अफगानिस्तान संकटमा नेपालको भूमिका खोजी | Khabarhub Khabarhub

अफगानिस्तान संकटमा नेपालको भूमिका खोजी


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इस्लामिक कट्टरपन्थी तालिबानले शासन कब्जामा लिएसँगै दक्षिण एसियाली मुलुक अफगानिस्तानमा संकट गहिरिएको छ ।

यही १५ अगस्टमा राष्ट्रपति अस्रफ घानी देश छोडेर भागेपछि तालिबानले राजधानी काबुलमा कब्जा जमाएको छ । अफगान सत्ताको बागडोर तालिबानको हातमा गएपछि अन्तर्राष्ट्रिय समुदायको ध्यान त्यता केन्द्रित भएको छ ।

तालिबान सत्तामा आएपछि अफगानिस्तानमा राजनीतिक संकट र मानवीय संकट उत्पन्न हुँदा अन्तर्राष्ट्रिय समुदायको प्रमुख प्राथमिकता त्यहाँ रहेका आआफ्ना नागरिकको सुरक्षित स्वदेश फिर्ती र देश छाड्न चाहने अफगान अफगानी नागरिकको सुरक्षा रहेको छ ।

काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा देश छाड्न चाहने मानिसहरूको भीडका दृश्यहरूले त्यहाँको अवस्थाबारे बयान गरिरहेका छन् । ती दृष्यले अहिले अफगानिस्तानको अवस्था के छ भन्ने बुझ्न मद्दत गर्छ ।

अफगानिस्तानमा नेपालीहरू पनि छन् । अफगान युद्धका क्रममा काबुलस्थित विदेशी कूटनीतिक नियोगमा नेपालीहरू वैदेशिक रोजगारीका लागि त्यहाँ पुगेका थिए । तालिबानको कब्जासँगै काबुलस्थित विदेशी कूटनीतिक नियोगहरू धमाधम बन्द भइरहेका छन् । र त्यहाँ रहेका विदेशी नागरिक तथा अफगान नागरिकहरूको उद्धार भइरहेको छ ।

त्यहाँ रहेका नेपालीहरूको सुरक्षित स्वदेश फिर्ती नेपालको पहिलो प्राथमिकता रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल बताउँछिन् ।
उनले खबरहबसँग भनिन्, ‘नेपालको सम्पूर्ण ध्यान आफ्ना नागरिकको सुरक्षामा केन्द्रित छ । त्यहाँ रहेका नेपालीहरूको उद्धारका लागि हामीले सबै पक्षसँग समन्वय गरिरहेका छौँ । त्यहाँ रहेका नेपालीको सूचना संकलन पनि महत्वपूर्ण विषय छ ।’

हालसम्म अफगानिस्तानबाट ६४९ जना नेपालीको उद्धार गरिएको छ । थप नेपालीहरुको उद्धारका लागि तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । र अफगानिस्तानमा रहेका नेपालीहरुलाई परराष्ट्र मन्त्रालयको सम्पर्कमा आउन नेपालले आग्रह गरिरहेको छ । सम्पर्कमा आउनका लागि नेपालले विभिन्न फोन नम्बहरु सार्वजनिकसमेत गरेको छ ।

सन् २००१ मा अल कायदाका प्रमुख ओसामा बिन लादेनलाई शरण दिएको निहुँमा अमेरिकी नेतृत्वको गठबन्धन सेना अफगानिस्तान प्रवेश गरेको थियो । त्यतिबेला सत्तामा रहेको तालिबान गठबन्धन सेनासँग पराजित हुँदा पश्चिमा समर्थक सरकार बनेको थियो । त्यसको २० वर्षपछि अमेरिकी सेना फर्किन थालेपछि तालिबान पुनः सत्तामा आएको छ ।

सन् १९९४ देखि २००१ सम्म तालिवानले अफगानिस्तानमा सत्ता सञ्चालन गर्दा उसले थोपारेका नीतिका कारण तालिबानप्रति विश्व समुदायमात्र नभएर अफगान नागरिकहरू पनि सशंकित छन् । यही १५ अगस्टपछि उत्पन्न परिस्थितिबारे कुनै पनि मुलुकले स्पष्ट धारणा राखेका छैनन् ।

तुलनात्मकरूपमा तालिबानसँग नरम देखिएका चीन, रुस र पाकिस्तानले समेत सावधानीपूवर्क धारणा राखेका छन् ।

यस्तो परिस्थितिमा नेपालले पनि स्पष्ट धारणा राख्न सक्ने अवस्था बनिसकेको छैन । नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अध्यक्ष राष्ट्र हो, अफगानिस्तान सार्ककै सदस्य छ ।

सङ्गठनको अध्यक्षका हैसियतमा वर्तमान संकटमा नेपालको भूमिका देखिनुपर्ने कूटनीतिक मामिलाका जानकारहरूको भनाइ छ ।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव अहिले अरू विषयभन्दा पनि आफ्ना नागरिकको उद्धारमा ध्यान दिनुपर्ने बताउँछन् । उनले खबरहबसँग भने, ‘अफगानिस्तान पनि हामी जस्तै भूपरिवेष्ठित राष्ट्र हो । त्यहाँको राजनीतिक संकटबारे नेपालले सावधानीपूर्वक सोच्नुपर्छ । सार्कले केही गर्न सक्ने देखिँदैन ।’

विभिन्न देशका लागि राजदूत रहिसकेका पाँच जना कूटनीतिज्ञहरूले मङ्गलबार एउटा संयुक्त विज्ञप्ति जारी गरी अफगानिस्ताको संकटबारे सार्कस्तरमा पहल गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् ।

पूर्वराजदूतहरू हिरण्यलाल श्रेष्ठ, दीपकुमार उपाध्याय, दुर्गेशमान सिंह, सुरेश चालिसे र महेश मास्केले अफगानी संकटबारे सरोकालवाला मुलुकहरूसँग वार्ताका लागि पहल गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् ।

पाँच पूर्वराजदूत मध्येका एक दीपकुमार उपाध्यायले खबरहबसँग भने, ‘अफगान संकटमा आफ्ना नागरिकको उद्धार सबैभन्दा पहिलो

प्राथमिकताको विषय हो । नेपाल सार्कको चियर राष्ट्र हो । त्यसैले यो विषयमा सार्क राष्ट्रका प्रतिनिधिहरूबीच नेपालले छलफलमात्र गराउन सक्यो भने पनि महत्वपूर्ण सफलता हुन सक्छ ।’

तर, पूर्वपराष्ट्रमन्त्री तथा जसपा अध्यक्ष यादवका अनुसार नेपाल सार्कको अध्यक्ष र अफगानिस्तान सदस्य भएको नाताले मात्रै नेपाल ठोस काम गर्न सक्दैन ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ४ : ३३ बजे

बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई खोप

ढोरपाटन– बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई विभिन्न रोगविरुद्धका

बझाङमा एमाले ३४१ मतले अगाडि, साइपालको करिब हजार मत गन्न बाँकी

बझाङ- बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

काठमाडौं – कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

रारा क्षेत्रमा अष्ट्रेलियन कम्पनीले सवा अर्ब खर्चेर लक्जरी रिसोर्ट बनाउने

काठमाडौं – नेपालकै ठूलो एवम्‌ मनोरम पर्यटकीय गन्तव्य रारामा अष्ट्रेलियन

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान

बेइजिङ– आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क सुरक्षा मञ्जुरी प्राप्त