भारतीय कुखुराको तस्करी बढेपछि व्यवसायी चिन्तित « Khabarhub

भारतीय कुखुराको तस्करी बढेपछि व्यवसायी चिन्तित


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– भारतबाट अवैधरूपमा कुखुरा तस्करी हुने क्रम बढेपछि बाँकेका कुखुरा व्यवसायी चिन्तित भएका छन् ।

मुख्य नाका जमुनाहबाट सुरक्षाकर्मीले आयात हुन नदिए पनि भित्री नाकाबाट खुलेआम भारतीय कुखुरा, चल्ला र अण्डा आयात हुने गरेको खजुरा गाउँपालिका–२ सीतापुरका कुखुरा व्यवसायी इन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बाँके र बर्दियाका विभिन्न ग्रामीण नाकाबाट नेपाली र भारतीय सुरक्षाकर्मीसँगको मिलेमतोमा तस्करी हुने गरेकाले नेपाली व्यवसायी समस्यामा परेका छन् ।

ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिकरूपमा ठूलो मात्रामा भारतीय कुखुरा नेपाल आउन नरोकिएपछि नेपाली कुखुरापालक किसानको व्यवसाय नै धरापमा परेको छ ।

भारतमा बेलाबखत फैलिने बर्डफ्लुलगायत पक्षीजन्य रोग नेपाल भित्रिने खतराका कारण नेपाल सरकारले भारतीय कुखुराजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएको छ तर भारतमा कुखुराजन्य पदार्थको मूल्य नेपालमा भन्दा सस्तो रहेको हुँदा मुनाफाका लागि भारतीय कुखुरा नेपाल भित्रिने गरेको अर्का व्यवसायी लक्ष्मीबहादुर थापाले बताए ।

सबैभन्दा बढी बाँकेको जानकी गाउँपालिका–१ साइगाउँ र खजुरा गाउँपालिका–१ राधापुर क्षेत्रबाट ठूलो परिमाणमा कुखुरा र चल्ला तस्करी हुने गरेको पाइएको छ ।

यसरी भित्र्याइएका कुखुरालाई नेपाली उत्पादन भन्दै नेपालगञ्ज, कोहलपुर र विमानमार्फत कर्णाली प्रदेशको जुम्ला, डोल्पालगायतका जिल्लामा समेत पुग्ने गरेको कुखुरा व्यवसायी थापाको भनाइ छ ।

कुखुरा व्यवसायी थापाले तस्करी रोक्न सहयोग माग्दा प्रहरी प्रशासनले सकारात्मक प्रतिक्रिया जनाउने गरे पनि व्यवहारमा नियन्त्रणमा सहयोग नपाएको गुनासो गरे ।

भारतीय कुखुराका कारण महङ्गो दाना र औषधि खुवाएर हुर्काएका कुखुरा सस्तो दरमा बिक्री गर्न आफूहरू बाध्य भएको उनको भनाइ छ ।

भारतमा १८० प्रतिकेजीमा पाइने कुखुरा नेपालमा २१० प्रतिकेजी थोक मूल्यमा तस्करहरूले पसल–पसलमा पुर्‍याउने गरेका छन् । २१० रुपैयाँमा खरिद भएको कुखुराको मासु उपभोक्तालाई भने खुद्रा मूल्य ३४० सम्ममा बिक्री गर्ने गरिएको छ ।

मुनाफाका लागि नेपालगञ्जका मासु व्यवसायीले लुकाइछिपाई अवैधरूपमा कुखुरा ल्याउने र बिक्री वितरण गर्ने गरेको पाइएको छ ।

नेपाल–भारत सीमा क्षेत्र जुमनाहस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक विष्णु गिरी मुख्य सीमा नाकाबाट कुखुराजन्य पदार्थ भित्रिन नदिएको बताए ।

‘यहाँबाट भारतीय कुखुरा र अण्डा भित्रिन दिएका छैनौँ’, इन्चार्ज गिरीले भने, ‘खुला नाका भएकाले सुरक्षाकर्मी नभएको भित्री गाउँबाट भित्रिएको हुनसक्छ ।’

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १२ : २८ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको