काठमाडौँ– गायक तथा मोडल भनेर कहलिएका दुर्गेश थापा विवादका पर्याय नै हुन् भन्दा फरक नपर्ला । दुई वर्षअघि तिजमा उनले ल्याएको ‘बीच्च बीच्चमा’ बोलको गीतले उनको लोकप्रियतामा एउटा इटा त थप्यो नै, यही गीतको सिरिजले उनलाई विवादमा पनि तान्यो ।
पछिल्लो तीज गीत ‘बीच्च बीच्चमा ५’ मा प्रयोग भएको शब्द ‘ख्यास्स पुतली’ को सन्दर्भमा ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल’ ले उनको सदस्यता खारेज गर्ने निर्णय नै गर्यो । ‘डन आयो डन’ बोलको गीतमा त उनी प्रहरी हिरासतमै पुगे ।
गीतका कारण विवादसँगै सदस्यता नै खारेज गरिएको घटनामा दुर्गेश एक उदाहरण हुन् । अन्य केही गायकगायिकाले पनि ‘लोकप्रिय’ हुने लोभमा द्विअर्थी शब्द प्रयोग गरेर बजारमा गीत ल्याइरहेका छन् । अझ दोहोरी गीतमा यस्तो समस्या बढी देखिने गरेको छ ।
यज्ञ विक र गायिका शान्तिश्री परियारको स्वरमा ‘हेर्ने हो र देखाइदिम’ बोल सार्वजनिक भएपछि सामाजिक सञ्जालमा धेरैले आपत्ति जनाए । गायिकाले ‘हेर्ने हो र देखाइदिम’ भनेर सोधेकोमा गायकले ‘के’ भनेर सोधेका छन् ।
खेम सेञ्चुरी र शान्तिश्री परियारको स्वरमा ‘झुसे बारुलो’ बोल रहेको गीत पनि आलोचनामा पर्यो । भिडियोमा अञ्जली अधिकारी निकै ग्ल्यामरस प्रस्तुत गरिएकी छन् । अञ्जलीले आफ्नो फेसबुक पेजमा अपलोड गरेकोमा ‘गीत छाडा भएको’ र ‘नेपाली समाज सुहाउँदो गीत हुनुपर्छ’ भन्ने प्रतिक्रियाहरू छन् ।
विवादित गीतको संख्या बढ्दै जाँदा ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल’ सँग गीतलाई नियमन गर्ने निर्देशिका अथवा आचारसंहिता छ कि छैन भन्ने प्रश्न नउठेको पनि होइन ।
प्रतिष्ठानका अध्यक्ष रमेश बिजी प्रतिष्ठानप्रति स्रष्टाले नियमनको अपेक्षा राखे पनि प्रतिष्ठानसँग त्यस्तो अधिकार नरहेको बताउँछन् । उनले प्रतिष्ठानले स्रष्टा र सर्जकसँग गीतमा मर्यादित र सभ्य शब्द प्रयोग गर्न आग्रह गर्नेबाहेक आचारसंहिता अथवा निर्देशनका रूपमा नियमावली नरहेको बताए ।
‘स्रष्टाले हामीले भनेको मान्नुभएन भने विधानअनुसार प्रतिष्ठान अन्तर्गतका सदस्यलाई विधान उल्लंघन गरेकोमा सदस्यता खारेज गरिदिन सक्छौँ तर अरू कुनै कानून बनाएर दण्डसजाय दिन मिल्दैन’, अध्यक्ष बिजी भन्छन्,‘ हाम्रो गाइडलाइन्स भनेको तीजका गीत वैशाख जेठमा नभई तीजमा निकालौँ, दशैँका गीत दशैँमा गरौँ, तीजमा रत्यौली नगरौँ भन्ने हो ।’
उनले आफ्नो सिर्जनाबारे स्रष्टा आफैँ जिम्मेवार हुनुपर्ने र लोक संस्कृतिको सम्मान गर्नुपर्ने बताए ।
उनका अनुसार गीतसङ्गीतमा अपाच्य, अशिष्ट शब्द प्रयोग भएमा स्रष्टा र सर्जकको सदस्यता खारेजसँगै संस्थाका कार्यक्रममा सहभागी हुन रोक लगाउने अधिकार प्रतिष्ठानसँग छ ।
