फाइल फोटो

समाचार

लिलाम सवारी साधन भन्सार कार्यालयमा थन्किए

By खबरहब

September 27, 2021

कञ्चनपुर – लिलाम प्रक्रिया अगाडि बढाउन नसक्दा कञ्चनपुर भन्सार कार्यालयमा लाखौँ मूल्यका मोटरसाइकललगायतका सवारी साधन दुई वर्षदेखि थन्किएका छन् ।

कोरोनाको सङ्क्रमणका कारण कार्यालयले सवारी र ढुवानीका साधनको लिलाम प्रक्रिया अगाडि बढाउन नसकेको हो । बढ्दो कोरोनाको सङ्क्रमणका कारण मूल्याङ्कन समितिको बैठकनै राख्न नसकिएको भन्सार अधिकृत परमानन्द जोशीले जानकारी दिए । ‘भन्सार कार्यालयमा लिलाम गर्नुपर्ने सवारी साधनको मूल्याङ्कन गर्नका लागि मेकानिकल इञ्जिनीयर छैन’, उनले भने, ‘अन्य कार्यालयबाट तलवको व्यवस्था गरी इञ्जिनीयर झिकाउनुपर्ने हुन्छ । इञ्जिनीयरको फुर्सद नहुँदा सवारी साधनका चेसिज मोडललगायतको भिडानको कार्य हुन पाएको छैन ।’

उनका अनुसार हरेक गाडीको मोडल भिडानका लागि सम्बन्धित एजेन्सी वा कम्पनीमा पठाउनु पर्‍यो । कति वर्ष पुरानो हो । उत्पादन भएको वर्ष कुन हो सो कुरा पत्ता लगाई सकेपछि इञ्जिनीयरले सवारी साधनको मूल्याङ्कन गरी मूल्य निर्धारण पछि मात्रै लिलाम प्रक्रिया अगाडि बढ्छ । भन्सार कार्यालयमा ३०० मोटरसाइकल र १५ बढी जीप, कार, ट्रक, भ्यान लगायतका साधन लिलामको पर्खाइमा रहेका छन । दुई तीन महिनाभित्रै भन्सार कार्यालयमा रहेका सवारी साधनको लिलाम प्रक्रिया अगाडि बढाइने बताइएको छ ।