सर्वेश्वर महादेवलाई आज रातभर पोखरीमा राखिने « Khabarhub

सर्वेश्वर महादेवलाई आज रातभर पोखरीमा राखिने


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरस्थित कुम्भेश्वर महादेव मन्दिरसँगै रहेका सर्वेश्वर महादेवको मूर्तिलाई आज रातभर बाहिरको पोखरीमा राखिने भएको छ ।

प्रत्येक वर्ष साउन शुक्लपक्ष चतुर्दशीका दिन सर्वेश्वर महादेवको मूर्तिलाई मध्यराति १२ बजेअघि विधिवत्रुपमा बाजागाजासहित मन्दिरबाट बाहिर निकालेर पोखरीमा स्नान गराइ खटभित्र पूजा गरेर रातभरि पोखरीमा राख्ने परम्परा छ ।

सर्वेश्वर महादेवलाई विभिन्नथरिका बाजागाजासहित कुम्भेश्वर महादेव मन्दिरको परिक्रमा गराइ नजिकैको पोखरीमा राखेर उत्तरपश्चिमतर्फको गौरीकुण्डबाट पाटन आएको जलले स्नान गराइ खटभित्र राखेर विधिवत्रुपमा पूजाआजा गरेपछि साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा वा रक्षाबन्धन आरम्भ हुने बङ्गलामुखी–कुम्भेश्वर मन्दिरका पुजारी माधवश्याम शर्माले बताए ।

उनले भने, “महादेव मूर्तिलाई रातभरि पोखरी भित्र खटमा राखेर आइतबार बिहान ६ बजे कुम्भेश्वर मन्दिरभित्र पुनःछिराउने छौँ । चल्दै आएको नियमानुसार भोलि दिनभरि शिवजीलाई बाहिर राखिनुपर्ने थियो तर मुलुकमा बढिरहेको कोरोना महामारीलाई ध्यानमा राखी पूरै दिन नराख्ने भयौँ ।”

गत वर्ष पनि यसैगरी विधिमात्र पूरा गरेकाले भोलि पनि सर्वसाधारणलाई मन्दिरमा मेला भर्न प्रवेश नगराउने भएको पुजारी शर्माले जानकारी गराए ।

शनिबारदेखि नै मन्दिरको सुरक्षा व्यवस्था कडा पार्नुका साथै आइतबार पनि केही टोलवासी अनि समितिका मानिस र पुजारी मात्रै मन्दिरभित्र छिर्न पाउने कुम्भेश्वर टोल सुधार समितिका अध्यक्ष अरोजकुमार खड्गीले बताए ।

उनले भने, “दिनानुदिन बढेको कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी मन्दिरको मूल ढोका बन्द रहने हुँदा कुम्भेश्वर पोखरीमा भक्तजनलाई मेला भर्न प्रवेशमा रोक लगाउने भएकाले नआउन अनुरोध गर्दछु ।”

गोसाइँकुण्डमा साउन महिनाभर मेला लाग्ने भएकाले उता जान नसक्नेले कुम्भेश्वरमा जलाभिषेक वा स्नान गरी शिवको आरधना गर्दा गोसाइँकुण्ड गएको फल प्राप्त हुने मान्यता रहेको अध्यक्ष खड्गीले जानकारी दिए ।

गौरीकुण्डको जल कुम्भेश्वर पोखरीमा भर्न बुधबार नै सफा गराएर तयारी अवस्थामा राखिएको समितिका उपाध्यक्ष वसन्त खड्गीले बताए । अगस्त्य ऋषिले कुम्भ अर्थात् कलशमा महादेवको आह्वान गरेर उत्पत्ति भएकाले कुम्भेश्वर महादेव भनिएको हो । सो महादेव मन्दिरभित्र कुम्भेश्वर र सर्वेश्वर महादेवका दुई मूर्ति छन् ।

सर्वेश्वरको आरधना गरेको खण्डमा रोगव्याधि निको भई दीर्घायु प्राप्त हुने विश्वास हिन्दू र बौद्ध धर्मावलम्बीमा छ । सर्वेश्वरलाई मृत्युञ्जय महादेव पनि भनिने गरिएको मन्दिर जीर्णोद्वार समन्वय समितिका सल्लाहकार प्रेमलाल महर्जनले बताए ।

स्वस्थानीमा वर्णन भएका ६४ शिवलिङ्गमध्ये सर्वेश्वर महादेव पनि एक हुन् । मार्कण्डे ऋषिले सर्वेश्वर महादेवको आरधना गरी आफ्नो छोटो आयुलाई अष्ट चिरञ्जीवी प्राप्त गरेको कुरा पुराण आदिमा उल्लेख छ । त्रेतायुगमा किराँती राजकुमारी कुष्ठरोग भएर दरबारबाट निकाला भएपछि कुम्भेश्वरको पानीले दैनिक स्नान गरी महादेव अनि देवीलाई पूजाआरधना गर्दै जाँदा दिव्य रुप भएको र राजाले घर जान आग्रह गर्दा अस्वीकार गरेपछि एक तलाको मन्दिर बनाइदिएको कथन छ ।

सनातन हिन्दू र बौद्ध धर्म मान्ने भक्तजनले कुम्भेश्वरलाई बज्रपानी लोकेश्वर भनेर पुज्ने गर्छन् । पाटन राजा जयस्थिति मल्लले १४ औँ शताब्दीमा कुम्भेश्वर महादेव मन्दिर बनाएका थिए । त्यसैगरी सो महादेव मन्दिरको काखमा रहेकी बङ्गलामुखी देवीलाई १० महाविध्यामध्ये एक विध्याको मालिकका साथै शत्रुलाई पराजय गर्ने शक्तिका रुपमा पुजिने गरिएको पुजारी शर्माले बताए ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ६ : ४० बजे

काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व

कैलाली भन्सारबाट ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो