योग, ध्यान र निरोगिता | Khabarhub Khabarhub

योग, ध्यान र निरोगिता



कोरोना भाइरसले ताडना गरिरहेको र यसको दोस्रो लहरले पारेको पीडा जग जाहेर छ । कैयन आफन्तहरू बितेको कारुणिक व्यथाले हामी धेरैलाई सताएको छ । यस्तो विषम परिवेशमा हामीले आफुले आफैँलाई सम्हाली आत्मकेन्द्रित हुनुबाहेक के नै उपाय छ र ! हामी सदाचारी, सकेसम्म ध्यानी र योगी बनेर योगमय जीवनबाट शरीरलाई फुर्तिलो राख्ने आशा गर्न सक्छौँ ।

ध्यानले मानिसलाई सदाचारी बनाउँछ । मानव शरीरले सर्दी र गर्मीसँग लड्ने क्षमता ध्यानबाट प्राप्त गर्न सक्छ । ध्यानले सिद्धि प्राप्त हुन्छ, सत्व गुणको चिन्तन गराउँछ। शरीरलाई शुद्ध बनाउँछ । अनेकौँ आसक्तिबाट छुटकारा गराउँछ र हाम्रो दृष्टिकोण फराकिलो बनाउँछ ।

ध्यान एक त्यस्तो अवस्था हो जसले मानिसलाई ईश्वरसम्म सम्पर्क गर्न सहयोग पनि गर्छ । योगसाधनाका विभिन्न अवस्था र चरणहरू छन् । शारीरिक तन्दुरुस्ती, मानसिक शक्ति र आत्मबल ध्यानबाटै प्राप्त हुन्छ, शरीरमा पुनर्ऊजा मिल्छ ।

मन र कर्मबाटै संसारको आरम्भ भएकाले यी दुवै बन्धनका कारण हुन् तर मन एवं ‘मनुष्याणां कारणं बन्धमोक्षयो’ अर्थात् मनले बन्धनमा परिन्छ, मनैले बन्धन तोड्न पनि सकिन्छ । मनले बन्धन तोड्ने भनेको निस्काम भावको भक्ति, समभावको भक्ति र योगको उच्चतम प्रयोग नै हो ।

योग वा ध्यान गर्ने स्थान निश्चित हुन जरुरी छ । ध्यान विरोधी सामग्रीहरू हुनु हुँदैन । यसमा एकाग्रता जरुरी छ । आफू निश्चल हुनुपर्ने हुन्छ । यन्त्र, उपकरण, साजसज्जा, ध्वनि, सङ्गीत, सञ्चारका साधन नहुनु उत्तम हुन्छ । इन्द्रियहरूलाई एकत्रित गरेर कुनै एक स्थानमा बसेर मनलाई एकाग्र गर्नु पर्छ ।

एकाग्र हुँदा कानमा कुनै शब्द नपरोस्, छालामा वाह्य विषय वस्तुको स्पर्श नहोस् । आँखामा अरू वस्तुको रूपको दर्शन नहोस् । जिभ्रोले कुनै रसास्वादन गर्न नपाओस् । नाकले कुनै गन्धको पत्तो नपाओस् । पाँचै इन्द्रिय अन्यत्र कतै आकर्षित नहून् । इन्द्रिय केवल मनमा स्थित होस्, मन एकाग्रताले ध्यानमा केन्द्रित होस् ।

यसो गर्दा इन्द्रियसहित मन स्थिर हुन जान्छ, चित्त चञ्चल हुन पाउँदैन । बादलमा चम्किने बिजुलीझै बारम्बार विषयप्रति मन चम्किन पाउँदैन । जसरी वनस्पतिका पातमा परेका पानीको थोपा पातमा खेलिरहन्छ ठीक त्यसै गरी योग मार्गमा केन्द्रित मन साधकको अन्तर्हृदयमा मात्र खेलिरहन्छ, बाहिर भड्किन पाउँदैन ।

केही क्षण आफूलाई असजिलो महसुस भए पनि बिस्तारै सहज हुन थाल्छ । केही असजिलो भए पनि चिन्ता लिनु हुँदैन । आलस्य त्यागेर योगमा निरन्तर लाग्नु वेश हुन्छ । शुरूमा केही बाधाहरू पनि देखापर्न सक्छन् । मनमा क्लेश र शून्य हृदय, वितर्क पैदा हुन सक्छ तर आत्मकल्याणको पूर्वाधार मानेर स्थित चित्त हुनु उत्तम हुन्छ ।

मन र इन्द्रिय ध्यानस्थ भएपछि आफूभित्र शान्ति प्राप्ति हुन्छ । बजारमा किनमेलबाट प्राप्त नभएको सुख ध्यानबाट प्राप्त हुन थाल्छ । कुनै उद्यम, परिश्रमविना नै सुखानुभूति हुन थाल्छ । कसैप्रति द्वेष, छिद्रान्वेषण, याचनावृत्ति, परनिन्दा सबै हटेर जान्छ । आफूभित्र सबै थरी प्राप्त गर्ने ज्योति साथै रहेको अनुभूति हुन थाल्छ । मानिस मूलतः क्रोधमाथि विजयी बन्छ । क्रोध, आवेग र तनावबाट पैदा हुने मनको जलन र शारीरिक रोगहरू विस्तारै हटेर जान्छन् ।

योगमा बस्नेहरूले र नित्य व्यायाम गर्नेहरूले रक्तचाप र मधुमेहजस्ता रोगमाथि विजय प्राप्त गरेका छन् । ध्यान र योगमा रहँदा शरीरमा दुर्बलताहरू हट्छन् ।

मनलाई विषयबाट अलग गरेर मूलाधार चक्रबाट कुण्डलिनी शक्ति उठाएर सर्वप्रथम प्राण, अपान, उदान, समान र व्यान; यी पाँच वायुलाई हृदयमा स्थापित गर्नुको नाम योग हो ।

मनलाई जितेको अवस्थामा एकाग्रता आरम्भ हुन्छ । अब प्राणवायुसहित मनलाई मूर्धा अर्थात शिर भागमा स्थापित गरे पनि जीव समाधिमा स्थित हुन्छ । यति वेला शरीर हल्लिने, डुल्ने कुनै हुँदैन । अब शरीर जडझैँ चेष्ठाविहीन अवस्थामा पुग्छ ।

समाधिस्थलमा यसरी अघि बढेका योगीजनहरू ब्रह्मरन्ध्रलाई भेदन गरी ज्योतिर्मय प्रकाश निकाली सिधा ब्रह्मको गन्तव्यतिर प्रस्थान गर्न सक्छन् । दैनन्दिन कार्यकुशलताका लागि, शरीरको निरोगीपनको लागि, मनको स्वच्छताको लागि सामान्य योगाभ्यासबाट आफूलाई सरल र सहज बनाउन सकिन्छ ।

योगीहरूले यी १२ प्रकारका योग साधना गरेका हुन्छन् । तसर्थ एक ठाँउमा बसेर ध्यान केन्द्रित गर्नु मात्रै योग होइन । योग हाम्रो जीवनमा सर्वत्र र सबै समयमा भइरहन सक्छ । शरीरभित्र पृथ्वी, जल, तेज, वायु, आकाश, अव्यक्त एवं अहङ्कार सात तत्व सदैव रहिरहन्छ ।

योगभाव पनि भक्तिभावझैँ दुई प्रकारको हुन्छ । एउटा सकामभाव र अर्को निस्कामभाव । कर्मकाण्ड प्रायः सकामभावमा पर्दछन् । कर्मकाण्डमा कर्मको प्राधान्यता हुन्छ । प्रक्रियाको प्राधान्य हुन्छ । भक्तिमा भावको प्राधान्य रहन्छ । समर्पण भाव भक्तिको उत्कृष्ट उदाहरण हो ।

मन र कर्मबाटै संसारको आरम्भ भएकाले यी दुवै बन्धनका कारण हुन् तर मन एवं ‘मनुष्याणां कारणं बन्धमोक्षयो’ अर्थात् मनले बन्धनमा परिन्छ, मनैले बन्धन तोड्न पनि सकिन्छ । मनले बन्धन तोड्ने भनेको निस्काम भावको भक्ति, समभावको भक्ति र योगको उच्चतम प्रयोग नै हो ।

मनबाट फलको इच्छात्यागको नाम मोक्ष हो जसलाई मोहको क्षय भनिन्छ । रात बितेर अन्धकार हटेपछि स्वतः प्रकाश प्राप्त भएझैँ मनको अज्ञानता हटेपछि स्वतः खाली ठाउँ भर्ने काम दिव्य ज्योतिबाटै हुन्छ । अन्धकारको आवरण हटाएपछि ज्योतिले प्रवेश पाउँछ, ‘तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृतं गमय’ भनेको पनि यही नै हो ।

ध्यानमा रहने व्यक्तिले ईश्वरको विषयमा सामान्य जानकारी राख्नुपर्छ । ईश्वरबाट जीवजगतको सृष्टि भएको हो । जेनेरेटरको रूपमा ‘जी’, अपरेटरको रूपमा ‘ओ’ र डिस्ट्रवायरको रूपमा ‘डी’ अर्थात् जीओडी गड (ईश्वर) भएको हो ।

रूप, रस, गन्ध र स्पर्शभन्दा ईश्वर पृथक छ । मन र बुद्धिभन्दा फरक छ । गोचर भएर अगोचर र अगोचर भएर गोचरको रूपमा प्रतिविम्बित हुन्छ । साकार प्रतिविम्बित उसको संसार हो भने निराकारमा ऊ सबै जीवको चित् हो । परा र अपरा अर्थात् चित् एवं जड सत्ता सञ्चालन गर्दै ऊ सबैप्रति एकाकार भइरहेको हुन्छ । चित्त शक्ति अनाशक्त र निर्गुण छ । बर्फी उसको रूप हो भने स्वाद उसको निराकार हो ।

आफू निराकार भएर पनि सगुण साकारको संसार रचना उसले गरेको छ । रूप, रसको पाँचै विषयको सृष्टि उसले गरेको छ । ऊ स्त्री होइन न ऊ पुरुष हो, ऊ नपुङ्सक होइन, उभयरूप पनि होइन । असत् होइन, ऊ सत् हो, चित् हो र आनन्द हो । अक्षर ब्रह्मको रूपमा उसलाई प्राप्त गर्न सकिन्छ । जुन कुरा कहिल्यै नाश हुन्न त्यो अक्षर हो, अभय हो ।

अक्षर बह्मबाट आकाश, आकाशबाट, जल र जलबाट पृथ्वी बनेको हो । पृथ्वीबाट पार्थिव शरीर बनेको हो । पृथ्वी नभए पार्थिव हुँदैन । पार्थिव शरीर जलमै लय हुन्छ । जलबाट यो अग्निसम्म पहुँच हुन्छ, अग्निबाट वायुसम्म र वायुबाट आकाशसम्म पहुँच हुन्छ । आकाशबाट परमात्मासम्म लीन हुन पुग्छ अर्थात् जहाँबाट आएको त्यही फर्कन्छ । स्थायी घर त्यही हो । यहाँको घर अस्थायी हो, जीव पाहुना हुन् क्षण भरका ।

जुन स्थान जसको भाग हो तत् स्थानको अधिपतिको विषय चिन्तन गर्नुपर्ने हुन्छ । म नै सम्पूर्ण विश्व हुँ भनेर देवताहरूको परिकल्पना गर्ने व्यक्ति ध्यान समाधिमा परिणत हुन्छ र ऊ सिद्ध हुन्छ ।

ध्यान वा योग जहिले पनि एकान्त स्थानमा हुनु जरुरी छ । ध्यानमा रहने आसन स्थिर हुनुपर्छ । यसलाई देशयोग भन्ने गरिएको छ । आहार, विहार, चेष्टा, सुताइ, जगाइ व्यवहार सबै नियम अनुकूल हुनु जरुरी छ । यो कर्मयोग हो । आश्यक सरसामग्री, खरखजाना, साधनहरू जुन न्यून मात्रामा आफूलाई चाहिन्छ त्यसलाई अर्थयोग भनिएको छ ।

ध्यान गर्न लायक आसनमाथि रहनु उपाययोग हो । संसारप्रति आसक्ति एवं ममता हराउनुको नाम अध्यात्मयोग हो । श्रुति, स्मृति एवं गुरुप्रति विश्वास एवं श्रद्धाको नाम निश्चययोग हो । आँखा आदि इन्द्रियलाई आफ्नो वशमा राख्नु चक्षुयोग हो । शुद्ध र सात्विक आहारको नाम आहारयोग हो । विषयप्रति र भविष्यप्रतिको चिन्ताबाट अलग रहनुको नाम संहारयोग हो । मनले संकल्प, विकल्प नबनाउनुको नाम मनोयोग हो । जरा–जन्म–मृत्यु–रोगबाट दुखित नहुनु दर्शनयोग हो ।

योगीहरूले यी १२ प्रकारका योग साधना गरेका हुन्छन् । तसर्थ एक ठाँउमा बसेर ध्यान केन्द्रित गर्नु मात्रै योग होइन । योग हाम्रो जीवनमा सर्वत्र र सबै समयमा भइरहन सक्छ । शरीरभित्र पृथ्वी, जल, तेज, वायु, आकाश, अव्यक्त एवं अहङ्कार सात तत्व सदैव रहिरहन्छ । पाउदेखि घुँडासम्म पृथ्वीको, घुँडादेखि गुप्त अङ्गसम्म जलको, गुप्त अङ्गदेखि हृदयसम्म अग्निको, हृदयदेखि आँखीभौँसम्म वायुको र आँखीभौँदेखि शिरसम्म आकाश भाग हो ।

जुन स्थान जसको भाग हो तत् स्थानको अधिपतिको विषय चिन्तन गर्नुपर्ने हुन्छ । म नै सम्पूर्ण विश्व हुँ भनेर देवताहरूको परिकल्पना गर्ने व्यक्ति ध्यान समाधिमा परिणत हुन्छ र ऊ सिद्ध हुन्छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  २ : ३९ बजे

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौं– काठमाडौं महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता

सुमन सायमीसहित पक्राउ परेपछि राजेन्द्र महतोको आपत्ति

काठमाडौं– नवगठित राष्ट्रिय मुक्ति पार्टीका नेता सुमन सायमी पक्राउ परेका

इमान्दारितापूर्वक आत्मसमीक्षा गर्दै अगाडि बढौँ: अध्यक्ष दाहाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रचण्डको आशंका : फेरि संसद् विघटन गर्न खोजिँदै छ

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता र

प्रधानमन्त्रीको प्रश्न- वन मन्त्रालयका कर्मचारी लर्को लागेर बाकु किन गएका ?

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले जनगुनासोलाई सम्बोधन गर्दै सक्षम र