कक्षा : ४, उमेर : १२ वर्ष « Khabarhub

कक्षा : ४, उमेर : १२ वर्ष


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाइ, पानी लिनु न !

आधा खुलेको झ्यालबाट मैले भनेँ– नाइँ नानी, चाहिँदैन ।

उनी शायद अर्को गाडीतर्फ गइन्, झ्यालबाहिरबाट त्यसै गरी सोध्नलाई ।

त्यसपछि मैले ती सानी नानीलाई प्रष्ट देखेँ, बढीमा १२ वर्ष होलिन् । पानीका बोतलहरूको झोलासहित ती नानीलाई देखेपछि किन किन मलाई त्यो पानी किनुँजस्तो लाग्यो, अन्तस्करणमा एउटा हुटहुटी लाग्यो ।

खिरिली, सानी नानी, शायद कर्तव्यको बोझले थिचिएकी होलिन् । कालो झोला, त्यसभित्र पानीका बोतलहरू, उनको उमेर र कामको नमिलेको तदात्म्य अनि मेरो कौतुहल आपसमा ठोक्किए ।

त्यस दिन सातदोबाटोको जाम अलिक छिटो खुल्यो । म अघि बढ्नु पर्ने भयो । ती नानी अनि तिनको पानी, बडो बेचैनीका साथ दिमागमा खेलिरह्यो ।

आजभोलि काठमाडौँमा ट्राफिक रोकिने संकेतहरूमा पानी, ढाड कन्याउने पातो, गाडी पुछ्ने टालो लगायतका सामान बेच्नेहरूको भिड देखिन्छ । यसका अलावा अन्य धेरै नेपाली र गैरनेपाली माग्नेहरूको पनि संख्या बढेको छ । त्यही मौकामा व्यापारको एउटा लर्को लागेको छ, कतिपयले सामान बेच्छन् अनि कतिपयले भावना ।

कोही आमाहरू काखमा छोराछोरी च्यापेर माग्दै गरेका देखिन्छन् । कोही छोराछोरी आमाबुबाका लागि मागेका जस्ता पनि देखिन्छन् ।
ती नानी चाहिँ फरक थिइन्, उनमा स्वाभिमान थियो । उनी माग्न होइन, पानी बेच्न ढोकामा आएकी थिइन् ।

त्यस दिन पछि म हरेक पटक सातदोबाटोमा ती नानी आउलिन् कि भनेर जाममा एक तमासको प्रतीक्षा गर्न थालेँ । फेरि भेटेँ भने उनले बोकेजति सबै पानी किनिदिन्छु र नानी तिमी स्कुल जान्नौ भनेर सोध्छु भन्ने ठानेँ । उनी धेरै दिन भेटिइनन् ।

एकदिन अलिक दिउँसै घर फर्किनुपर्ने भयो । लुभु, लामाटार पुग्न भैँसेपाटी कार्यालयबाट सातदोबाटो नपुगी हुन्न । मोटरसाइकल र बर्खाको एउटा गज्जबको तालमेल छ । मोटरसाइकलमा निस्केको दिन चाहिँ पानी नपरी छाड्दैन आजभोलि । मसिनो पानीमा रेनकोटको खबटा ओढेर निस्किएँ । सातदोबाटोमा रोकिनु परिगयो, रोकिँए ।

छेउमा रोकिएको ट्रकतिरबाट आवाज आयो– यसको सय रुपियाँ अंकल !

हेरेँ, तिनै नानी रहिछिन् । उनले त्यस दिन पानीसँगै गाडीको धुलो उडाउने कुची जस्तो सामग्री पनि बोकेकी थिइन् । समय थियो, मन थियो, म थिएँ । रोकिएँ ।

ग्वार्को चोक पुगेर बाइक घुुमाएर फेरि सातदोबाटो छेउमा पार्क गरेँ । नानीलाई छेउमा बोलाएँ, केही कुरा गर्न थालेँ । एकैछिन पख है नानु, म उताबाट फर्केर आउँछु, कतै नजाऊ भनेँको थिएँ, उनी त्यहीँ भेटिइन् ।

नानीको नाम रहेछ काजल तामाङ ।

दुई महिना भयो रे, यहाँ सामान बेच्न थालेको चार कक्षामा पढ्दिरहिछिन् तर अहिले स्कुल बन्द रहेछ । उनकी आमा यहाँ पानी बेच्नुहुन्थ्यो रे । अहिले मकैको सिजन आएपछि आमाले मकै पोलेर बेच्न थाल्नुभयो । काजलले आमाको ठाँउ सम्हालिन् ।

साल्ट ट्रेडिङको नामको झोला रहेछ । त्यो कालो झोलामा लेखिएका सबै जसो अक्षर मेटिँदै गएर मुश्किलले पढ्न सकिने भएछन् । रङ उडेको थियो ।

म अक्क न बक्क परेँ, अब के सोध्ने ! कतै मैले काजलको व्यापार हुने समय त खेर फालिदिएको छैन ! कुरा कताबाट सुरु गरूँ !

नानी ! एक बोतल पानी देऊ त !

उनले पानी दिइन् । मैले ५० रुपैयाँ दिएँ ।

उनले २५ रुपैयाँ फिर्ता दिइन् । मैले लिएँ । काजल स्वाभिमानको पाठ सिक्दैछिन्, मैले उनीभित्र अनुदानको प्रदूषण भित्र्याउन हुन्न भन्ने ठानेँ ।
मान्छे र देश एउटै हो भन्ने मेरो ठम्याइ छ । अनुदान र सहयोगमा बानी परेपछि स्वाभिमान चियामा बिस्कुट घोलिएझैँ घुल्छ र अस्तित्व नामेट हुन्छ ।

मैले अनेक यात्रामा धेरै बोतल पानी किनेँ तर कुनै पनि बोलत सम्हालेर राखिँन । राख्नु पर्ने ठानिनँ । काजलसँग किनेको पानीको बोतल सम्हालेर राखेँ ।

मैले काजल एभरेस्ट जस्तै ठानेँ । एभरेस्ट चाहिँ हाम्री परिकल्पनाकी पात्र, मैले एभरेस्टका लागि धेरै कुराहरू लेखेको छु । नेपालमा पोषणको महत्व र आवश्यकता बुझाउन कार्यरत एउटा गैरसरकारी संस्था बलियो नेपालका लागि सञ्चार सामग्री परिकल्पना, लेखन, विकास र विस्तारका लागि म क्रियाशील छु ।

यस क्रममा नेपालले अबको २० वर्षपछि क्रिकेटको विश्वकप जित्नेछ भन्ने परिकल्पना गरेर उक्त राष्ट्रिय क्रिकेट टिमकी कप्तानका रूपमा एभरेस्ट पात्रको परिकल्पना गरेँ ।

सन् २०३९ को परिदृश्यमा एभरेस्ट र उनको बलियो टिमको कथाहरू लेखेर रेडियोमा धारावाहिक प्रसारण भयो ।

पोहोर सालको कुरा हो, बेनवासँग फोनमा कुरा हुँदा उनले एभरेस्टलाई कस्तो पात्रका रूपमा देख्छौ भनेर सोधेका थिए । बेनवा बलियो नेपालका सञ्चार सामग्री उत्पादन गर्न विदेशी परामर्शदाता हुन्, फ्रान्समा बस्छन् । उनीसँग मैले अनेक पटक बात मारेको छु ।
मैले एभरेस्ट बलियो छिन्, उनी निडर छिन्, उनी आत्मविश्वासी छिन् र उनी बुद्धिमान् छिन् भनेको थिएँ ।

काजल सहानुभूतिकी पात्र होइनन् । उनको उमेरका धेरै नानीहरूलाई आमाबुबाले घरमा ‘को खाई को खाई’भन्दै गाँस गनेर खुवाइरहेका होलान् । सडकमा पानी र पोलेको मकैको व्यापारको कुरा ती धेरै नानीहरूलाई के थाहा !

काजललाई मैले साक्षात एभरेस्ट नै देखेँ । शुक्रबार बेनवासँग बात मार्नु छ, काजलका बारेमा पनि भन्छु समय लिएर ।

काजल निडर छिन् । हक्की छिन् । उनमा आत्मविश्वास छ । काजलजस्ता बहिनीहरू धेरै छन् । उनीहरूले राम्रो वातावरण र अवसर पाए भने भोलि नेपालले धेरै प्रतियोगिताहरू जित्नेछ ।

म छेउमा बसेर हेरिरहेँ । सातदोबाटोको जाममा गाडीहरू रोकिएपछि किनाराबाट आआफ्ना सामान बोकेर दौडिनेहरूको लर्को लाग्यो । एक जना दिदी दुधे बालकलाई छातीमा चेपेर गाडीमा माग्ने रहिछिन्, नेपाली बोल्न नआउने । सडकछेउमा आजभोलि भावना र सामान दुबै बिक्छन् ।

काजल सहानुभूतिकी पात्र होइनन्, हामी सबैले गर्व गर्न सक्ने पात्र हुन् । उनको उमेरका धेरै नानीहरूलाई आमाबुबाले घरमा ‘को खाई को खाई’ भन्दै गाँस गनेर खुवाइरहेका होलान् । सडकमा पानी र मकैको व्यापारको कुरा ती धेरै नानीहरूलाई के थाहा !

काजल एउटा ज्वलन्त नायिका भइन् मेरा लागि । उनी मैले देखेको सबैभन्दा सानो उमेरकी उद्यमी हुन् । मैले काजलबाट धेरै कुरा सिकेँ, उनको श्रम र अठोटबाट प्रभावित भएँ । आजकाल उनीसँग बाक्लै भेट हुन्छ । अब असोज १२ गतेदेखि उनको स्कुल पनि लाग्छ क्यारे ! यसपछि उनीसँग हम्मेसी भेट नहुन सक्छ । काजलका बारे आज यति लेखेर आफूलाई धन्य ठानेको छु ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ८ : ५९ बजे

प्रदीप पौडेललाई प्रश्न- देउवा आएपछि पार्टी एकताको सम्भावना टरेको हो ?

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा