाइदिएका छन् । दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालसहितका जनप्रतिनिधिहरूले आफ्नो पारिश्रमिक तथा प्राप्त सेवा सुविधा बापतको रकमबाट वडाका एक विपन्न परिवारलाई पक्की घर बनाइदिएका हुन् ।

वडा नं ३ स्थित बाघखोर चोकबाट करिब एक किलोमिटर नजिकैको टोलमा लामो समयदेखि बसोबास गर्दै आएकी ९४ वर्षीया धनमाया लामिछानेसहितको परिवारका लागि वडाध्यक्ष र वडा सदस्यहरूले तीन कोठाको पक्की घर बनाएर हस्तान्तरण गरेका हुन् ।

लामिछाने परिवारको आफ्नै स्वामित्वमा रहेको जमिनमा जनप्रतिनिधिहरूको चार लाख १५ हजारको लागतमा घर निर्माण सामग्री जुटाएको र निर्माण व्यवसायी सुमन काफ्लेले ६५ हजारभन्दा बढी मूल्य बराबरको प्राविधिक खर्च उपलब्ध गराएपछि २० दिन लगाएर घर निर्माण सम्पन्न गरिएको वडा सदस्य सुकदेव लुइँटेलले जानकारी दिए ।

पाँचथर पुर्ख्यौली घर भएका लामिछानेको परिवार करिब ४० वर्षदेखि दमकमा बसोबास गर्दै आएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ८ : ४५ बजे

शहीद लखन थापाको सालिक निर्माण

चितवन– नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा सालिक

गुल्मीमा मलामी चढेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ घाइते

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा

इलाम–२ को मतगणना बिहान ११ बजे सुरु गरिने

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहान ११

इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वपक्षीय र

क्रिकेटर सन्दीपको पुनरावेदनमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको