जलवायु परिवर्तनले मानवीय भविष्यलाई चुनौती दिइरहेको छ । धेरै गाउँहरू खोलाले बगाइसकेको छ । विश्वभर नै दुर्लभ स्रोतसाधनको अभाव बढ्दै गएको छ ।
प्रत्येक वर्ष धेरैभन्दा धेरै परिवार मौसम परिवर्तनका कारण प्रताडित भएका छन् जसले गर्दा भोकमरी, गरिबी र असुरक्षाको दर उच्च विन्दुमा पुग्दैछ ।
हामीले २०२१ को ‘अर्थ डे’ अर्थात ‘पृथ्वी दिवस’ मनाउँदै गर्दा जलवायु संकट र शिक्षाबीचको सम्बन्ध गहिरो बनाउन जरुरी छ । यस क्षेत्रमा अपेक्षित प्रतिफल प्राप्त गर्न राम्रो इच्छाशक्ति र प्रतिबद्धतामात्रै होइन आर्थिक लगानी पनि गर्न आवश्यक हुन्छ ।
विश्वभरका कमजोर जनसंख्या, खास गरी, जलवायु परिवर्तन, द्वन्द्व र राजनीति संरक्षित संकटका कारण केटाकेटीहरू पिल्सिएका छन् । यस्ता केटाकेटीहरूको उचित शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ । आउँदो पिँढीलाई मानवीय हिसाबमा सुरक्षित बनाउन पनि शिक्षालाई प्राथमिकतामा राख्न आवश्यक हुन्छ ।
हामीले सामना गरेको चुनौती अतुलनीय छ । आगामी ३० वर्षमा दक्षिण एसिया, सव–साहरान अफ्रिका र ल्याटिन अमेरिकामा गरी एक सय ४० मिलियन मानिस जलवायु परिवर्तनका कारण विस्थापित हुनपर्ने अवस्था आउनेछ । करीब ७ दशमलव ९ ट्रिलियन अमेरिकी डलर बराबरको खर्च हुनेछ ।
सामूहिक बसाइँ सराइ र विस्थापनको यो लहरले लोकतान्त्रिक र जिम्मेवार शासन व्यवस्था विस्तार गर्ने वैश्विक प्रयासमा असर पुर्याउनेछ । यसले गर्दा दिगो विकासको लक्ष्यमा र पेरिस जलवायु सम्झौतामा पनि असर पुग्नेछ ।
वर्तमान समस्या निम्तिनुमा कुनै दोष नरहेका सीमान्तकृत र असुरक्षित बालबालिका खडेरी, भूक्षय, बाढीपहिरोजस्ता समस्या आउँदा पहिला शिक्षाबाट बञ्चित हुन्छन् । समस्या साम्य भएको अवस्थामा पनि युवा छोरीहरूलाई स्कूल फर्काउन कुरा प्राथमिकता पछि पर्छ ।
उचित शिक्षाको अभावमा छोरीहरूले यौन हिंसाको शिकार हुनुपर्छ, बाल विवाहको समस्यामा पनि झेल्नुपर्ने हुन्छ । असुरक्षित गर्भावस्था र बाल श्रमिकको समस्या त छँदै छ ।
यस्ता समस्याले मानवीय पुँजी नोक्सानीको प्रतिनिधित्व गर्छ । मलला फाउन्डेशनका अनुसार सन् २०२१ मा जलवायु परिवर्तनको समस्याका कारण करिब ४० लाख छात्राहरू शिक्षा पूरा गर्नबाट बञ्चित हुनेछन् । यो संख्या सन् २०२५ सम्ममा एक करोड २० लाख पुग्ने अनुमान गरिएको छ ।
यस्ता समस्याको समाधान पहिल्याउने पहल गर्न आवश्यक छ । शिक्षा क्षेत्रको बजेट जलवायु परिवर्तनसँग सम्बन्धित विषयसँग एकाकार गर्दै सरकारले विस्थापित, गरिबी र असुरक्षाको दुष्चक्रमा फसेका मानिसलाई नयाँ चक्रमा रूपान्तरण गर्ने पहल गर्नुपर्छ ।
शिक्षित छात्राहरू परिवर्तनका वाहक हुन् । सही शिक्षा हुन सके आजका सीमान्तकृत र असुरक्षित युवाहरू भोलिको सबल अर्थतन्त्र निर्माणमा सहयागी बन्न सक्छन् । यिनीहरूले समाज र अर्थतन्त्रलाई सही दिशामा लैजान सक्छन् ।
संख्याले झुट बोल्दैन । हालैको एक अध्ययन अनुसार छात्राहरूले प्राथमिक शिक्षामा दिएको अतिरिक्त समयले प्रतिव्यक्ति आयमा १० देखि २० प्रतिशत वृद्धि गर्न सहयोग पुग्छ ।
यसको विपरीत छात्राहरूलाई माध्यमिक शिक्षाबाट बञ्चित राख्दा करिब १५ देखि ३० ट्रिलियन अमेरिकी डलर बराबरको उत्पादकत्वमा कमी ल्याउँछ ।
जलवायु परिवर्तनको समस्या सम्बोधन गर्न र मजबुत समाज निर्माण गर्न अग्रीमरूपमा हासिल गरिएका लाभहरूले ठूलो अन्तर पार्न सक्छ ।
संख्याले झुट बोल्दैन । हालैको एक अध्ययन अनुसार छात्राहरूले प्राथमिक शिक्षामा दिएको अतिरिक्त समयले प्रतिव्यक्ति आयमा १० देखि २० प्रतिशत वृद्धि गर्न सहयोग पुग्छ ।
अनुसन्धानहरूले पनि छात्रालाई शिक्षित बनाउँदा मृत्युदर घट्ने देखाउँछ । सन् २०१३ को एक अध्ययनले २० देखि ३९ वर्षका महिलाले निम्न माध्यमिक तहको अध्ययन पूरा गरेको देखाएको छ ।
यसबाट आपतकालीन जोखिम नियन्त्रणमा ७० प्रतिशत कमी आउने देखाएको छ । यसले गर्दा २०५० सम्म आपतकालीन जोखिमका कारण निधन हुनेको संख्या ६० प्रतिशतले कमी आउने देखाएको छ ।
यी तथ्यांकका पछाडि आशाका किरण लुकेका छन् । उदाहरणका लागि, अफ्गानिस्तानलाई लिऊँ, त्यहाँ सुख्खा, बाढीपहिरो र खराब मौसमका कारण परिवार विस्थापित भइरहेका छन् र द्वन्द्व बढिरहेको छ ।
अफ्गानिस्तानका महिलाहरूको मौलिक अधिकार लामो समयदेखि व्यवस्थितरूपमा हनन् हुँदै आएको थियो । अहिले महिलाहरूले छोरीहरूलाई विज्ञान, जीव विज्ञानको अध्ययन गराउँदै आगामी दिनका लागि तयार पार्दै छन् ।
शिक्षाबाट बञ्चित रहेका ग्रामीण क्षेत्रका छात्राहरू पनि समुदायस्तरको सिकाइ केन्द्रबाट आफ्नो अध्ययन पूरा गर्दै छन् । राष्ट्रिय शिक्षा नीतिले छात्राहरूको शिक्षाका लागि सक्रिय भूमिका पनि निर्वाह गरिरहेको छ ।
साहेल (सेनेगलको एक भाग) का मानिसहरू दुर्लभ स्रोतसाधनका लागि लडिरहेका छन् । त्यहाँ तपमानले नयाँ रेकर्ड बनाउँदा सुख्खा क्षेत्र बढ्दै गएको छ । यस क्षेत्रका बालबालिकाहरूको शिक्षा पछाडि छोडिएको छ ।
चाडजस्ता देशका अन्तर्राष्ट्रिय समुदायले शिक्षाको क्षेत्रमा सहयोग प्रदान गरिरहेका छ । संयुक्त राष्ट्र संघको ‘एजुकेशन क्यान नट वेट’ अर्थात ‘शिक्षाले कसैलाई पनि पर्खिंदैन’ को आर्थिक सहयोगमा यस्ता कार्यक्रम सञ्चालन भएका छन् ।
यस्ता किसिमका संयुक्त लगानीका कारण छात्राहरूले विज्ञान, प्रविधि, इन्जिनियरिङ, गणित लगायतका क्षेत्रमा नयाँ अवसर प्राप्त गर्दै छन् । यसले उनीहरूलाई दिगो विकास र जलवायु परिवर्तनको वकालत गर्न सक्षम बनाउन सक्छ ।
मोजाम्बिकका बाबालिकाहरूले जलवायु परिवर्तन, हिंसात्मक असुरक्षा र कोभिड–१९ गरी तीन प्रकारका चुनौती झेलिरहेका छन् । प्रविधिको विकाससँग विकसित नयाँ परिप्रेक्षामा उनीहरूले टिभी, रेडियो र मोबाइलबाट दूर शिक्षा भने हासिल गर्न सकेका छन् ।
आशा गर्नुमात्रै पर्याप्त हुँदैन । मानवजातिको रक्षा गर्न हामीले सक्रिय भूमिका निर्वाह गर्नुपर्छ । छनोट हाम्रो हो । महिला शिक्षामा लगानी गर्नु भनेको मानवीयता, अर्थतन्त्र र पृथ्वीको भविष्यका लागि लगानी गर्नु हो ।
यी बालबालिकाहरूले हालको जस्तै अर्को विपत्ति आएको अवस्थामा के गर्ने भन्ने जानकारी हासिल गर्नेछन् । शिक्षाका कारण उनीहरू लचिलो, जागरुक र सशक्त भएका छन् ।
विकासशील देशमा बालबालिकाको अगाडि विशेष गरी संकटको अवस्थामा आउन सक्ने जोखिम कम गर्न हामीले समग्रमा एउटा संयुक्त निर्णय लिन आवश्यक हुन्छ । यस्तो निर्णयले शिक्षा र जलवायु परिवर्तनलाई एकअर्कासँग एकाकार गर्न सक्छ ।
दात्रृ निकाय, सरकार र निजी क्षेत्रका नेताहरूले शिक्षालाई पेरिस जलवायु परिवर्तन सम्झौतासँग जोड्ने प्रयास गर्नुपर्छ । यस्तै, कोभिड–१९ लाई सम्बोधन गर्ने कार्य र कार्बन उत्सर्जन सम्बन्धी समग्र रणनीति तयार गर्ने दिशामा लाग्नुपर्छ ।
जलवायु परिवर्तन सम्बन्धी ग्लासगोमा नोभेम्बरमा आयोजना हुने ‘कोप–२६’ सम्मेलन र अन्य वैश्विक सम्मेलनमा विशेष गरी सीमान्तकृत समुदायका छात्राहरूको शिक्षालाई अन्तर्राष्ट्रिय मुद्दाको प्राथमिकतामा राख्नुपर्छ ।
आशा गर्नुमात्रै पर्याप्त हुँदैन । मानवजातिको रक्षाका लागि हामीले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । छनोट हाम्रो हो । महिला शिक्षामा लगानी गर्नु भनेको मानवीयताको क्षेत्र, हाम्रो अर्थतन्त्र र पृथ्वीको भविष्यका लागि लगानी गर्नु हो ।
(यास्मिन सरिफ संयुक्त राष्ट्र संघ अन्तर्गतको ‘एजुकेशन क्यान नट वेट’ की निर्देशक हुन् । २० अप्रिल २०२१ मा द प्रोजेक्ट सिन्डिकेटमा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)
प्रतिक्रिया