काठमाडौँ– एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) को पहिलो खेलमा शनिबार काठमाडौँ किंग्स ११ ले ललितपुर प्याट्रियसमाथि शानदार जित हात पारेको छ । त्रिवि अन्तर्राष्ट्रिय मैदानमा जारी संस्करणको पहिलो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँले ललितपुरलाई ७ विकेटले पराजित गरेको हो ।
पहिला ब्याटिङ गरेको ललितपुरले ८ विकेट गुमाए १५७ रन बनाएको थियो । जवाफमा काठमाडौँले ३ विकेट गुमाएर १४ ओभर २ बलमा लक्ष्य भेट्टायो । काठमाडौँको जितमा विदेशी खेलाडी र्यान ब्रुलले ३४ बलमा ७३ रनको विस्फोटक ब्याटिङ गरे । यस्तै नेपाली खेलाडी राजु रिजालले नटआउट १९ रनको योगदान दिए भने विदेशी खेलाडी रमल्लाह गुरबाजले ३६ बलमा ५९ रनको योगदान दिए ।
काठमाडौँका ओपनर नेपाली खेलाडी सुवास खकुरेल शून्यमा आउट भएका थिए । यस्तै अमित श्रेष्ठले मात्र ४ रन बनाए ।
ललितपुरका लागि पवन सर्राफले १ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको ललितपुरले खराब शुरुआत गरेको थियो । नेपाली स्टार ओपनर कुशल भुर्तेल शून्यमा आउट भए भने विदेशी खेलाडी सनदुन वीराक्कोडीमात्र २ रनमा आउट भए । यसपछि विदेशी खेलाडी ओसिन्डा फर्नान्डो ४ र शंकर राना १४ रनमा आउट भए ।
खराब ब्याटिङ गरेको ललितपुरलाई पवन सर्राफले ६१ रन बनाउँदै सम्मानजनक स्कोरसम्म पुर्याएका थिए । काठमाडौंका लागि जितेन्द्र मुखियाले ४ विकेट लिएका थिए भने सन्दीप लामिछाने विकेटबिहीन बनेका थिए ।
प्रतिक्रिया