पूजाआजा रोकिए पनि पशुपतिनाथ घुम्न पुग्छन् भक्तजन ! « Khabarhub

पूजाआजा रोकिए पनि पशुपतिनाथ घुम्न पुग्छन् भक्तजन !



काठमाडौँ- सोमवार साँझ नयाँबस्तीकी सकुन्तला बोहरा पशुपतिनाथ मन्दिरको मुख्य प्रवेशद्वारमा नाङ्लाभरी फूलमाला लिएर भक्तजनको प्रतीक्षामा थिइन् ।

‘ए हजुर फूलमाला लिएर जानुस्’ बाटोमा हिँड्ने कोही देख्नासाथ उनी बोलाइरहेकी थिइन् । मानिसहरु भने नसुनेझैं हिडिरहेका थिए ।

‘आज त २ सयभन्दा व्यापार नै भएन’ खल्तीबाट सयका दुई वटा नोट झिक्दै उनले भनिन् ।

सामान्य दिनमा २ देखि ३ हजार रुपैयाँको फूलको व्यापार गर्ने सकुन्तला २ सय रुपैयाँको व्यापार गरेर पशुपतिको गेटमा दिन बिताइरहेकी छिन् ।

त्यसो त यो नै उनको पहिलो अनुभव भने होइन । यसअघि कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण करिब १० महिना उनले घरमै बिताइन् ।

सोमवार साँझ मन्दिर परिसर सुनसान थियो । गेटबाहिर केही मानिसहरु हिँडिरहेका थिए । आरतीस्थलतर्फ मानिसहरुको केही बाक्लै उपस्थिती थियो । अन्य दिनको तुलनामा आर्याघाट केही सुनसान देखिन्थ्यो ।

कोरोना भाइरसको संक्रमण बढेपछि पशुपति क्षेत्र विकास कोषले शुक्रवारदेखि भक्तजनका लागि पूजाआजा गर्न अनिश्चितकालीन रोक लगाएको छ ।

पूजाआजाका लागि रोक लगाए पनि मानिसहरुको आवतजावत भने रोकिएको छैन । मानिसहरु पूजाका लागि मात्र नभई दिनभरको थकानलाई भुलाउनका लागि पनि पशुपति मन्दिर पुग्ने गरेको बताउँछन् ।

कपनदेखि आएका बद्री खतिवडा भन्छन्, ‘दिनभरी काम गरेर साँझ पशुपति आएर आरती हेर्न पाउँदा मन आनन्दित हुन्छ त्यसैले सधै आउँछु । लकडाउन भएर हिँडडुल मै रोक लगाइए आइँदैन ।’

सामान्य अवस्थामा सोमबार र शनिबार २५ हजार र अन्य दिन ७ हजारको हराहारीमा भक्तजन पशुपतिनाथ पुग्ने गरेकोमा पूजापाठ र दर्शनमा रोक लगाउँदा पनि दैनिक ५०० हाराहारी मानिस पशुपतिनाथ पुग्ने गरेका छन् ।

कतिपय व्यक्तिहरू दर्शनका लागि मात्रै पनि पशुपतिनाथ प्रवेश गर्ने र मन्दिरको प्राङगण बाहिर गेटबाटै ढोगेर फर्किने गरेको पनि पाइएको छ ।

संक्रमणको जोखिम बढेपछि पशुपतिनाथ मन्दिरमा भक्तजनको आवातजावतमा रोक लगाए पनि रमिता हेर्नकै लागि पुग्ने मानिसहरूले जोखिम बढाएपछि कोषका अधिकारीहरू चिन्तित छन् ।

कोषले सार्वजनिक रुपमै गत शुक्रबार सुचना टाँसेर भक्तजनको उपस्थितिलाई रोक लगाइएको जनाए पनि त्यसलाई बेवास्ता गर्दै मन्दिरमा जानेक्रम रोकिएको छैन । रमिता हेर्नकै लागि कतिपय मानिसहरू पशुपतिनाथ मन्दिर परिषर पुगे पनि उनीहरूलाई कारबाही गर्ने अधिकार कोषसँग नरहेको कोषाध्यक्ष मिलन दाहाल बताउँछन् ।

‘किरियापुत्री र घाटमा आउनेहरुलाई नआउनुस् भन्न मिल्दैन,’ उनले भने, ‘रमिता हेर्नकै लागि आउनेहरूलाई जोखिम नमोल्नुहोस् भन्ने मेरो आग्रह छ ।’

निषेधाज्ञा भएपछि भने मानिसहरु आवतजावतमा कमी आउने कोषको विश्वास छ । ‘१६ गतेदेखि निषेधाज्ञा नै शुरू हुन्छ, त्यसपछि रमिता हेर्न आउने पनि घट्लान्,’ दाहालले भने ।

कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालकाअनुसार अहिले मूल भट्ट, भट्ट र भण्डारी बसेर नित्यपूजा गरिरहेका छन् ।

‘विश्वभर फैलिदै गएको नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा सो को रोकथाम तथा व्यवस्थापनका लागि संक्रमक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले आदेश गरेको र सो आदेशको दफा ४ मा भए बमोजिम वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्म पशुपति गुह्येश्वरी मन्दिरलगायतका क्षेत्रमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने व्यवस्था गरिएको छ ’ कोषद्वारा जारी सूचनामा भनिएको छ ।

 

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ८ : ४० बजे

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक

हुम्लामा भरूवा बन्दुकसहित एक जना पक्राउ

हुम्ला – जिल्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना