काठमाडौँ – गरिब तथा विपन्न परिवारको आर्थिक उन्नतिको उद्देश्य राखेर २०५६ सालमा सुरु भएको कार्यक्रम हो ‘गरिबसँग विश्वेश्वर’ । त्यति वेला कांग्रेसको सरकार थियो । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री र महेश आचार्य अर्थमन्त्री थिए ।
प्रत्येक परिवारको एउटा घर, एक हल गोरु र एउटा दुहुनो गाई होस् भन्ने सपना देखेका बीपी अर्थात् विश्वेश्वरप्रसाद कोइरालाको नाममा ‘गरिबसँग विश्वेश्वर’ कार्यक्रम सुरु भएको थियो । विपन्न परिवारका लागि आयमूलक कार्यक्रम चलाउन ‘गरिबसँग विश्वेश्वर कार्यक्रम’ का लागि सरकारले प्रत्येक वर्ष बजेट छुट्याउने गरेको छ ।
कार्यक्रमका संयोजक विद्यासागर पाण्डेका अनुसार मुलुकका सातै प्रदेशका सबै ७५३ स्थानीय तहमा नछुट्ने गरी कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ । हाल ३३८ स्थानीय तहमा यस कार्यक्रमबाट सशर्त अनुदानको रूपमा रकम पठाइएको पाण्डेले खबरहबलाई बताए ।
यो कार्यक्रममा सुरुआतमा गरिबीको रेखामुनि रहेका परिवारलाई समूहमार्फत उत्पादनमूलक कार्यक्रममा सहभागी गराइन्थ्यो । हाल न्युन आय भएका घरपरिवारलाई कार्यक्रममा सहभागी गराउने गरिएको छ । कार्यक्रमका संयोजक पाण्डेले भने, ‘समग्रमा गरिबी न्यूनीकरण गर्ने प्रयासमा यस कार्यक्रमले प्रत्यक्ष सहयोग गरिरहेको छ ।’
सुरुआतका केही वर्ष राम्रो चलेको कार्यक्रम गरिबी निवारण कोष स्थापनासँगै छायाँमा परेको कार्यक्रम पाण्डेले बताए । राजनीतिक अस्थिरतासँगै गरिबसँग विश्वेश्वर कार्यक्रम २०६० देखि २०६५ सालसम्म बन्द रह्यो ।
२०६६ मा नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकारले फेरि उक्त कार्यक्रम सुरु गर्यो । त्यस वेला एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री र एमालेकै सुरेन्द्र पाण्डे अर्थमन्त्री थिए । त्यसयता निरन्तर छ । आगामी दिनमा सबै स्थानीय तहमा गरिबसँग विश्वेश्वर कार्यक्रम पुर्याउने संयोजक पाण्डेले बताए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीका अनुसार गरिबसँग विश्वेश्वर कार्यक्रम पुरानो भए पनि योजनाअनुसार अगाडि बढ्न नसक्दा प्रभावकारी हुन सकेन । पाण्डे भन्छन्, ‘विभिन्न अवरोधका कारण बन्द हुँदै र चल्दै गरेका कारण सबै तहमा पुग्न नसकेको हो ।’
कुन वर्ष कति बजेट ?
२०६६ सालमा गरिबसँग विश्वेश्वर कार्यक्रम पुनः सुरु हुँदा सरकारले १२ करोड रुपैयाँ छुट्याएको थियो । त्यस्तै, २०६७/६८ मा ९ करोड ८२ लाख ५० हजार, २०६८/६९ मा ९ करोड ८३ लाख, २०६९/७० मा ७ करोड ८३ लाख रुपैयाँ छुट्याइएको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७०/७१ म ७ करोड ८५ लाख ६५ हजार, २०७१/७२ मा ७ करोड, २०७२/०७३ मा १५ करोड ९६ लाख, २०७३/७४ मा १६ करोड, २०७४/७५ मा २४ करोड २७ लाख, २०७५/७६ मा २५ करोड ३४ लाख रुपैयाँ बजेट छुट्याइएको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा २४ करोड ९४ लाख रुपैयाँ छुट्याएको थियो भने चालु आर्थिक वर्षमा २४ करोड ५५ लाख रूपैयाँ छुट्याएको छ ।
उपलब्धि नगन्य
संयोजक पाण्डेका अनुसार गरिबसँग विश्वेश्वर कार्यक्रमले कुखुरापालन, बंगुरपालन, बाख्रापालन, तरकारी खेती जस्ता आयआर्जनतर्फ जोडिएर काममा समूहमार्फत सहयोग गर्ने गरेको छ । खेतीमा सहयोग गर्न, कुलो निर्माण, घर परिवारका लागि शौचालय, धारो निर्माणमा पनि सहयोग गर्ने गरेको छ ।
यस कार्यक्रमअन्र्तगत देशभर ६ हजार ४५ समूह संख्या बनेका छन् । पाण्डेका अनुसार यी समूहमा ८२ हजार ३५४ परिवार आबद्ध छन् । समूहमा रहेका व्यक्तिहरूले मासिक दश रुपैयाँदेखि पाँच सय रूपैयाँसम्म बचत गर्नुपर्छ । यसरी भएको बचत हाल २६ करोड ४५ लाख ३५ हजार रुपैयाँ छ । समूहमा आबद्धहरूमा वचतको संस्कार विकास भएको छ ।
‘समूहमा आवद्ध भएकाहरूले आन्तरिक बचत गर्छन् । पैसा चाहिँदा सस्तो ब्याजदरमा समूहबाटै ऋण लिन्छन् र उत्पादनमुखी काममा प्रयोग गर्छन्,’ पाण्डे भन्छन्, ‘गरिबी न्यूनीकरण गर्न गरिबसँग विश्वेश्वर कार्यक्रम विस्तृतरूपमा सञ्चालन गर्ने अभियानमा छौँ ।’
स्थानीय तह बेखबर
कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममताप्रसाद चौधरीले गरिबसँग विश्वेश्वर कार्यक्रमअन्तर्गत आफ्नो नगरपालिकामा हालसम्म कुनै योजना नआएको बताए । उनले भने, ‘हालसम्म गरिबसँग विश्वेश्वर कार्यक्रमबारे केही थाहा छैन ।’ उदयपुरको त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले पनि उक्त कार्यक्रममबारे आफूलाई जानकारी नभएको बताए ।
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाका प्रमुख निम फुन्जो शेर्पा उक्त कार्यक्रमबारे आफूलाई जानकारी भए पनि हालसम्म आफ्ना तहमा बजेट प्राप्त नभएको उनले बताए ।
अछाम जिल्लाको कमलबजार नगरपालिकामा गरिबसँग विश्वेश्वर कार्यक्रमअन्र्तगत बजेट प्राप्त भइरहेको नगर प्रमुख ओमप्रकाश विष्टले बताए । उनका अनुसार दुई वर्षदेखि उक्त कार्यक्रम अन्तर्गत रकम प्राप्त भएको छ ।
प्रतिक्रिया