हिन्दु संस्कार अनुसार दिवङ्गत पितृहरूको स्मरणमा श्रद्धा र सम्मान अर्पण गरिने कार्यलाई श्राद्ध भनिन्छ । कात्यायन स्मृतिमा श्राद्धलाई पितृयज्ञ भनिएको छ ।
भविष्य पुराणका अनुसार श्रद्धाले विधिपूर्वक पितृले पाउन् भनेर ब्राह्मणलाई दान दिनुलाई श्राद्ध भनिएको छ । हेमाद्रीको श्राद्धखण्डको भनाई अनुसार ब्राह्मण भोजन, पिण्डदान गराउनु श्राद्ध हो ।
श्राद्ध शब्दलाई विभिन्न तरिकाबाट अर्थ्याए पनि मूलतः यसले इङ्गित गर्न खोजेको अर्थ चाँही एउटै छ । त्यो हो, पितृहरूलाई श्रद्धापूर्वक सम्झनु र उनीहरूप्रति कृतज्ञता प्रकट गर्नु ।
जीवित हुँदा मातापिताप्रति सेवा गर्नु मानव कर्तव्य मानिएको जस्तै मृत्युपछि पितृ सम्झना गर्दै श्राद्धादि कार्य गर्नु हिन्दु संस्कारमा अनिवार्य मानिएको छ । वेदादि आफ्ना शाखाका शास्त्रहरूले बताएका विधिविधान अनुसार पितृहरूका निमित्त गरिने पैतृक कर्म नै श्राद्ध हो ।
पितृहरूको स्मरण गर्दै पितृहरूका प्रतीक बनेर आफ्ना निमन्त्रणामा घर आएका ब्राह्मणलाई पितृलाई प्यारो लाग्ने वस्तु दान गर्नु वा प्रिय भोजन गराउनु पनि श्राद्ध नै हो ।
श्राद्धको निमित्त पवित्र इच्छा, भक्ति, श्रद्धा, ताजा संस्मरण अनिवार्य मानिएको छ । पिता माताबाट नै आफ्नो शरीर पैदा भएको र लालनपालन, शिक्षादीक्षासमेत प्राप्त हुने हुँदा उनीहरूका निमित्त श्रद्धा सुमन चढाउने निर्देशन हिन्दु धर्मले दिएको छ ।
प्रतिक्रिया