मध्यपहाडी लोकमार्ग : कतै रुट खोज्दै हैरान, कतै ठेकेदारको तनाव | Khabarhub Khabarhub

मध्यपहाडी लोकमार्ग : कतै रुट खोज्दै हैरान, कतै ठेकेदारको तनाव


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – मध्यपहाडी लोकमार्ग निर्माण गर्न थालेको १५ वर्ष पुग्न लाग्यो । कास्कीको भैंसेदेखि याम्दीसम्मको खण्डमा भने अझै रुट टुंगिएको छैन । यहाँ ५ पटकसम्म रुट फेरियो । अझै कामअघि बढेन । सुरुमा लमजुङ र कास्कीको सिमाना रुदी दोभानदेखि कास्कीको रामकोट भएर वेगनास ताल निकाल्ने तयारी थियो ।

त्यहाँ स्थानीयले जग्गा नदिने लगायत समस्या भएपछि रामकोटबाट लिप्यानी, सौर्य हुँदै आर्वा निकाल्न प्रस्ताव आयो । त्यसमा पनि सहमति जुटेन । पछि भैंसे निकालेर सुनपँदालीको रुट तय गरियो ।

यो रुटमा सर्भे सकेर ट्रयाक खोल्न लागेपछि नेताहरूको स्वार्थले नयाँ रुट अघि सारिएको छ । भैंसेदेखि ज्याम्दु, मेलबोट, मौजाबाट अर्मलाकोट निकालेर भलाम हुँदै बाटुलेचौरदेखि याम्दी जोड्न प्रस्ताव गरिएको हो ।

यो रुटको जिल्लास्थित राजनीतिक दलका नेताहरूले पनि हेरेर सहमति जुटाएका छन् । ‘माथिल्लो निकायबाटै हेर्ने कुरा छ । एकपटक हामीले रेकी गरेर रुट पठाएका छौं । उपयुक्त भए त्यही रुट फाइनल हुन्छ । नत्र अर्को खोज्नुपर्छ,’ मध्यपहाडीको पर्वत कार्यालय प्रमुख मेघराज मरासिनीले भने, ‘बर्खा र कोभिडले रोकियो । केही समयमै टुंगिन्छ ।’

यसअघि प्रस्तावित रुटमा धेरै संरचना भत्काउनुपर्ने भएकोले पनि नयाँ ट्रयाक खोज्न लागिएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारीले बताए । ‘सहरका सडक यसै पनि स्तरीय हुन्छन् । भइरहेका सडकमा जोड्ने हो भने मध्यपहाडीको अर्थ के भयो र रु,’ उनले भने, ‘यो सडकले गाउँलाई समेट्नुपर्छ । सडकसुविधा पुग्यो भने गाउँको बसाइसराइ रोक्न सहयोग पुग्छ ।’

आर्वा र कसेरी क्षेत्रमा धेरैको घरजग्गा पर्ने र मुआब्जा बढ्ने भएपछि आयोजनाले रुट फेर्न लागेको बुझिएको छ । यसमा नेताहरूको स्वार्थ पनि मिसिएको छ । लमजुङदेखि बागलुङको सिमानासम्म २४५ किलोमिटर सडक पर्छ । त्यसमध्ये लमजुङदेखि १६ किलोमिटर वर भैंसेसम्म ठेक्कापट्टा सकिएर कामअघि बढेको छ । भैंसेदेखि याम्दी खण्डमा ट्रयाक छिनोफानो लागेको छैन । याम्दीदेखि नयाँपुलसम्मको खण्डमा काम पूरै सकिएको छ ।

नयाँपुलदेखि मालढुंगासम्म अन्तिम चरणमा छ । बागलुङ बजारदेखि घोडाबाँधेसम्मको खण्डमा भने बढी समस्या देखिएको छ । ठेकेदार कम्पनीले समयमा काम नगरिदिँदा समस्या भएको मरासिनीले बताए । त्यसपछि रुकुमसम्मको खण्डमा पनि काम करिब सकिएको उनको भनाइ छ ।

‘घोडाबाँधे क्षेत्रमा कन्ट्याक्टरको कारण रोकिएको हो । अन्यत्र खासै समस्या छैन,’ उनले भने, ‘यो आर्थिक वर्षमा रुदी(भैंसेबाहेक सबै खण्ड सकिन्छ । भैंसेदेखि याम्दी खण्डमा पनि ट्रयाक फाइनल हुन्छ ।’

तीन जिल्लामा ११ वटा कन्ट्याक्टरले काम गरिरहेका छन् । यो वर्ष एक अर्बको बजेटमा काम भइरहेको मरासिनीले जानकारी दिए । यो खण्डमा अघिल्लो वर्ष डेढ अर्बको काम भएको थियो ।

गण्डकीका अधिकांश प्याकेजमा समस्या देखिएको छ । कतै रुट खोज्दै हैरान छ भने कतै ठेकेदारले हैरानी दिएका छन् । गोरखा र लमजुङ खण्डमा पनि काम सुस्ताएको छ । यो दुई जिल्लामा सातवटा प्याकेजमा काम भइरहेको छ । यहाँ ११४ किलोमिटर सडक मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्छ । खासगरी आरुघाटदेखि निवेलसम्मको खण्डमा ठेकेदारले काम नगरेको इन्जिनियर गोविन्द श्रेष्ठले जानकारी दिए ।

‘कोरोना नभएको भए ठेकेदार कारबाहीमा परिसक्थे । हाम्रो खरिद ऐनका कारण पनि धेरै कुरामा समस्या भएको छ,’ उनले भने, ‘कति ताकेता गर्दा पनि काम गरिदिएन । अब यही चैतभित्र काम नसके ठेक्का तोडेर नयाँ प्रक्रियाबाट काम गराउने तयारी छ ।’

दुईवटा प्याकेजबाहेक अरु प्याकेजको काम २०७५ मै सक्नुपर्ने सम्झौता छ । रसुवा इलाईट सूर्य जेभीले जिम्मा लिएका प्याकेजमा बढी समस्या छ । यो वर्ष एक अर्ब २८ करोडको काम हुने श्रेष्ठले जानकारी दिए ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ११ : १६ बजे

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

बैतडीको सुर्नयामा ठेउलाबाट बालबालिका प्रभावित

बैतडी– सुर्नया गाउँपालिकाको वडा ७ र ८मा ठेउला सङ्क्रमण फैलिदा

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

काठमाडौं– वर्षापछिको बाढीपहिरोका कारण मंगलबार विभिन्न राजमार्गका ६ स्थानमा सडक

मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

मुस्ताङ– उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक यातायात सहज भएसँगै

कालीगण्डकी करिडोर सडक अझै खुलेन

गुल्मी– पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन