ओलीलाई पराजित गर्छु भन्ने नकारात्मक सोच छैन तर अध्यक्षमा म नै विजयी हुन्छु: भीम रावल | Khabarhub Khabarhub

ओलीलाई पराजित गर्छु भन्ने नकारात्मक सोच छैन तर अध्यक्षमा म नै विजयी हुन्छु: भीम रावल


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 8 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले आसन्न १० औं महाधिवेशनमा पार्टी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सार्वजनिक घोषणा नगरे पनि एमाले नेतृत्वमा दोहोरिने अध्यक्ष केपी शर्मा ओलीले तयारी गरिरहेका बेला उपाध्यक्ष भीम रावल अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गर्ने अडानमै छन् ।

आन्तरिक विवाद हुँदै नेकपा विभाजन र नेकपा एमाले विभाजनपछि हुन लागेको एमालेको दशौँ महाधिवेशनमा एकताको सन्देश दिन अधिकांश प्रतिनिधिहरू सर्वसम्मत रुपमा चयन भएका छन् ।

अध्यक्षमा ओलीको सर्वसम्मत दोहोरिने चर्चाबीच उम्मेदवारी घोषणा गरेर चुनौती दिएका रावलसँग एमालेको आसन्न महाधिवेशन, उनको उम्मेद्वारी घोषणाको औचित्य, उम्मेदवारी फिर्ताको सम्भावना लगायतका विषयमा रेडियो क्यान्डिड र खबरहबले गरेको कुराकानीको संक्षेप–

अध्यक्षका लागि उम्मेद्वारी घोषणा गर्नुभएको छ । तयारी कस्तो गर्नुभएको छ ?

मैले हाम्रो पार्टीको नीति, सिद्धान्त र विचार बमोजिम अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने र उम्मेद्वारी दिने निर्णय गरेको छु । यहाँहरुलाई थाहा नै छ, यसअघि १२ वटा उद्देश्य र लक्ष्य तथा १५ वटा मान्यता सार्वजनिक गरिसकेको छु ।

एमालेमा लामो समयदेखि काम गरिरहनुभएका पार्टीका नेता कार्यकर्ता, प्रतिनिधि र शुभेच्छुक सदस्यहरुलाई मलाई सहयोग गर्न र मतदान गर्न तथा यो पार्टीको नेतृत्व गरेर राष्ट्रिय राजनीतिलाई राष्ट्रको हितमा केन्द्रित गर्न सहयोग गर्न सबैसँग आग्रह अनुरोध गरिरहेको छु ।

निर्विकल्प अध्यक्ष बन्न भनेर केपी शर्मा ओली लागिरहनु भएको थियो, फ्याट्ट उम्मेवारी घोषणा गर्नुभयो । तपाईको घोषणालाई एमालेका नेता कार्यकर्ताले स्वभाविक रुपमा लिइरहेका छैनन् । आफूलाई विजयी बनाउन के–कस्ता योजना छन् ?

ती साथीहरु, जसले त्यस्तो धारणा राख्नुभएको छ उहाँहरुलाई आन्तरिक रुपमा के कुरा भइरहेको थियो ? स्थायी कमिटी बैठकमा कस्तो छलफल भएको थियो ? पार्टी अध्यक्षसँग मेरो कुरा के भइरहेको थियो ? भन्ने सबै कुरा थाहा नभएर वा बाहिर नआएर त्यस्तो सोच रोखेको हुनुपर्छ । पार्टी अध्यक्षसमक्ष मैले स्थायी कमिटीमा १० औं राष्ट्रिय महाधिवेशन अब कसरी जान्छौं भनेर बारम्बार छलफल गरेको थिए । तत् सम्बन्धमा कुनै पनि ठोस विचार नसुनेपछि पार्टीको नीति बमोजिम र पार्टीको जनताको बहुदलीय जनवाद (जबज)को मान्यता अनुरूप म प्रतिस्पर्धामा गएको छु । त्यसकारण मलाई लाग्छ, जबज बुझ्ने यो पार्टीको नीति प्रणाली र विगतका महाधिवेशनको अभ्यासले कुनै पनि साथीले हठात् रुपमा उम्मेद्वारी घोषणा आएको वा अस्वभाविक हो भन्ने ठान्नुहुन्छ भन्ने लाग्दैन ।

अध्यक्षले सबै पदाधिकारी सर्वसम्मत गर्छु भनेर प्रयास गरिरहेका बेला छलफल गरेर पनि तपाईँले उम्मेद्वारी घोषणा गर्नुभयो भनेर आलोचना पनि भइरहेको छ । यसले तपाईंलाई सफल अवतरणमा सहयोग पुर्‍याउँछ र ?

त्यस्तो हैन, मैले धेरै छलफल गरेको थिएँ । मैले मेरा कुराहरु पनि राखेको थिएँ । निर्विकल्प वा सर्वसम्मतिको कुरा जुन छ, हाम्रो पार्टीमा संस्थागत रुपमा कुनै पनि छलफल भएन । बाहिर जुन कुराहरु आएका हुन्, ती मान्छेका व्यक्तिगत धारणाहरु हुन सक्छन् । मैले निर्वाचनको सन्दर्भमा स्थायी कमिटीमा पटकपटक कुरा उठाउँदा विषयले प्रवेश नै पाएन । पार्टी अध्यक्ष र अन्य नेतासँग पनि यो बिषयमा कुरा गर्दा महत्त्व नै पाएन । बाहिर कतिपय साथीहरुमा वा पार्टीपंक्तिमा यो निर्विकल्प वा निर्विरोधको कुरा भइरहेको छ भन्ने परेको भएपनि मैले भने यो संस्थागत कतै भएको वा सुनेको छैन । धेरै लामो समयदेखि पार्टीमा काम गरेका जो साथीहरु हुनुहुन्छ, त्यसमा मैले राष्ट्रियता, जनताको जिविकासँग सम्बन्धित बिषय, नेपालको संविधान र लोकतन्त्रसम्बन्धी जुन कुराहरु भन्दै आइरहेको छु, त्यसमा हाम्रो पंक्तिमा व्यापक समर्थन छ भन्ने मेरो विश्वास हो ।

भनेपछि अध्यक्ष ओलीको विकल्प खोज्ने बेला भयो र त्यसका लागि तपाईंको उम्मेद्वारी हो ?

उहाँको विकल्प खोज्ने बेला भन्दा पनि अहिले देशको जुन स्थिति छ, यस्तो स्थितिमा प्रष्ट रुपमा पार्टीलाई त्यो दिशामा राष्ट्रका समस्या समाधान गर्न नेतृत्व गर्ने र जुन नेतृत्व लिइरहनुभएको छ त्यो बिसाएर नयाँ नेतृत्वमा हस्तान्तरण गर्नु समय, परिस्थिति र जनभावनाअनुरुप आवश्यक भन्ने लागेर नै मैले मेरो उम्मेद्वारी घोषणा गरेको हुँ ।

तर तपाईँलाई किन मत दिने भन्ने प्रश्न त उठ्छन् नि हैन ? तपाईंका एजेण्डा के–के हुन् भनेर प्रष्ट पार्नुभएको छ ?

जुन उम्मेद्वारी मैले सार्वजनिक रुपमा घोषणा गरेँ, त्यसमा ११ पृष्ठ लामो मेरा कार्यसूचीहरु राष्ट्रका बारे, लोकतन्त्रका बारेमा, मुलुकको अर्थतन्त्र लगायत विषयमा प्रष्ट छन् ।

कार्यकर्तामाझ ती कुरा प्रष्ट्याउनु भएको छ ?

आजकालको जमानामा जब मैले मेरो सार्वजनिक रुपमा मेरा कार्यसूचीहरु, मेरो धारणा, मान्यता, उद्देश्य र लक्ष्य सार्वजनिक गरिसकेपछि कार्यकर्ताको माझमा नजाने भन्ने कुरै भएन ।

दोस्रो कुरा, नवौं महाधिवेशनमा सर्वाधिक मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएँ र झण्डै ५० वर्षदेखि यो पार्टीमा काम गर्दा विद्यार्थीदेखि बुद्धिजिवीका रुपमा थुप्रै क्षेत्रमा मेरा धारणा, मान्यता र काम राखेको छु । त्यसैले कार्यकर्ताले मलाई नचिनेको, नजानेको र नबुझेको भन्ने लाग्दैन ।

कतिपयले तपाईंलाई वरिष्ठ उपाध्यक्ष पाउन अध्यक्षमा उम्मेद्वारी घोषणा गरेको भन्ने आरोप पनि लगाइरहेका छन् नि ?

त्यो विभिन्न साथीहरू वा विश्लेषकले आ–आफ्नो कोणबाट विश्लेषण गर्ने भन्ने कुरामा मेरो कुनै टिप्पणी हुँदैन । किनभने प्रत्येक व्यक्तिसँग विवेक हुन्छ र आ–आफ्नो दृष्टिकोण अनुसार घटनाक्रम र विषयवस्तुको विश्लेषण गर्ने गर्छन् । त्यस्तो विषयको म सम्मान गर्छु तर मैले मेरो उम्मेद्वारी किन दिए भन्ने कुराको स्पष्टीकरण मैले दिइसकेको छु । त्यसैले अन्यथा नठानिदिुनुहुन सबैसँग मैले आग्रह गर्दै आएको छु ।

त्यसो भए कुनै पनि शर्त वा बहानामा आफ्नो उम्मेद्वारीबाट पछि हट्नु हुन्न ?

यो राष्ट्रलाई नेतृत्व गर्नका लागि मेरा यी दृष्टिकोण हुन्, म यसरी जान्छु, आज राष्ट्र यो समस्याले ग्रस्त छ, मुलुकलाई त्यो समस्याबाट बाहिर ल्याउनका नेतृत्वको आवश्यकता छ र सो म पूर्ति गर्छु, म त्यसका लागि परिपक्क छु भनेर दाबीका साथ अगाडि आइसकेपछि त्यही रुपमा सबैले बुझिदिनु भए म सन्तुष्ट हुने थिए ।

अध्यक्षमा उम्मेद्वारी दिँदै गर्दा अन्य पदाधिकारीमा पनि प्यानलसहित उम्मेद्वारी घोषणा हुने गरेको थियो तर तपाईंलाई अरुले विश्वास नगरेर हो कि आफू एक्लै अगाडि बढ्ने सोच राखेर एकल उम्मेद्वारी घोषणा गर्नुभएको हो ?

विगतमा हामीले त्यस्तो गर्ने गरेको साँचो कुरा हो । त्यतिबेला समूहगत उम्मेद्वारी दिने चलन नै थियो । यसपटक समूहगत उम्मेद्वारी नदिने र जो व्यक्ति जुन पदमा उठ्ने हो, सो पदमा सम्बन्धित व्यक्ति आफैँ उठ्ने भन्ने निर्णय पार्टीले गरेको छ ।

पार्टीले यो पटक समूहगत उम्मेद्वारी नदिने निर्णय गरेको हुनाले मैले त्यसरी एक्लै अध्यक्षमा उम्मेद्वारी घोषणा गरेको हुँ । यदि कसैले फेरि पार्टी निर्णय बदलेर समूह बनाऔँ भनेर प्रस्ताव राखेछन् भने म सोच्न सक्छु । अन्यथा पार्टीको निर्णय मानेर नै म एक्लै उभिएको हुँ । यदि समूह बनाएर जाने भन्ने विचार भएको भए म सजिलै सबै पदमा उम्मेद्वार खडा गरेर जान सक्ने थिएँ ।

तपाईँको उम्मेद्वारीको बिषयमा १० बुँदे सहमति गर्दा साथ दिइरहेका साथीहरु नै सन्तुष्ट देखिएका छैनन् नि ?

अहिले धेरै साथीहरुको सहमति गर्न सकिन्छ कि भन्ने धारणा थियो । पार्टी अध्यक्षबाट केही हुन्छ कि भन्ने अपेक्षा कतिपयको थियो । त्यस्तो धारणा राख्ने साथीहरुबाट सहमतिको खोजी गरौं भन्ने विचार पनि नआएको होइन । विगतमा पनि धेरै जटिल र कठिन क्षणहरुमा नेताहरुका बीचमा सहमतिका लागि मैले अग्रपंक्तिमा बसेर भूमिका खेलेको पनि हो ।

त्यसमा मेरो आपत्ति छैन तर महाधिवेशनको संघारमा पुगिसकेकाले यो कुरा पटक–पटक उठाउँदा पनि यो विषयमा कसैको खासै सरोकार नदेखिएको हुनाले अब त उम्मेद्वारी दिने कुरा ढिला भइरहेको छ । अब अन्य साथीहरुले पनि आ–आफ्नो उम्मेद्वारी दिनुहोला ।

मेरो उम्मेद्वारी दिन र प्रतिस्पर्धामा जान मेरो विचारले कसैलाई छेकेको पनि छैन । सबै साथीहरुले आफूलाई इच्छा भएको पदमा उम्मेद्वारी दिन सक्नुहुन्छ । अरु साथीहरुले कसैले उम्मेद्वारी दिनुभयो भने म अन्यथा ठान्दिनँ ।

यो उम्मेद्वारीपछि तपाईं पार्टीबाट ओझेलमा पर्नुहुन्छ कि भन्ने पनि आशंका छ नि ?

लोकतन्त्रमा कुन व्यक्ति कुन बेला उठ्छ र पराजित हुन्छ भन्ने कुरा सामान्य हो । अन्य सबै पार्टीमा कतिपय व्यक्तिहरु विभिन्न निर्वाचनमा प्रतिस्पर्धामा उत्रनुभएको छ । कोही विजयी हुनुभएको छ कोही पराजित हुनुभएको छ । एमालेभित्रै पनि आठौं महाधिवेशनमा अध्यक्ष ओली र म एकै प्यानलमा थियौं, उहाँ अध्यक्षमा र म उपाध्यक्षमा लड्यौं र हार्‍यौं ।

त्यसकारण मान्छेको विजय पराजयलाई मुख्य ठानेर आफ्ना विचार, धारणा, मान्यता र देशप्रति आफ्नो निष्ठालाई गौण ठान्न मिल्दैन ।

अहिलेको मेरो उम्मेद्वारीमा धेरै बिषय उठाएको छु । राष्ट्रियता, जनताको हित र अधिकार, प्रणालीसँग सम्बन्धित लगायत पार्टी सञ्चालनको बिषय पनि उठाएको छु । यदि यो कुरालाई मैले राम्ररी पार्टीमा, पार्टी पंक्तिमा र आम रूपमा मैले बुझिने गरी स्थापित गर्न सकेँ भने त्यो धेरै महत्त्वपूर्ण कुरा हुन्छ । यद्यपि हाम्रा प्रतिनिधिहरुले मैले राखेका धारणामा समर्थन गर्नुहुन्छ भन्ने विश्वासका साथ निर्वाचनको प्रतिस्पर्धामा आएको छु ।

भनेको यो पटक उम्मेद्वारी दिने र अर्कोपटक जित्ने लक्ष्य हो ?

हैन, त्यस्तो पनि ठानेको छैन । यद्यपि राजनीतिमा जुन पदमा प्रतिस्पर्धा गरिन्छ त्यसमा जित्नै पर्छ भन्ने धारणा हुनु स्वभाविक हो तर अहिलेको महाधिवेशनमा मैले जे कुरा अघि सारेको छु, अहिले मेरा कुरा यिनै हुन् । भविष्यमा हुने कुराबारे त्यही बेला सोँचौला ।

यदि सहमति गरौं भनेर अध्यक्षले प्रस्ताव गर्नुभयो भने मिलेर जाने सम्भावना छ कि छैन ? कि पूरै बाटो बन्द भएको अवस्था हो ?

म राजनीति शास्त्रको विद्यार्थी भएको हुनाले राजनीतिलाई यथार्थपरक र वस्तुवादी भएर हेर्नु पर्छ भनेर मान्यता राख्छु । अब अध्यक्षले के सोच्नुहुन्छ, कसो गर्नुहुन्छ ? उहाँ स्वयमले नभनेसम्म मैले केही भन्नु भनेको केवल काल्पनिक कुरा मात्रै हुन्छ । किनभने उहाँसँग मैले एक्लाएक्लै पनि कुरा गरिसकेँ, बैठकमा पनि कुरा गरिसकेँ । जुन प्रश्न तपाईंले गर्नुभयो, तत् सन्दर्भमा अब पार्टी अध्यक्ष कसरी प्रस्तुत हुनुहुन्छ, के गर्नुहुन्छ, कस्तो निष्कर्ष निस्कन्छ भनेर धेरै महत्त्व दिनु वा धेरै यथार्थपरक हुने कुरा मलाई लाग्दैन ।

तपाईँको उम्मेद्वारी घोषणापछि अध्यक्षसँग कुनै कुरा भएको छ वा कुनै सन्देश आएको छ ?

कुराकानी भएको छैन । उहाँले कुनै सन्देश पठाउनुभएको पनि छैन ।

१० बुँदे सहमति गरेका साथीहरुसँग कुराकानी गरेर समेटेर उम्मेद्वारी दिएको भए तपाईंको उम्मेद्वारी बलियो हुने थियो कि ?

हाम्रो पार्टीको निर्णय बमोजिम सबैलाई समेटेर सामूहिक रूपमा उम्मेद्वारी घोषणा गर्ने त्यस्तो हुन नसक्ने भएकाले तपाईंले भन्नुभएको जस्तो भएन । जहाँसम्म १० बुँदे सहमतिमा एकै ठाउँमा उभिएका साथीहरुसँग निरन्तर कुरा भइरहेकै छ त्यसमा त के समस्या छ र ?

एमालेमा अहिले तीन खेमामा देखिएको छ । ओली पक्ष, १० बुँदे सहमति गरेकाहरु र पूर्वमाओवादी नेताहरु, यी तीनै समूहलाई समेटेर अगाडि बढ्न सक्छु भन्ने छ कि केही निश्चित व्यक्तिलाई मात्र लिएर जाँदै हुनुहुन्छ ?

तपाईंले भन्नुभए जसरी नै मैले पार्टीका विभिन्न बैठकहरुमा प्रस्ताव राखेको थिएँ । तदअनुरूप नै पार्टीको बैठकबाट १० बुँदे सहमति पारित पनि भयो र अन्तरपार्टी निर्देशन जारी पनि भयो । यसको पूर्ण कार्यान्वयन हुनुपर्छ भन्ने कुरा बारम्बार मैले उठाइरहेँ तर त्यस्तो हुन सकेन । सदस्यता वितरण र नवीकरण, प्रतिनिधिको चयन पनि निष्पक्ष रूपमा हाम्रो पार्टीको मुल्यमान्यता अनुरुप होस् भन्ने कुरा पनि बारम्बार उठाइरहेँ । त्यो पनि पूरा हुन सकेन ।

देशका विभिन्न भागमा हाम्रो पार्टीको नीतिलाई नसुहाउने, लोकतान्त्रिक दृष्टिकोणबाट अनियमित भनिने क्रियाकलापहरु भए । उदाहरणका लागि कैलालीको लम्कीचुहामा उम्मेद्वारी नै नदिई, निर्वाचन प्रक्रिया नै शुरु नगरी धनगढीबाट केही व्यक्तिले स्वच्छाचारी किसिमले प्रतिनिधिको नाम घोषणा गरिदिए ।

त्यसको विरोधमा १२ सयभन्दा बढी पार्टीका सदस्यले केन्द्रमा लिखित रुपमा उजुरी गरेको अवस्था छ । मेरो मान्यता के हो भने सबैलाई समेटेर जानुपर्छ भन्ने छ किनभने पार्टीमा विभाजन पनि भइरहेका बेला आगामी चुनावमा पनि प्रतिस्पर्धामा गएर जित्नुपर्ने स्थितिमा सबैलाई समेटेर मात्रै पार्टी बलियो हुन्छ भन्ने मेरो धारणा हो ।

पार्टीमा अख्तियार प्राप्त व्यक्तिहरु, जसले कार्यकारी अधिकारको उपयोग गर्नुहुन्छ उहाँहरुले नै त्यो दिशामा स्पष्ट रुपमा काम नगरेपछि वा गर्ने कुनै लक्षण नदेखाएपछि कार्यकारी अधिकार नभएको मान्छे मैले गरेर हुने कुरा भएन ।

अहिले पनि म त्यो मान्यता राम्रो हो भन्ने ठान्छु तर अब त निर्वाचन नै आइसकेको हुनाले प्रतिस्पर्धामा गएर आफ्नो नीतिहरुलाई पार्टीको केन्द्रीय कमिटीबाट कार्यान्वयन गर्नु उपयुक्त ठानेर अगाडि बढेको छु ।

कैलालीको उदाहरण जसरी दिनुभयो, देशैभर अध्यक्ष ओलीको निर्देशन अनुसार महाधिवेशन प्रतिनिधि चयन भएका समाचारहरु छन् अब ती प्रतिनिधिले तपाईंलाई भोट दिन्छन् ?

सबै ठाउँमा त त्यस्तो भएको छैन तर कतिपय ठाउँमा भएको पनि छ । त्यो लोकतन्त्रका लागि उपयुक्त छैन । जहाँबाट प्रतिनिधिहरु चयन भए पनि विगतमा के देखिएको छ भने विवेकसम्मत किसिमले देश, लोकतन्त्र, पार्टीको एकता र भोलिको विकासलाई हरेर उहाँहरुले मतको प्रयोग गर्दै आउनुभएको छ । तल जेजस्तो क्रियाकलाप गर्न खोज पनि प्रतिनिधिहरु धेरैजसोले देश, जनता र पार्टीको उज्यालो भविष्यलाई हेरेर आफ्नो विवेक प्रयोग गर्नुहुन्छ भन्ने मेरो विश्वास हो ।

१० बुँदे सहमति गरेकामध्ये तपाईं र घनश्याम भुसाललाई अझै पनि अध्यक्ष ओलीले माधवकुमार नेपालको सहयोगीका रुपमा मात्र लिएको बुझिन्छ नि अभिब्यक्तिबाट ?

अर्काको मनमा के छ भन्ने कुरा मैले चर्चा गर्नु उपयुक्त हुँदैन । अर्को कुरा पार्टी अध्यक्ष स्वयंले केन्द्रीय कमिटीबाट निर्णय गराएर कार्यान्वयन गर्छु भनेसकेपछि र सो निर्णय हामीले पनि स्वीकार गरिसकेपछि अन्यथा कुनै सोच राख्ने हो भने त राजनीतिक नेताले जिम्मेवारीपूर्वक सोच्ने कुराँसँग मेल खाँदैन । उहाँले के सोच्नु हुन्छ ? उहाँको मनमा के छ भन्ने विश्लेषण गरेर बाहिर भन्ने कुरामा म छैन । त्यस्तो गर्ने स्थितिमा म छैन ।

सुदुरपश्चिमको इन्चार्जबाट तपाईंको जिम्मेवारी खोसियो, पुनर्वहाली त हुनुभएन ?

२०७५ जेठ २ गतेअघिसम्म म एमालेको सुदुरपश्चिम प्रदेश कमिटीको संयोजक थिए, एकीकरण भइसकेपछि म इन्चार्ज थिएँ । त्यसलाई केन्द्रीय कमिटीमा हाम्रो सहभागीता जुन बेलाबाट भयो, छलफल गर्दा अर्को निर्णय नभएसम्म जबरजस्ती गरिने कुनै पनि काम अवैध हो भन्दै आएको छु ।

त्यो मेरो लागि मान्य पनि छैन र पार्टी प्रणालीले पनि मान्दैन । अब कतिले स्वघोषित मै हुँ भन्ने र कतिले हो हो भन्ने, त्यो पनि मेरा लागि मान्य छैन र पार्टी प्रणालीले पनि मान्दैन । लोकतन्त्र, प्रणाली र पद्धति भन्ने कुरा केबल देखाउने भन्ने कुरा मात्र हुन्छ र त्यसले दीर्घकालीन रुपमा पार्टीलाई नै क्षति हुन्छ र त्यसो नगरौं भन्ने कुरा मैले भन्दै आएको छु ।

एमालेमा त लगभग त्यस्तै देखिन्छ त ? तपाईको उम्मेदवारी घोषणाले प्रतिस्पर्धा हुन्छ कि भन्ने मात्र देखिएको छ नत्र त आन्तरिक लोकतन्त्र गुम्ने खतरा पनि उत्तिकै थियो नि ?

मैले पार्टीको विधि, प्रणाली र जबज (जनताको बहुदलीय जनवाद) को आन्तरिक लोकतन्त्रको अभ्यास कायम हुनुपर्छ र जीवित हुनुपर्छ भन्ने कुरालाई दृढतापूर्वक उठाउँदै आएको छु । जुन आधारमा एमाले आज बलियो भएर यहाँसम्म आइपुग्यो, त्यो कुरालाई मैले अगाडि बढाउने अठोट गरेको छु र म त्यसमा अगाडि बढ्छु ।

महाधिवेशन स्थलमा पुग्नुअघि, नेता कार्यकर्ता र महाधिवेशन प्रतिनिधिलाई विश्वासमा लिन के तयारी गर्नुभएको छ ?

अहिलेको सञ्चारमाध्यम प्रभावकारी भइरहेकाले मैले सोझै राख्ने गरेको छु । यदि पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षको उम्मेद्वारले आफ्ना कुरा प्रत्यक्ष रुपमा राख्न सक्ने प्रक्रिया अपनाऔं भने म मेरो कुरा पक्कै पनि राख्नेछु । अर्का कुरा महाधिवेशन स्थलमा अधिकतम प्रतिनिधिसँग प्रत्यक्ष सम्बन्ध र सम्पर्कबाट पनि राख्नेछु । मुलतः सञ्चारमाध्यमबाटै प्रभावकारी रुपमा राख्ने नै छु ।

ओलीलाई पराजित गर्दै एमालेको भावी अध्यक्षमा निर्वाचित हुन्छु भन्ने लाग्छ ?

उहाँलाई पराजित गर्छु भन्ने नकारात्मक सोच मेरो छैन । म विजयी हुन्छु भन्ने छ । मेरा धारणा, मेरा नीति र दृष्टिकोण ठीक छन् र यो बीचमा पार्टीले जे नियति भोग्नुपर्‍यो, ती कुरालाई ध्यानमा राखेर पार्टीले नयाँ दृष्टिकोणबाट अगाडि बढ्न आवश्यक छ भन्ने मेरो दृढ विश्वास हो ।

नवौं महाधिवेशनमा माधवकुमार नेपालको नीति र केपी शर्मा ओलीको नेतृत्व भएको त यथार्थ हो नि ? दृष्टिकोण त तपाईँको होला तर नेतृत्वमा को हावी हुन्छ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण होला नि पार्टीमा ?

त्यो त महाधिवेशनबाट निर्णय हुने कुरा हो । म अगाडि बढेको छु महाधिवेशनबाट प्रतिनिधिहरुले जे निर्णय गर्नुहुन्छ । म स्वीकार्छु ।

 

 

 

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ८ : ४० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन