ऐतिहासिक महत्वको धार्मिक स्थल : हलेसी धाम (फोटो फिचर) « Khabarhub

ऐतिहासिक महत्वको धार्मिक स्थल : हलेसी धाम (फोटो फिचर)



खोटाङ– मनोरम प्राकृतिक छटाले भरिपूर्ण स्थान हो खोटाङको हलेसी मन्दिर । अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टानले झकिझकाउ ‘हलेसी गुफा’ को बेग्लै धार्मिक मान्यता छ । हलेसी मन्दिरलाई पूर्वी नेपालको पशुपतिनाथ भनेर चिनिन्छ ।

 

समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा रहेको हलेसीको तीर्थयात्रा धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रुपमा लिइन्छ । गुराँसे, तुवाचुङ जायजुम मलाथुम्की र रूपाकोट डाँडा जस्ता सदाबहार डाँडाको काखमा हलेसी अवस्थित छ ।

‘हलेसी गुफा’को प्राकृतिक भू–बनोटको संरचनासमेत विश्वमै अनौठो मानिन्छ । हलेसी महादेवलाई हिन्दू धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी अथवा मरातिक गुफा र किराँत धर्मावलम्बीले आदिम भूमिका रूपमा लिन्छन् ।

 

हिन्दू धार्मिक किम्वदन्तीअनुसार सत्य युगमा महादेव भाङ–धतुराले मातेर अर्धचेत भएको अवस्थामा भष्मासुर नाम गरेको राक्षसले ‘मैले जसको टाउकोमा हात राख्छु, त्यो जलेर भष्म होस’ भन्ने वरदान मागेका थिए ।

भाङमा लठ्ठ महादेवले पनि विचारै नगरी ‘तथास्तु’ भनेर बरदान दिए । तर, पछि वरदान पाएपछि भष्मासुर ले महादेवकै टाउकामा हात राख्न खोज्यो । भष्म हुने डरले महादेव भाग्दै जाँदा हलेसीको यसै डाँडालाई फोडेर चट्टानभित्र प्रवेश गरे र त्यहीँ अलप भएको किम्बदन्ती छ ।

यस्तै बौद्ध धर्मानुसार यस भूमिमा सयौँ वर्षअघि महान बौद्धगुरु पद्मसम्भवले वर्षौं तपस्या गरी बुद्धत्व प्राप्त गरेको पवित्र भूमि हो । बौद्व धर्मावलम्बीहरू यस गुफालाई मरातिक गुफा नाममा एक पवित्र स्थान मान्दै आएका छन् ।

यता ऐतिहासिक कालमा किरातहरूका पूर्वज खोक्चिलीप्पा, रैछाकुले, हेच्छाकुप्पा हलेसी गुफामा बसेको किंम्वदन्तीमा उल्लेख भएको पाइन्छ । बर्सेनी किरातको चाड उभौली–उधौलीको अवसरमा खोटाङ, भोजपुर, उदयपुर, ओखलढुंगा, सोलुखम्बु लगायतका किराती भेला भई आफ्ना पितृलाई पूज्ने गर्छन् ।

हलेसी महादेवको दर्शन गरेमा खडेरीबाट मुक्ति पाउने, दुःखबाट मुक्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने, निरोगी हुने जनविश्वास छ । तीन वटै धर्मवालम्बीको आस्थाको त्रिवेणी बनेको हलेसी महादेवको दर्शन गरेमा दुःखबाट पार पाइने र निःसन्तानको काख भरिने जनविश्वास छ ।

बसाहा, हलेसी र भैरव गरी तीन वटा गुफा रहेको मन्दिरमा महाशिवरात्री, रामनवमी र बालाचतुर्दशीमा मेला लाग्छ । अन्य समयमा शनिबार बिहान दर्शनार्थीको घुइँचो हुन्छ । धार्मीक पर्यटनको गन्तव्य हलेसी प्राकृतिक दृश्यावलोकनका लागि पनि प्रख्यात छ ।

सडक सञ्जालले जोडिएपछि आन्तरिक पर्यटक जाने क्रम बढेको छ । छिमेकी देश भारत र चीनबाट समेत भक्तजन आउँछन् ।

यो वर्ष भने कोरोना कहरले हलेसी महादेवको दर्शन गर्न जानेको संख्या घटेको छ । कोरोनाकै कारण रामनवमी पर्वमा पनि श्रद्धालु भक्तजन कममात्र मन्दिरको दर्शन गर्न पुगेका थिए।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ९ : ०१ बजे

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही