भूकम्पको ६ वर्ष : सम्पदा पुनर्निर्माणमा ५३ प्रतिशतमात्र प्रगति « Khabarhub

भूकम्पको ६ वर्ष : सम्पदा पुनर्निर्माणमा ५३ प्रतिशतमात्र प्रगति

अहिलेसम्म साढे ३ अर्ब खर्च, पुनर्निर्माण सक्न अझै २ वर्ष लाग्ने



काठमाडौँ– हरेक वर्ष वैशाख १२ गतेले भूकम्पको सम्झना गराउँछ ।

गोरखाको बारपाक केन्द्रविन्दू भएर भूकम्प गएको आज छैठौं वर्ष लाग्यो ।

कहालीलाग्दो त्यो दिनको घटनाले ८ हजार ७ सय ९० नागरिकको ज्यान गयो । २२ हजारभन्दा बढी घाइते भए ।

निजीआवास, शैक्षिक संस्था, सरकारी तथा सुरक्षा निकायका भवन र सांस्कृतिक सम्पदा तहसनहस बने ।

भूकम्पले ढलेका संरचना कति नयाँ स्वरुपमा उठे कति पुरानै स्वरुपमा उठ्दै छन् भने कति उठ्नै बाँकी छन् ।

काठमाडौँस्थित ऐतिहासिक सम्पदा रानीपोखरी पुनर्निर्माण यहीवर्ष सम्पन्न भयो ।

ऐतिहासिक धरोहर मानिने २२ तले धराहरा हिजो शनिबार उद्घाटन भयो । काष्ठमण्डप पुनर्निर्माण यहीआर्थिक वर्षमा सम्पन्न हुने गरी काम भइरहेको छ ।

भूकम्पले देशभरका ९ सय २० सम्पदामा क्षति पुर्‍याएको थियो ।

ऐतिहासिका तथा सांस्कृतिक महत्वका सम्पदाको पुनर्निर्माण हालसम्म ५३ प्रतिशतमात्र सम्पन्न भएको छ ।

पुरानै शैलीमा सम्पदा पुनर्निर्माण भइरहेकाले काम सुस्त देखिएको पुरातत्व विभागले जनाएको छ ।

क्षति भएका सम्पदा मध्ये ५ वर्षमा ४ सय ९३ सम्पदा पुनर्निर्माण सम्पन्न भएको र २ सय ८८ सम्पदा चालु आर्थिक वर्षमा सम्पन्न गर्ने विभागको लक्ष्य रहेको महानिर्देशक दामोदर गौतमले खबरहबलाई बताए ।

उपत्यकामा ५० प्रतिशत सम्पदाको पुनर्निर्माण सम्पन्न

विभागका अनुसार भूकम्पले काठमाडौँ उपत्यकामा ४ सय ६ वटा सम्पदामा क्षति पुर्‍याएको थियो । जसमध्ये हालसम्म ५० प्रतिशत सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ ।

त्यस्तै चालु आर्थिक वर्षमा १ सय १८ वटा सम्पदाको पुनर्निर्माण सक्ने तथा आगामी आर्थिक वर्ष ८८ वटा सम्पदा पुनर्निर्माण गर्ने विभागको लक्ष्य छ ।

त्यस्तै विश्वसम्पदा क्षेत्रका १ सय ७० सम्पदा क्षति पुगेकोमा हालसम्म १ सय १० सम्पदाको पुनर्निर्माण सम्पन्न भएका छन् ।

केशरमहल, बबरमल, बालमन्दिर, नारायणहिटी संग्रहालय क्षेत्रमा रहेको रणोदीप दरबारलगायतका पुरातात्विक महत्वका दरबारको जीर्णोद्वार जारी छ । बृहत्तर रानीपोखरी-टुँडिखेल-रत्नपार्क-खुल्लामञ्च-भृकुटीमण्डप-रंगशाला-लोकतान्त्रिक संग्रहालय, नारायणहिटी संग्रहालय, गोरखा एवं नुवाकोट क्षेत्र एवं उपत्यकाका ७ वटै पुरातात्विक सम्पदाको गुरुयोजना अझैं स्वीकृतिको चरणमा छन् ।

क्षतिभई मर्मत गर्नुपर्ने ४०२ गुम्बामध्ये २९४ वटा सम्पन्न भइसकेका छन् ।

सयवर्ष पुराना गुम्बा पुनर्निर्माण हुँदै

भूकम्पले क्षति पुगेका देशभरका गुम्बा पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभागलाई दिइसकेको छ ।

भूकम्पले देशभरका ४ सय २ वटा गुम्बामा क्षति पुर्‍याएको थियो । हालसम्म २ सय ९४ वटा गुम्बाको पुनर्निर्माण सम्पन्न भइसकेको छ ।

पुनर्निर्माण गर्नुपर्ने ८ सय ९५ मध्ये १ सय वर्षभन्दा पुराना र २ हजार वर्ग फिटभन्दा बढी प्लिन्थ एरिया भएका २ सय ६४ वटा गुम्बामध्ये ३६ वटा र सय वर्षभन्दा कम र २ हजार वर्ग फिटभन्दा मुनिका ६ सय ३१ गुम्बामध्ये १ सय १ वटाको पुनर्निर्माण कार्य अघि बढेको प्राधिकरणले जनाएको छ ।

‘प्राधिकरणले डीपीआर गरेका, पुनर्निर्माण शुरू गरेका र बाँकी रहेका गुम्बा विभागले सम्बोधन गर्नेछ’ गौतमले भने, ‘त्यसमा पुरातात्विक महत्वका सय वर्षभन्दा पुराना, क्षेत्रफलका आधारले र नयाँ गुम्बाको पुनर्निर्माण विभागले शुरू गर्नेछ ।’

सम्पदा पुनर्निर्माण आफैँमा चुनौती

निजीआवास, शैक्षिक संघसंस्थाभन्दा फरक लिइन्छ सम्पदा पुनर्निर्माणलाई । जहाँ भत्किएका संरचनालाई प्राचीन मूल्य मान्यताअनुसार परम्परागत शैलीमा पुनर्निर्माण गर्नुपर्ने हुन्छ ।

‘परम्परागत स्रोत साधन र प्रविधिको प्रयोग गर्दै पुरानै शैलीमा पुनर्निर्माण गर्नुपर्ने भएकाले सम्पदा पुनर्निर्माण आफैँमा चुनौतीको विषय हो’ गौतमले खबरहबसँग भने, ‘यसलाई हामीले यति समयमा सक्छौँ भनेर समय तोक्न मिल्दैन सुस्त तरिकाले काम हुन्छ । सकेसम्म समयमै सकिने गरी काम भइरहेको छ ।’

त्यस्तै सम्पदा पुनर्निर्माणमा प्रयोग हुने काठ पर्याप्त मात्रामा नपाइने उनले बताए ।

देश संघीयतामा गएसँगै सम्पदा संरक्षण तथा सम्वन्यमा स्थानीय निकायको पनि अहम भूमिका रहन्छ । तर सम्पदा पुनर्निर्माणका कतिपय क्षेत्रमा भने स्थानीय सरकारले चासो नदेखाएको बताउँछन् उनी ।

भन्छन्, ‘सम्पदा पुनर्निर्माणका क्रममा विभिन्न लापरवाही भएको भन्दै आन्दोलन विरोध पनि भइरहन्छन् यस्ता कुरामा स्थानीय सरकारले चासो दिएमा सम्पदाको मौलिकता मासिँदैन ।’

यसअघि कोरोना भाइरसका कारण गरिएको लकडाउनले देशभरका सम्पदा पुनर्निर्माणमा खासै प्रभाव नपरेको उनले बताए । सम्पदा पुनर्निर्माणमा थोरै जनशक्ति भए पुग्ने भएकाले कोभिड सम्बन्धि स्वास्थ्यका मापदण्ड पालना गर्दै काम अघि बढे ।

प्राकृतिक समस्या नआएमा आगामी २ वर्षभित्र सम्पूूर्ण सम्पदाको पुनर्निर्माण सम्पन्न भइसक्ने गौतमको भनाइ छ ।

साढे ३ अर्ब खर्च

विभागले हालसम्म ४ सय ९३ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न गर्न ३ अर्ब ४० करोड ५८ लाख ८६ हजार रुपैयाँ खर्च गरेको छ ।

चालु आर्थिक वर्षका लागि सम्पदा पुनर्निर्माणमा १ अर्ब ७३ करोड ६६ लाख बजेट विनियोजन भएको छ ।

विभागले सम्पुर्ण सम्पदा पुनर्निर्माण गर्न १० अर्ब ८ करोड ८५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ९ : २० बजे

रवि शुक्रबार मात्रै छुट्ने, रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने

काठमाडौं- सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

निर्वाचन नै अन्तिम विकल्प : अर्थमन्त्री खनाल

तिलोत्तमा– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचन अन्तिम विकल्प रहेको बताएका छन् 

अध्यक्ष बनेलगत्तै ओलीको आक्रमक सम्बोधन : यो सरकारसँग भिड्न तयार छौँ, परिआए ढालिदिन्छौँ

काठमाडौं- नेकपा (एमाले) का अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित केपी

एमालेको ११ औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित, भदौ २३–२४ का घटनाको निष्पक्ष छानबिन गर्न माग

काठमाडौं- नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनले राष्ट्रिय स्वाधीनता,