बस्नेलाई रुवाउँदै अन्तिम बसाइँ सरे जेबी टुहुरे | Khabarhub Khabarhub

बस्नेलाई रुवाउँदै अन्तिम बसाइँ सरे जेबी टुहुरे


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘जनगायक’ उपनामले परिचित जेबी टुहुरेलाई पछिल्लो पटक कहाँ भेटेको हो भन्ने उनका समकालीन गायक रायनलाई ठ्याक्क सम्झना छैन तर जेबी टुहुरेले ‘हाम्रो सपना पूरा भएन रायनजी’ भनेको आवाज कानमा ताजै गुञ्जिन्छ ।

अपस्तालमा उपचाररत अवस्थामा जेबी टुहुरेको बिहीबार ७८ वर्षको उमेरमा निधन भयो । रायनले २०३२ सालमा जेबी टुहुरेसँग भएको भेट सम्झिए ।

रायनले जेबी टुहुरेसँग २०३२ सालदेखि २०३९ सालसम्म सहकार्य गरेका थिए । केही वर्षयता राजधानी काठमाडौँमा कहिलेकाहीँ भेट हुँदा दुवै जना ऊबेलाका सम्झनाहरू कोट्याउँथे ।

‘उहाँ (जेबी टुहुरे) आजको यस्तो कम्युनिस्ट सत्ताको निम्ति हामीले गीत गाएर जीवन र उमेर बिताएको होइन भन्नुहुन्थ्यो,’ रायनले खबरहबसँग भने, ‘हामीले देखेको सपना पूरा भएन रायनजी भनेर गुनासो गर्नुहुन्थ्यो ।’

रायन २०३२ सालमा धरानमा स्वतन्त्ररूपले जनपक्षीय गीतहरू गाउँदै हिँड्दा जेबी टुहुरेसँग भेट भएको थियो । त्यतिबे जेबी टुहुरेले गाएका ‘बसाइँ हिँड्नेको ताँतीले…’, ‘आमा दिदीबहिनी हो…’ बोलका गीत लोकप्रिय भइसकेका थिए ।

दुई जनाको भेट भएर आपसमा विचार मिलेपछि उनीहरू कम्युनिस्टहरूको ‘कोओर्डिनेसन केन्द्र’ अन्तर्गत रहेर सांस्कृतिक कार्यक्रममा सहभागी हुन थाले ।

‘केन्द्रअन्तर्गत रहेर सांस्कृतिक क्षेत्रबाट नेपालमा जनवादी सत्ता, कम्युनिस्ट सत्ता, वर्गीय सत्ता, स्वतन्त्र नेपाल, स्वाभिमानी नागरिक, समानताको विभेदरहित समाज बनाउन हामी हिँडेका थियौँ’, रायन भन्छन्, ‘त्यो बेला कम्युनिस्ट कार्यकर्ताहरूसँग भेट हुन्थ्यो । हामी गीतमार्फत मान्छेहरू जम्मा गर्ने काममा लागेका थियौँ ।’

रायनका अनुसार तीन कम्युनिस्टहरूले ‘वर्ग संघर्ष’ नामको निकै खरो पत्रिका भूमिगतरूपमा निकाल्थे । रायन र जेबी टुहुरे गीत गाउँथे ।

रायनको बुझाइमा जेबी टुहुरेको गुनासोको पोको ठूलो थियो । उनी आफूहरूले जुन उद्देश्यका लागि गीत गाउदै हिँडे पनि त्यो सपना पूरा नभएको र जनताको जीवन सोचेजस्तो नभएको भन्ने गुनासो गर्थे ।

रायन भन्छन्, ‘उहाँ सबै पैसा कमाउनतिर लागे, आफ्नै महत्वाकांक्षा र उपभोगका निम्ति लागे, पार्टीभित्र अनेक गुट भए, तान्ने र पछार्ने काम गर्न थाले भनेर दुःखेसो पोख्नुहुन्थ्यो ।’

२००१ साल कात्तिक १५ गते धरानको पुरानो बजारमा जन्मिएका जेबीको वास्तविक नाम जुठबहादुर खड्गी हो । उनी जवान हुँदै गर्दा २०२१ सालमा उनका बुबा बिते । घरका सबै जिम्मेवारी उनकै टाउकामा आयो । बुबाको मृत्युले आफू एक्लो र बेसहारा भएको ठानेर आफ्नो छोटो नाम ‘जेबी’ मा ‘टुहुरे’ थपेर जेबी टुहुरे भए । अनि यही नामले परिचित भए ।

जेबी टुहुरेलाई जनकवि केशरी धर्मराज थापाका गीत खुब मन पर्थे । उनी धर्मराज थापाकै शैलीमा गीत गाउने प्रयास गर्थे । धर्मराजको लोकप्रिय गीत ‘हह माले हह’ बाट प्रेरित भएर जेबी टुहुरेले ‘ह काली ह, छैन नि हली ह’ बोलको गीत गाए ।

२०२४ सालमा राजा महेन्द्रले ‘गाउँ फर्क राष्ट्रिय अभियान’ चलाएका थिए । यस अभियानमा सघाउ पुग्ने गरी जेबी टुहुरेले ‘फर्क फर्क फर्क हो, गाउँतिर फर्क हो’ बोलको गीत गाएका थिए ।

उनी गीत राजाको अभियानसँग मिल्नुमा राजाको समर्थन गर्न नभई अभियान मन परेकोले गाएको कुरा निकटस्थहरूसँग बताउँथे । यो गीत उनले रेडियो नेपालमा पनि गाएका थिए ।

२०३३ सालमा वनारसबाट मदन भण्डारी, जीवराज आश्रित, मोदनाथ प्रश्रितलगायतका नेताहरू नेपाल फर्किएपछि प्रश्रितले आफ्नो कविता संग्रह ‘चरी भरर’ जेबी टुहुरेलाई दिएका थिए । त्यही संग्रहमा रहेको ‘आमा दिदी बहिनी हो’ कवितालाई उनले गीतमा रूपान्तरण गरेर गाए ।

जनताका गीत गाउने क्रममा जेबी टुहुरे, रामेश, मञ्जुल, शम्भु राईलगायत मिलेर ‘संकल्प परिवार’ नामको समूह चलाएका थिए ।

लोकगायक शम्भु राई जेबी टुहुरेलाई देश र जनताको पक्षमा परिवर्तनका लागि संघर्ष गरेको सशक्त सांस्कृतिक क्रान्तिको योद्धाका रूपमा चिन्छन् । शम्भु २०३४ सालमा संकल्प परिवार अभियानमा जेबी टुहुरेसँग जोडिएका थिए । उनी जेबी टुहुरेलाई आफ्ना प्रेरक व्यक्तिका रूपमा चित्रण गर्छन् ।

खबरहबसँग शम्भुले भने, ‘जनताका निमित्त जनताका गीतसङ्गीत गाउनुपर्छ । मायाप्रेम मात्र होइन, समाजलाई रूपान्तरण गर्ने गीत हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो ।’

शम्भुको बुझाइमा जेबी टुहुरे राज्यले जनकलाकारलाई राम्रो पहिचान गरोस् भन्ने चाहन्थे । उनले राज्यले राजनीतिक र आर्थिक विषयलाई मात्र प्राथमिकता दिएर सांस्कृतिक विषय बिर्सेको भन्दै चित्त दुखाउँथे ।

जेबी टुहुरे राजधानी काठमाडौँको कलंकीस्थित घरमा मङ्गलबार अचानक लडेर बेहोस भए । लगत्तै उनी बल्खुस्थित बयोधा अस्पताल पुर्‍याइए । उपचाररत अवस्थामै बिहीबार उनको निधन थियो ।

उनी मुटु र फोक्सो सम्बन्धी रोगबाट पनि पीडित थिए । उनाई मधुमेह र उच्च रक्तचापले पनि सताएको थिए । निधनको अन्तिम कारणचाहिँ मस्तिष्क पक्षघात भयो ।

सुरिलो स्वरका धनी जेबी टुहुरे जति बाँचे गरिब, दुःखी र पीडितका प्रिय भएर बाँचे । जीवनभर सुखदुःख केही नभनी निरंकुशता विरुद्ध जनताका गीत गाए । स्वतन्त्रता र जनअधिकारको सपना देखे । अनि गीतका मध्यमबाट त्यही सपनाका पछि लागे । अनि बस्नेहरुलाई रुवाउँदै अन्तिम बसाइँ सरे ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ६ : १२ बजे

उपेन्द्रले भने : विदेशमा रहेका बेला म विरुद्ध ठूलो राजनीतिक षड्यन्त्र गरियो

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु

संसद्‍मा बोल्न अनुमति माग्दै गृहमन्त्री रविले पठाए सभामुखलाई पत्र 

काठमाडौं–  संसद्‍मा बोल्न अनुमति माग्दै सभामुख देवराज घिमिरेलाई उपप्रधान तथा

बागमती प्रदेशमा वैशाख २८ देखि युवा सम्मेलन

मनहरी– बाग्मती प्रदेश युवा परिषद्ले दोस्रो प्रदेश युवा सम्मेलन आयोजना

व्यक्ति विशेष संसदीय छानबिन समिति असम्भव : सचेतक बर्तौला 

काठमाडौं –नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले व्यक्ति विशेष