महाधिवेशन प्रतिनिधिको विश्वास : माओवादी पुनः बौरिएर आउँछ | Khabarhub Khabarhub

महाधिवेशन प्रतिनिधिको विश्वास : माओवादी पुनः बौरिएर आउँछ


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धका कारण देशमा गणतन्त्र स्थापित भएको छ । लामो व्यवस्थामा बदलाव आएको छ । राजनीतिक प्रणाली फेरिएको छ । मानिसका सोच र चाहना चलायमान भएका छन् । यद्यपी राजनीतिक क्रान्तिसँगै आर्थिक विकासले गति लिन नसक्दा अवस्थामा खासै परिवर्तन आएको छैन ।

जनयुद्धका क्रममा १७ हजार बढी नागरिकको ज्यान गयो । हजारौँ नागरिक घाइते भए । एक हजार ५०० बढी नागरिक बेपत्ता भए । राजनीतिक रूपमा परिवर्तन भए पनि शहिद, बेपत्ता र अपाङ्गता भएका नागरिक र तीनका परिवारले परिवर्तनको अनुभूति ढुङ्गसँग महसुश गर्न पाएका छैनन् । मानिसमा एक प्रकारको निराशा पनि सँगसँगै छ । यो सँगै अझै आश मेरेको छैन किनकी ‘सास रहेसम्म आश रहन्छ’ भन्ने विषय मानवीय स्वभाव हो ।

नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन आइतबार काठमाडौँमा शुरु भएको छ । महाधिवेशनमा एक हजार ७०० बढी प्रतिनिधि सहभागी छन् । राजनीतिक क्रान्तिमा श्रेष्ठता हासिल गरेको माओवादीले यस महाधिवेशनबाट थप प्रष्ट विचारसहित आफूलाई स्थापित गर्ने बताइरहेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार अढाई घण्टा लगाएर राजनीतिक प्रतिवेदन पेश गरे । माओवादीका प्रतिनिधि तथा पर्यवेक्षक अध्यक्ष प्रचण्डको प्रतिवेदन अध्ययन गर्ने क्रममा छन् । महाधिवेशनमा विभिन्न वर्ग, क्षेत्र र समुदायका प्रतिनिधिको उपस्थिति छ । उनीहरूमा अझै पनि विश्वास छ, माओवादी बौरिएर आउँछ र २०६४ सालको जस्तै स्पातिलो बन्छ । जनताको विश्वास र भरोसा पनि उस्तै छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई माओवादीले स्थापित गरेको छ ।

माओवादीको महाधिवेशनमा सहभागी हुन आएका रुकुम पश्चिमका वृक्ष उकेरा क्षेत्री ‘साकार’ आफैँ जनयुद्धको एक योद्धा हुन् । पूर्व जनमुक्ति सेनामा काम गरेका क्षेत्री युद्धको क्रममा घाइतेसमेत भए। उनलाई लागेको छ, माओवादी छिट्टै पूर्ववत् अवस्थामा फर्कनेछ । उनी शहीद परिवार, घाइते योद्धाको निम्ति पार्टी फुट्नु अत्यन्त दुखद् भएको बताउँछन् । उनी भन्छन्, “मेरो आग्रह छ माओवादीहरू मिल्नुपर्छ । अध्यक्ष प्रचण्डको नेतृत्वमा फेरि पूर्व माओवादीहरू एकीकृत हुनुपर्छ ।”

विसं २०६४ को संविधानसभा निर्वाचनमा माओवादी पहिलो पार्टी भएको थियो । अबको निर्वाचनमा पनि माओवादी पहिलो पार्टीको रूपमा आउनुपर्छ भन्ने उनलाई लागेको छ । विसं २०५५ देखि माओवादी पार्टीमा आबद्द भएका श्रेत्री २०५७ सालमा जनमुक्ति सेनामा प्रवेश गरेका थिए । जनयुद्धका क्रममा पाल्पा आक्रमणमा घाइते भइपछि दायाँ खुट्टा गुमाउनु परेको थियो ।

उनले रासससँगको कुराकानीमा भने, “जनताले हेर्दा सबै पार्टीको विधि, विधान, एजेण्डा, भाषण, सिद्दान्त राम्रै लाग्छ तर व्यवहारमा लागू कुन पार्टीले ग¥यो त भन्ने विषय मुख्य हो । व्यवहारमा हेर्दा सङ्घीयता, समावेशीता, धर्मनिरपेक्षता, गणतन्त्र माओवादीको एजेण्डा हो भन्नेमा जनता प्रस्ट छन् ।”

उनको विचारमा दलित, महिला, जनजाति, मधेशीलगायत उत्पीडित समुदायको पार्टी भनेकै माओवादी पार्टी हो । यो पार्टीको विगतमा केही कमिकमजोरी भए पनि त्यसलाई सच्याउँदै फेरी आफ्ना मुद्दालाई लिएर जनता सामु जानुपर्ने उनको सुझाव छ । पार्टीको महाधिवेशनले अझै शसक्त नीति बनाएर जनतामा जाने उनको विश्वास छ ।

उनलाई लाग्छ दश वर्षे जनयुद्ध माओवादीले जितेको पनि होइन र हारेको पनि थिएन । अब फेरि जनयुद्ध वा द्वन्द्व गर्न सम्भव पनि छैन । शान्ति प्रक्रिया एउटा सम्झौता मात्रै भएको हो । माओवादी शान्ति प्रक्रियामा आएको धेरै भएको छैन । राज्य संरचनामा माओवादी भर्खरै आएको हुँदा सबै पार्टीसँग सहकार्य जानुको विकल्प थिएन । उनलाई जनयुद्धप्रति कुनै पश्चाताप छैन बरु गर्वको बोध छ । “हामी व्यक्ति वरिवर्तनको लागि लडेको होइन, साम्यवादका लागि लडेको हो । सिङ्गो देशको प्रणाली परिवर्तनका लागि लडेका हौँ, त्यसैले धैर्य गर्नुपर्छ परिवर्तन भएको हन्छ, हुन्छ ।”

सुदूरपश्चित प्रदेश पञ्चदेवल विनायक नगरपालिका–४ कालिका महाधिवेशन प्रतिनिधि, रामबहादुर विक पनि माओवादी पूर्ववत् अवस्थामा फर्कनेमा ढुक्क छन्। उनी भन्छन्, “माओवादीसँग एजेण्डा छ ।” माओवादीको एजेण्डालाई अरुहरूले खोस्न खोजेर यो नखोसिने उनको भनाइ छ ।

नेपालको राजीनतिक परिवर्तन र यो व्यवस्था ल्याउका लागि माओवादी आन्दोलनको ठूलो त्याग, तपस्या र सङ्घर्ष रहेको स्मरण गर्दै उनले आफूहरूले उठाएका एजेण्डा अहिले राज्यमा स्थापित भएको दाबी गरे।

राजनीतिक एजेण्डालाई त्यसलाई संस्थागत गर्नका लागि माओवादी पुसन आफ्नो धरातलमा फर्कनुपर्ने उनको भनाइ छ । “पार्टी जनताको बीचमा जानुपर्छ । जनतालाई एकताबद्ध गर्नुपर्छ र फेरी जनतालाई राज्य सत्ताको मूलप्रवाहमा जोड्नका लागि माओवादी पार्टीले त्यही प्रकारको नीति बनाउनुपर्छ”, उनले भने ।

नामले परिवर्तन भयो तर जनताको जीवनमा परिवर्तन भएको छैन जनताको जीवन शैलीमा परिवर्तन गर्नका लागि माओवादीले एक पटक फेरी पहल गर्नुपर्ने उनको भनाइ छ । “यो देशका उत्पीडित जाती, महिला, दलित, जनजाति, उत्पीडित क्षेत्रका मानिसलाई फेरी राज्यको मूल प्रवाहमा जोड्नका लागि माओवादी पार्टीले फेरी एक पटक अभियान चलाउनुपर्ने आवश्यकता देखिन्छ”, उनले भने ।

माओवादीबाट छुट्टिएर अर्को पार्टी खोल्ने नेताहरूलाई तपाई के भन्नुहुन्छ ? भन्ने प्रश्नको जवाफमा उनको टिप्पणी छ, “राजनीतिक पार्टीमा यो प्रवृत्ति स्वाभाविक हो । केही मान्छेहरू व्यक्तिगत स्वार्थ प्राप्तिका लागि मूल पार्टी छोडेर दायाँबायाँ गरी नै राखेका हुन्छन् ।”

उनको विचारमा प्रतिगमनकारी गतिविधिमा लागेका मान्छे र समूहसँग जानु आफैमा मिल्दो कुरा थिएन । उनले भने, “केपी ओली शर्माको पार्टीमा गएका मान्छेहरूले केही पद वा कुर्ची प्राप्त गर्नका लागि गएका हुन् । त्यसले त्यति ठूलो अर्थ राख्दैन । अवसरवादीहरू जाने आउने भइ नै रहन्छ । माओवादी पार्टी झन बलियो भएर जनताको बिचमा गएको छ ।”

महाधिवेशनमा सहभागीहरूका समान धारणा छन्, माओवादी पुनः बौरिएर आउँछ । उनीहरूको भनाइ छ, “हामी त्यो विश्वासका साथ अगाडि बढेका छौँ, किनकी हामीले एजेण्डा छाडेका छैनौँ । जनतालाई विश्वास छ, माओवादी अझै भरोसायोग्य शक्ति हो भन्नेमा ।” रासस

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ७ : ०० बजे

पाकिस्तानी टेस्ट टोलीमा महत्वपूर्ण परिवर्तन, बाबरसहित चार खेलाडी हटाइयो

काठमाडौं । पाकिस्तानले इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा पुर्व कप्तान बाबर आजमसहित

दोलखामा दुई बस ठोक्किए, चार जना घाइते

दोलखा । ओखलढुङगाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दोलखामा दुर्घटना

तनहुँमा डेंगु र भाइरल ज्वरोका बिरामी बढे, भुइँमै राखेर उपचार

तनहुँ । तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेङ्गुका

दशैं मनाउन गाउँ गएकाहरु काठमाडौं फर्किन थाले (तस्बिरहरू)

काठमाडौं । बडादशैं अन्तर्गत टीकाको दोश्रो दिन काठमाडौं उपत्यकामा चहलपहल

झापामा दुर्घटनामा तीन जनाको मृत्यु

झापा । झापामा आज छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा तीन जनाको