बिजीले उनले भने, ‘रेकर्डिङ स्टुडियोका सञ्चालकसँगको बैठकमा गीतमा पाच्य नहुने शब्दहरू आएमा त्यसलाई हटाइदिन अथवा अनुगमन गर्न पनि भनेका छौँ । दोहोरीमा फोहोरी गीत गाउनेलाई कार्यालयमै बोलाए पनि त्यसो नगर्न भनेका छौँ ।’
उनका अनुसार प्रतिष्ठानमा विदेशमा रहेका समेत गरी ३० हजारको हाराहारीमा सदस्य छन् ।
प्रतिष्ठान अध्यक्ष बिजीले स्रष्टाहरू नसुध्रिएको बताइरहँदा मोडल तथा गायक दुर्गेशको बुझाइ भने अलिक फरक छ । संघसंस्थाहरूले आफ्नो गल्तीको दोष स्रष्टाहरूमाथि थोपर्ने गरेको उनको आरोप छ ।
‘उहाँहरू आफैँ त्यस्तो काम गर्नुहुन्छ, अनि हामीलाई दोष दिनुहुन्छ । निर्देशन दिनुभन्दा पहिला आफू सुध्रिनु पर्यो नि !’ दुर्गेश भन्छन्, ‘आफू चाहिँ दोहोरीमा लाइभ गाउने अनि कनिष्ठ भाइ बहिनीलाई पेल्नु त भएन नि !’
घरमूली बिग्रिएर सन्तान बिग्रिएको जस्तो अवस्था रहेको दुर्गेशको भनाइ छ । उनले भने, ‘घरको मूल मान्छे बिग्रियो भने सन्तान कसरी सुध्रिन्छन् ! उहाँहरू आफूलाई सुधारेर आउनुहोस्, अनि मात्र सन्तान सुध्रिन्छन् ।’
उनले घरमूली भनेर प्रतिष्ठानका पदाधिकारी र सन्तान भनेर गीतका स्रष्टाहरूलाई संकेत गरे ।
गायक पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा’ बोलको गीत जति चर्चित भयो, गीतको सन्देशलाई लिएर त्यति नै आलोचना पनि भयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एउटा भाषणमा गीतको बोल नै उच्चारण गरेर आलोचना गरे । अन्ततः पशुपतिको युट्युब च्यानबाट उक्त गीत हट्यो ।
पशुपतिको बुझाइमा प्रतिष्ठानले समय अनुसारको गीत हुनुपर्छ भने पनि यसरी बनाउने, यसरी गर्ने भनेर निर्देशन दिएको छैन ।
‘यसरी गर भनेर संस्थाले स्रष्टालाई बाध्यात्मक स्थिति सिर्जना गर्न मिल्दैन र त्यो अधिकार छैन,’ पशुपति भन्छन्, ‘संस्थाले त्यो अनुसारको मोडलालिटी बनाउन सक्छ तर गीतको सेन्सर नै गर्न सक्दैन ।’
पशुपतिको बुझाइमा स्रष्टालाई ‘संस्था चाहिन्छ, हामी एउटै घरमा बस्नुपर्छ, हामी अनुशासित हुनुपर्छ’ भन्ने सोचाइ हुने मात्र निर्देशन पालना गर्न सक्छन् तर ‘मलाई कोही चाहिँदैन, म आफैँ गर्छु’ भन्नेलाई मनाउन सकिँदैन ।
प्रतिष्ठानका उपमहासचिव एवं ‘विकृति विसङ्गति न्यूनीकरण विभाग समिति’ का संयोजक शिव हमाल प्रतिष्ठानले न्यूनतम मापदण्ड तयार गरेको र त्यही मापदण्ड अनुसार अगाडि बढेको बताउँछन् । उनले स्रष्टालाई राखेर विज्ञको सहभागितामा प्रशिक्षण, अन्तक्रिया र बहस गरेको बताए । मापदण्ड नमान्ने स्रष्टालाई संस्थाले गर्ने अवार्डमा सहभागी नगराउने, विदेश जान आवश्यक कागजात चाहिने अवस्थामा सहयोग नगर्ने, आकस्मिक कोषको सुविधाबाट बञ्चित प्रतिष्ठानले बञ्चित गर्न सक्छ ।
शिवको बुझाइमा प्रतिष्ठानले मापदण्ड बनाए पनि महत्वाकांक्षी स्रष्टाले त्यसको वास्ता गरेका छैनन् ।
प्रतिक्रिया