क्षणभरमै जलेर ध्वस्त भयो बन्हुको सपना | Khabarhub Khabarhub

क्षणभरमै जलेर ध्वस्त भयो बन्हुको सपना


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– मध्याह्नको समय कोही खाना खाएर आराम गरिरहेका थिए त कोही घरमा खाना खाइरहेका थिए । डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुर टोलमा आइतबार अचानक आगोलागी भयो ।

स्थानीयबासी भरत चौधरीको परालको टालबाट सल्केको आगोले गाउँको पाँचवटा घर जल्यो । क्षणभरमै भरतसहित बन्हु चौधरी, शोभाकान्त चौधरी, उमाकान्त चौधरी र लक्ष्मीकान्त चौधरीका घर ध्वस्त भयो ।

गाउँलेहरूले न आराम गर्न पाए, नत आगो निभाउन सके । डाक्नेश्वरी नगरपालिकामा बारुणयन्त्र नहुँदा घरहरु खरानी भएको टुलुटुलु हेर्नुपरेको उमाकान्तले बताए । नजिकै रहेको शम्भुनाथ र राजविराज नगरपालिकाको बारुणयन्त्र समेत बिग्रिएर मर्मतमा पठाइएकोले ३० किलोमिटर दूरीमा रहेको हनुमाननगर कंकालिनी नगरपालिकाबाट बारुणयन्त्र आउँदा ढिलो भएको उमेश साहले बताए ।

दुई घण्टामा बारुणयन्त्र आई पुग्दा आगलागीबाट घरसहित घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडाबर्तन, नगद, जस्तापाता, काठ र फर्निचर जलेर खरानी भइसकेको थियो ।

परालको टालबाट नजिकै राखिएको दाउरा र गुइठामा सल्किएर ह्वारह्वारी बलेको आगो नियन्त्रण गर्न नसकिएको गाउँलेहरुको भनाइ छ । स्थानीयबासी रामु चौधरीका अनुसार नजिकै पानीको स्रोत पनि थिएन । नजिकै रहेका पाँच घर आगोले डढेर खरानी भयो । छाक टार्न घरमा राखिएको अनाज र लुगाफाटासँगै नगद रुपैयाँ पनि जलेर खरानी भए ।

आगलागीमा परेर बन्हु चौधरीको घर मात्र सल्केन नयाँ घर बनाउने योजना पनि सल्केर खरानी भयो । जस्तापाताको साटो नयाँ पक्की घर निर्माणका लागि उनले बैंकबाट ऋण लिएर घरमा करिब ६ लाख रुपैयाँ जोहो गरेर राखेका थिए । बन्दाबन्दीका बेला अरु काम गर्न निषेध गरिए पनि घर निर्माणको काममा रोकावट नभएकाले उनले यो बेला घर निर्माणको योजना बुनेका थिए ।

बन्हु भन्छन्–‘‘बस्दै आएको पुरानो घर सल्क्यो, जम्मा गरी राखेको नगद छ लाखमध्ये साढे पाँच लाख रकम समेत सल्किएर नयाँ घर बनाउने योजना पनि खरानी भयो ।’’ आगोसँगै घर बनाउने उनको सपना पनि त्यही धुवाँसँगै उडेर गयो । ‘‘अब के गर्ने होला ? कहाँ बस्ने होला ?’’ बन्हुले चिन्ता प्रकट गरे । जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार बन्हु परिवारको नगदसहित १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

शोभाकान्त चौधरीले मोटरसाइकल समेत निकाल्न पाएनन् । मोटरसाइकलसहित आफ्नो घरको सम्पूर्ण सामाग्री जलेर खरानी भएको शोभाकान्तले जनाए । उमाकान्तले घरभित्र रहेको करिब तीन लाख रुपैयाँको सुनचाँदी जलेर नोक्सान भएको दुखेसो सुनाए ।

आगोले बन्हुको र उनका छोराहरुको समेत घर जलेकाले कहाँ ओत लाग्ने चिन्ता थपिएको छ । अहिले चौधरी परिवार विचल्लीमा परेका छन् । हनुमाननगरबाट आएको बारुणयन्त्रले आगोको राखलाई पूर्णरुपमा नियन्त्रणमा लियो तर बारुणयन्त्र आउनु अघि सबै सामान क्षणभरमा नै ध्वस्त भयो, केही बाँकी रहेन ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ८ : ०१ बजे

सप्तरीमा तीन घर जले, लाखौंको क्षति

 सप्तरी– सप्तरीमा आइतबार राति तीन घरमा आगलागी हुँदा लाखौँको क्षति

परराष्ट्रमन्त्री डा. राणा भारत प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा

राप्रपाले तिर्‍यो काठमाडौं महानगरलाई एक लाख जरिवाना

काठमाडौं– राजतन्त्रको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई

रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार

एजेन्सी – रुससँगको युद्ध अन्त्य गर्नेबारे युक्रेनी र अमेरिकी अधिकारीहरूबीच मंगलबार

वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा सुरु

काठमाडौं– वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा सुरु भएको छ