बुद्ध जयन्ती : सदा सर्वदा जीवन्त बुद्धदर्शन « Khabarhub

बुद्ध जयन्ती : सदा सर्वदा जीवन्त बुद्धदर्शन



कोरोना संक्रमणले देश थलिएको छ, विश्व थलिएको छ । यसो नभएको भए हामी २५६५औँ जन्मजयन्ती मनाइरहेका हुन्थ्यौँ । गत वर्ष पनि उही हालत भयोे । यस वर्ष, जेठ १२ गते, पनि बुद्ध जयन्ती खल्लो अनुभूति हुँदैछ ।

शाक्य वंशीय राजा शुद्धोधनकी महारानीले राति सपनामा छ ओटा दाँत भएको सेतो हात्ती र षट्चक्र भएको एक उज्यालो तारा आप्mनो शरीरमा प्रवेश गरेको देखिन् । उनै महारानी मायादेवीको कोखबाट ईपू ५६३ मा नेपालको लुम्बिनी क्षेत्र कपिलवस्तुबाट मायावती माइतीक्षेत्र देवदह जाँदै गर्दा रमणीय साल बगँैचामा वैशाख शुक्ल पूर्णिमाका दिन बालकको जन्म भयो । जन्मको सिद्धि अर्थ प्राप्त गर्न सक्ने ज्योतिषीय भविष्यवाणीअनुसार न्वारानमा उनको नाम सिद्धार्थ राखियो ।

त्रिकालदर्शी विद्वानहरूले यो बालक प्रतापी राजा या सन्यासी हुनेछ भने । बालक जन्मेको सात दिनमा माता मायादेवीको भौतिक अवसान भएकाले अर्की आमा प्रजावती गौतमीले बालकको लालनपालन गरिन् । राजा शुद्धोधनले बालक छोराका मनमा अलिकति पनि वैराग्य नहोस् भनेर सांसारिक सुखभोगका सबै सुविधा उपलव्ध गराए । सिद्धार्थ १६ वर्षका भएपछि सुप्रबुद्धकी सुपुत्री विलक्षणा यशोधरासँग बिहे भयो, २९ वर्षको उमेरमा छोरा राहुल जन्मे ।

हिँड्दाघुम्दा बाटामा वृद्ध, रोगी, मृत शरीर र भिक्षु देखेपछि सिद्धार्थलाई वैराग्यले सताउन थाल्यो । आखिर उनी वैरागी भए, कालान्तरमा सफल पनि भए । हामी जस्ता सामान्य व्यक्तिले बुद्धको समाजसुधार, शान्तिको अभ्यास र विश्वकल्याण हेतु उनले प्राप्त गरेका सिद्धिहरूको व्याख्या गरेर सकिँदैन । उनी एसियाका तारा र संसारकै सहारा हुन् ।

बुद्ध सत्य, प्रेम र अहिंसाका पुजारी हुन् । बुद्धका मूलभूत तीन वटा सन्देश शील, प्रज्ञा र समाधि हुन् । शील भन्नाले नैतिकता, प्रज्ञा आफू हिँड्ने सफा बाटो र समाधि त्यो बाटोबाट पुग्ने लक्ष्य हो ।

विश्वले आज शान्ति खोजेको छ । दोस्रो महायुद्धको बाछिटाबाट त्राण पाउन संयुक्त राष्ट्र संघको उदय भएको थियो । शान्तिका अग्रदूत बुद्धको नाम नलिने कोही छैन, यसका सदस्य राष्ट्रहरूमा । राष्ट्र संघको स्थापनापछि बुद्धको सन्देश विश्वव्यापी भयो ।
प्राचीन समयमा वाणगङ्गा अर्थात् भागीरथीको किनारामा एक पर्णकुटी बनाई कपिलमुनि बस्थे । कौशलदेशबाट निकालिएका एक राजकुमार त्यहाँ आए । कपिलमुनिले उनलाई एउटा नगर बसाउन सल्लाह दिए । कपिलमुनिको सल्लाहमा कौशल राजकुमारले नगर बसाएकाले कपिलवस्तु नामकरण भएको भन्ने किम्बदन्ती छ ।

वैदिक धर्ममा अवतारले मान्यता पाएको छ । श्रीविष्णुको दशौँ र चौबीसौँ अवतार मुख्य रहेको चर्चा सर्वत्र गरिएको छ । महाभारतको अवतार चर्चामा बुद्धको चर्चा छैन । भागवतको भविष्यत् कालमा बुद्ध अवतारको चर्चा छ । अन्य पुराणहरूमा पनि यस्तो चर्चा पाइन्छ ।
दशौँ शताब्दीका महाकवि जयदेवले भगवानका १० अवतारको बन्दना गर्दा बुद्धका नाम र काम भगवानका अन्यान्य अवतारझैँ उल्लेख गरेका छन् । भागवतमा ‘बुद्धो नाम्न जितसुतः कोकटेषु भविष्यति’ भनेर कोकट देशमा जिनपुत्र भएर बुद्ध जन्मने छन् भनी उल्लेख गरिएको छ । भागवतमा भनिएका बुद्ध र लुम्बिनीका गौतम बुद्ध एकै हुन् कि होइनन् भन्ने चाहिँ अनुसन्धानको विषय हो ।

हिन्दु एवं बौद्धधर्मका अष्टाङ्गयोग, अहिंसा जस्ता विषयमा कतिपय कुराहरू समान पाइन्छन्, स्थान विशेषको पनि संयोग देखिन्छ । आदिम शिवक्षेत्र पशुपतिनाथ, काठमाडौँमा विशाल बौद्धस्तुप एवं स्वयम्भू चैत्य र चारुमति बिहार रहनु र पश्चिम गण्डकीको उद्गम स्थल मुक्तिनाथक्षेत्रमा विश्वका कैयन धर्मावलम्बीहरू पुग्नु, तिनै गण्डकीको अन्त्य नारायणी देवघाट क्षेत्र, परासीको त्रिवेणीधाम र लुम्बिनी क्षेत्रको समिपता देखिन्छ ।

बुद्धले जन्मेको लुम्बिनी, ज्ञान प्राप्त गरेको बोधगया, दिव्यज्ञान विस्तार गरेको बनारस नजिक सारनाथ र मोक्ष प्राप्ति गरेको कुशीनगर भारतको गोरखपुर हो । पावन हिन्दु तीर्थ गयाबाट करिब ११ किमि पश्चिमोत्तर बोधगया पर्नु, हिन्दुपीठ विश्वेश्वर, वाराणसीबाट झण्डै १० किमि उत्तरमा सारनाथ क्षेत्र पर्नु, मोक्ष प्राप्त गरेको गोरखपुरबाट करिब ५५ किमि पूर्वमा कुशीनगर भौगोलिक दृष्टिले धेरै नजिक छन् ।
हिमालयदेखि सिन्धु क्षेत्रको भाग हिन्दु क्षेत्र पर्ने र यसै भूभागभित्र श्रीविष्णुका अधिकांश लीला र अवतारका प्रसङ्गहरू भेटिनुले हिन्दु–बुद्ध संयुक्त अध्ययन गर्न प्रेरित गर्छ नै । अयोध्यामा रामअवतार, मथुरा र वृन्दावनमा कृष्ण अवतारका धेरै प्रसङ्गहरू भेटिनुले थप पुष्टि हुन्छ ।

बुद्ध धर्म मान्ने मुलुकहरू विश्वमा धेरै भए पनि हिन्दु र बुद्ध धर्मको उद्गमस्थल नेपाल नै हो । हिन्दु र बुद्ध धर्म निकै उदार छन् । फ्रान्सका प्रसिद्ध विद्वान् भोल्टेयरले ‘पश्चिमी जगतका लागि पूर्वीय जगतको धर्म र दर्शन, समाजोपयोगी अनुपम उपहार हो’ भनेका छन् । बेलायती विद्वान् जर्ज बर्नाड शाले ‘हिन्दु धर्म संसारकै सर्वाधिक र उदार धर्म हो’ भनेका छन् ।

पच्चीस सय वर्षभन्दा पुरानो ‘इरानी–फारसी पोलिस’ नगरमा ईपू ४८६ वर्ष पुरानो ‘दारा हस्ताप’ को स्मारकको शिलालेखमा ‘हिन्दु’ र ‘हिन्दुश’ उल्लेख भएको कुरा ‘इनसाइक्लोपेडिया अफ रिलिजन्स एण्ड एथिक्स’ मा उल्लिखित छ । मनु महाराजले हिमालयको सम्पूर्ण

तटीय क्षेत्र आर्यावर्त र प्रयागक्षेत्रदेखि उत्तर हिमालयसम्म क्षेत्रलाई ब्रह्मर्षिदेश भनी गणना गरेको पाइन्छ ।

नेपालकी भृकुटीद्वारा बुद्धधर्मको केन्द्रस्थल बनेको तिब्बत–ल्हासा क्षेत्र पावन ब्रह्मपुत्र नदीको उद्गमस्थल मानिन्छ । हिन्दुधर्मीहरू कठिनयात्रा गरेर मानसरोवर पुग्ने गर्छन् ।

वशिष्ठ गुरुले वशिष्ठ उपनिषद्मा ‘उत्तरायणे हिमालयतटे स्वर्णभूमि स्वर्गभूमि’ भनी व्याख्या गरेका छन् । कालिदासले ‘कुमार सम्भव’ को पहिलो श्लोकमा हिमालयको पूर्वदेखि पश्चिम सम्मलाई आर्यभूमि भनेका छन् । आर्यावर्त क्षेत्र वागमती नदी किनारामा ने मुनि रहनु; सप्तगण्डकी तटीय किनारामा वाल्मीकि रहनु; सप्त कोशीतटमा कौशिकी अर्थात् विश्वामित्र रहनु; तनहुँ तटमा सबै पुराणका रचयिता वेदव्यास रहनु; जनकपुर क्षेत्रमा तत्वदर्शी राजा जनक, याज्ञवल्क्य, गार्गी, मैत्रेयी जस्ता विद्वान् विदुषीहरू रहनुले पूर्वीय चिन्तन धेरै उदार रहेको र यो क्षेत्र सर्वाधिक पवित्र रहेको पुष्टि हुन्छ ।

हिन्दुका लागि अति पावन पशुपतिनाथले वर्षमा दुई पटक आफ्ना गहना र मालाहरू त्यागेर बुद्धको मुकुट लगाई बुद्धको रूप लिन्छन् भनिन्छ । महाशिवरात्रिका दिन मत्स्येन्द्रनाथलाई महादेव मानिने हुँदा हिन्दु–बौद्ध संयुक्त अध्ययन गर्न थप प्रेरणा मिल्छ । तिब्बतका स्रङचोङ्गम्पो र नेपालका अंशु बर्माकी पुत्री भृकुटीको बिहेपछि बुद्ध धर्म उत्तरतिर पनि फैलियो । हाल विश्वभर फैलिएको छ ।

तिब्बत धार्मिक दृष्टिले प्रसिद्ध छ । नेपालकी भृकुटीद्वारा बुद्धधर्मको केन्द्रस्थल बनेको तिब्बत–ल्हासा क्षेत्र पावन ब्रह्मपुत्र नदीको उद्गमस्थल मानिन्छ । हिन्दुधर्मीहरू कठिनयात्रा गरेर मानसरोवर पुग्ने गर्छन् । एशियाकै लागि बुद्ध धर्मको अनुसन्धान स्थल रहेको तिब्बतमा भृकुटीका पति स्रङचोङ्गम्पोको अवसानपछि त्यहाँ बोनपो धर्म प्रचारमा आउँदा बुद्धधर्म केही ओझेलमा प¥यो । नालन्दा महाविहार, भारतका बुद्ध धर्मगुरु नेपालको स्वयम्भू आएका बखत तिब्बत पनि गए तर बोनपो धर्मका अगाडि गुरुको केही जोड चलेन ।

पछि तान्त्रिक बज्रयानी पद्मसम्भव तिब्बत गएपछि बोनपो धर्म परास्त भई बौद्धधर्मी स्तुपा र गुम्बाहरू पुनःनिर्माण हुन लागे । शुरूमा कास्मिरी लिपिबाट बौद्धधर्मका ग्रन्थहरू लेखिन थाले । नेपाल र भारतमा विद्वान्हरूले यसलाई तिब्बती भाषामा अनुवाद गर्न थाले ।
बौद्ध धर्म बढी वैज्ञानिक देखिन्छ । हिन्दु धर्म दर्शनमा स्वर्ग, मत्र्य, पाताल, लोकालोक, यमलोक, नरक आदिको वर्णन छ । बौद्ध दर्शनको तारक मन्त्र ‘ॐ मणि पद्मे हुम्’ सदा जप्नाले स्वर्गलोक, देवलोक, मनुष्यलोक, पशुलोक, प्रेतलोक र नरक लोकको बोध हुन्छ । यो पावन मन्त्र जप्दा छ वटै लोकका बुद्धका कानमा पुग्छ र मानिस फेरि जन्मनु पर्दैन भनिएको छ ।

हिन्दुधर्मीहरू ‘शरणं प्रपद्ये’ भन्ने गर्छन् । बौद्धधर्मीहरू ‘बुद्धं शरणं गच्छामि, धम्मं शरणं गच्छामि, संघं शरणं गच्छामि’ भन्छन् । सबैको शरणागत नै हो ।

बौद्ध धर्म मानव जीवनदर्शनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले विश्वभर फैलिन सकेको हो । हिन्दु धर्मदर्शनमा दयामाया र उपकारको प्राधान्य पाइन्छ । बौद्ध धर्मदर्शनमा करुणाको खानी पाइन्छ । बुद्ध भन्नाले सामान्यत बोध हुनु, ब्युँझनु, जागृत हुनु भन्ने अर्थ लाग्छ । बुद्धदर्शनले आप्mनो चिन्तन गर्नु, जीवन र जगतबारे खोजी गर्नु, आत्मकल्याण गर्नु भन्छ । सच्चरित्र र सत् मानवत्व नै यसको मूल ध्येय देखिन्छ । यिनै गुणहरूले समाज सुधार हुने हो ।

बुद्धधर्म शुरूमा शील र आचारप्रधान थियो । बुद्धको परिनिर्माणपछि उनका शिक्षा र उपदेशहरू संकलन गरी सूत्रात्मक शैलीमा लिपिबद्ध र संहितामा आबद्ध गरिए । प्राकृत एवं पाली भाषामा विस्तार लिपिबद्ध हुन थाले । पाली भाषामा लेखिएका सूत्र पिटकमा उनका उपदेशहरू संकलित छन् । विनयपिटकमा आचरणका कुराहरू भेटिन्छन् । त्रिपिटक ग्रन्थमा पाठ गर्ने स्तोत्रहरूमात्र देखिन्छन् ।

हिन्दुधर्मीहरू ‘शरणं प्रपद्ये’ भन्ने गर्छन् । बौद्धधर्मीहरू ‘बुद्धं शरणं गच्छामि, धम्मं शरणं गच्छामि, संघं शरणं गच्छामि’ भन्छन् । सबैको शरणागत नै हो । सम्यक् दृष्टि, सम्यक सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक एकाग्रता र सम्यक् समाधि बुद्ध धर्मदर्शनका आदर्श मार्गहरू हुन् । अध्यात्मज्ञानको खोजी हिन्दु र बौद्ध दुवै दर्शनको ध्येय हो ।

हिन्दु धर्ममा देवदेवी, मूर्तिपूजा, मन्दिर आदि उपासनाका स्थल मानिन्छन् । बौद्ध धर्ममा बिहार, गुम्बा, स्तुप उपासनास्थल मानिन्छन् । ज्ञान, अहिंसा र सत्यलाई धर्म मान्ने बौद्धधर्मीहरू हिन्दुहरूझैँ जातिप्रथा र अश्पृश्यता स्वीकार गर्दैनन् । हिन्दुमा भएका कट्टरता, जातिप्रथा र अश्पृश्यता पनि युग सापेक्ष परिवर्तन हुँदैछ ।

बुद्धको मानवोपयोगी सन्देश सदा जीवन्त देखिन्छ । शुरूमा नेपाल, भारत, तिब्बत चीनतिर अस्तित्वमा रहेको बौद्ध धर्मदर्शन कास्मिर हुँदै अफगानिस्थानसम्म फैलिएको पाइन्छ । तेस्रो शताब्दीतिर श्रीलंका पुगेको देखिन्छ । श्रीलंकामा बुद्धको दाँतको अवशेष छ भनिन्छ । बाह्रौँ र तेह्रौँ शताब्दीदेखि अझ चर्चामा आएको बौद्ध धर्मदर्शन बीसौँ शताब्दीमा आइपुुग्दा युरोपदेखि अमेरिकासम्म फैलियो ।
थाइलैन्डमा ९४ प्रतिशत जनता बौद्धमार्गी छन्, ३१ हजारभन्दा बढी बौद्ध स्तुपहरू छन् । कर्म र धर्मलाई साझा मान्ने थाईहरू बुद्धको शिक्षा अनुशरण गर्छन् । राज्यले धर्म प्रवद्र्धनमा प्रशस्त पहल गरेको छ । प्रेम र सद्भावले मुक्ति मिल्छ भन्दै पुनर्जन्ममा विश्वास राख्ने थाईहरू बौद्धमार्गी हुन् । शान्ति र अहिंसाका हिमायती हुन् ।

अरूप्रति कलुषित भाव नराख्ने, कसैको चित्त नदुखाउने, मन नियन्त्रण गरी आफूभित्र र बाहिर शान्तिको स्थापना गराउने सन्देश दिने बौद्धधर्मले हिंसामा विश्वास गर्दैन । बौद्ध धर्म खास गरी जापानको हिरोसिमा र नागासाकीमा बमबारीपछि विश्वभर फैलियो । शान्तिको प्रार्थना गर्दै स्थापना भएको राष्ट्र संघको उदयपछि बुद्ध धर्म झन् व्यापक भयो ।

बुद्ध सत्य, प्रेम र अहिंसाका पुजारी हुन् । बुद्धका मूलभूत तीन वटा सन्देश शील, प्रज्ञा र समाधि हुन् । शील भन्नाले नैतिकता, प्रज्ञा भन्नाले आफू हिँड्ने सफा बाटो र समाधि भन्नु त्यो बाटोबाट पुग्ने लक्ष्य अर्थात ध्येय हो ।

यो पंक्तिकारले चीन र थाइलैन्डको भ्रमण गर्दा अन्यत्र नपाइएका बुद्धका मुर्तिहरू देख्ने अवसर पाएको छ । चिनियाँहरूका घरमा विशाल पुस्तकालयमा बौद्ध ग्रन्थ र अन्य सामग्रीहरू सजाएको पाएको छ । सिङ्गापुरमा तेहौँ शताब्दीदेखिको ‘एसियन सिभिलाइजेशन म्यूजियम’ अवलोकन गर्ने अवसर पाएको थियो केही वर्षअघि । हिन्दु संस्कार र यससम्बन्धी विशाल कृतिहरू त्यहाँ अवलोकन गर्न सकिन्छ । धनी देशहरूले यसमा ठूलै रकम खर्चिएका छन् । लुम्बिनीमा पनि केही देशले रकम खर्च गरेका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ८ : ०२ बजे

जाँचबुझ आयोगको प्रतिवेदन : न्यायालय राजनीतिक चंगुलमा फस्यो

काठमाडौं– पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायालय राजनीतिक चंगुलमा

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने

लण्डन – बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

कामठाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको

सडक विस्तारका क्रममा पहिरो खस्दा दुई जनाको मृत्यु

नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारका क्रममा खसेको

धनुषामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

धनुषा – यहाँको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज सवारी