नेपालमा हालै आएको बाढी भन्दै टिकटकमा भाइरल यी भिडियो विदेशका ? « Khabarhub

नेपालमा हालै आएको बाढी भन्दै टिकटकमा भाइरल यी भिडियो विदेशका ?



काठमाडौँ– विश्वभरमा मासिक १ अर्ब प्रयोगकर्ताहरु सक्रिय रहेको भिडियो बनाई शेयर गरिने सामाजिक सञ्जाल टिकटकमा प्रयोगकर्ताहरुको वृद्धिसँगै भ्रामक सूचना फैलिने क्रम पनि बढेको छ ।

नेपालमा हालै भएको वर्षाका कारण देशका विभिन्न भूभागमा आएको बाढी र पहिरोसम्बन्धी विभिन्न भिडियो र सुचनामुलक सामग्री टिकटकमा व्यापक रुपमा शेयर गरिएको छ ।

त्यस्ता अधिकांश सामग्री सही भए पनि कतिपय भिडियो नेपालका नभई विदेशमा आएका बाढीका भएको फेला परेको छ । यस्तै भाइरल भएका ३ भिडियोहरुको साउथ एसिया चेकले तथ्य-जाँच गरेको छ ।

पहिलो भिडियो:

टिकटकबाट लिइएको स्क्रिनसट

खोलाको किनारमा रहेको सेतो रङ्गको पक्की घर भत्किएर खोलातिर ढलेको भिडियो @sunilraut854 नामक टिकटक एकाउन्टबाट कार्तिक २ गते शेयर गरिएको थियो । उक्त भिडियोमा “भाग भाग सब भाग है” भन्दै गरेको अडियो सुन्न सकिन्छ । उक्त भिडियोमा २४ हजार भन्दा धेरै प्रतिक्रियाहरु आएका छन् भने ५०१ पटक शेयर भएको छ ।

सुन्दा सोही भिडियोको अडियो जस्तो लागे पनि उक्त भिडियोमा अर्कै सन्दर्भको अडियो क्लिप समावेश गरिएको हो ।

उक्त भिडियोको स्क्रिनसट लिई सो स्क्रिनसटको ‘reverse image search’ गर्दा हामीले सोही भिडियो द टाइम्स अफ इन्डियाको वेबसाइटमा फेला पार्यौ । ४६ सेकेन्ड लामो भिडियो गत कार्तिक १ गते द टाइम्स अफ इन्डियाको वेबसाइटमा प्रकाशित भएको थियो । उक्त मिडियाले दक्षिण भारतको केरला राज्यको कोत्याम जिल्लामा भएको वर्षाका कारण खोलाले घर बगाएको दृश्य भएको उल्लेख गरेको छ ।

सोही भिडियोको छोटो क्लिपलाई अर्को अडियोसँग मिसाई टिकटकमा शेयर गरिएको पत्ता लागेको हो ।

दोस्रो भिडियो:

टिकटकबाट लिइएको स्क्रिनसट

हेर्दा सुन्दर देखिने कालो पत्रे सडक जोड्ने पुल बाढीले बगाउँदै गरेको एक भिडियो @tagebista नामक टिकटक एकाउन्टबाट गत कार्तिक २ गते शेयर गरिएको थियो ।

उक्त भिडियोमा ‘ए माया’ नामक नेपाली गीतको छोटो अंश अडियोको रुपमा प्रयोग गरिएको छ । उक्त भिडियोमा उनले ‘SETI River’ र ‘2078/07/02’ भनी उल्लेख गरेका छन् । यो सँगसँगै ‘सेती नदीमा बाढीको खतरा बढ्दै गएपछि गाडिहरु चल्न दिएको छैन, त्यसैले सबै जना सतर्क रहनुहोला’ भनी उल्लेख गरिएको छ । सो भिडियोमा करिब ७३ हजार प्रतिक्रियाहरु आएका छन् भने १०४२ पटक शेयर भएको छ ।

उक्त भिडियोको स्क्रिनसट लिई सो स्क्रिनसटको ‘reverse image search’ गर्दा हामीले सोही भिडियो बेलायतको ‘द इन्डिपेन्डेन्ट’ नामक अखबार वेबसाइटमा फेला पारेका छौं । १ मिनेट १४ सेकेन्ड लामो भिडियो द इन्डिपेन्डेन्टमा गत साउन २४ गते प्रकाशित भएको थियो । उक्त भिडियोको दृश्य समुद्री आँधीका कारण आएको बाढीले दक्षिणी ताइवानको एक पुल भत्काएको घटनाको रहेको पाइएको छ ।

यही भिडियोको छोटो क्लिपलाई अर्कौ अडियोसँग मिसाई टिकटकमा शेयर गरिएको फेला परेको छ ।

तेस्रो भिडियो:

टिकटकबाट लिइएको स्क्रिनसट

केही मानिसहरु एक नदीको बाँधबाट ठूलो मात्रामा पानी निस्किरहेको दृश्य हेरिरहेको एक भिडियो @rajusingh43540 नामक टिकटक एकाउन्टबाट कार्तिक २ गते शेयर गरिएको थियो । उक्त भिडियोमा एक हिन्दी गीतको छोटो अंश अडियोको रुपमा प्रयोग गरिएको छ । उक्त भिडियोमा उनले ‘Koshi bridge 56 uta dhoka open today’ भनी उल्लेख गरेका छन् ।

सो भिडियोमा करिब ३५ हजार प्रतिक्रियाहरु आएका छन् भने ३६४ पटक शेयर भएको छ । उक्त भिडियोको स्क्रिनसट लिई सो स्क्रिनसटको ‘reverse image search’ गर्दा हामीले सोही भिडियो एक यूट्यूब च्यानलमा फेला पारेका छौँ ।

Jayesh Dave JD’ नामक यूट्यूब च्यानलमा २०७६ साल साउन २८ गते “Mahi Dam Banswara 2019 l Mahi Bajaj Sagar Bandh Banswara” शीर्षक राखी अप्लोड गरिएको छ । यो भारतको राजस्थान राज्यस्थित माही नदीको बाँधको भिडियो भएको पत्ता लागेको छ ।

यही भिडियोको छोटो क्लिपलाई अर्कै अडियोसँग मिसाई टिकटकमा अप्लोड गरिएको हो ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  १२ : ४२ बजे

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु

काठमाडौं- इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति