चैतसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने तयारी | Khabarhub Khabarhub

चैतसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने तयारी


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  आगामी चैत महिनासम्ममा पुनः मेलम्चीको पानी काठमाडौँ उपत्यका ल्याउने गरी आयोजनास्थलसम्म पुग्ने सडक र त्यहाँको संरचना मर्मत अघि बढाइने भएको छ ।

मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली सेना, त्यहाँ रहेका पालिकासँगको समन्वयमा सडक खुलाएर आयोजनास्थलसम्म पुग्ने योजना बनाएको हो ।

गत असार र साउनमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा कति क्षति भयो भन्ने यकिन हुन सकेको छैन । आयोजनास्थलमै पुग्न सकिने अवस्था नभएकाले यकिन क्षति हुन बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

आयोजनास्थलमा रहेका संरचना लेदोले छोपिएकाले त्यो हटेपछि मात्रै क्षति यकिन हुने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।

उनले भने भने, “अहिले हेडवर्क १०/१५ मिटरसम्म पुरिएको अवस्थामा रहेकाले क्षति यति नै भयो भन्न सकिने अवस्था छैन ।”

चैतमा काठमाडौँमा पानी ल्याउने लक्ष्य लिइएकामा थोरै तलमाथि भए पनि धेरै नहुने समितिले जनाएको छ । हेडवर्कमा कति क्षति भएको छ त्यसका आधारमा कति समय लाग्ने भन्ने हुन्छ ।

अहिले तत्काल ‘हेडवर्क’बाटै पथान्तरण गर्न नसकिने भएकाले वैकल्पिक पानी पथान्तरणको विषयमा सोचिरहेको सूचना अधिकारी पन्तले बताए । ‘हेडवर्क’ नजिकै नदीको सतहमा गिट्टी, बालुवा थुप्रिएको र त्यो सफा गर्न चुनौती रहेको छ ।

त्यहाँ हटाउँदा आएका सामग्री कता लैजाने भनी अन्योल रहेको सूचना अधिकारी पन्तले बताए । उनले भने, “साँघुरो ठाउँमा एकैपटक धेरै उपकरण लैजान नसक्ने अवस्था छ, त्यसले समय लाग्नसक्ने देखिएको छ ।”

हेलम्बु–१ अम्बाथानस्थित आयोजनास्थलमा गत असार १ मा गएको बाढीका कारण क्षति पुगेको थियो । त्यसपछि साउनमा पुनः आएको बाढीले यहाँ रहेका संरचनामा थप क्षति पुगेको समितिले जनाएको छ ।

पछिल्लो बाढीले गर्दा यहाँ रहेका सडक बगाएको छ भने अरु संरचनामा कति क्षति पुग्यो भन्ने थाहा नभएको सूचना अधिकारी पन्तले बताउनुभयो । उनले भने, “पहिलो बाढीपछि नै परामर्शदाता कम्पनीले त्यहाँ पुगेको क्षति र मर्मतका बारेमा अध्ययन गरिरहेको छ ।”

बाढीका कारण सबैभन्दा बढी असर अम्बाथानसम्म पुग्ने सडक र ‘हेडवर्क’ मा पुगेको अनुमान गरिएको छ । अहिले सडक रहेकै स्थानमा पुनःनिर्माण गर्ने कि नयाँ रेखाङ्कनमा गर्ने भनी छलफल भइरहेको सूचना अधिकारी पन्तले बताए ।

सडक र पुलको विज्ञ जनशक्ति सडक विभागसँग भएकाले ऊसँगको सहकार्यमा यसमा निर्णय लिइने सूचना अधिकारी पन्तले बताए ।

अहिले भएको सडकको विकल्पमा अर्काे ठाउँबाट वैकल्पिक सडक खुलाउने काम दीर्घकालीनरूपमा गरिनुपर्ने भए पनि तत्कालका लागि भइरहेको सडकमा स्तरोन्नति अघि बढाइएको उनले बताए ।

अहिले डोजरमात्रै लैजान सकिने बाटो बनाउने प्रयास भइरहेको छ । “यहाँका सडकको स्तरोन्नति र मोड फराकिलो बनाइरहेको छ”, उनले भने, “हेलम्बु गाउँपालिकाले सडक खुलाउने काम गरिरहेको छ ।”

सडकमा कति क्षति पुग्यो र मर्मतका लागि कति समय लाग्छ भनी विस्तृतरूपमा मूल्याङ्कन गरिनेछ । सडक पहिलेको रेखाङ्कनभन्दा माथिबाट लैजाँदा सुरक्षित हुनसक्ने उनले बताए ।

“भविष्यमा पुग्न सक्ने क्षतिको आकलन गरेर पुलहरू नयाँ ठाउँमा बनाउनुपर्ने हुनसक्छ”, उनले भने, “त्यसले गर्दा पहिले भएको क्षतिभन्दा पुनःनिर्माणका लागि लागत बढी लाग्ने देखिएको छ ।”

आयोजनाले हालसम्म रु दुई अर्ब क्षति भएको अनुमान गरिएको छ । मर्मत र पुनःनिर्माण गर्दा त्यो रकम बढ्नसक्ने सूचना अधिकारी पन्तले बताए ।

हेडवर्कमा भएको क्षति त्यहाँ रहेको लेदो सफा गरेर नहेरेसम्म थाहा नहुने उहाँको भनाइ छ । निर्माणस्थलमा रहेका संरचना पुनःनिर्माणमा समय र लागत दुबै बढी लाग्ने देखिएको छ । साउन महिनाको बाढीले सडकमा थप क्षति पुगेपछि आयोजनास्थलमा रहेका संरचनामा भने पहिलो बाढीले गराएको क्षति जति हो त्योभन्दा बढी भएको नपाइएको सूचना अधिकारी पन्तले बताए ।

अहिले तत्काल सडकको ‘एलाइमेन्ट’ परिवर्तन गर्न नसकिने भए पनि दीर्घकालीनरूपमा परिवर्तन गरेर निर्माण गर्नुपर्ने देखिएको छ ।

दीर्घकालीनरूपमा सडकका लागि पुनः डिजाइन गर्नुपर्ने समितिले जनाएको छ । झण्डै दुई दशक पहिले निर्माण सुरु भएको आयोजना गत फागुनमा सम्पन्न भएर काठमाडौँ उपत्यकामा पानी आउन थालेको थियो ।

आयोजनाको मुख्य संरचनाका रूपमा रहेको सुरुङको निर्माण सकिएपछि अस्थायी बाँधबाट पानी ल्याउन थालिएको थियो । आयोजनाको ‘हेडवर्क’ निर्माणको अन्तिम काम भइरहँदा आएको बाढीले धेरै क्षति पुर्‍याएको छ ।

राष्ट्रिय गौरवको सो आयोजना काठमाडौँ उपत्यकामा रहको खानेपानीको समस्या समाधानको दीर्घकालीन उपायका रूपमा रहेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  १० : ५९ बजे

अस्ट्रेलिया र वेस्ट इन्डिज टेस्टमा बलर हाबी : एकै दिन १४ विकेट

ब्रिज टाउन – वेस्ट इन्डिज र अस्ट्रेलियाको पहिलो टेस्टमा बलर

विष्णुमती बगाएको कारबाट एक महिलाको उद्धार

काठमाडौं– काठमाडौंको विष्णुमती नदीले कारसहित बगाएकी एक महिलाको उद्धार गरिएको

जनकपुरमा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता

धनुषा– जनकपुरधाममा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु हुँदै छ

बाढीले बगाएर सवइञ्जिनियर रविन दाहालको मृत्यु

ललितपुर– ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको

भोक मार्ने ओखती उमार्ने असार

झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई सम्झिरहेको छु ।