पाँच दिनदेखि अन्धकारमा बाढी पीडित « Khabarhub

पाँच दिनदेखि अन्धकारमा बाढी पीडित


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– बेमौसमी बाढीले बिजुलीको पोल बगाउँदा गौरीगञ्ज १ का बाढीपीडित पाँच दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । अविरल वर्षासँगै गत मंगलबार राति आएको बाढीले बिजुलीको तार र पोलमा क्षति पुर्‍याउँदा बाढी पीडित अन्धकारमा बस्न बाध्य भएका हुन् ।

बिजुलीको पोल ढल्दा गौरीगञ्ज १ को बाढी प्रभावित क्षेत्रका करिब १५० बाढी पीडितको घरमा बिजुली अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बुल्लुचोक सबस्टेसनले जनाएको छ । ‘बिजुली नहुँदा हामीलाई धेरै समस्या भएको छ । न मोबाइल चार्ज गर्न पाएका छौं । न त घरमा बत्ती बाल्न नै,’ हुकलबारीका बाढीपीडित चन्द्र कार्की भन्छन्, ‘एकदम समस्या भएको छ । राति टुकी बालेर बसिरहेका छौं ।’

बाढीपीडितले कम्मरसम्म आउने माई नदी छिचोल्दै उत्तरी गाउँमा आएर मोबाइल चार्ज गर्नुपर्ने बाध्यता छ । ‘छोरीमान्छे आउन सक्दैनन् । हामी नै मोबाइल भेला पर्छौँ र माथि लाइन भएको ठाउँमा चार्ज गर्न लैजान्छौं,’ उनले भने, ‘कम्मरसम्म आउने पानीको प्रेस धेरै छ । चार्ज गर्न जाँदा त गइन्छ । तर, फर्कँदा के हुने हो टुंगो हुँदैन ।’

अर्को गाउँमा चार्ज लगाएको मोबाइल बालेर बाढीपीडित रात कटाउँदै आएका छन् । ‘घरमा सबै लेदो जमेको छ । जसोतसो बसेका छौं । राति सर्प आउँछ भन्ने डर त छदैछ,’ हुकलबारीका बाढीपीडित अलि मुदिन भन्छन्, ‘बिजुली नहुँदा हामीलाई धेरै समस्या भएको छ ।’ हुकलबारी जाने बिजुलीका तीन वटा पोल माई नदीले बगाएको छ । विद्युत् प्राधिकरणले पनि बनाउने कोसिस गरिरहेको जनाएको छ ।

अहिले स्थानीयको सहयोगमा काठको पोल गाड्ने काम भइरहेको छ । तर, यो अस्थायी मात्र भएको बाढीपीडित सागर सुनुवार बताउँछन् । ‘लाइन बिना केही नहुने भयो । बाढी आउँदा चारतिरबाट नदीले घेरेको थियो बीचमा हामी थियौं । आफन्तलाई सुरक्षित भएको जानकारी पनि गराउन सकिएन,’ उनी भन्छन्, ‘त्यसैले अहिले हामी नै लागेर बिजुली गाउँसम्म पुर्‍याउने तयारी गर्दैछौं । हामी आफैं पैसा उठाएर भए पनि लाने भन्नेमा थियौं । तर, विद्युत् प्राधिकरणले नै खर्च गर्‍यो । हामीले श्रमदान गर्‍यो ।’

अहिले लैजान लागिएको विद्युत् अस्थायी हो । काठको पोल एकदमक कमजोर छ । सामान्य हावाले पनि लडाउन सक्ने सुनुवार बताउँछन् । ‘यो त अस्थायी मात्र काम दिन्छ । सामान्य हावाले पनि लडाउँछ । तर, अहिलेलाई काम चलाउन भए पनि लानै पर्ने बाध्यता छ,’ उनले भने ।

विद्युत् प्राधिकरण बुल्लुचोक सब स्टेसनका प्राविधिक विजयकुमार ताजपुरीयाले सोमबारसम्म बाढीपीडित गाउँमा बिजुली पुर्‍याउने योजना रहेको बताए । स्थानीयको सहयोगमा अस्थायी रूपमा भए पनि गाउँमा बिजुली पुर्‍याउन धमाधम काम गरिरहेको उनले बताए । ‘अहिले मुख्य कुरा बिजुली हो । अँध्यारोमा बाढीपीडितलाई समस्या हुन्छ भनेर हामीले खोला घट्ने बित्तिकैदेखि काम सुरु गरेका छौं,’ उनले भने, ‘तर, यो अस्थायी हो । यहाँ भत्किएको बाटो बन्यो र सिमेन्टको पोल पारिसम्म पुर्‍याउन पाइयो भने मात्र स्थायी बन्छ । नभए अहिलेलाई अस्थायी नै हुन्छ ।’

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १० : ०४ बजे

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम– ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा गत

सक्कली बिल लिएर लखपति बन्ने अवसर: सरकारले ल्यायो दैनिक १ लाख जित्ने योजना

काठमाडौँ – सरकारले सर्वसाधारणलाई मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी

मनसुन सक्रिय भएसँगै देशभर झाडापखालाका बिरामी बढे, उपत्यकामा हैजाको जोखिम उच्च

काठमाडौँ – मनसुन सक्रिय भएसँगै देशभर लगातार भइरहेको वर्षाका कारण

बाँकेको जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगञ्ज– बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु

अत्यावश्यक औषधि उत्पादनको समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच