बुबा गुमाएका कमेडियन आदर्श मिश्राको प्रधानमन्त्री प्रति आक्रोश : मलाई काम गर्न दिएनन् भन्छौ ? लाज लाग्दैन ? (भिडियो) « Khabarhub

बुबा गुमाएका कमेडियन आदर्श मिश्राको प्रधानमन्त्री प्रति आक्रोश : मलाई काम गर्न दिएनन् भन्छौ ? लाज लाग्दैन ? (भिडियो)

भावुक बनेका मिश्राको पीडा


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपचार अभावमा मङ्गलबार आफ्नो पिता गुमाएका स्ट्याण्ड–अप कमेडियन आदर्श मिश्राले युट्युबमा एउटा भावुक भिडियो पोष्ट गरेका छन्।

भिडियोमा उनले पिता विनोद मिश्राको उपचारका क्रममा परिवारले खेप्नु परेको भुक्तमानको वर्णन गर्दै देशको स्वास्थ्य प्रणालीको आलोचना गरेका छन्। मृगौलासम्बन्धी समस्या झेलिरहेका उनको पिताको मङ्गलबार उपचारको क्रममा निधन भएको थियो।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेज (एनएमसी) ले गुणस्तरीय डायलासिस सुविधा नदिँदा धेरै बिरामीले अकालमै ज्यान गुमाउनु परेको आदर्शको आरोप छ।

सरकारले बीस प्रतिशत बेड कोभिडका बिरामीका लागि छुट्याउन निर्देशन दिए पनि एनएमसीका सञ्चालक बसरुद्धिन अन्सारीले सुनेको नसुन्यै गरेको आदर्शको आरोप छ।

‘अन्सारी असाध्यै शक्तिशाली मानिस हुन्। पछिल्लोपटक प्रधानमन्त्री केपी ओलीले मृगौला फेर्दा मैले नै खर्च बेहोरेको हुँ भनेर वक्तव्य नै जारी गरेका थिए’, आदर्शले भिडियोमा भनेका छन्, ‘कलेजमा विद्यार्थीहरूले शुल्कसम्बन्धी प्रश्न उठाउँदा गुण्डा लगाएर पिट्थे। एनएमसीकै गुण्डागर्दीका कारण आज मेरो बुबाको मृत्यु भएको छ।’

अन्सारीको माथिसम्मको राजनीतिक उठबस भएका कारण उनको कलेजमाथि कुनै छानविन नहुनेमा आफू विश्वस्त रहेको आदर्श बताउँछन्।

नेशनल मेडिकल कलेजबाट बुबालाई नारायणी उपक्षेत्रीय अस्पताल सारेपछि पनि आफ्नो दु:ख नरोकिएको सुनाउँदै उनले भनेका छन्, ‘त्यहाँ एनएमसीको बिरामीलाई हामीले किन डायलासिस गर्ने मात्रै भनिएन, बिग्रिँदै नबिग्रिएको मेसिनलाई पनि बिग्रिएको भनियो । त्यहाँका नर्सले डाक्टरका अगाडि डायलासिस मेसिन ४ घण्टाका लागि सेट गर्ने, तर डाक्टर हिँड्ने बित्तिकै ३ घण्टामा झार्ने सम्म पनि गरे। उनीहरूलाई घर जान हतार थियो होला, तर उनीहरूका कारण आज मेरो बुबा भने घर फर्किन पाउनुभएन।’

भिडियो हेर्नुहोस्

आफ्नो बुबालाई इमानदार र मेहनती व्यक्तिका रुपमा स्मरण गर्दै आदर्शले अस्वस्थ हुँदाहुँदै पनि बुबाले आफू कार्यरत विद्यालयको मुहार फेरिदिएको बताए। विनोद मिश्रा बारास्थित एक विद्यालयमा प्रधानाध्यापकका रुपमा कार्यरत थिए।

‘केपी ओलीले कुर्सी छाडिदिए हुन्छ’, प्रधानमन्त्रीप्रति आक्रोश पोख्दै आदर्शले भने, ‘डायलाइसिसका लागि स्कुटरको पछाडि बसेर हप्ताको दुईपटक मेरो बुबा अस्पताल गएका हुन्, केपी ओली होइन। मेरो बुबाले चलाएको स्कुल हेर, अनि तिमीले चलाएको देश हेर। मलाई काम गर्न दिएनन् भन्छौ? लाज लाग्दैन?’

बुबाको अगाडि प्रस्तुति दिने सपना अधुरै रहेकोमा आदर्शको चित्त कुँडिएको छ। ‘बुबालाई अघिल्लो लहरमा राखेर प्रज्ञा प्रतिष्ठानमा बुवाकै विषयमा प्रस्तुति दिने धोको थियो, अधुरै रह्यो’, उनले भने, ‘उहाँ अझै बाँच्न सक्नुहुन्थ्यो, एनएमसी र नारायणी मिलेर मेरो बाबाको जीवन खाइदिए। अझै कतिको खान्छन्, थाहा छैन।’

आदर्शले गत केहि सातायता युट्युबमार्फत आफ्नो बुबाको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे निरन्तर अपडेट गराउँदै आएका थिए। आफ्नो नजिकको नातेदार मृगौला दानका लागि तयार हुँदाहुँदै पनि नेपालको स्वास्थ्य प्रणालीले नस्विकारेको भन्दै उनले त्यसका निम्ति पहल गरिदिन हारगुहार गरेका थिए।

युवाहरूमाझ लोकप्रिय आदर्शको भोगाइले देशको स्वास्थ्य प्रणालीबारे बहस छेडिएको छ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ३ : १८ बजे

देवीघाटमा ६० मिटर लामो एक्रोब्रिज बन्दै, चाँडै सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश

बाढीले नाम्रुङमा पुल र जलविद्युतमा क्षति : चुमनुब्रीवासी र पर्यटक समस्यामा

गोरखा – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं– एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’