वीरगञ्ज– दोस्रो लहरको कोरोना सङ्क्रमण बढेपछि अक्सिजन ग्यासको अभाव हुन नदिन उद्योगीहरुले भारतबाट वीरगञ्जको बाटोहुँदै ठूला साना गरी पाँच वटा बुलेट नेपाल भित्र्याएका छन् ।
काठमाडौँको शङ्कर ग्यास उद्योगले भारतबाट लिक्विड अक्सिजनको बुलेट नेपाल भित्र्याएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । अक्सिजन ग्यास उद्योगीले भारतको झारखण्ड प्रान्तको जमशेदपुरबाट ल्याएका हुन् । उद्योगले लिक्विड अक्सिजन ल्याएर अस्पताललाई दिने गर्छ । उद्योगसँग दुई वटा मात्रै लिक्विड अक्सिजन बोक्ने बुलेट छ ।
लिक्विड अक्सिजनको ट्याङ्कर उपत्यकामा ट्रमा सेन्टर र टेकु अस्पतालमा मात्रै रहेको छ । बुलेटमा ल्याइएको अक्सिजन ट्याङ्कमा खन्याउने गरिन्छ । वीरगञ्ज नाकाबाट यही जेठ १ गतेदेखि लिक्विड अक्सिजनसहितको बुलेट आएको बताइएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत शैलेन्द्र अधिकारीका अनुसार रक्सौल–वीरगञ्ज नाका भएर हालसम्म एउटा सानो र चार वटा ठूलो बुलेट नेपाल भित्रिएका छन् । तीन लटमा आएको अक्सिजन ग्यास पहिलो लटमा ११ हजार ५५० एमटिक्यू, दोस्रोमा चार हजार ८७४ एमटिक्यू र तेस्रोमा १२ हजार ५७४ एमटिक्यू आएको बताइएको छ ।
एक घनमिटरको मूल्य भारु १६ दरमा अक्सिजन खरिद गरी नेपाल ल्याइएको अधिकारीले जानकारी दिए । कोरोना सङ्क्रमण बढ्दै गएको र बिरामीलाई अक्सिजनको अभाव हुन थालेपछि सङ्घीय सरकारले हाल अक्सिजन बुलेट आयातमा भन्सार शुल्क शून्य बनाएको छ ।
भारतबाट नेपाल भित्रिँदा एउटा बुलेटमा प्रवेश शुल्क रु ५६५ लाग्ने गर्छ । नेपाल–भारत दुवै देशका अधिकारीले सहमति दिएपछि उद्योगीहरुले अक्सिजन ग्यासको बुलेट नेपालमा ल्याउन शुरु गरेको भन्सार कार्यालयका अधिकारीहरुले बताएका छन् ।
पर्सा जिल्लामा रहेका तीन वटा अक्सिजन उद्योगले आफैँ ग्यास प्लान्टबाट अक्सिजन उत्पादन गरी वितरण गर्दै आएका छन् । यी उद्योगले पनि भारतबाट तयारी लिक्विड अक्सिजन ल्याएर सिलिन्डरमा भर्ने हो भने यस भेगमा अक्सिजनको अभाव नहुने विज्ञहरु बताउछन् ।–रासस
प्रतिक्रिया