जथाभाबी खनिएका सडकले बढायो पहिराको जोखिम | Khabarhub Khabarhub

जथाभाबी खनिएका सडकले बढायो पहिराको जोखिम


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– जिल्लाका नौवटै स्थानीय तहमा सडक पुर्‍याउने नाममा यहाँका गाउँघरमा जथाभाबी खनिएका सडकका कारण अहिले पहिराको जोखिम बढ्न थालेको छ । पछिल्लो समय भइरहेको वर्षाद्ले यहाँका गाउँघरका सडक पूर्णरूपमा बन्द भएका छन् ।

डोजर अपरेटरका सनकका भरमा जथाभाबी सडकको ट्रयाक खन्दा पहिराको जोखीम बढेको स्थानीयवासीको आरोप छ । बिगतका निर्वाचनका समयमा गाउँ घरमा सडक पुर्‍याउने नेताले गरेका बाचाअनुसार खनिएका सडकले जिल्लामा समस्या निम्त्याएको उनीहरूको आरोप छ ।

जथाभाबी खनिएका सडकले विकासभन्दा पनि विनास बढाएको भन्दै यहाँका स्थानीयवासी आक्रोसित बन्न थालेका छन् ।

गाउँगाउँमा सडक पुर्‍याउने होडबाजीले सम्भाब्यता अध्यन तथा सर्वेक्षण बिनानै खनिएका यस्ता सडकले बस्तीनै पहिराको जोखीममा परेको दिपायल सिलगढी नगरपालिका–४ का सर्वजित देउवाले बताए । उनले भने, “नामका सडक मात्रै भए कामका कोही सडक भएनन्, मनपरि खनिएका सडकले अहिले पहिरा आउन थाल्यो ।”

लाखौँ रकम खर्चगरेर निर्माण गरिएका यहाँका ग्रामीण सडक वर्षाद्को समय पानीले चिराचिरा हुनुका साथै आसपासका वस्तिसमेत जोखिममा परेको शिखर नगरपालिका–१ कपल्लेकीका धनबहादुर शाहीले बताए । उनले भने, “जथाभाबी डोजर प्रयोग गरेर विना अध्यन र मापदण्डका सडक खनिएका छन्, सडक खन्दा डोजरले जमिननै हल्लाएको छ, अहिले पानी पर्दा पहिरा आएर सडक बगाएर चिरचिरा भएका छन्, अब कसरी गाडी चल्छन् ।”

जिल्लाका ग्रमीण क्षेत्रका खनिएका अधिकांश सडक डोजर मालिकलाई पोष्न तथा कार्यकर्ता पाल्नका लागि मात्रै भएको यहाँका स्थानीयको आरोप छ । यही असार १ गतेदेखि जिल्लामा परेको अविरल वर्षाका कारण यहाँका जोरायल–गड्सेरा, निरौँली, खसरे, नापानी, मौवा–मेल्लेक, खप्तड, अनागाड, बोगटान, मुडभारा–धुर्कोट, राजपुर–बागनेटी, शान्तिनगर–नारीदाङ सडक अवरुद्ध भएका छन् । पानीले सडकभरमा पहिरा आउनुका साथै सडकनै बगाएर चिरा चिरा बनाएको स्थानीयवासी बताउँछन् ।

सडक डिभिजन कार्यालयको कुनै सहकार्य तथा इन्जिनियरको कुनै नाप नक्सा बिना डोजर अप्रेटरको डिजाईन र नक्साङ्कनले निर्माण भएका यहाँका सडकहरू अहिले बन्द अवस्थामा पुगेका हुन् ।

सडक निर्माणमा चलेको होडबाजीले हिउँदको समयमा यहाँका गाउँ गाउँमा गाडी सुबिधा पुगे पनि थुप्रै ठाउँमा अहिले पहिरा आउदा सडक बन्द भएका छन् । यसरी खनिएका ती सडकमा पछिल्लो समय पहिराको जोखीम बढेको केआइसिंह गाउँपालिका–५ तलिगाउँका स्थानीय तथा शिक्षक चेतराज भट्टले बताए । उनले भने, “सडक खन्ने होडबाजीले गाउँमा यातायातको सुबिधा त पुगेको थियो, अहिले पहिराले सबै सडक लग्यो, नागरिकका वस्ति मात्रै जोखिम बनायो ।”

जिल्लामा निर्माण गरिएका मापदण्ड बिनाका सडक खारेज हुनु पर्ने यहाँका नागरिकको माग रहेको छ । यहाँका स्थानीय तहले पालिकाको बजेटले निर्माण गरीएका सडकको सर्वेक्षण आफू बाहेक अन्य कार्यालयका प्राविधिकलाई सर्वे तथा जाँच गर्न नदिँएका कारण अहिले पहिराको समस्या उत्पन्न भएको सडक डिभिजन कार्यालय कुल्पाते दिपायलका सडक प्रविधिकको आरोप छ ।

यहाँका सडकवस्ती माथि तथा गाउँ तलबाट खनिएकाले वस्ति नै पहिराको उच्च जोखिम पर्न थालेको जोरायल गाउँपालिका–५ का स्थानीय चक्रबहादुर विष्टले जानकारी दिए । प्राविधिक र वातावरणिय प्रभाव मूल्याङ्कन नगरिकनै खनिएका सडकले यहाँका गाउँमा विकाससँगै विनाश निम्त्याएको उनले आरोप लगाए ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  १ : १५ बजे

झुटो विज्ञापनमा काठमाडौं महानगरको चासो, कारबाहीको चेतावनी

काठमाडौं– काठमाडौं महानगरपालिकाले भ्रामक विज्ञापन र अनुचित व्यापारिक क्रियाकलाप गर्ने

प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको शपथ

काठमाडौं– प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष विभिन्न चार स्वास्थ्य

कुमारी ईक्वीटी फण्डले साढे ११ प्रतिशत लाभांश दिने 

काठमाडौं– कुमारी ईक्वीटी फण्डले इकाईधनिलाई लाभांश दिने भएको छ ।

कारागार सुधारका लागि संसदीय अध्ययन समिति गठन गरौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले देशभरका कारागारमा देखिँदै आएका

एमसीसी परियोजना : १५.४५ करोड डलरका दुई विद्युत् प्रसारण लाइन निर्माण सम्झौता गर्दै अघि बढ्यो

काठमाडौं- अमेरिकाद्वारा वैदेशिक सहायता समीक्षापछि मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल