माथिल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण तत्काल अघि बढाउन माग | Khabarhub Khabarhub

माथिल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण तत्काल अघि बढाउन माग


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एक हजार ६१ मेगावाटको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण तत्काल अगाडि बढाउन स्थानीयवासीले माग गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नेतृत्वमा बुधबार आयोजना स्थल भोटखोला गाउँपालिका–४ छोङ्ग्राक पुगेको अर्थ मन्त्रालय, विश्वबैंकका प्रतिनिधि सम्मिलित उच्चस्तरीय टोलीलाई स्थानीयवासीले जतिसक्दो छिट्टो आयोजनाको निर्माण सुरु गर्न आग्रह गरेका हुन् । उनीहरूले आयोजना निर्माणका लागि आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको समेत बताएका छन् ।

माथिल्लो अरुण जलविद्युत् आयोजना प्रभावित सरोकार मञ्चका अध्यक्ष लादर भोटेले आफ्नो भूगोलबाट बगेको पानीबाट उत्पादित बिजुली बाल्न आतुर रहेको बताए ।

“आयोजना बन्न लागेकामा खुशी छौँ, आयोजनासँगै सडक निर्माण हुने भएकाले गाडी चढ्न पाउने छौँ, विद्यालय तथा स्वास्थ्य क्षेत्रको सुधार हुनेछ”, भोटेले भने, “स्थलगत अनुगमन गर्ने र हेरेर जाने मात्रै हैन वास्तविकरूपमै निर्माण शुरु गर्नु प¥यो, स्थानीयरूपमा हुने अवरोध हटाएर आयोजना सफल बनाउन तयार छौँ ।”

जवाफमा मन्त्री भुसालले आयोजनाको अहिले भइरहेको विस्तृत अध्ययनलाई जतिसक्दो छिटो सम्पन्न गर्ने र लगानीको ‘मोडालिटी’ टुङ्गो लगाएर निर्माण सुरु गर्ने बताइन् ।

“आयोजना चर्चामा आउने तर दशकौँसम्म निर्माण नहुने अवस्था छ, यसको अन्त्य गरी माथिल्लो अरुण स्थानीय जनताले लाभ पाउने गरी निर्माण गर्न हरसम्भव प्रयास गरिरहेका छौँ”, उनले भनिन्, “आयोजनाको लाभको हकहदार स्थानीय जनता नै भएकाले निर्माणमा सहयोग गर्नुहोला ।”

सरकारले अर्धजलाशययुक्त माथिल्लो अरुणलाई उच्च प्राथमिकतामा राखी ‘गेम चेञ्जर’ आयोजनाका रूपमा अगाडि बढाएको छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत एक हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण प्राधिकरणले निर्माण गर्न लागेको अहिलेसम्मकै ठूलो आयोजना हो ।

आयोजनामा ४९ प्रतिशत सर्वसाधारणको सेयर रहनेछ । विश्व बैंक, युरोपेली लगानी बैंकको सुहलियतपूर्ण ऋण तथा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषको लगानी रहने गरी वित्तीय व्यवस्थापनका विषयमा छलफल भइरहेको छ । आयोजनामा सङ्घीय, प्रदेश र स्थानीय सरकारको पनि लगानी रहनेछ ।

विद्युत् बढी माग हुने हिउँदका छ महिनामा दैनिक छ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने यस आयोजनाको अनुमानित लागत रु एक अर्ब ३८ करोड अमेरिकी डलर (करिब एक खर्ब ६१ अर्ब रुपैयाँ) रहेको छ । कूल लागतमध्ये ३० प्रतिशत स्वपूँजी र ७० प्रतिशत ऋणबाट जोहो गर्ने प्राधिकरणको योजना छ ।

आयोजनाबाट वार्षिक चार अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुनेछ । प्राधिकरणले माथिल्लो अरुणकै अङ्ग रहने गरी ३० मेगावाटको इखुवा जलविद्युत् आयोजना अगाडि बढाएको छ । इखुवा पनि जनता जलविद्युत् कार्यक्रममा समावेश भएको आयोजना हो ।

आयोजनाका लागि आवश्यक पर्ने निजी जग्गा यस वर्षदेखि अधिग्रहण र करिब २४ किलोमिटर पहुँच सडक निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ । आयोजनालाई आवश्यक पर्ने १८० हेक्टर जग्गामध्ये १२० हेक्टर अधिग्रहण गर्नुपर्नेछ । आयोजनाबाट २५ घरपरिवार विस्थापित हुने छन् ।

सन् २०२२ मा सबै अध्ययन सम्पन्न गर्ने र २०२३ भित्र ठेकेदारलाई निर्माणका लागि आयोजनास्थलमा परिचालन गरिसक्ने योजनाका साथ काम भइरहेको छ । आयोजनाको निर्माण सन् २०३० भित्रसक्ने लक्ष्य राखिएको छ । विश्व बैंकको एक करोड ३१ लाख डलर सहुलियतपूर्ण ऋणमा आयोजनाको विस्तृत अध्ययन भइरहेको छ ।

ऊर्जामन्त्री भुसाल नेतृत्वको टोलीमा ऊर्जा सचिव देवेन्द्र कार्की, अर्थसचिव मधुकुमार मरासिनी, विद्युत् विकास विभागका महानिर्देशक सन्दीपकुमार देव, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विश्वबैंकका उपाध्यक्ष हार्टविग सोफर, कार्यकारी निर्देशक मोहम्मद हसन अहमदलगायत थिए । टोलीले आयोजनाको मुख्य संरचना र विद्युत्गृह निर्माणस्थलको अवलोकन गरेको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ९ : ३० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर