भूकम्पपछि तंग्रिएको बारपाकमा फेरि कोरोना सन्त्रास « Khabarhub

भूकम्पपछि तंग्रिएको बारपाकमा फेरि कोरोना सन्त्रास

एन्टीजेन कीटसहित विशेषज्ञ टोली बारपाकमा



पोखरा– २०७२ सालको महाभूकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाकमा बासिन्दामा फेरि अर्को त्रासदी फैलिएको छ । एकसाताभित्र एकै गाउँका १० जनाको मृत्यु भएपछि बारपाकीहरूमा सन्त्रास फैलिएको छ ।

कोरोनासँग मिल्दो लक्षण भएका र कोरोना पुष्टि भएका गरी बारपाकमा १० जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । कोरोना संक्रमणको पहिलो लहर पार गरेका बारपाकीलाई कोरोनाको दोस्रो भेरियन्ट फैलिएको आशंकामा त्रसित भएका हुन् ।

कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका गोरखा बारपाकका तीन जनाको बुधबार अस्पताल लैजानै नपाएर घरमै मृत्यु भएको थियो ।

बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ र २ स्थित बारपाक गाउँमा कोभिड १९ को मिल्दोजुल्दो लक्षणसहितका बिरामीहरू धेरै संख्यामा भेटिएको भन्ने खबर पाएपछि जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय गोरखाको टोलीले यसअघि नै एन्टीजेन कीटसहित परीक्षणका लागि कार्यक्रम सञ्चालन गरेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कोरोना परीक्षण गर्न भन्दै जेठ ९ गते बारपाक पुगेको गाउँपालिकाको स्वास्थ्यकर्मीको टोलीले १८ जनाको मात्रै एन्टीजेन विधिबाट परीक्षण गरेका थिए । १८ जनाको परीक्षण गर्दा ११ जनामा कोरोना पोजेटिभ देखिएको थियो । तर पोजेटिभ देखिएपछि पनि सञ्चो भइसकेको भन्दै बेवास्ता गर्दा गाउँभरी संक्रमण फैलिएको आशंका गरिएको छ ।

विशेषज्ञ चिकित्सकसहितको टोली बारपाकमा

गत एक हप्तामा १० जनाको निधन भएको जानकारी स्वास्थ्य कार्यालय गोरखा र बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु प्र्रसाद भट्टले निर्देशनालयलाई जानकारी गराएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.बिनोद विन्दु शर्माले बताए ।

स्वास्थ्य कार्यालय र पालिका अध्यक्ष भट्टले जानकारी गराएपछि निर्देशनालयले विशेषज्ञसहितको टोली विहीबार त्यसतर्फ पठाएको छ ।

बारपाकको वास्तविक अवस्थाको थप अध्ययन अनुसन्धान तथा नियन्त्रणका लागि स्वास्थ्य निर्देशनालय पोखराबाट आवश्यक औषधि तथा उपकरण (परीक्षण कीट)सहितको विशेषज्ञ चिकित्सक, नर्सिङ् स्टाफ, प्रयोगशालाकर्मी, मनोसामाजिक परामर्शदाताको संयुक्त टोली त्यसतर्फ पठाइएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

बारपाक सुलिकोट गाउँपालिकाको १ र २ नम्बर वडामा पर्ने बारपाकमा झण्डै १५ सय घरधुरी रहेकोमा अधिकांश घरका सदस्यलाई रुघाखोकीको लक्षण रहेको स्थानीयले बताएका छन् ।

रिपोर्ट आउने एघार दिन !

गोरखाको विभिन्न पालिकाका गाउँहरूमा कोरोना परीक्षणको रिपोर्ट एक साता भन्दा बढी समयसम्म नआउँदा कोरोना फैलिने डर गोरखाबासीले गरेका छन् ।

भीमसेन थापा गाउँपालिका ८ मा एघार दिनअघि गरिएको स्वाव संकलनको रिपोर्ट बिहीबार मात्रै आएको स्थानीय नारायण भट्टले बताए । ११ दिनअघि ४१ जनाको स्वाव संकलन गरी पठाइएकोमा विहीबार १७ जनामा कोरोना पोजेटिभ देखिएको भट्टले बताए ।

एघार दिनपछिको रिपोर्टमा ठूलो संख्यामा संक्रमण पुष्टी भएपछि गाउँ पुरै भयावह बनेको उनले बताए । भीमसेनथापा गाउँपालिकाजस्तै अन्य पालिकामा पनि यस्तै अवस्था रहेको गुनासो आएको छ ।

निर्देशनालयको हटलाइनमा फोनै लाग्दैन

कोरोनाको दोस्रो भेरियन्ट गाउँ गाउँमा फैलिएपछि स्वास्थ्य निर्देशनालय पोखराले हटलाइन टेलिफोन सेवा प्रारम्भ गरेको छ । चौविसै घण्टा सेवा दिइने भनिएको हटलाइन टेलिफोनमा फोन नै लाग्ने गुनासो गर्ने गरिएको छ ।

प्रदेश अन्तर्गतका कुनै पनि समुदायस्तरमा कोभिडको लक्षण देखिएमा निर्देशनालयको हटलाइन नम्बर १०९२ मा फोन गरी जानकारी गराउन पनि डा. शर्माले विहीबार पनि विज्ञप्तिमार्फत जानकारी गराएका छन् । तर स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको हटलाइन सेवामा फोन नै नलाग्ने गोरखाका मोती पर्टेलले बताए ।

छ वर्षअघि २०७२ बैशाख १२ गते आएको महाभूकम्पले गर्दा गोरखाको बारपाकका ७२ जनाले ज्यान गुमाएका थिए । यही बारपाक केन्द्र विन्दु भएर गएको ७.८ रेक्टर स्केलको भूकम्पपछि बारपाक विस्तारै त्रंग्रिदै गएको थियो ।

पुरातन शैलीले बनेका घरहरू भूकम्पले ढालेपछि बनेको सुन्दर पक्की घरहरूले बारपाकको सुन्दरता अर्कै बनाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  १२ : ४९ बजे

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भक्कानिए रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते