सामाजिक सुरक्षा कोषबाट आश्रित आमाबाबुलाई पेन्सन « Khabarhub

सामाजिक सुरक्षा कोषबाट आश्रित आमाबाबुलाई पेन्सन


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपेन्द्र भट्टराई केही वर्षदेखि ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड’ मा कार्यरत थिए ।

उनी कार्यरत संस्था गत वैशाखमा सामाजिक सुरक्षा कोषमा आवद्ध भयो र नियमअनुसार कर्मचारीका नाममा रकम जम्मा गरिदिन थाल्यो । हालसम्म उपेन्द्रको नाममा कोषमा ३० हजार ९४९ रुपैयाँ जम्मा भएको रहेछ । यो रकम तीन महिनाको योगदानको हो ।

कोरोना संक्रमणबाट ३० वर्ष उमेरका उपेन्द्रको गत असोज ५ गते मृत्यु भयो । सामाजिक सुरक्षा कोषमा रकम जम्मा भएको र त्यहाँबाट मासिक रकम पाउने सुविधा रहेको जानकारी पाएपछि उपेन्द्रकी आमा ६३ वर्षीया ढकमाया र बाबु ५८ वर्षीय देवराज काठमाडौँ आए ।

सामाजिक सुरक्षा कोषबाट उनीहरूले मासिक १६ हजार १९१ रुपैयाँ पाउने भएका छन् । यो रकम उपेन्द्रको आधारभूत मासिक पारिश्रमिकको ६० प्रतिशत हो । यो रकम उनीहरूले पेन्सनसरह जीवनभर पाउनेछन् ।

सामाजिक सुरक्षा योजना सञ्चालनसम्बन्धी कार्यविधिको दफा १७ मा व्यवस्था भएबमोजिम मृतकका आश्रित बाबुआमाले आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम जीवनभर पाउनेछन् ।

कार्यविधिको दफा १८ मा मृतकका परिवारले अन्तिम संस्कार खर्चबापत एकमुष्ट २५ हजार रुपैयाँ पाउने व्यवस्था छ । यो रकमपनि भट्टराई दम्पतीले पाएका छन् ।

सामाजिक सुरक्षा कोषको कार्यालय, काठमाडौँमा भेटिएकी उपेन्द्रकी आमा ढकमायाले आँसु खसाउँदै भनिन्, ‘कमाउने बेलाको छोरो कोरोना लागेर मरिहाल्यो, हाम्रो बाँच्ने आधार त्यही थियो ।’

उपेन्द्र परिवार एक्लो छोरा थिए । आमाबाबुको भरोसा उनैमाथि थियो । खेतीकिसानी गर्ने भट्टराई दम्पतीलाई वर्षभरिको कमाइले गुजारा चलाउन कठिन पर्छ ।

‘हामीलाई पाल्ने छोरो गुमायौँ,’ उपेन्द्रका बुबा देवराजले भने, ‘तर पनि मासिकरूपमा रकम पाउने भएपछि थोरै राहत भएको छ ।’

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीका अनुसार कोषले प्रदान गर्ने विभिन्न किसिमका सुरक्षा योजनाअन्तर्गत आश्रित परिवार सुरक्षा योजनामा हाल कोषले मासिक १४ लाख रुपैयाँ पेन्सनको रूपमा वितरण गरिरहेको छ ।
‘छोटो समयमा पेन्सन पाउनेहरूको संख्या बढेको छ,’ ज्ञवालीले भने, ‘कोषमा आवद्ध भएकामध्ये ११२ जनाको असामयिक निधन भएको छ ।’

हालसम्म कोषमा देशभरबाट १५ हजार ६४७ रोजगारदाता र २९ हजार ७७१ योगदानकर्ता आवद्ध भएका छन् ।
ज्ञवालीका अनुसार कोषमा ९ अर्ब २९ करोड योगदान रकम संकलन भएको छ भने ४० करोड ३८ लाख दाबी भुक्तानी भएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ५ : १७ बजे

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२-८३ को

भारत र रूस एसयु-५७ लडाकु विमान खरिदका लागि सम्झौतानजिक

नयाँदिल्ली- भारत र रूसबीच एसयु-५७ लडाकु विमान खरिदसम्बन्धी सम्झौतामा आज

काठे पुलकै भरमा बेँसीसहर–चामे सडक

लमजुङ– लमजुङको बेँसीसहरबाट हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा हाल

स्विट्जरल्यान्डमा बस दुर्घटना

एजेन्सी– पूर्वी स्विट्जरल्यान्डमा ४८ जना डच पर्यटक सवार कोच दुर्घटना

प्रधानमन्त्रीलाई गगनले भने- निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक देखिएन 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण