सुकुम्वासी भन्दै औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्नेको भिड | Khabarhub Khabarhub

सुकुम्वासी भन्दै औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्नेको भिड



बुटवल- ‘हाम्रो जग्गा कहीँ पनि छैन, यहाँ जग्गा पाइन्छ भनेर आएका हौँ,’ ४० वर्ष जति उमेरकी देखिने एक महिला भन्दै थिइन्, ‘२० वर्ष भयो भाडामा बसेको, कति भाडा तिर्नु ! आफ्नै घर बनाएर बस्न जग्गाको खोजीमा छौँ ।’

सुकुम्वासीका लागि जग्गा खुलेको छ भन्ने सुनेर जग्गा रोक्नको आएको उनको भनाइ थियो । यसै साताको आइतबार उनीजस्ता धेरै मानिसको भिड थियो मोतिपुरमा । प्रहरीको हुल उनीहरूलाई लखेट्दै थियो ।

मोतिपुरमा सयौँ मानिस जम्मा भएका थिए । उनीहरू खाली जग्गामा घेरा हाल्दै आफ्ना लागि सीमाना बनाउँदै थिए । केही बेरमा एक हुन प्रहरी आएर उनीहरूलाई लखेट्न थाल्यो ।

उनीहरू प्रहरीसँग जुध्ने प्रयास गर्दै थिए । केही मानिस भैरहवाबाट बस रिर्जभ गरेर मोतिपुरमा आएका थिए । कोही ई–रिक्सामा, मोटरसाइकलमा र कारमा आएका थिए । यसरी आएकाहरू जग्गा कब्जा गर्ने प्रयासमा थिए ।

प्रहरीले लखेट्ने प्रयास गरे पनि मानिसहरूले मोतिपुर छाड्न मानेन । साँझपख भिड झन् बढ्यो । राति हुँदै गएपछि धेरै मानिस फर्किए । बाँकीलाई प्रहरीले लखेट्यो ।

सोमाबार मानिसहरू मोतिपुरमा भेला भएर । जग्गा कब्जा गर्न थाले । केही बेरमा प्रहरीसँग हलुका झडप भयो । केही व्यक्ति सामान्य घाइते भए । मङ्गलबार मोतिपुरको अवस्था उस्तै छ ।

ई–रिक्सामा बुटवलको देवीनगरबाट पाँच महिला आए । उनीहरू पनि जग्गाकै लागि आएका थिए । सीमाना लगाउनेहरू जग्गा रुँगेर बसेका थिए । उनीहरू आफ्नो नाम लेख्ने सरकारी मानिसको खोजीमा थिए तर त्यहाँ प्रहरीबाहेक अरू सरकारी मानिस कोही थिएन ।

मङ्गलबार ११ बजेसम्म मोतिपुरमा प्रहरी आएको थिएन । ई–रिक्साबाट आएका महिलाहरूले केही पर खाली जमिन भेटे । उनीहरू ढुङ्गा बटुलेर घेरा लगाउन थाले ।

कसैले ढुङ्गाको घेरा हालेका थिए त कसैले डोरीको । वैशाख चर्को घाम र कोरोनाको जोखिम बेवास्ता गर्दै उनीहरू जग्गा कब्जा गर्न व्यस्त देखिन्थे ।

बुटवलमा ठाउँठाउँमा सुकुम्वासी बस्तीहरू छन् । मोतिपुरका घर देखाउँदै एक महिलाले भनिन्, ‘यी घर सुकुम्वासीका हुन् । यहाँ जङ्गल थियो, अहिले घर छन् । सडक बनेको छ, खानेपानी आएको छ, बिजुली छ ।’

अहिले जग्गा कब्जा गर्न आएकाहरूले पनि पछि लालपूर्जा पाउने र जग्गा आफ्नो हुने आशा गरेका छन् ।

एक सातायता मोतिपुर औद्योगिक क्षेत्रमा यस्तै दृश्य देख्न पाइन्छ । जग्गा कब्जा गर्ने प्रतिस्पर्धा चलेको छ । सुकुम्बासीका लागि जग्गा खुलेको छ भन्ने हल्लाको भरमा मानिसहरू भेला भएका हुन् ।

नयाँगाउँ, बेलवास, गोलपार्क, बुद्धनगर, मजुवा, दीपनगर, देवीनगर, भैरहवा लगायतका ठाउँबाट आएकाहरूले मोतिपुर करिडोरको जग्गामा चुना, ढुङ्ग र डोरीले घेरा हालेर प्लटिङ गरेका छन् ।

बुटवल उपमहानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष सन्तबहादुर रानाका अनुसार मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न एक हजार जति मानिस आएका छन् ।

उनले भने, ‘यो औद्योगिक क्षेत्रको जग्गा हो । एक सातायता दाङ र पाल्पाका मानिसहरू पनि आएर जग्गा कब्जा गर्न थालेका छन् ।’ उनीहरूलाई लखट्ने प्रहरीको प्रयास सफल भएको छैन ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आर्चायले अहिले सरकारले सुकुम्वासीका जग्गाको लालपूर्जा दिन लगत संकलन गर्न थालेपछि जग्गा पाउने भ्रमले मानिसहरू मोतिपुर आएको हुन सक्ने बताइन् ।

उनले भनिन्, ‘औद्योगिक क्षेत्रको जग्गा हो, सीमाना हालेर कब्जा गर्दैमा पाइँदैन ।’ उनले उपमहानगरपालिकाले नगरभित्र सुकुम्वासीका जग्गाको लगत संकलन गरिसकेको पनि बताइन् ।

बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका कार्यालय प्रमुख निमेष अधिकारीले मोतिपुरमा हल्लाको भरमा मानिसहरू आएर कब्जा गर्न खोजेको बताए । उनले औद्योगिक क्षेत्रको कुरा बुझाएर मानिसहरूलाई फर्काउने प्रयास गरिरहेको पनि बताए । उनका अनुसार मङ्गलबारसम्ममा २० हेक्टर जग्गा अतिक्रमणमा परेको छ ।

मोतिपुर औद्योगिक क्षेत्र रुपन्देहीका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन र सियारी गाउँपालिकाको ९४६ बिघामा फैलिएको छ । यसमध्ये १३३ बिघाको जग्गाधनी पूर्जा भने औद्योगिक क्षेत्रसँग छैन ।

औद्योगिक क्षेत्र निर्माणको लागत १२ अर्ब रुपैया रहेको छ । मोतिपुर औद्योगिक क्षेत्रमा २६२ वटा प्लट हुनेछन् । विद्युत, पानी, ढल निकास, सडक, स्वास्थ्य क्लिनिक लगायतका पूर्वाधारहरू बन्ने गुरुयोजना छ । निरन्तर काम भए मोतिपुर औद्योगिक क्षेत्र निर्माण पाँच वर्षमा पूरा हुनेछ ।

अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री लेखराज भट्टले स्थानीयवासीको विरोधका बीच गत फागुन २१ गते औद्योगिक क्षेत्रको शिलान्याश गरेका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ९ : १५ बजे

सरकारले शिक्षकलाई तत्काल कार्यस्थल फर्काउने वातावरण बनाउनुपर्छ : पोखरेल

काठमाडौं – प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले सरकारले

बुटवलमा गोली प्रहारबाट घाइते युवतीको चितवनमा उपचार हुँदै

चितवन – रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा शनिबार गोली लागेर घाइते

प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित

सिरहा – सिरहा नगरपालिकामा गत माघ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत

सामाजिक सञ्जाल नियन्त्रण गर्ने तयारीमा सरकार, ४ वर्षदेखि फेसबुकमाथि प्रतिबन्ध लगाएको युगाण्डाबाट के सिक्ने ?

काठमाडौं– सरकारले फेसबुकलगायत सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन जारी गरेको

रिहा भएपछि ज्ञानेन्द्र शाहीले भने : भ्रष्टाचारीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्न सफल भयौं

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीहरूको