सुकुम्वासी भन्दै औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्नेको भिड « Khabarhub

सुकुम्वासी भन्दै औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्नेको भिड



बुटवल- ‘हाम्रो जग्गा कहीँ पनि छैन, यहाँ जग्गा पाइन्छ भनेर आएका हौँ,’ ४० वर्ष जति उमेरकी देखिने एक महिला भन्दै थिइन्, ‘२० वर्ष भयो भाडामा बसेको, कति भाडा तिर्नु ! आफ्नै घर बनाएर बस्न जग्गाको खोजीमा छौँ ।’

सुकुम्वासीका लागि जग्गा खुलेको छ भन्ने सुनेर जग्गा रोक्नको आएको उनको भनाइ थियो । यसै साताको आइतबार उनीजस्ता धेरै मानिसको भिड थियो मोतिपुरमा । प्रहरीको हुल उनीहरूलाई लखेट्दै थियो ।

मोतिपुरमा सयौँ मानिस जम्मा भएका थिए । उनीहरू खाली जग्गामा घेरा हाल्दै आफ्ना लागि सीमाना बनाउँदै थिए । केही बेरमा एक हुन प्रहरी आएर उनीहरूलाई लखेट्न थाल्यो ।

उनीहरू प्रहरीसँग जुध्ने प्रयास गर्दै थिए । केही मानिस भैरहवाबाट बस रिर्जभ गरेर मोतिपुरमा आएका थिए । कोही ई–रिक्सामा, मोटरसाइकलमा र कारमा आएका थिए । यसरी आएकाहरू जग्गा कब्जा गर्ने प्रयासमा थिए ।

प्रहरीले लखेट्ने प्रयास गरे पनि मानिसहरूले मोतिपुर छाड्न मानेन । साँझपख भिड झन् बढ्यो । राति हुँदै गएपछि धेरै मानिस फर्किए । बाँकीलाई प्रहरीले लखेट्यो ।

सोमाबार मानिसहरू मोतिपुरमा भेला भएर । जग्गा कब्जा गर्न थाले । केही बेरमा प्रहरीसँग हलुका झडप भयो । केही व्यक्ति सामान्य घाइते भए । मङ्गलबार मोतिपुरको अवस्था उस्तै छ ।

ई–रिक्सामा बुटवलको देवीनगरबाट पाँच महिला आए । उनीहरू पनि जग्गाकै लागि आएका थिए । सीमाना लगाउनेहरू जग्गा रुँगेर बसेका थिए । उनीहरू आफ्नो नाम लेख्ने सरकारी मानिसको खोजीमा थिए तर त्यहाँ प्रहरीबाहेक अरू सरकारी मानिस कोही थिएन ।

मङ्गलबार ११ बजेसम्म मोतिपुरमा प्रहरी आएको थिएन । ई–रिक्साबाट आएका महिलाहरूले केही पर खाली जमिन भेटे । उनीहरू ढुङ्गा बटुलेर घेरा लगाउन थाले ।

कसैले ढुङ्गाको घेरा हालेका थिए त कसैले डोरीको । वैशाख चर्को घाम र कोरोनाको जोखिम बेवास्ता गर्दै उनीहरू जग्गा कब्जा गर्न व्यस्त देखिन्थे ।

बुटवलमा ठाउँठाउँमा सुकुम्वासी बस्तीहरू छन् । मोतिपुरका घर देखाउँदै एक महिलाले भनिन्, ‘यी घर सुकुम्वासीका हुन् । यहाँ जङ्गल थियो, अहिले घर छन् । सडक बनेको छ, खानेपानी आएको छ, बिजुली छ ।’

अहिले जग्गा कब्जा गर्न आएकाहरूले पनि पछि लालपूर्जा पाउने र जग्गा आफ्नो हुने आशा गरेका छन् ।

एक सातायता मोतिपुर औद्योगिक क्षेत्रमा यस्तै दृश्य देख्न पाइन्छ । जग्गा कब्जा गर्ने प्रतिस्पर्धा चलेको छ । सुकुम्बासीका लागि जग्गा खुलेको छ भन्ने हल्लाको भरमा मानिसहरू भेला भएका हुन् ।

नयाँगाउँ, बेलवास, गोलपार्क, बुद्धनगर, मजुवा, दीपनगर, देवीनगर, भैरहवा लगायतका ठाउँबाट आएकाहरूले मोतिपुर करिडोरको जग्गामा चुना, ढुङ्ग र डोरीले घेरा हालेर प्लटिङ गरेका छन् ।

बुटवल उपमहानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष सन्तबहादुर रानाका अनुसार मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न एक हजार जति मानिस आएका छन् ।

उनले भने, ‘यो औद्योगिक क्षेत्रको जग्गा हो । एक सातायता दाङ र पाल्पाका मानिसहरू पनि आएर जग्गा कब्जा गर्न थालेका छन् ।’ उनीहरूलाई लखट्ने प्रहरीको प्रयास सफल भएको छैन ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आर्चायले अहिले सरकारले सुकुम्वासीका जग्गाको लालपूर्जा दिन लगत संकलन गर्न थालेपछि जग्गा पाउने भ्रमले मानिसहरू मोतिपुर आएको हुन सक्ने बताइन् ।

उनले भनिन्, ‘औद्योगिक क्षेत्रको जग्गा हो, सीमाना हालेर कब्जा गर्दैमा पाइँदैन ।’ उनले उपमहानगरपालिकाले नगरभित्र सुकुम्वासीका जग्गाको लगत संकलन गरिसकेको पनि बताइन् ।

बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका कार्यालय प्रमुख निमेष अधिकारीले मोतिपुरमा हल्लाको भरमा मानिसहरू आएर कब्जा गर्न खोजेको बताए । उनले औद्योगिक क्षेत्रको कुरा बुझाएर मानिसहरूलाई फर्काउने प्रयास गरिरहेको पनि बताए । उनका अनुसार मङ्गलबारसम्ममा २० हेक्टर जग्गा अतिक्रमणमा परेको छ ।

मोतिपुर औद्योगिक क्षेत्र रुपन्देहीका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन र सियारी गाउँपालिकाको ९४६ बिघामा फैलिएको छ । यसमध्ये १३३ बिघाको जग्गाधनी पूर्जा भने औद्योगिक क्षेत्रसँग छैन ।

औद्योगिक क्षेत्र निर्माणको लागत १२ अर्ब रुपैया रहेको छ । मोतिपुर औद्योगिक क्षेत्रमा २६२ वटा प्लट हुनेछन् । विद्युत, पानी, ढल निकास, सडक, स्वास्थ्य क्लिनिक लगायतका पूर्वाधारहरू बन्ने गुरुयोजना छ । निरन्तर काम भए मोतिपुर औद्योगिक क्षेत्र निर्माण पाँच वर्षमा पूरा हुनेछ ।

अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री लेखराज भट्टले स्थानीयवासीको विरोधका बीच गत फागुन २१ गते औद्योगिक क्षेत्रको शिलान्याश गरेका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ९ : १५ बजे

आजका समाचार : २६ दिनमै गृहमन्त्रीबाट सुधनको राजीनामा, बालेनलाई थप जिम्मेवारी, प्रचण्डले कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्ने र होर्मुज क्षेत्रमा फेरी आक्रमण

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाईराष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार

गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी– फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय