एक चामत्कारिक धाविकाको दुःखद अवसान | Khabarhub Khabarhub

एक चामत्कारिक धाविकाको दुःखद अवसान


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाँच हजार मिटर दौडकी विश्व च्याम्पियन हेलेन ओबोरोले सन् आगामी २०२२ मा यसको उपाधि एग्नस टिरोपले जित्ने अनुमान गरेकी थिइन् । टिरोपलाई एथ्लेटिक्सको नयाँ स्टारको रूपमा देखेकी उनले भनेकी थिइन्, ‘मैले हारे पनि केही हुने छैन किनकि यो उपाधि अब केन्याकै पोल्टामा रहनेछ ।’

अबको एथ्लेटिक्स दुनियाँमा स्टार हुने अनुमान गरिएकी टिरोप एथ्लेटिक्स परिवारलाई रुवाउँदै संसारबाट बिदा भएकी छन् ।

शनिवबर हजारौँको उपस्थितिमा उनको अन्त्येष्टि भयो । यही अक्टोबर १३ को दिन इटेनको फ्लिट उपत्यकामा २६ वर्षीया टिरोपको शव उनको आफ्नै घरमा फेला परेको थियो । उनको अन्त्येष्टिमा उपस्थित खेलाडी र अन्य शुभेच्छुकहरूले सेतो कफनमा फूल चढाएका थिए । कफनमाथि उनले कास्य पदक भिरेको तस्बिर राखिएको थियो ।

अन्त्येष्टिमा उपस्थित भएका मध्ये सबैभन्दा भावविभोर ओबोरो नै थिइन्, आँखामा आँसु टलपलाएको थियो । उनले यो दुर्घटना केन्याली खेलकुदका लागि अहिलेसम्मकै सबैभन्दा दुःखद रहेको बताइन् ।

प्रहरीले हत्यामा संलग्न भएको आशङ्कामा टिरोपका श्रीमान् इब्राहिम रोटिचलाई गिरफ्तार गरेको छ । रोटीच या अन्य कसैले सार्वजनिक रूपमा कुनै धारणा बाहिर ल्याएका छैनन् । प्रहरी पुगेको समयमा रोटिच घरमा थिएनन् । उनी केही समय हराएका कारणले प्रहरीको आशङ्कामा बल पुगेको हो ।

गत महिना जर्मनीमा १० किलोमिटर महिला दौडमा विश्व कीर्तिमान बनाएकी टिरोपले सन् २०१७ र सन् २०१९ को विश्व च्याम्पियनसिपमा १० हजार मिटर दौडमा कास्य पदक जितेकी थिइन् ।

जर्मनीमा मोरक्कोकी अस्माये लेगाउलीको नाममा रहेको कीर्तिमान भङ्ग गर्नुअघि उनी जापानको टोकियोमा भएको ओलम्पिक खेलकुदमा पनि सहभागी भएकी थिइन् । ओलम्पिकमा भने उनी चौथो स्थानमा सीमित भइन् ।

विश्वले त्यो आकर्षक दौड स्टाइल र मन्द मुस्कान अब देख्न पाउने छैन । प्रतिभाशाली धाविका एग्नस टिरोपको हत्या विश्व एथ्लेटिक्सका लागि मात्रै होइन, महिलामाथिको हिंसा अन्त्य गर्ने केन्या सरकारको लक्ष्यमाथि पनि ठूलो धक्का हो ।

केन्याको एउटा सामान्य किसान परिवारमा जन्मिएकी टिरोपको प्रतिभा बाल्यकालदेखि नै प्रस्फुटित भएको थियो । उनले चार कक्षामा पढ्दा नै क्रस कन्ट्री दौड जितेर सनसनी फैलाएकी थिइन् । अन्तर्राष्ट्रिय जुनियर प्रतियोगितामा सहभागिताको अवसर पाएकी थिइन् । त्यसपछि उनको प्रगति निरन्तर र चामत्कारिक थियो ।

टिरोपको निधनपछि प्रशिक्षक जुलियस किर्वाले एक अनुशासित र भद्र खेलाडीको निधनले आफू निःशब्द भएको प्रतिक्रिया दिएका छन् ।

प्रहरी अधिकारी टम माकोरीका अनुसार टिरोपको शव फेला परेको दिन प्रहरी पुग्दा उनका श्रीमान् घरमा थिएनन् । यो नै प्रहरीको शङ्काको मुख्य कारण थियो ।

टिरोपको सफलताका धेरै आयाम थिए । उनले सन् २०१५ मा १९ वर्षको उमेरमा विश्व क्रस कन्ट्री उपाधि जितेर सनसनी मच्चाएकी थिइन् । सन् १९८५ मा जोला बुडपछि यति कम उमेरमा यस्तो सफलता पाउने उनी नै थिइन् ।

एकपछि अर्को सफलता हासिल गर्दै आएकी तथा भविष्यमा मध्यम दूरीको दौडमा शान राख्ने अनुमान गरिएकी धाविकाको मृत्यु कुनै पनि देशका लागि कम दुःखद हुँदैन । केन्याको एथलेटिक्स सङ्घले एकदमै छिटो प्रगति गरिरहेकी एक होनहार खेलाडी गुमाएको भन्दै शोक विज्ञप्ति जारी गरेको थियो ।

कन्याका राष्ट्रपति उथेरा केन्यटाले पनि २५ वर्षको उमेरमा देशको नाम उच्च बनाउने होनहार प्रतिभाको निधन हुनु देशको लागि अपूरणीय क्षति हो भनेका छन् । राष्ट्रपतिले सम्पूर्ण बल लगाएर अपराधीलाई एकदमै छोटो समयमा कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् ।

टिरोपका एजेन्ट माइकल बोएटिङले भाव विभोर हुँदै भनेका छन्, ‘अब हामीले न त यो आकर्षक दौड स्टाइल देख्ने छौँ, न सबैलाई मोहित पार्ने त्यो मन्द मुस्कान ।’

बोएटिङले भनेजस्तै सबैलाई मोहित पार्ने ती स्टाइलिस्ट धाविका क्रस कन्ट्रीको विश्व च्याम्पियनसिपमा सफलता पाउनु एक वर्षअघि जुनियर अफ्रिकन क्रस कन्ट्री च्याम्पियन भएकी थिइन् ।

विश्व खेलकुदमा चासो दिनेहरूको आँखा २०१२ मै टिरोपमा परेको हो । उक्त वर्ष केन्यामा भएको क्रस कन्ट्री च्याम्पियनसिपमा उनी विश्व जुनियर च्याम्पियन फेथ चेपगेथिकको पछि रहँदै उपविजेता बनेकी थिइन् ।

यो परिणामपछि अफ्रिकन जुनियर क्रस कन्ट्रीका लागि छनोट भएकी टिरोप त्यहाँ पनि चेपगेथिक भन्दा पछि रहँदै रजत पदक जित्न सफल भइन् ।

केन्याको राष्ट्रिय च्याम्पियनसिपमा फेथ र टिरोप शीर्ष दुई स्थान रहे । विश्व क्रस कन्ट्री च्याम्पियनसिपमा पनि फेथ पहिलो र टिरोप दोस्रो भए ।

यो सफलतापछि ट्र्याकमा पनि आफूलाई सुधार गर्दै टिरोपले ३ हजार मिटर, ५ हजार मिटर र हाफ म्याराथनमा उत्कृष्ट समय कायम राखिन् ।

सन् २०१५ को समय टिरोपका लागि महत्वपूर्ण रह्यो । फेथले छाडेपछि विश्व क्रस कन्ट्री च्याम्पियनसिपमा एबेली चेबेट उपाधि दाबेदारको रूपमा सहभागी भएकी थिइन् । उक्त स्पर्धा टिरोपका लागि अनुभवमात्र हुने अनुमान धेरैको थियो । यस विपरीत उनले स्वर्ण पदक जितिन् ।

मध्यम तथा लामो दूरीमा संसारका एक से एक धावकको देश केन्यामा टिरोप भने मध्यम दूरी र लामो दूरी दुवै स्पर्धामा सफल खेलाडीको रूपमा स्थापित थिइन् ।

आगामी सन् २०२६ सम्ममा सबै खाले लैङ्गिक हिंसा शून्यमा झार्ने लक्ष्य राखेको केन्या सरकारलाई देशकै एक प्रतिष्ठित धाविकाको हत्याले ठूलो धक्का लागेको छ ।

सरकारको उक्त घोषणामा त्यहाँको सामाजिक अवस्था नियाल्नेहरूले लक्ष्य प्राप्तिका लागि सरकार र नागरिक समुदाय गम्भीर बन्नुपर्ने धारणा राखेका थिए ।

विश्व स्वास्थ्य सङ्गठनको अनुमानित तथ्याङ्कअनुसार संसारका एक तिहाई महिला आफ्नै श्रीमानको हिंसाको सिकार हुने गरेका छन् । केन्याको हकमा ४० प्रतिशतभन्दा बढीलाई त चोट नै लाग्ने गरेको छ । केन्यामा पछिल्लो समयको कुनै डाटा त उपलब्ध त छैन तर सन् २०१४ को डाटाकै हाराहारीको अवस्था अहिले पनि रहेको अनुमान छ ।

सन् २०१४ को एक तथ्याङ्कअनुसार केन्यामा ४० प्रतिशत महिला जीवनमा कम्तीमा एक पटक आफ्नै श्रीमानबाट तथा ब्वाइ फ्रेन्डबाट हिंसाको शिकार हुने गरेका छन् ।

प्रत्येक पाँच बालिकामध्ये एक जनाको बालविवाह हुने गरेको छ । कोभिड महामारीको समयमा यो दर अझ बढेको हुनसक्ने अनुमान छ ।

विश्व स्वास्थ्य सङ्गठनको अनुमानित तथ्याङ्कअनुसार संसारका एक तिहाई महिला आफ्नै श्रीमानको हिंसाको सिकार हुने गरेका छन् । केन्याको हकमा ४० प्रतिशतभन्दा बढीलाई त चोट नै लाग्ने गरेको छ । केन्यामा पछिल्लो समयको कुनै डाटा त उपलब्ध त छैन तर सन् २०१४ को डाटाकै हाराहारीको अवस्था अहिले पनि रहेको अनुमान छ ।

केन्याका ४२ प्रतिशत महिला या पुरुष दुवै अहिले पनि श्रीमानले श्रीमतीलाई पिट्नु सामान्य कुरा ठान्छन् । यस्तो हुन नदिन केन्याले सन् २०१४ मा राष्ट्रिय नीति बनाएको थियो ।

केन्याको संविधानमा सबै नागरिकले आफू सुरक्षित रहेको प्रत्याभूति गर्न पाउनुपर्ने कुरा उल्लेख गरिएको छ । त्यहाँ हिंसापीडित अधिकांश महिलाले उजुरी गर्ने गरेका छैनन् ।

सन् २०२१ को सेप्टेम्बरदेखि केन्या सरकारले लैङ्गिक हिंसा नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रयास सुरु गरेको छ । हरेक अस्पतालमा लैङ्गिक हिंसापीडितहरूका लागि रिकभरी सेन्टर स्थापना गरिएका छन् । प्रहरी कार्यालयहरूमा जेन्डर डेस्क राखिएका छन् ।

‘फेडेरेसन अफ वमन लयर्स इन केन्या’ लगायत सामाजिक संस्था लैङ्गिक हिंसाको विरुद्धमा सक्रिय छन् ।

यस्तो हिंसा हटाउन विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले महिला सशक्तीकरणका केही कार्यक्रम सुरु गर्न अत्यावश्यक रहेको जनाएको थियो । डब्ल्युएचओले दम्पती मिलेर काम गर्नुपर्ने, आर्थिक स्रोत महिलाको हातमा हुनुपर्ने तथा सम्बन्ध सुमधुर बनाउन सरकारले थप कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आएको छ ।

केन्या सरकारले पनि यसै वर्षदेखि महिला हिंसाविरुद्धको कानून अझ बढी प्रभावकारी बनाउने जनाएको थियो ।

प्रहरीका साथै पीडितलाई कानूनी र औषधि उपचारमा सहयोग गर्नेलाई प्रशिक्षित गराउने नीति पनि लिएको थियो ।

पुरुष र युवाहरूलाई सामुदायिक स्तरमा परिचालन गर्ने र महिलामाथिको हिंसा विरोधी तथा समानताको भाव जागृत गर्ने योजना पनि केन्या सरकारको थियो ।

टिरोपको जीवन अन्त्यको घटना संसारको एथ्लेटिक्स जगतका लागि जति दुःखद हो, महिलामाथिको हिंसा निर्मूल गर्ने केन्या सरकारको प्रतिबद्धतामा त्यति नै ठूलो धक्का पनि हो । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ८ : ०६ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन