सामाजिक सुरक्षा कोषमा आबद्ध हुन छैन उत्साह | Khabarhub Khabarhub

सामाजिक सुरक्षा कोषमा आबद्ध हुन छैन उत्साह


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— सरकारले श्रमिकका लागि ‘नयाँ युगको शुरूवात’ भनेको सामाजिक सुरक्षा कोषमा निजी क्षेत्रको सहभागिता अझै निराशाजनक छ ।

सरकारले देशभर सञ्चालित सबै व्यावसायिक तथा सेवाप्रदायक संस्थाहरूलाई कोषमा आबद्ध हुन आह्वान गर्दै आएको छ । कोषमा आबद्ध हुनेको संस्था र श्रमिकको संख्या भने उत्साहजनक छैन ।

कोषका सूचना अधिकारी डा. रोशन कोजुका अनुसार ‘हरेक संघ संस्था नवीकरण गर्दा कोषमा आबद्ध हुनै पर्ने नीति भएमात्रै रोजगारीदाताहरूको संख्या बढ्नेछ ।

कोषले सम्बन्धित निकायसँग यस विषयमा छलफल समेत चलाएको छ । कोषमा हालसम्म १३ हजार ६१६ रोजगारीदाता र १ लाख ९४ हजार श्रमिक आबद्ध भएका छन् ।

यस्तो छ क्षेत्रगत आबद्धता

यही चैत १२ गतेसम्मको कोषको तथ्यांकअनुसार सबैभन्दा धेरै आबद्ध हुनेमा शैक्षिक संस्था रहेका  छन् । हालसम्म २ हजार ७८२ शैक्षिक संस्था कोषमा आबद्ध छन् ।

त्यस्तै आवास तथा भोजन सेवातर्फ ४७८, कृषि, वन तथा माछापालनतर्फ ४२८, प्रशासनिक तथा सहयोगी सेवातर्फ १ हजार २८८, औद्योगिक उत्पादनतर्फ १ हजार ७२१, विद्युत, ग्यास, तथा वातानुकूलित सेवातर्फ २१३, पानी आपूर्ति ढल निकास, फोहोर व्यवस्थापन र उपचरात्मकतर्फ १६, खानी तथा उत्खनन्तर्फ ३५ र सूचना तथा सञ्चारतर्फका ५०९ संस्था कोषमा आबद्ध छन् ।

त्यसैगरी, वित्तीय तथा बीमातर्फ १ हजार ४३१, कला, मनोरञ्जनतर्फ ७, मानव स्वास्थ्य तथा सामजिक कार्यतर्फ ७४० र अन्य सेवातर्फ १ हजार २८४ संस्था आबद्ध छन् ।

पेशागत वैज्ञानिक तथा प्राविधिकतर्फ २१३, घरजग्गा कारोबारतर्फ १३९, पूर्ण र रिटेल व्यापारतर्फ १ हजार ४३३, आवास र खाद्य सेवाका ४७८, घरेलु संस्थाका ५१ रोजगारदाता लगायत अन्य विभिन्न सेवा प्रदायक रोजगारीदाताहरू कोषमा आबद्ध छन् ।

सामाजिक सुरक्षा कोषमा हालसम्म ४ अर्ब ७६ करोड ९९ हजार रुपैयाँ रहेको सूचना अधिकारी कोजुले बताए । हालसम्म ४ करोड ६५ लाख ३३ हजार रुपैयाँको दाबी भुक्तानी भएको छ ।

कोषमा आबद्ध श्रमिकलाई हुने लाभ

कोजुका अनुसार कोषमा आबद्ध हुनेलाई पहिलो प्राथामिकतामा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा रहेको छ ।

श्रमिकले कुनै रोगको उपचार गराउँदा वार्षिक १ लाख रुपैयाँसम्म पाउनेछन् । उपचार भएको प्रमाण कोषमा दिएपछि रकम सिधै अस्पतालको खातामा जम्मा हुनेछ ।

दोस्रो, दुर्घटना तथा अशक्तता सुरक्षा रहेको छ । यो स्किममा श्रमिकले कार्यक्षेत्रमै र कार्यक्षेत्रबाहिर भएको दुर्घटनामा फरकफरक सुविधा पाउँछ । कार्यक्षेत्रमा दुर्घटना हुँदा सबै उपचार खर्च कोषले व्यहोर्नेछ ।

बाहिर भएको दुर्घटनाको उपचारका लागि बढीमा ७ लाख रुपैयाँसम्म खर्च कोषले दिनेछ । काम गदागर्दै शारीरिक रूपमा अपाङ्गता वा अशक्तता भएमा अवस्था हेरेर क्षतिपूर्ति स्वरूप निवृत्तिभरण दिने व्यवस्था छ ।

अर्को स्किम अन्तर्गत श्रमिकले ६० वर्ष उमेर पूरा भएपछि निवृत्तिभरण पाउन थाल्नेछन् । यसरी निवृत्तिभरण पाउन कोषमा १५ वर्ष योगदान गरेको हुनुपर्छ ।

कोषमा आबद्ध भएर योगदान गरेको श्रमिकले एकमुष्ठ रकम निकाल्न वा मासिक निवृत्तिभरण लिन सक्नेछन् । भवितव्य परेर बितेको खण्डमा श्रमिकका आश्रितले जीवित रहेसम्म ६० प्रतिशतका दरले निवृत्तिभरण पाउनेछ ।

त्यसमा न्यूनतम तलबको ४० प्रतिशतका दरले श्रमिकका २ जनासम्म छोराछोरीले २१ वर्ष उमेर नपुगुन्जेल शैक्षिक वृत्ति पाउनेछन् ।

प्रदेशअनुसार आबद्धता

सामाजिक सुरक्षा कोषमा आबद्ध हुने रोजगारीदाता र श्रमिकको संख्या सबैभन्दा धेरै बाग्मती प्रदेशमा छ ।

बाग्मती प्रदेशमा ९ हजार ९९ रोजगारीदाता र १ लाख ४५ हजार २ सय जना श्रमिक आबद्ध छन् । कर्णाली प्रदेशबाट सबैभन्दा कम आबद्धता छ । यही चैत ११ गतेसम्ममा कर्णाली प्रदेशका १४३ रोजगारीदाता र ४७० जना श्रमिक आबद्ध भएको कोषले जनाएको छ ।

प्रदेश १ मा १ हजार ८६० रोजगारीदाता र २० हजार श्रमिक, प्रदेश नम्बर २ मा ५५० रोजगारदाता र १३ हजार ७९४ श्रमिक आबद्ध छन् ।

गण्डकी प्रदेशमा ६१७ रोजगारीदाता र ७ हजार १५४ श्रमिक, लुम्बिनी प्रदेशमा १ हजार १७३ रोजगारीदाता र ६ हजार ८०८ श्रमिक तथा सुदूरपश्चि प्रदेशमा १६५ रोजगारीदाता र ७६५ श्रमिक आबद्ध छन् ।

वैदेशिक रोजगारीमा रहेकालाई आबद्ध गर्ने योजना

कोषको प्रथम रणनीतिक योजना (आर्थिक वर्ष २०७७/७८—२०८१/८२) मा उल्लेख भएअनुसार वैदेशिक रोजगारीमा जानेलाई पनि सामाजिक सुरक्षा योजनामा आबद्ध गरिने छ ।

नेपालको पन्धौँ योजनाले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी गराउने नीति लिएको छ ।

 

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ९ : ०१ बजे

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’विरुद्ध टी–२० शृंखलाको पाँचौँ तथा अन्तिम खेलमा

११ मन्त्रीको सम्पत्ति गुपचुप (सूचीसहित)

काठमाडौं- सुशासनको कुरा गरेर नथाक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन– गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं– नेपाल र वेष्ट इन्डिज ‘ए’ बीच पाँच खेलको टी–२०

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा ४६