काठमाडौँ– पछिल्लो एक अध्ययनअनुसार भारतका सबै धर्मावलम्बीहरूमा जन्मदर घट्दो क्रममा छ । सन् १९५१ यता धार्मिक सोच र धर्म बुझ्ने तरिकामा आएको परिवर्तनको यो एउटा उदाहरण हो । धार्मिक विश्वासका आधारमा धेरै सन्तान जन्माउने प्रचलन अहिले नकार्न थालिएको छ ।
भारतमा हिन्दु र मुस्लिमले कुल ९४ प्रतिशत जनसंख्या ओगटेका छन् । बाँकी ६ प्रतिशत शिख, इशाई, बौद्ध र जैन लगायत छन् । भारतको पछिल्लो जनगणनाले धार्मिक सोचमा आएको परिवर्तन समेत प्रष्ट पारेको छ । सन् १९४७ मा हिन्दु बाहुल्य क्षेत्रको रूपमा भारत तथा मुस्लिम बाहुल्य क्षेत्रको रूपमा पाकिस्तान विभाजन भएपछि जनसंख्या तीव्र रूपले बढेको थियो ।
सन् १९५१ मा भारतको जनसंख्या ३६ करोड १० लाख थियो, २०११ मा १ अर्ब २० करोड पुग्यो । यस बीचमा हरेक धार्मिक समुदायको जन्मदर धेरै थियो । हिन्दुको संख्या ३० करोड ४० लाखबाट ९९ करोड ६० लाख र मुस्लिमको जनसंख्या ८० लाखबाट २ करोड ८० लाख भएको थियो ।
सन् २०११ को जनगणना अनुसार १ अर्ब २० करोडमध्ये ७९ करोड ८० लाख हिन्दु थिए । यो संख्या संसारमा रहेका कुल हिन्दुहरूको ९४ प्रतिशत हो । मुस्लिमको संख्या १४.२ प्रतिशत थियो । इन्डोनेसियापछि संसारको धेरै मुस्लिम समुदायको बसोबास गर्ने देशको रूपमा भारत रहेको थियो । भारतमा भन्दा पाकिस्तानमा मुस्लिमको जनसंख्या करिब २ करोड बढी छ । बङ्गलादेश मुस्लिमको संख्या चौथो धेरै भएको देश हो । हिन्दु बाहुल्य देश संसारमा भारत र नेपाल मात्र हुन् ।
सन् २०११ मा ३० हजार भारतीयले आफू नास्तिक रहेको र कुनै पनि धार्मिक समुदायमा विश्वास नगर्ने जनाएका थिए । भारतको जनसंख्या आगामी सन् २०३० सम्ममा चीन भन्दा बढी हुने अनुमान छ ।
भारतमा २०१५ मा मुस्लिममा सबैभन्दा बढी जन्म दर थियो । मुस्लिममा २.६ प्रतिशत जन्मदर रहँदा हिन्दुमा २.१ र जैनमा १.२ प्रतिशत थियो । यो लगभग सन् १९९२ कै स्वरूपमा रहेको छ । सो समयमा मुस्लिमको जन्म दर ४.४ प्रतिशत तथा हिन्दुको जन्मदर ३.३ प्रतिशत थियो ।
सन् १९९० को सुरुमा औसतमा ३.४ जन्मदर रहेकोमा २०१५ मा २.२ पुगेको छ भने मुस्लिमको जन्मदर ४.४ बाट घटेर २.६ पुगेको छ । अन्य समुदायको जन्मदर हिन्दु र मुस्लिमको भन्दा कम छ । गएको ६० वर्षमा मुस्लिमले भारतमा ओगटेको कुल जनसंख्या ४ प्रतिशतले बढेको छ । हिन्दुको जनसंख्या यसै ढङ्गले घटेको छ ।
बीसौँ शताब्दीमा भारतको आर्थिक वृद्धिदर व्यापक बढे पनि जनसंख्या वृद्धि दर पनि त्यसैअनुरूप बढ्दो छ । धेरै विज्ञको मत के छ भने जनसंख्या वृद्धिसँगै शिक्षा र स्वास्थ्यमा खर्च बढेको छ । यसले अन्य क्षेत्रलाई असर पारेको छ । सन् २०१७ मा स्वास्थ्य मन्त्रालयले परिवार नियोजनका लागि थप कार्यक्रम तय गरेको थियो । सन् २०२५ सम्ममा धेरै जन्मदर भएको ठाउँका लागि छुट्टै जनचेतना कार्यक्रम भारत सरकारले जनाएको छ ।
भारतको जनसंख्या अध्ययन गरिरहेकी स्टेफन क्रामरले अहिले जन्मदर घटे पनि पनि अन्यको तुलनामा मुस्लिम महिलाले धेरै जन्माउने गरेको बताउँछिन् । जन्मदरमा आएको गिरावटमा धार्मिक सोचमा आएको परिवर्तनले कति प्रभाव पारेको छ भन्ने यकिन गर्न मुश्किल नै हुनेछ । परन्तु, अन्य देशमा जस्तो बसाइसराइँ तथा धार्मिक कारणले मान्छेको आगमनले भारतको जनसंख्यालाई खासै प्रभाव पारेको छैन ।
सन्तान जन्माउने उमेरमा आएको परिवर्तनसँगै जन्मदरमा पनि कमी आएको छ । सबै धार्मिक समुदायमा प्रथम गर्भाधानको उमेर पनि बढ्दो क्रममा छ ।
जनसंख्यामा शिक्षाले पनि पछिल्लो समय त्यतिकै प्रभाव पारेको छ । उच्च शिक्षाको क्रममा महिलाको बिहे गर्ने उमेर बढ्दै गएको छ र यसले पहिलो बच्चा जन्माउने उमेर पनि बढाएको छ । अध्ययनअनुसार आर्थिक अवस्थाले जन्मदरमा प्रत्यक्ष प्रभाव पारेको छ । गरिब घरमा धेरै बच्चा जन्माए काममा सघाउ हुने धारणा छ ।
भारतमा अहिले महिलाले औसतमा आफ्नो जीवनमा २.६ जना बच्चा जन्माउने गरेका छन् । यो अमेरिकाको भन्दा धेरै हो । अमेरिकामा यो दर १.६ छ । तर, भारतमा १९९२ को ३.४ तथा १९५० को ५.९ भन्दा अहिलेको दर धेरै कम हो ।
अन्य देशभन्दा भारतमा रहेको फरक के हो भने कुनै पनि धार्मिक समुदायमा आबद्ध नरहेको जनाउनेको संख्या भारतमा विरलै पाइयो ।
संसारमा हिन्दुमध्ये ९४ प्रतिशतको बसोबास भारतमा छ, जैनमध्येका अधिकको बसोबास पनि भारतमै छ । यसैगरी, ९० प्रतिशतभन्दा बढी शिखको बसोबास भारतमै छ । यी सबै शिखहरू पन्जाबमै छन् । चीनमा कुनै पनि धर्ममा आबद्ध नहुनेको संख्या धेरै छ ।
सन् २०१५ मा २०१० देखि २०५० को चार दशकमा आउने परिवर्तनको अध्ययन रिपोर्ट सार्वजनिक भएको थियो । यो चार दशकमा संसारको जनसंख्या कुन रूपले अघि बढ्ला र धार्मिक समुदायको उपस्थिति कस्तो रहला भन्ने अनुमान गरिएको थियो ।
‘प्यु’ रिसर्च सेन्टरको अनुमानअनुसार सन् २०५० सम्ममा संसारमा क्रिस्चियको संख्या सबैभन्दा धेरै हुनेछ वा क्रिस्चियन र मुस्लिमको संख्या बराबरीकै हाराहारीमा हुनेछ । अहिले फ्रान्स र अमेरिकामा कुनै समुदायमा आबद्ध नहुनेको संख्या बढ्दो क्रममा छ । अन्य देशमा पनि कुनै धार्मिक सम्प्रदायमा आबद्ध नहुनेको संख्या बढ्दै गएर यसले ठूलो हिस्सा ओगट्ने उक्त रिसर्चको निष्कर्ष छ ।
बौद्ध धर्मावलम्बीको संख्या २०५० मा पनि बराबरी नै रहने उक्त सर्वेक्षणमा जनाइएको छ भने हिन्दु र यहुदीमा केही प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ । युरोपको समग्र जनसंख्यामा १० प्रतिशत मुस्लिमले ओगट्ने प्रक्षेपण छ । सन् २०१० मा तीन चौथाई क्रिस्चियन रहेकोमा २०५० मा क्रिस्चियनको उपस्थिति घटेर दुई तिहाइ हुनेछ ।
अहिले अमेरिकामा क्रिस्चियनपछि सबैभन्दा धेरै संख्या यहुदीको छ । सन् २०५० सम्ममा यो अवस्था रहने छैन । सो समयमा क्रिस्चियन पछि धेरै संख्या मुस्लिमको हुनेछ । संसारको हरेक १० क्रिस्चियनमध्ये चार जनाको बसोबास अफ्रिकाको सबसहारा क्षेत्रमा हुने छ ।
सन् २०१० को तथ्यांकअनुसार संसारमा क्रिस्चियनको संख्या ३१ प्रतिशत र मुस्लिमको २३ प्रतिशत थियो । सन् २०१० देखि २०५० मा जनसंख्या ५० प्रतिशतले वृद्धि हुने अनुमान छ । यस बीचमा क्रिस्चियनको संख्या पनि ३५ प्रतिशतले वृद्धि हुने अनुमान उक्त सर्वेक्षणको छ । मुस्लिमको जनसंख्या ७३ प्रतिशतले वृद्धि हुने अनुमान छ ।
चीन, थाइल्यान्ड र जापान जस्ता देशको कम जन्मदरको कारण बौद्धहरूको जनसंख्या यथावतै रहने अनुमान छ । हिन्दुको संख्या ३४ प्रतिशतले र यहुदीको संख्या १६ प्रतिशतले बढ्ने प्रक्षेपण छ । कुनै पनि धर्ममा आबद्ध नहुनेको संख्या सन् २०१० मा १६ प्रतिशत रहेकोमा २०५० मा यो घटेर १३ प्रतिशत पुग्ने प्रक्षेपण छ । अमेरिकामा भने कुनै सम्प्रदायमा आबद्ध नहुनेको संख्या २६ प्रतिशतले बढ्नेछ ।
‘प्यु’ ले भारतमा नयाँ नीति अवलम्बन गरेर जनसंख्या वृद्धि दर नियन्त्रण गरेको जनाएको छ । सन् १९९० देखि विभिन्न संस्थासँग काम गरेको भारतमा यसको असर देखिन थालेको छ ।
अहिले विविध कारणले भारतको जनसंख्या वृद्धि दर कम भए पनि सबै धार्मिक समुदायमा यो घट्नुले सन्तान उत्पादनलाई धार्मिक प्रसङ्गसँग जोड्ने क्रम भने हट्दै गएको छ । –एजेन्सीहरूको सहयोगमा
प्रतिक्रिया