विश्वकप क्रिकेट : पाकिस्तानले इतिहास रच्ला कि भारतले शृङ्खला थप्ला ! | Khabarhub Khabarhub

विश्वकप क्रिकेट : पाकिस्तानले इतिहास रच्ला कि भारतले शृङ्खला थप्ला !


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वकप क्रिकेटको इतिहासमा भारत र पाकिस्तान चिर प्रतिद्वन्द्वी टोली हुन् । यी दुई देशबीचको प्रतिस्पर्धालाई विश्वका खेलप्रेमीले बढो चासोका साथ हेर्ने गरेका छन् ।

भौगोलिक सीमा जोडिए पनि राजनीतिक दूरीका कारण पनि यी दुई देशबीचको प्रतिस्पर्धालाई प्रतिष्ठाको लडाईंका रूपमा चित्रण गर्ने खेलपण्डितहरू धेरै छन् ।

धेरैजसो विश्वकपमा एकअर्काबीच प्रतिस्पर्धा हुनु संयोगमात्र होस् अथवा दर्शक र विज्ञापनदातालाई तान्न सकिन्छ भन्ने आयोजकको उद्देश्य किन नहोस्, भारत र पाकिस्तानबीचको खेल विश्वकप क्रिकेटको सर्वाधिक चासोको विषय बन्ने गरेको छ ।

एसियाली दुई पावरहाउस भारत र पाकिस्तानबीचको खेलमा बाजी राख्नेहरू पनि कम हुँदैनन् । भनिन्छ, भारत र पाकिस्तानबीचको प्रतिस्पर्धाको दिन भारतीय र पाकिस्तानीले सबैभन्दा बढी टिभी हेर्ने दिन हो ।

सन् १९७५ मा सुरु भएको एक दिवसीय र सन् २००७ मा सुरु भएको ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारत र पाकिस्तान १२ पटक आमनेसामने भएका छन् । यी सबै स्पर्धामा भारतले बाजी मारेको छ ।

विश्वकप क्रिकेटमा भारतलाई पराजित गर्न नसकेको पाकिस्तानले आइतबार राति पौने ८ बजे हुने ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटको खेलमा इतिहास बनाउला कि नबनाउला भन्ने चासो सर्वत्र छ ।

सन् २००७ को एक दिवसीय विश्वकपमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा नभए पनि सन् १९९२ पछिका सबैमा यी दुई देशले समूह चरणदेखि फाइनलसम्मको यात्रामा एक न एक पटक प्रतिस्पर्धा गरेकै छन् ।

सन् २००७ मा पाकिस्तान वेस्टइन्डिज र आयरल्यान्डभन्दा पछि तेस्रो स्थानमा परेपछि समूह चरणमै रोकिएको थियो ।

सन् १९७५, १९७९, १९८३ र १९८७ मा यी दुई महारथी फरक समूहमा परेका थिए । सन् १९९६, १९९९ र २०११ मा फरक समूहमा परे पनि यी दुई देशले पूर्ववर्ती चरणहरूमा प्रतिस्पर्धा गरेका थिए ।

राउन्ड रोबिनका आधारमा सञ्चालित सन् १९९२ को विश्वकप क्रिकेटको समूह चरणको खेलमा भारतसँग ४२ रनले पराजित पाकिस्तानले सेमिफाइनलमा न्यू जिल्यान्डलाई र फाइनलमा इङ्ल्याण्डलाई पराजित गर्दै विश्वकप क्रिकेटको उपाधि उचालेको थियो ।

एक दिवसीय विश्वकपमा पाकिस्तानको एक मात्र उपाधि यही हो ।

सन् १९८३ र २०११ को विजेता भारतले १९९६ को विश्वकपको क्वार्टरफाइनलमा पाकिस्तनलाई ३९ रनले पराजित गरेको थियो । सन् १९९९ को विश्पकपको सुपर सिक्समा भारतले ४७ रनको जित निकाले पनि पाकिस्तानले फाइनलसम्मको यात्रा तय गरेको थियो ।

साउथ अफ्रिका, जिम्बाबे र केन्याले संयुक्तरूपमा आयोजना गरेको सन् २००३ को विश्वकप क्रिकेटको समूह चरणको खेलमा पाकिस्तान फेरि एक पटक भारतसँग ६ विकेटले पराजित हुन पुग्यो । सेमिफाइनलमा पाकिस्तानलाई २७ रनले स्तब्ध पार्दा भारतले सन् २०११ को उपाधि आफ्नै घरमा राखेको थियो ।

भारतले सन् २०१५ को विश्पकपको समूहचरणमा ७६ रनको प्रभावशाली जित दर्ता गरेको थियो । इङ्ल्यान्ड र वेल्सले संयुक्तरूपमा आयोजना गरेको सन् २०१९ को विश्वकप क्रिकेटको राउन्ड रोबिन लिगमा पाकिस्तानले फेरि एक पटक ८९ रनले नतिजा भारतलाई सुम्पिएको थियो ।

क्रिकेटको अर्को फर्मेट ट्वान्टी–ट्वान्टी विश्वकपमा पनि भारत हावी हुँदै आएको छ । सन् २००७ मा दुई पटक प्रतिस्पर्धा गर्दा पनि भारतलाई हराउन नसकेको पाकिस्तानले सन् २०१२, २०१४ र २०१६ को भेटमा पनि नतिजा आफ्नो पक्षमा पार्न सकेन ।

सन् २००७ को पहिलो विश्वकपको समूह चरणमा बलआउटमा भारतलाई नतिजा सुम्पिएको पाकिस्तानले फाइनलमा जित नजिक पुगेर पनि ५ रनले विश्वकपको ट्रफी उचाल्न सकेन ।

सन् २०१२ मा ८ विकेटको फराकिलो हार व्यहोरेको पाकिस्तानले लगत्तै २०१४ मा बङ्गलादेशमा ७ विकेटको नतिजा भारतलाई सुम्पिएको थियो ।

गृहमैदानमा भएको सन् २०१६ को विश्वकपमा भारतले पाकिस्तानमाथि ६ विकेटको प्रभावशाली जित दर्ता गरेको थियो ।

फेरि अहिले टी–ट्वान्टी विश्वकप क्रिकेटले विश्वका खेलप्रेमीलाई खिचेको छ । कोरोना महामारीका कारण दुई वर्ष धकेलिएको विश्वकप अहिले यूएई र ओमानमा जारी छ ।

अर्को रोचक पक्ष के भने यो पटक पनि चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान एकै समूहमा परेका छन् । आइतबार राति पौने ८ बजे विराट कोहली नेतृत्वको भारत र बाबर आजम नेतृत्वको पाकिस्तान दुबईमा आमने सामने हुनेछन् ।

आइतबारको खेलमा बाजी मार्न सके पाकिस्तानले इतिहास बनाउने छ भने भारतले विश्वकप क्रिकेटको यात्रामा पाकिस्तानविरुद्ध अपराजित यात्रा तेह्रौँ खेलसम्म पुर्‍याउनेछ ।

 

 

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ४ : ५४ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले